मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शहीदहरुको संघर्ष र त्यागको मर्मलाई सदैव आत्मसात गर्नुपर्ने बताएका छन् । मंगलबार शहीद दिवसको सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले नेपाल र नेपालीको उज्ज्वल भविष्यका लागि प्राण आहुती दिनुहुने वीर शहीदहरुलाई एक दिन मात्र सम्झिएर सपना साकार पार्न नसकिने बताए ।
‘शहीदहरुका सपना साकार पार्न र उहाँहरुले देखाउनुभएको मार्गमा हिड्नका लागि प्रण गर्ने दिनका रुपमा आजको दिनलाई सम्झनुपर्दछ’ प्रमुख शर्माले भने । सन्देशमा नेपालका वीर सपुतहरुले आफ्नो अमूल्य जीवन उत्सर्ग गरेको दिन उहाँहरुको बलिदानको सम्मानमा शहीद दिवस मनाउँदै आइएको उल्लेख गर्दै प्रमुख शर्माले हामीले प्राप्त गरेका उपलब्धिहरु वीर सपुतहरुकै बलिदानबाट सम्भव भएको बताएका छन् ।
‘राष्ट्र,राष्ट्रियता,स्वतन्त्रता,समानता,नागरिक हक अधिकारको रक्षा लगायतका न्यायपूर्ण आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान शहीदहरुप्रति भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछु ।’ प्रमुख शर्माले सन्देश दिएका छन् ।
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरिक्षक(डीआईजी) बिष्णु कुमार केसीले प्रहरीकाे आचरण र व्यवहार सुधारकाे पहल गर्ने बताएका छन् ।
ट्राफिक प्रहरीले गर्ने व्यवहार बारे गुनासो रहेको तथा प्रहरीले गर्ने व्यहारले हैरानी भएकाे जनगुनासाे आएकाेले सुधार गर्न कडाइका साथ लागि पर्ने उनले बताए । आइतबार हेटौडामा संचारकर्मीसँगकाे भेटघाटमा अपराध एकैपटक निर्मुल गर्न नसिकने भएकाेले प्रदेशका दश जिल्लामा अपराध न्यूनीकरण गरिदै लैजाने उनले बताए । अपराध १५ प्रतिशत घटाउने लक्ष्य रहेकाे उनले जानकारी दिए ।
बागमती प्रदेश कार्यालयमा केही अघी मात्रै सरुवा भएका केसीले मकवानपुरका खानी क्षेत्रबाट ३ वटा सिमेन्ट उद्योगमा टिप्परले ओभरलोड चुनढुङ्गा ल्याइरहेकाेमा उक्त कार्य नियन्त्रण गर्ने बताए । सवारीका साधनको ओभरलोडको समस्या प्रदेशका सबैजसो जिल्लामा भएकाले यसलाई रोक्नका लागि काम गरिने उनले बताए ।
डीआईजी केसीले लागूऔषध नियन्त्रणका लागि प्रभावकारी काम गर्ने प्रतिवद्धता समेत जनाए । बागमती प्रदेशमा लागूऔषध नियन्त्रणमा विशेष अभियान सञ्चालन गरिने बताउँदै उनले अफिम खेती फडानी गर्ने कामलाई तिव्रता दिइएको बताए । उनले अवैध रुपमा उत्खनन हुने नदीजन्य पदार्थ नियन्त्रणमा प्रहरीले कडाइका साथ काम गर्ने बताए ।
प्रदेशभित्रको अपराध न्यूनिकरण गर्दै शान्ति सुरक्षा कायम राख्ने दायित्व प्रहरीको भएकोले समुदायसँग सचेतनामुलक कार्यक्रम गर्दै न्युनिकरण गरिदै लगिने उनले बताए । मकवानपुरमा सिसि क्यामरा ५५ वटा जोड्ने लक्ष्य रहेकाे हाल १५ वटा जडान भइ संचालनमा रहेकाे बताउँदै उनले नयाँ खरिदको विकल्प बजेट व्यवस्था नभएकाेले स्थानीय तहहरूको समन्वयबाट मात्रै संभावना रहेकाे जनकारी दिए ।
मकवानपुर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताकाे अधिकार दिलाउन राजनीतिमा लागेकाे बताएका छन् । नेपाली काग्रेस स्थापना दिवसकाे अवसरमा बागमती प्रदेश समितिद्वारा शुक्रबार हेटौंडामा आयोजित कार्यक्रममा सिंहले राजनीतिलाई सेवाको रुपमा लिनुपर्ने बताए ।
कांग्रेस पूर्व महामन्त्री सिंहले राजनीतिमार्फत समाज र राष्ट्रको सेवामा ध्यान दिन सबैमा आग्रह गरेका हुन् । ‘पदमै पुगौला भनेर हामी राजनीतिमा आएका होइनौं ’ सिंहले भने-राजनीतिलाई सेवाको क्षेत्रको रुपमा स्थापित गराउन ध्यान दिनुपर्छ ।’ कांग्रेस पार्टीलाई लोकप्रिय पार्टीको रुपमा आजसम्म स्थापित गर्न आफ्ना पिता गणेशमान र अन्य नेताहरुको भूमिकालाई स्मरण गर्दै सिंहले भने ‘पार्टी र पार्टीबाट प्रतिनिधित्व गरेर बनेका जनप्रतिनिधिहरुले इमान्दारिताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’
सबैले आफ्नो जिम्मेवारी पूरा गरेमा सुशासनलाई अनुभुत गराउन सकिने उनकाे भनाइ थियाे । जनताको इच्छा आकांक्षा पूरा गर्न निस्वार्थ भावले काम गर्नुपर्ने नेता सिंहले बताए । विगतदेखि नै विभिन्न राजनीतिक परिवर्तनमा कांग्रेसले नेतृत्व गरेको भन्दै नेता सिंहले २०७२ को संविधान जारी गर्नसम्म नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे । कांग्रेसकै नेतृत्वमा प्राप्त भएको संविधानको रक्षाको लागि अहिले अन्य दलहरुसँग गठबन्धन गरेर अघि बढिरहेको भन्दै उनले वर्तमान सत्ता गठबन्धनलाई अझै बलियो बनाएर संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने बताए।
नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको दिनको स्मरणमा स्थापना दिवस मनाउँदै आएको कांग्रेसले जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापनाको नेतृत्व गरेको थियो भने ७ दशकपछि गणतन्त्र स्थापनाको नेतृत्व गर्दै अहिले पनि संसद्को सबैभन्दा ठूलो दलकारुपमा रहेको छ । नेपालमा १०४ वर्षे राणा शासन फ्याँक्ने नेतृत्व गरेको कांग्रेसले ३० वर्षे एकदलीय निरंकुश पञ्चायती शासन व्यवस्थाको अन्त्य र २३८ वर्ष पुरानो शाहवंशीय राजतन्त्रको समेत अन्त्य गर्नेमा नेतृत्वदायी भूमिका निभाएको थियो ।
नेपाली कांग्रेस, बागमती प्रदेश समितिले शुक्रबार हेटौंडामा पार्टीको ७८ औँ स्थापना दिवस मनाएको छ । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको २००३ साल माघ १२ लाई आधार मानेर हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य राजन केसी, कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्रका नेता सरल सहयात्री, कांग्रेस बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, बिहीबार मात्रै बागमती प्रदेशमा गठबन्धनबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएकाहरु जितजंग बस्नेत, विष्णुदेवी पुडासैनी, श्रीकृष्ण अधिकारी, घनश्याम रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । राष्ट्रिय सभा निर्वाचन अन्तरगत बागमती प्रदेशबाट सत्ता गठबन्धका चारै जना उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट महिला कोटामा विष्णु कुमारी पुडासैनी, अल्पसंख्यकरअपाङ्गता कोटामा श्रीकृष्ण अधिकारी, दलितकोटामा धनश्याम रिजाल विश्वकर्मा र अन्य कोटामा जीतजंग बस्नेत निर्वाचित भएका छन् ।
प्रदेशमा अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र ९क्लस्टर० का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन भएकोमा अल्पसंख्यक र अपाङ्गताकोटा तर्फ नेकपा माओवादीका अधिकारी महिलाकोटातर्फ नेपाली काग्रेसकी पुडासैनी, दलितबाट नेकपा एकिकृत समाजवादीका विश्वकर्मा र अन्यबाट नेपाली काँग्रेसका बस्नेत निर्वाचित भएका हुन ।
अल्पसंख्यकरअपाङ्गता कोटाबाट विजयी अधिकारीले ६ हजार ४ सय ३६ मतभार प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी विवेक देवकोटाले २ हजार ७ सय ३४ मतभार प्राप्त गरे । महिला कोटाबाट विजयी पुडासैनीले ६ हजार ६ सय २२ मतभार प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी रोचकुमारी चौलागाईले २ हजार ५ सय ५२ मतभार प्राप्त गरिन् । यसैगरी दलितकोटामा विजयी विश्वकर्माले ६ हजार ५ सय १२ मतभार प्राप्त गरी विजयी हुँदा उनको निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ध्रुवराज विश्वकर्माले ३ हजार ५२ मतभार प्राप्त गरे । अन्यकोटाबाट विजयी वस्नेत ६ हजार ५ सय ३१ मतभार प्राप्त गर्दा उनका प्रतिद्वन्दी त्रिलोचन निर्मल पौडेलले २ हजार ३ सय ५९ मतभार प्राप्त गरे ।
राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने ४ जना सदस्यको पद रिक्त हुदैछ । आगमी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० जना सदस्यको पदावधी सकिने भएपछि ७ वटै प्रदेशमा विहीबार निर्वाचन भएको हो । राष्ट्रिय सभा सदस्य रहेका बागमती प्रदेश तर्फका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ। जस अनुसार महिला, अपांगतारअल्पसंख्यक, दलित र अन्य समूहका १र१ सिटका विहीबारको निर्वाचनबाट निर्वाचित भएका हुन् ।
मकवानपुर । राष्ट्रिय सभा सदस्य पदकाे लागि विहीबार भएकाे मतदान दिउँसाे ३ बजे सकिएकाे छ । बामगती प्रदेशकाे ४ सहित १९ सदस्य पदका लागि भएको निर्वाचन सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हाे ।
आगमी फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । १ पदमा भने राष्ट्रपतिबाट मनाेनित हुनेछ । बागमती प्रदेश अन्तरगत हेटौडाकाे भुटनदेवी माविमा भएकाे मतदानमा ३ सय ४२ मतदाताले मतदान गरेका छन् ।
प्रदेश सभाकाे १ सय १० र स्थानीय तहका २ सय ३७ मतदातासहित ३ सय ४७ मतदाता रहेको बागमतीमा काठमाडौँका मेयर बालेन शाहसहित ५ जना मतदानमा अनुपस्थित भए । प्रदेश तर्फ १ सय ८ र स्थानीय तर्फ २ सय ३४ मतदाताले मतदान गरे । प्रदेश तर्फ २ र स्थानीय तर्फ ३ मत खसेन । प्रदेश तर्फ हाम्राे नेपाली पार्टीका शैलेन्द्र बज्राचार्य र सरिता खड्की र स्थानीय तह तर्फ नुवाकाेट किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ र काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ मतदानमा सहभागी नभएकाे निर्वाचन अधिकृतकाे कार्यालय हेटौडाले जनाएकाे छ ।
निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । बागमतीमा मतगणना बारे सर्वदलीय सर्वपक्षिय बैठक बस्ने तयारी भइरहेकाे छ । बैठक पछि आजै मतगणना सुरु गरिने निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । संभवत आजै मतपरिणाम समेत सार्वजनिक हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदाता रहन संवैधानिक प्रावधन बमाेजिम मतदानमा सहभागी भएका हुन् ।
कोसी प्रदेशमा कुल ३ सय ६७ मतदाता रहेकोमा ३ सय ६४ मत खसेकाे छ । धरानका हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अनुपस्थित भएका छन् । झापा गाउँपालिकाका जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उनी पनि मतदानमा सहभागी भएनन् ।
मधेस प्रदेशमा एक जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । प्रदेशमा ३ सय ७४ मतदाताले मतदान गरेका छन् । त्यस्तै गण्डकीमा २ सय २९ जनाले मतदान गरे । सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने मतदानमा सहभागी भएनन् । त्यस्तै लुम्बिनीमा ३ सय ५ जना मतदाता रहेकोमा स्थानीय तहकाे दुइ जनाले मतदान गरेनन् ।
यसैगरी १ सय ९६ मतदाता रहेका कर्णालीमा शत प्रतिशत मतदान भएको निर्वाचन आयाेगले जनाएकाे छ । सुदूरपश्चिममा २ सय २६ मतदाताले मतदानमा सहभागी जनाएका छन् । निर्वाचन आयाेगले सात प्रदेशमा एक–एक मतदान स्थल र दुई–दुई मतदान केन्द्र कायम गरेर मतदानको व्यवस्था गरेको थियो ।
बागमती प्रदेशबाट अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा मतदान भएकाे हाे । राष्ट्रिय सभा सदस्य रहेका बागमती प्रदेशका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ। जस अनुसार निर्वाचनमा महिला, अपांगता÷अल्पसंख्यक, दलित र अन्य समूहका १/१ सिटका लागि प्रतिस्पर्धा भएकाे हाे ।