मकवानपुर । राष्ट्रिय सभा सदस्य पदकाे लागि विहीबार भएकाे मतदान दिउँसाे ३ बजे सकिएकाे छ । बामगती प्रदेशकाे ४ सहित १९ सदस्य पदका लागि भएको निर्वाचन सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हाे ।
आगमी फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि सातै प्रदेशमा शान्तिपूर्ण मतदान सम्पन्न भएको हो । १ पदमा भने राष्ट्रपतिबाट मनाेनित हुनेछ । बागमती प्रदेश अन्तरगत हेटौडाकाे भुटनदेवी माविमा भएकाे मतदानमा ३ सय ४२ मतदाताले मतदान गरेका छन् ।
प्रदेश सभाकाे १ सय १० र स्थानीय तहका २ सय ३७ मतदातासहित ३ सय ४७ मतदाता रहेको बागमतीमा काठमाडौँका मेयर बालेन शाहसहित ५ जना मतदानमा अनुपस्थित भए । प्रदेश तर्फ १ सय ८ र स्थानीय तर्फ २ सय ३४ मतदाताले मतदान गरे । प्रदेश तर्फ २ र स्थानीय तर्फ ३ मत खसेन । प्रदेश तर्फ हाम्राे नेपाली पार्टीका शैलेन्द्र बज्राचार्य र सरिता खड्की र स्थानीय तह तर्फ नुवाकाेट किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ र काभ्रे चौरी देउराली गाउँपालिका उपाध्यक्ष शेरबहादुर तामाङ मतदानमा सहभागी नभएकाे निर्वाचन अधिकृतकाे कार्यालय हेटौडाले जनाएकाे छ ।
निर्वाचन आयोगले बिहान नौ बजेदेखि ३ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो । १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । बागमतीमा मतगणना बारे सर्वदलीय सर्वपक्षिय बैठक बस्ने तयारी भइरहेकाे छ । बैठक पछि आजै मतगणना सुरु गरिने निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । संभवत आजै मतपरिणाम समेत सार्वजनिक हुनेछ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र नगरपालिका प्रमुख–उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्षले मतदाता रहन संवैधानिक प्रावधन बमाेजिम मतदानमा सहभागी भएका हुन् ।
कोसी प्रदेशमा कुल ३ सय ६७ मतदाता रहेकोमा ३ सय ६४ मत खसेकाे छ । धरानका हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार अनुपस्थित भएका छन् । झापा गाउँपालिकाका जयनारायण साह भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले उनी पनि मतदानमा सहभागी भएनन् ।
मधेस प्रदेशमा एक जना मतदाता बाहेक सबैले मतदान गरेका छन् । प्रदेशमा ३ सय ७४ मतदाताले मतदान गरेका छन् । त्यस्तै गण्डकीमा २ सय २९ जनाले मतदान गरे । सहकारी ठगी काण्डमा फरार रहेका ढोरपाटनका मेयर देवकुमार नेपाली भने मतदानमा सहभागी भएनन् । त्यस्तै लुम्बिनीमा ३ सय ५ जना मतदाता रहेकोमा स्थानीय तहकाे दुइ जनाले मतदान गरेनन् ।
यसैगरी १ सय ९६ मतदाता रहेका कर्णालीमा शत प्रतिशत मतदान भएको निर्वाचन आयाेगले जनाएकाे छ । सुदूरपश्चिममा २ सय २६ मतदाताले मतदानमा सहभागी जनाएका छन् । निर्वाचन आयाेगले सात प्रदेशमा एक–एक मतदान स्थल र दुई–दुई मतदान केन्द्र कायम गरेर मतदानको व्यवस्था गरेको थियो ।
बागमती प्रदेशबाट अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा मतदान भएकाे हाे । राष्ट्रिय सभा सदस्य रहेका बागमती प्रदेशका एमालेबाट दिलकुमारी रावल र रामचन्द्र राई, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र सांसद खिमलाल देवकोटाको पद रिक्त हुँदैछ। जस अनुसार निर्वाचनमा महिला, अपांगता÷अल्पसंख्यक, दलित र अन्य समूहका १/१ सिटका लागि प्रतिस्पर्धा भएकाे हाे ।

