मकवानपुर । आर्थिक वर्ष २०८२/०८३ काे बजेट प्रदेश सभामा पेश गरेपछि प्रदेश सभाकाे बैठक बस्न सकेकाे छैन । प्रदेश सरकारले १ असारमा ढिलो गरी ल्याएकाे बजेटमाथि छलफलकाे लागि १२ असारमा बाेलाइएकाे प्रदेश सभाकाे बैठक दलहरु विच सहमति हुन नसक्दा स्थगित भएकाे थिायो । आज १६ असारकाे लागि सारिएकाे बैठक समेत स्थगित गरी बैठककाे लागि नयाँ मिति तोकिएकाे हाे ।
१९ असारमा बस्ने गरी प्रदेश सभा बैठक सूचना जारी गरी ताेकिएकाे हाे । प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा बजेटमाथि छलफल सुरु गरिने कार्यसुची तय भएकाे थियाे । बजेटमाथिको छलफलसँगै संशोधन प्रस्तावहरू समेट्दै बैठकहरू निरन्तर सञ्चालन गरिने तयारी गरिएकाे सचिवालयले जनाएको छ।
यसै बीच प्रदेश सरकारले प्रस्तुत गरेकाे बजेटमा विवाद बढ्दै जाँदा प्रतिपक्षी दलहरुले बजेट सच्याउनु पर्ने माग गरेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरु नेकपा माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादी पार्टीले बजेट सच्याउन वा मार्ग प्रशस्त गर्न सरकारलाई आग्रह गरेको हो ।
सोमबार गरिएकाे पत्रकार भेटघाटमा माओवादी केन्द्रका तर्फबाट प्रमुख सचेतक ढकालसहित एकीकृत समाजवादीका प्रदेशसभा सदस्य बसन्त मानन्धर, राप्रपाका संसदीय दलका उपनेता गिरबहादुर तामाङले हस्ताक्षर गरी संयुक्त विज्ञप्ति सार्वजनिक गरे । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको अगुवाईमा भएकाे पत्रकार भेटघाट पछि जारी विज्ञप्तिमा भनिएकाे छ ‘सरकार छलफल र संवादबाट भागिररहेको छ ।’
आगामी आवकाे बजेट प्रदेशसभामा पेश गरिएकाे तर सरकारले प्रदेशसभा सुचारु गरेर बजेटमाथिको छलफल सुरु गर्न नसकेको आरोप प्रतिपक्ष दलहरुकाे छ । सरकार छलफल र संवादबाट भागेर लगातार प्रदेशसभा बैठक स्थगन गर्दै आएको विज्ञप्ती मार्फत उनीहरुको भनाई राखेका छन् ।माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकाल भने ‘सरकारले बजेट संशोधन वा पुरक पुस्तक ल्याउनुपर्छ । सरकारले असन्तुलित बजेट सच्याउन वा पूरक पुस्तक ल्याउन नसक्ने अवस्था भए मार्ग प्रशस्त गर्नु पर्छ ।’
सरकारको एकलौटी निर्णयप्रति आपत्ती जनाउँदै प्रमुख सचेतक ढकालले सरकार बजेटमाथिको छलफलबाट भागिरहेको बताए । ‘प्रदेश सरकारको बजेट निर्माण प्रक्रिया नीतिगत रुपमा त्रुटिपूर्ण रहेको छ’ उनले भने ‘बजेटमा असन्तुलन, विभेद र मिलेमतो झल्किएकोले सत्तारूढ दललाई संवादका लागि आव्हान गरी बजेटको नीतिगत त्रुटिहरु सच्याउनु पर्छ ।’ सभालाई अवरोध गरेर जनताको अधिकार कुण्ठित गर्न नपाइने प्रतिपक्ष दलहरुले भनेका छन् ।
सरकार बजेटमाथि छलफल सुरु गर्नुको साटो प्रदेशसभालाई बन्धक बनाउने प्रयास गरिरहेको उनीहरुले आरोप लगाएका छन् । सभा संचालन नहुनु संवैधानिक व्यवस्था, संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासविरुद्धको कार्य भएकाे विज्ञप्तिमा भनिएकाे छ । असार १ गते समयमै बजेट नआउँदा सरकारमा रहेका दल र मन्त्रीहरु बीच विवाद सुरु भएको बताइएकाे छ । सत्तारुढ दलहरुको असहमति र गुटगत विवादका कारण प्रदेशसभा बैठकमा अवरोध भएको प्रमुख प्रतिपक्ष दलकाे भनाई छ ।
प्रदेश सरकारले बजेट सभामा पेश गर्ने दिन १ असार मै आर्थिक मामिला मन्त्री र सचिवबिचको विवाद सार्वजनिक भएको तथा मन्त्रालयहरुबीच समन्वय अभाव देखिएको उनीहरुले प्रतिपक्ष दलहरुले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । सत्ता घटक दलहरुबीचको असमझदारी छरपस्ट भएको कारण उक्त दिन समयमै बजेट प्रस्तुत हुन नसकेको उनीहरुको भनाइ छ । राती अबेर मात्र बजेट प्रस्तुत भएको बजेट हेर्दा सरकार बजेट निर्माणमा पूर्णत असफल भएको प्रतिपक्षीको आरोप छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले ल्याएको बजेटप्रति सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरूबीच असन्तुष्टि देखिए पछि सभामा छलफल हुन सकेकाे छैन । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेका प्रदेशसभा सदस्यहरूले बजेटमा विकास योजनाको वितरण असमान भएको भन्दै आलोचना गर्दै आएका छन् ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले सरकारको प्राथमिकता प्राप्त योजना बजेटमा नपरेको गुनासो गर्दै आएका छन् भने एमालेभित्र पनि योजना छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै असन्तोष देखिएको छ । केही प्रदेशसभा सदस्यहरूले बजेट संशोधनको माग गर्दै सार्वजनिक रूपमा असहमति जनाइसकेका छन् । बजेट विवादकाे कारण सत्तारुढ दल एमालेको संसदीय दलको बैठक नै बस्न सकेकाे छैन् भने काँग्रेसकाे दलकाे बैठकमा सहमति जुटन् सकेकाे छैन् ।
बागमती प्रदेश सरकारले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमुखी कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट सभामा पेश गरेकाे थियो । ।
मकवानपुर । बागमती प्रदेशसभा बैठक आज सोमबार दिउँसो १ बजे बस्दैछ । गत १२ असारका लागि तोकिएको बैठक बस्दै नबसी स्थगित भएकाे थियाे ।
आर्थिक वर्ष २०८२/८३ काे बजेटमाथिकाे छलफलकाे लागि बाेलाइएकाे बैठक दलहरुकाे विवादका कारण स्थगन भएको थियो । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै बैठक असार १६ गते सारिएको जानकारी गराएको थियो ।
आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । बजेटमाथिको छलफलमा प्रस्तुत प्रस्तावलाई समेटेर प्रदेश सभा निरन्तर सञ्चालन गरिने बताइएकाे छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा नेतृत्वको सरकारले ल्याएको बजेटप्रति सत्तारुढ दलकै प्रदेशसभा सदस्यहरूबीच असन्तुष्टि देखिएको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेका प्रदेशसभा सदस्यहरूले बजेटमा विकास योजनाको वितरण असमान भएको भन्दै आलोचना गर्दै आएका छन् ।
कांग्रेस प्रदेशसभा सदस्यले बजेट माथिको असन्तुष्टिका कारण संसदीय दलको बैठक नै प्रभावित भएको थियो । बजेट निर्माण प्रक्रियामा उत्पन्न विवादले नेकपा एमालेको संसदीय दलको बैठकसमेत प्रभावित भएको छ । बजेट माथिको विवादले एमालेको संसदीय दलको बैठक नै बस्न सकेको छैन ।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरूले सरकारको प्राथमिकता प्राप्त योजना बजेटमा नपरेको गुनासो गर्दै आएका छन् भने एमालेभित्र पनि योजना छनोट प्रक्रिया पारदर्शी नभएको भन्दै आन्तरिक असन्तोष देखिएको छ । केही प्रदेशसभा सदस्यहरूले बजेट संशोधनको माग गर्दै सार्वजनिक रूपमा असहमति जनाइसकेका छन् ।
बैठकमा निष्कर्ष निस्कन नसकेपछि कांग्रेस सत्ता साझेदार दल एमालेको साथ खोज्न पुगेको छ । सत्ता साझेदार दल एमालेको धारणा अनुसार अघि बढ्ने गरी कांग्रेसले संसदीय दलको बैठक स्थगन भएकाेबताइएकाे छ ।
एमालेको निर्णय अनुसार बजेट माथिको छलफल गर्ने गरी कांग्रेस संसदीय दलको निर्णय गर्न मुख्यमन्त्री बहादुर सिंह लामासहितका नेता आन्तरिक छलफलमा जुटे पनि उपलब्धी देखिएकाे छैन् ।
‘प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरू कांग्रेसलाई १ अर्ब २० करोड रुपैयाँ, एमालेलाई १ अर्ब रुपैयाँ, माओवादी केन्द्रलाई ७० करोड रुपैयाँ, नेमकीपालाई २ करोड रुपैयाँको बजेटको सिलिङ दिइएको थियो । त्यसमा पनि अर्थ मन्त्रालयले जानकारी नदिई आफ्ना योजना समावेश गरेको भेटिएको थियो ।
बजेट विनियोजन गर्दा आफ्नो कार्यक्षेत्रको स्पष्ट भएन । कार्यक्षेत्र निर्धारण नगरी बजेट विनियोजन भएको कारणले गर्दा समस्या निम्तिएको एक सांसदले बताए । टुक्रे र मापदण्ड विहीनका योजनाहरू धेरै भएकाले कार्यान्वयनमा पनि समस्या हुने उनले बताए ।
चितवन । चितवनको रत्ननगरनगरपालिका स्थित भद्रकाली माध्यमिक विद्यालयमा राष्ट्रिय सेवादल (एनसिसी) तालिम सुरु भएको छ । नेपाली सेनाले सञ्चालन गर्ने उक्त तालिम सोमबारबाट सुरु भएकाे हाे ।
रत्ननगर नगरपालिका वडा नं. १६ हात्तिगाडेमा रहेको उक्त विद्यालयमा सुरु भएको तालिमको नयाँ सबुज गण भरतपुरका सेनानी जित बहादुर थापा र वडाध्यक्ष हेमराज थापाले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा वडाध्यक्ष थापाले अनुशासित विद्यार्थीले देशको भविष्य सुन्दर बनाउन सक्ने भन्दै अनुशासनलाई प्राथमिकतामा राखेर तालिम पुरा गर्न सहभागीहरुलाई आग्रह गरे ।
सेनानी जित बहादुर थापाले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । यसैगरी उपसेनानी विशाल जीसीले तालिमको महत्व र उद्देश्य बारे प्रकाश पारेका थिए। युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम संचालन गरिएको उनले बताए ।
सय कार्य दिनकाे उक्त तालिम ७९ दिनसम्म विद्यालयमा सञ्चालन हुनेछ भने २१ दिन राष्ट्रिय सेवा दलको मध्य तालिम शिक्षालयमा नवलपरासी हात्तीखोरमा सञ्चालन हुनेछ । तालिममा ३० जना विद्यार्थी सहभागी छन् ।
मकवानपुर । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको ४ वर्षे कार्यकाल सकिएको छ । कार्यकाल सकिएपछि चौलागाईले मंगलबार आफ्नो कार्यकालमा भएका कामको जानकारी गराउन पत्रकार भेटघाट गरे ।
जेठ मसान्तमा कार्यकाल सकिएसँगै मंगलबारकाे पत्रकार भेटघाटमा चौलागाईले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा प्रदेश युवा परिषद्लाई खेलकुद विकास परिषदमा गाभ्ने निर्णय सच्याउन आग्रह गरेका छन् । ‘परिषद्ले युवा पुस्तालाई प्रदेश सरकार र सरोकारवालासँग जोड्न सफल भएको छ’ उनले भने ‘युवा परिषद्लाई अझ सशक्त बनाएर अगाडि बढ्नुपर्ने अहिलेकाे आवश्यकता हाे ।’ युवा परिषद्लाई खेलकुदमा गाभ्ने निर्णय कानूनीरुपमा पनि जटिल रहेकाे उनले बताए ।
एक पटक भर्चुअल र ३ पटक भौतिक उपस्थितिमै प्रदेशका १३ वटै जिल्लाका युवाको सहभागितामा युवा सम्मेलनको आयोजना गर्नु आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी भएको उनले जानकारी दिए । ‘आम युवाको सक्षमता, क्षमता विकास र रोजगारी सिर्जनाको क्षेत्रमा काम गर्ने युवा परिषद्लाई सरकारले बजेट विनियोजनमा विभेद गर्ने गरेकाे छ’ उनले भने । ४ वर्षे कार्यकालमा १० हजार भन्दा बढी युवालाई रोजगारमूलक तालिम प्रदान गरिएको, सयौं युवा स्वरोजगार भएको उनले बताए ।
महिला युवाका लागि आत्मरक्षा तालिम सञ्चालन परिषद्को अर्को उपलब्धि रहेको चौलागाईले बताए। तालिमलाई १३ वटै जिल्लामा फैलाएर प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए । उनका अनुसार युवालाई कुलतबाट जोगाउँदै समाजप्रति उत्तरदायी बनाउन कार्यशाला, अभिमुखीकरण तथा प्रेरणात्मक कार्यक्रमहरू सञ्चालन गरिएका छन् ।
सरकार परिवर्तनको बेला एकपटक प्रदेश सरकारसँग केही असमझदारी भए पनि अदालतले पुनर्स्थापित गरेसँगै आफूलाई काम गर्न कुनै समस्या नभएको चौलागाईले जानकारी दिए । ‘सरकारलाई युवासँग जोड्न र सरकारसम्म युवाको पहूँच स्थापित गर्न परिषद्ले सहजकर्ताको भूमिका निर्वाह गरेको छ’ उनले भने । कार्यकाल सकिए पनि मैले हासिल गरेको ज्ञान, सीपलाई आगामी दिनमा आवश्यकताअनुसार सहयोग गर्दै जाने उनले बताए ।
‘युवालाई देशमै बस्नुपर्छ,यही काम गर्नुपर्छ भन्ने भावना अभिवृद्धि गराउन परिषद्ले निर्वाह गरेको भूमिकालाई निरन्तरता दिनुपर्छ’ उनले भने । मुख्यमन्त्रीसँग युवाको संवाद समेत गराएकाे उनले जानकारी दिए । चौलागाईले आफ्नो कार्यकालमा साथ, सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

मकवानपुर । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । शुक्रबारको प्रदेशसभामा प्रदेश सरकारको आर्थिक सर्वेक्षण पेश गरिएको हो ।
उक्त सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशको समग्र आर्थिक स्थितको प्रतिवेदन सभामा प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा बागमती प्रदेशको कुल ग्राहस्थ उत्पादन २२ खर्ब ३० अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रदेशले राष्ट्रिय तहको कुल ग्राहस्थ उत्पादनमा ३६.५२ प्रतिशत योगदान पुर्याउने संशोधित अनुमान रहेको छ । चालू आर्थिक वर्षमा पनि प्रतिव्यक्ति कुल ग्राहस्थ उत्पादनमा प्रदेश अगाडी रहने प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशका नागरिकको प्रतिव्यक्ति आय २ हजार ६०२ अमेरिकी डलर रहेको छ । प्रदेशको कुल ग्राहस्थ उत्पादन उपभोक्ताको मूल्यमा २२ खर्ब ३० अर्ब रहने अनुमान गरेको छ ।
प्रदेश सरकारको चालु आर्थिक वर्षको फागुनसम्मको खर्च २५.६२ प्रतिशत पुगेको छ । चालु तर्फ ३५.२२ प्रतिशत खर्च भएको छ भने पुँजीगत तर्फ १९.९४ प्रतिशत मात्र खर्च गरिएको छ । सोही अवधिमा सरकारको कुल आय ४४ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ रहेको छ । आर्थिक सर्वेक्षण अनुसार सवारी साधन करबाट प्रदेश सरकारले १२ अर्ब ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म ७ अर्ब २२ करोड रुपैयाँ सङ्कलन भइसकेको छ ।
नेपाल राष्ट्र बैङ्कले सुरु गरेको प्रदेशगत मुद्रास्फीति प्रकाशन अनुसार, फागुन महिनामा बागमती प्रदेशको मुद्रास्फीति दर २.९८ प्रतिशत रहेको छ । नेपाल जीवनस्तर सर्वेक्षण अनुसार, बागमती प्रदेशमा गरिबीको रेखामुनिको जनसङ्ख्या १२.५९ प्रतिशत, बहुआयामिक गरिबी ७ प्रतिशत, गरिबिको गहनता ०.८९ प्रतिशत र फैलावट १२.६८ प्रतिशत रहेको छ ।
६ वटा समितिको प्रतिवेदन पेश
बागमती प्रदेशसभामा ६ वटा विषयगत समितिको प्रतिवेदन पेश गरिएको छ । प्रदेशसभाको शुक्रबारको बैठकमा ६ वटा संसदीय समितिको विषयगत वार्षिक प्रगति प्रतिवेदन पेश भएको हो ।
प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुरप्रसाद ढकाल, उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिका सभापति नुरज श्रेष्ठ र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
यसैगरी प्रदेश चलचित्र विकास सम्बन्धी विधेयकलाई विषयगत समितिमा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश चलचित्र विकास सम्बन्धी विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावलाई सभामुख भुवनकुमार पाठकले निर्णयार्थ सभामा पेश गर्दा विषयगत समितिमा पठाउन सर्वसम्मत स्वीकृति भएको थियो ।
हेर्नुहोस प्रदेशको आर्थिक सर्वेक्षण
Economic Survey 2081-82_bgl63kd