मकवानपुर । मकवानपुरकाे हेटौंडामा एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता १९ कात्तिक बुधबारबाट सुरु हुनेछ ।
मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा हेटौंडा उपमहानगरपालिका वडा नं. ६ स्थित गौरिटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा देशका सात वटै प्रदेशका लिग च्याम्पियन क्लबसहित १० टोलीको सहभागिता रहने सोमबार हेटौंडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे छ । २ मंसिरसम्म हुने प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः १० लाख र ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा फेअर प्ले टिमले ५०/५० हजार रुपैयाँ तथा र ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी तथा उत्कृष्ट गोलकिपरले २५/२५ हजार रुपैंया र ट्रफी प्राप्त गर्ने छन् । यसैगरी प्लेयर अफ द म्यादले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्दा अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा गाईघाट फुटवल क्लब (उदयपुर), देउराली युथ क्लब (धनकुटा), नव जागृति क्लब (बारा), चित्लाङ्ग फुटवल क्लब (काठमाडौं), टाईगर्स टिम (दोलखा), जन जागृति युवा क्लव (बर्दिया), काक्रे विहार युथ क्लब (सुर्खेत), विजय स्पोर्टस् क्लब (कैलाली), हैरान्स क्लब (तनहुँ, लालीगुराँस एसोसियन क्लब (कास्की) प्रतियोगिताको उद्घाटन खेल चित्लाङ एफसी र देउराली युथ क्लबबीच हुने एन्फा प्रवक्ता शाहले जनाकारी दिए । प्रतियोगितामा सहभागी टिमलाई तयारी खर्च वापत ७ लाख प्रदान गरिने समेत उनले बताए ।
एन्फा फुटवल विकास कार्यक्रम अर्न्तगत एन्फामा आवद्ध जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएका कुल १० टिमको सहभागिता रहेकाे उनले जानकारी दिए । सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेलहरु खेलाईने बताइएकाे छ । प्रत्येक समुहको विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्ने आयोजकले जनाएकाे छ । एन्फाले सेमिफाईनल पुग्ने ४ वटा टिम यसै वर्ष संचालन हुने राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन पाउने जानकारी दिएकाे छ ।
प्रतियोगितामा सहभागी टिमलाई ट्रेनिङ्गको लागि हेटौंडा उपमहानगरपालिका भित्रको २ वटा खेल मैदानको व्यवस्था गरिएको स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएकाे छ । प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे बताइएकाे छ । प्रतियोगिताको लागि १ करोड ५४ लाख ५४ हजार ४ सय २५ रुपैयाँ लाग्ने आयोजकले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले राजनीति गरेको मानवताका लागि भएकाे बताएका छन् । मुख्यमन्त्री बानियाँले विपन्न दलित एवं एकल महिलालाई घर हस्तान्तरण गर्दै यस्तो बताएका हुन् ।
उनले आइतबार मकवानपुर मनहरी–९ की मिठुमाया सुनारको घर निर्माण गरेर हस्तान्तरण गरेका हुन् । ‘हामीले राजनीति गरेकाे मानवताकाे लागि हाे’ हस्तान्तरण कार्यक्रममा उनले भने ‘गरिबलाई न्याय, गरिबलाई आयको सिद्धान्तमा हामी अघि बढिरहेका छौँ । गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न हामी प्रतिबद्ध छौँ ।’
सोही अवसरमा मुख्यमन्त्री बानियाँले बाख्रा पालन गरी जीविकोपार्जन गर्न मिठुमायालाई २० हजार रुपैयाँ आर्थिक सहायता समेत प्रदान गरेका थिए । उनले आफ्नो व्यक्तिगत लगानी र मुख्यमन्त्रीको सुविधाबाट मकवानपुरको राक्सिराङ र कैलाशमा थप २ वटा यस्ता घर निर्माण गर्दैछन् । हस्तान्तरण गरिएको घर सरकारी अनुमान अनुसार करिब ७ लाख लागतको छ । आरसीसी पिल्लर सिस्टमको उक्त घरमा ३ कोठा, शौचालय, बत्ती, पानी लगायतको सुविधा छ ।
मुख्यमन्त्री बानियाँले प्रदेशभरिका १ हजार विपन्न परिवारका लागि प्रदेश सरकारमार्फत घर निर्माण गर्ने योजना घोषणा गरेका छन् । घरसँगै छानामुनि बस्नेको खाना र नाना (रोजगारी) को पनि व्यवस्था गर्न सरकारले आयआर्जनका कार्यक्रम ल्याउने उनको भनाइ छ । मुख्यमन्त्री नियुक्त भएपछि बानियाँले आफ्नो पारिश्रमिकबाट घरबार विहीन विपन्न दलित तथा एकल महिलाका लागि घर निर्माण गरिदिने घोषणा गरेका थिए । सोही बमोजिम उनले सुनारको घर निर्माण गरि हस्तान्तरण गरेका हुन् ।
घर हस्तान्तरण कार्यक्रमा सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामा लगायतको सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मिठुमायाँ सुनारलाई घर हस्तान्तरण गरिने भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफूले पाउने सेवा सुबिधाबाट सुनारकाे लागि निर्माण गरिदिएकाे घर कार्तिक २ गते मंगलबार हस्तान्तरण गरिने भएकाे हाे ।
नेपालीहरुको पर्व तिहारको अवसरमा कार्तिक २ गते मंगलबार मिठुमायाँलाई घर हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएकाे छ । घर हस्तान्तरण भएसँगै उनले आफ्नै घर प्राप्त गर्ने छिन् । मुख्यमन्त्री बानियाँले आफ्नै निर्वाचन क्षेत्र अन्तरगत राक्सीराङ्ग गाउँपालिका १ इन्द्रुङ्गका सुमनसिं चेपाङको लागि समेत घर निर्माण गरिरहेका छन् । चेपाङकाे लागि बन्दै गरेकाे घर कात्तिक महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गरिने बताइएकाे छ ।
बानियाँले यसअघि पनि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर गुमाएका पीडितलाई १ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए। बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब भत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुविधा कटौती गर्दै आफ्नो निर्वाचन क्षेत्रकाे विपन्न परिवारको लागि घर निर्माणमा खर्चिने घोषणा गरेका थिए।
मकवानपुर । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले आगामी ३ वर्ष भित्र सबै फाइल प्रणालीलाई डिजिटलाइज गर्ने भएकाे छ । सोमबार प्रदेश राजधानी हेटौंडामा पत्रकार भेटघाट कार्यक्रम मार्फत उक्त कार्यकाे सुरुवात भएकाे जानकारी दिइएकाे हाे ।
मन्त्रालयले पारदर्शी शासन, सुशासन र डिजिटल सेवा प्रणालीलाई सशक्त रुपमा अगाडी बढाउने कदम चालेको घोषणा गरेको छ। मन्त्रालयले कार्यालयमा बिचौलियालाई निषेध गरी सेवा पारदर्शी बनाउने अभियानस्वरूप यातायात कार्यालयहरूलाई “बिचौलिया निषेध क्षेत्र” घोषणा गर्ने तयारी भइरहेको जनाएकाे छ।
‘सेवाग्राहीलाई समस्या आएमा मन्त्रालयसँग सिधा सम्पर्क गर्न हटाउन नम्बरको व्यवस्था मिलाएको छ’ श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले भने ‘हाम्रा भवनहरू जल्न सक्छन्, तर हाम्रा सेवाहरू रोकिन्न। अब सेवा लाइनमा होइन, अनलाइनमा छ । शासन अब कागजमा होइन, नागरिकको हातमा पुगेको छ।”
मन्त्रालयले “श्रमको सम्मान प्रत्येक हातसम्म, सेवा जनताको ढोका सम्म” भन्ने नारासहित नागरिकमुखी शासनतर्फको यात्रालाई तीव्रता दिएको बताएकाे छ। मन्त्रालयले नियमित रूपमा हरेक ३ महिनामा आफ्ना गतिविधिहरू सार्वजनिक गर्दै जाने प्रतिबद्धता जनाएको छ भने संचारकर्मीहरूलाई सत्य–तथ्यमा आधारित सूचनाहरु सम्प्रेषण गर्न आह्वान गरेको छ।
मन्त्रालयले संघीय सरकारले अनुमति दिएको एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सुरु गरिने गरि तयारी गरेको बताएको हो।
मन्त्रालयले भाद्र २३ र २४ गतेको प्रदर्शनपछि पनि सेवा प्रवाह नरोकेको, क्षतिग्रस्त भवन र कार्यालयहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढिरहेको जानकारी दिदैं उक्त घटनाबाट मन्त्रालय भवन पूर्णरूपमा क्षतिग्रस्त भएको र दर्जनौ बढी सवारी साधनहरूमा क्षति पुगेकाे भए पनि मन्त्रालयले बाँकी भौतिक संरचनाको अधिकतम उपयोग गर्दै सेवा दिइरहेकाे छ ।
यसैगरी सेवाग्राहीहरूले लिखित र ट्रायल बाहेकका सबै प्रक्रिया अनलाइनमार्फत गर्न सक्ने भएका छन्। राष्ट्रिय परिचयपत्रसँग एकीकृत गरिएको यो प्रणालीले डिजिटल लाइसेन्स र क्यूआर कोडमार्फत पारदर्शीता र द्रुत सेवा सुनिश्चित गर्ने मन्त्रालयले लक्ष्य राखेको छ। सवारी कर, नविकरण र अन्य विवरण अब ई–ब्लूबुक प्रणालीमार्फत अनलाइनमै गर्न सकिनेछ। अनलाइन भुक्तानी प्रणालीमा सेवाग्राहीलाई जोडेर घरमै बसेर सेवा प्राप्त गर्न सकिने व्यवस्था मिलाउन लागिएकाे मन्त्री थापाले जानकारी दिए । यसले बिचौलिया संस्कारको अन्त्य हुने विश्वास मन्त्रालयले लिएको छ।
मन्त्रालयले प्रदर्शनका क्रममा क्षतिग्रस्त सवारी साधनहरूको कर र नविकरण दस्तुर मिनाहा गर्ने प्रक्रिया अघि बढाइएको जनाएकाे छ । पूर्णरूपमा नष्ट भएका सवारीहरूको आर्थिक वर्ष २०८२/८३को कर तथा नवीकरण दस्तुर छुट गर्नुका साथै निःशुल्क दर्ता खारेजी र आंशिक क्षतिमा प्रयोग नहुन्जेलसम्म कर छुट दिने तयारी मन्त्रालयले गरिरहेको छ। यस्तै, सेवा लिन नसकेर जरिवानामा परेका सेवाग्राहीहरूका लागि जरिवाना मिनाहा गर्ने प्रक्रियासमेत अघि बढाइएको संचारकर्मीसँगकाे भेटघाटमा बताइएकाे छ। यातायात व्यवस्था कार्यालयहरूको सेवा स्तरमा सुधार ल्याउन, ट्रायल सेन्टर, स्वास्थ्य परीक्षण केन्द्र र ड्राइभिङ इन्स्टिच्युटहरूलाई व्यवस्थित गर्न मन्त्रालयले उच्चस्तरीय समिति गठनको तयारी गरिरहेको मन्त्री थापाले बताए ।
यसैबीच, बागमती प्रदेशलाई सीपयुक्त श्रम बजारको केन्द्र बनाउने लक्ष्यसहित, १० हजार युवालाई रोजगारी सिर्जना गर्न निक्षेप सुरक्षा कोषसँग सहकार्य गरिने मन्त्रालयले जनाएको छ। यस्तै ५ सय युवालाई निःशुल्क ड्राइभिङ तालिम दिई लाइसेन्स दिलाएर रोजगारीमा जोड्ने कार्यक्रम पनि अघि बढाइएको बताइएकाे छ।