मकवानपुर । मकवानपुरकाे हेटौंडामा एन्फा प्रेसिडेण्ट लिग फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने प्रतियोगिता १९ कात्तिक बुधबारबाट सुरु हुनेछ ।
मकवानपुर जिल्ला फुटबल संघको समन्वयमा हेटौंडा उपमहानगरपालिका वडा नं. ६ स्थित गौरिटार रंगशालामा सञ्चालन हुने प्रतियोगितामा देशका सात वटै प्रदेशका लिग च्याम्पियन क्लबसहित १० टोलीको सहभागिता रहने सोमबार हेटौंडामा पत्रकार भेटघाट गरी जानकारी दिइएकाे छ । २ मंसिरसम्म हुने प्रतियोगिताको विजेता र उपविजेता टोलीले क्रमशः १० लाख र ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
एन्फा प्रवक्ता सुरेश शाहका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा फेअर प्ले टिमले ५०/५० हजार रुपैयाँ तथा र ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा धेरै गोल गर्ने खेलाडी तथा उत्कृष्ट गोलकिपरले २५/२५ हजार रुपैंया र ट्रफी प्राप्त गर्ने छन् । यसैगरी प्लेयर अफ द म्यादले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्दा अन्य विधागत उत्कृष्ट खेलाडीहरूलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।
प्रतियोगितामा गाईघाट फुटवल क्लब (उदयपुर), देउराली युथ क्लब (धनकुटा), नव जागृति क्लब (बारा), चित्लाङ्ग फुटवल क्लब (काठमाडौं), टाईगर्स टिम (दोलखा), जन जागृति युवा क्लव (बर्दिया), काक्रे विहार युथ क्लब (सुर्खेत), विजय स्पोर्टस् क्लब (कैलाली), हैरान्स क्लब (तनहुँ, लालीगुराँस एसोसियन क्लब (कास्की) प्रतियोगिताको उद्घाटन खेल चित्लाङ एफसी र देउराली युथ क्लबबीच हुने एन्फा प्रवक्ता शाहले जनाकारी दिए । प्रतियोगितामा सहभागी टिमलाई तयारी खर्च वापत ७ लाख प्रदान गरिने समेत उनले बताए ।
एन्फा फुटवल विकास कार्यक्रम अर्न्तगत एन्फामा आवद्ध जिल्ला लिगबाट च्याम्पियन भई प्रदेश लिगबाट छनौट भएका कुल १० टिमको सहभागिता रहेकाे उनले जानकारी दिए । सहभागी १० टिमलाई दुई समुहमा विभाजन गरी लिग कम नकआउटको आधारमा खेलहरु खेलाईने बताइएकाे छ । प्रत्येक समुहको विजेता र उपविजेता नकआउट चरणमा प्रवेश गर्ने आयोजकले जनाएकाे छ । एन्फाले सेमिफाईनल पुग्ने ४ वटा टिम यसै वर्ष संचालन हुने राष्ट्रिय लिग प्रतियोगितामा सहभागी हुन पाउने जानकारी दिएकाे छ ।
प्रतियोगितामा सहभागी टिमलाई ट्रेनिङ्गको लागि हेटौंडा उपमहानगरपालिका भित्रको २ वटा खेल मैदानको व्यवस्था गरिएको स्थानीय आयोजक मकवानपुर जिल्ला फुटबल संघले जानकारी दिएकाे छ । प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे बताइएकाे छ । प्रतियोगिताको लागि १ करोड ५४ लाख ५४ हजार ४ सय २५ रुपैयाँ लाग्ने आयोजकले जनाएकाे छ ।

