मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ३ मन्त्री र १ राज्यमन्त्रीहरुले पद तथा गाेपनियताकाे सपथ लिएका छन् । प्रदेश प्रमुख बिष्णुप्रसाद प्रसाईले मुख्यमन्त्री डाेरमणी पाैडेलकाे उपस्थितिमा नवनियुक्त मन्त्रीलाई सपथ खुवाए भने राज्यमन्त्रीलाई मुख्यमन्त्रीले सपथ ग्रहण गराएका हुन् ।
आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डे, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपाल र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतलाइ पद तथा गाेपनियताकाे सपथ खुवाइएकाे हाे । साथै सामाजिक विकास राज्यमन्त्री डा.रामकुमार अधिकारीले पनि सथप लिएका छन् ।
नुवाकोटका पाण्डे, सिन्धुपाल्चोकका नेपाल, दोलखाकी बस्नेत र धादिङ्का डा. अधिकारीलाई मुख्यमन्त्री पाैडेलले बुधबार मन्त्रीमा नियुक्त गरेका थिए।
बुधबार विहान मुख्यमन्त्री पौडेलले प्रदेशमा रिक्त मन्त्री ४ महिना पछी नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । उनले ३ मन्त्री र १ राज्यमन्त्री नियुक्त गरे पनि ढिलाे गरी मन्त्री हुनेकाे नाम सार्वजनिक भएकाे थियाे ।
मुख्यमन्त्री पौडेलविरुद्ध गत पुसमा अविस्वासको प्रस्ताव प्रदेश सभमा दर्ता भएसँगै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल, र सामाजिक विकासमन्त्री युवराज दुलालले संयुक्त रुपमा पदबाट राजीनामा दिएका थिए । मन्त्रीहरुकाे राजीनामा पछि मुख्यमन्त्री पौडेल आफैँले रिक्त मन्त्रालयहरुको जिम्मेवारी संहाल्दै आएका थिए ।
मकवानपुर । बागमती प्रदेशका रिक्त रहेकाे मन्त्रालयमा बुधबार मन्त्री नियुक्ती गरिने भएकाे छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद् विस्तार गर्ने गरी आवश्यक तयारी भइरहेको बताइएकाे छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्राेतका अनुसार नियुक्त गरिने मन्त्रीहरुको सपथ ग्रहण आजै अपरान्ह ४ बजे हुने छ । मुख्यमन्त्री कार्यालयले नियुक्त हुने नयाँ मन्त्रीहरुको नाम सार्वजनिक गरिएकाे छैन । दिउँसो ४ बजेका सपथग्रहण गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा समय मिलाइएको प्रदेश प्रमुख कार्यालय स्राेतले जनाएकाे छ । साेही अनुसारकाे तयारीमा प्रदेश प्रमुख कार्यालय लागि परेकाे प्रदेश प्रमुख कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
आज विस्तार हुन लागेको मन्त्री परिषदमा काभ्रेका चन्द्र लामा मन्त्री हुने चर्चामा छन् । त्यसैगरी, मकवानपुरकी जुनेली श्रेष्ठलाई पनि राज्यमन्त्रीको रुपममा मन्त्रीपरिषदमा समेट्ने तयारी बुझिएकाे छ । सिन्धुपाल्चोकका सरेश नेपाल, नुवाकोटका केशब पाण्डे र दोलखाकी सरस्वति बस्नेत पनि बिस्तार हुने मन्त्रीपरिषदमा पर्ने सम्भावना रहेकाे छ । डा रामकुमार अधिकारी धादिङ र प्रदीप कटुवाल सिन्धुली पनि राज्यमन्त्री हुने चर्चामा छन् । लामा, पाण्डे र नेपालले एक एक वटा मन्त्रालयको नेतृत्व गर्नेछन् भने अन्य राज्यमन्त्री हुनेछन् ।
धेरै समयअघि देखि मन्त्रीपरिषद् विस्तारको चर्चा भइरहे पनि मुख्यमन्त्री पौडेलले मन्त्री परिषद् विस्तार गर्न सकेका थिएनन् । आफ्नै पार्टीभित्रको चरम समस्यामा रुमलिएका पौडेलले आज मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । नेकपाभित्र दुई धार देखिए पछी चरम विवादका बीच केही मन्त्रीले राजिनामा दिएका थिए । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीबाट अरुण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीबाट सालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्रीबाट युवराज दुलालले राजीनामा दिएपछि यि मन्त्रालयहरु पनि मुख्यमन्त्रीले हेर्दै आएका थिए । राजीनामापछि मन्त्रीबिहीन बनेको मन्त्रालयले अपेक्षा अनुसारको काम गर्न सकिरहेका थिएनन् ।
प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप झेल्दै आएका मुख्यमन्त्री पौडेलले प्रदेशको पावरफूल र कामकाजी मन्त्रालयमा अहिलेसम्म नेतृत्व चयन गर्न सकेका थिएनन् । भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयबाट केशव स्थापितलाई बर्खास्त गरेदेखि नै सरकारको पर्फमेन्स देखिएको छैन ।
नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो ।
मकवानपुर । जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठ राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त भएका छन्।
निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा निर्वाचन आयोगको मंगलबार बसेको बैठकले श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको हो। राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि उनलाई वैशाख १६ गतेदेखि लागू हुने गरी नियुक्त गरिएको आयोगले जनाएको छ ।
नेकपा माओवादी केन्द्रले बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य प्रतिनिधित्व गरेका रामबहादुर थापालाई कारबाही गरेपछि रिक्त रहेको सिटमा जेठ ६ मा उपनिर्वाचन हुन लागेको हो।
मकवानपुर । प्रहरी कर्मचारीहरुको आचरण व्यवहार सुधार एवम सेवा प्रवाह प्रणालीको सुधारको लागि २०७७ असार महिनाबाट शुरुवात गरिएकाे शुद्धिकरणअभियान प्रभावकारी देखिएकाे छ ।
बागमती प्रदेशमा गत असरबाट सुरु गरिएकाे अभियानमा २०७८ काे बैशाखसम्ममा प्रहरी कर्मचारीदेखि प्रहरी निरिक्षक सम्म २८ जना कारबाहीमा परेकाे प्रहरी नायव महानिरिक्षक बसन्त कुमार लामाले बताए । यसबिचमा कार्यसम्पादनमा उत्कृष्ट भुमिका निर्वाह गरेका ३० जनालाई सम्मान गरिएको छ ।
कार्यसम्पादानको लागि प्रहरी अधिकारीको संयोजनमा स्पेशल फोर्स गठन गरेर परिचालन गरेको प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक मिरा चौधरीले जानकारी दिईन् । अन्य कारबाहीमा २ सय ३ प्रहरी परेका छन् भने ६ सय ५१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको जानका दिइएको छ । बागमती प्रदेश अन्तर्गतका नेपाल प्रहरीलाई घुस दिन खोज्ने १ हजार ८ सय ७० सवारी कारबाहीमा परेका छन् । प्रहरीले सवारी चालकले दिएको ३ लाख ४५ हजार २ सय ५० रुपैयाँ घुस फिर्ता गरिएकाे छ भने कारवाही गरेर १९ लाख ४५ हजार राजश्व संकलन भएकाे लामाले बताए ।
जबरजस्तीकरणीमा ३०७ मुद्दा
बागमती प्रदेशमा गत २०७७ को बैशाखदेखि चैतसम्मा ४ हजार २सय १८ मुद्दा दर्ता भएका थिए भने १ हजार ४ सय ३९ फछ्यौट र २ हजार ७ सय ७९ बाँकी रहेको छ । जसमा जबरजस्ती करणीको मुद्दा ३ सय ७ वटा परेको छ । जबरजस्ती करणीमा २०७६ मा २ सय ४८ मुद्दा परेको थियो भने २०७५ मा २ सय ३६ मुद्दा दायर भएको थियो । २०७७ मा बागमती प्रदेशमा आत्महत्याको घटना पनि बढेको छ ।
बागमती प्रदेशमा एक वर्षमा १ हजार ९९ जनाले आत्महत्या गरेका छन् जुन अघिल्लो दुई वर्षको तथ्यांक भन्दा धेरै हो । २०७६ मा बागमती प्रदेशमा ८ सय १० र ०७५ मा ५ सय १३ घटना घटेको प्रहरीको तथ्यांक रहेको छ । लागु औषध अपराध भने २०७७ मा थोरै घटेको तथ्यांकमा देखिन्छ । अघिल्लो वर्ष ३ सय २३ रहेको थियो भने ०७७ सालमा २ सय १४ वटा मात्रै मुद्धा रहेको छ ।
याे बिचमा विकृतीका घटनाहरू पनि बढेकाे तथ्याङ्कले देखाएकाे छ । बागमती प्रदेश प्रहरीले दिएको तथ्यांक अनुसार पछिल्ला वर्षमा सामाजिक विकृतीहरु बोक्सीको आरोप, बहुविवाह बढ्दै गएको पाइएको छ । प्रदेशभरी २०७७ मा बोक्सीको आरोपका घटना १२ वटा घटेका छन् । ०७६ र ०७५ मा क्रमशः ७ र १ घटना मात्रै थिए । यस्तै कोरोना भाईरसको कारण लामो समयसम्म लकडाउन तथा स्वास्थ्य निर्देशिकाले रोकिएको विहेहरुको बाबजुद पनि बागमती प्रदेशमा बालविवाह तथा बहुविवाह गरी ८५ घटना दर्ता भएका छन् ।
यस्तै २०७७ सालमा बागमती प्रदेशबाट ६ वटा मानव बेचविखनका घटना भएका छन् । बागमती प्रदेश प्रहरीले एक वर्षमा ५३ वटा मदिरा भट्टी नष्ट गरेको छ भने ६८ हजार ४ सय ८४ लिट तयारी मदिरा समेत नष्ट गरेको छ । कार्यालय मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले एक वर्षमा ८ सय ६३ विगाहा १५ कठ्ठा गाँजा खेती नष्ट गरेको छ भने १ सय ३ विगाह १६ कठ्ठा अफिम खेती पनि नष्ट गरेको छ ।
याे अवधिमा प्रहरीकाे भाैतिक पक्ष पनि सशक्त बनेका छन् । जनताकाे सुरक्षाकाे लागि खट्ने प्रहरीहरू पहिले सुरक्षित हुने पर्ने धारणा सहित देश सरकारले प्रहरी भवन बनाउने कामलाइ तिव्रता दिएसँगै धमाधम भवन बने । बागमती प्रदेश प्रहरी कार्यालय मातहमा एकै वर्षमा ४८ वटा भवन निर्माण सम्पन्न भएका छन् । प्रदेश प्रहरीको कुल दरबन्दी ७ हजार ९ सय ८० रहेकोमा १ हजार ७ सय २४ दरबन्दी हाल खाली रहेको छ ।
प्रदेश मातहातमा स्थायी प्रहरी ईकाई ३ सय ३३, अस्थायी १ सय २८ रहेका छन् । हाल २१ वटा भवन निर्माणधिन अवस्थामा रहेको छ । प्रदेशमा एक वर्षमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ । शान्ति सुरक्षामा बागमती प्रदेशमा नेपाल बन्द २ चोटी आमहडताल १ एक चोटी चक्काजाम २४ वटा धर्ना ११ वटा, तालाबन्दी २७ वटा, विरोध -याली ३ सय १०, मशाल जुलुस–२८, आमसभा /कोण सभा ४७ वटा भएका छन् ।
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश सह–इन्चार्जमा मुख्यमन्त्री तथा एमाले केन्द्रीय सदस्य डोरमणी पौडेल चयन भएका छन् ।
नेकपा एमालेले शुक्रबार दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिका सदस्यरुको कार्यविभाजन गरेकोमा मुख्यमन्त्री पौडेल बागामती प्रदेशको सहइन्चार्ज तथा नगरपालिका महासंघको इन्चार्ज चयन भएका हुन् ।
एमाले मकवानपुर इन्चार्जमा रामेश्वर राना

नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुर इन्चार्ज रामेश्वर राना चयन भएका छन् । एमालेले दशौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटिका सदस्यरुको कार्यविभाजन गर्दा केन्द्रीय सदस्य राना मकवानपुर इन्चार्ज भएका हुन् ।
राना यसअघि मकवानपुरका सहइन्चार्ज थिए । यस अघि इन्चार्ज रहेका केन्द्रीय सदस्य विरोध खतिवडा भने जिम्मेवारी बिहिन भएका छन् । माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूलाई केन्द्रीय कमिटीमा यथावत राखे पनि परिभाषित जिम्मेवारी दिइएको छैन ।
एमालेको स्थायी कमिटी घोषणा
यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी पुनर्गठन गरेका छन् । शुक्रबार बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले १९ सदस्यीय स्थायी कमिटी गठन गरेका हुन् ।
माधवकुमार नेपाल पक्षको अनुपस्थितिका बीच भएकाे महाधिवेशन आयोजक समितिको बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटीमा नेपाल पक्षलाई समावेश नगरेका हुन् । एमाले एकता अभियान चलाएका, तर ओलीले बोलाएको बैठकहरुमा अनुपस्थित रहेका वामदेव गौतमलाई भने राखिएको छ । नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् । साविक नेकपा विभाजनपछि केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्यहरुलाई नै एमालेको स्थायी कमिटीमा रुपान्तरण गरिएको छ ।
एमाले स्थायी कमिटी
१. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा बादल
५. विष्णु पौडेल
६. सुवास नेम्वाङ
७. शंकर पोखरेल
८. प्रदीप ज्ञवली
९. लेखराज भट्ट
१०. टोपबहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. विष्णु रिमाल
१३. छविलाल विश्वकर्मा
१४. पृथ्वीसुब्बा गुरुङ्ग,
१५. रघुबीर महासेठ
१६. किरण गुरुङ
१७. केशव बडाल
१८. पुष्पराज कडेंल
१९. मणि थापा