मकवानपुर । बागमती प्रदेशका रिक्त रहेकाे मन्त्रालयमा बुधबार मन्त्री नियुक्ती गरिने भएकाे छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीपरिषद् विस्तार गर्ने गरी आवश्यक तयारी भइरहेको बताइएकाे छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्राेतका अनुसार नियुक्त गरिने मन्त्रीहरुको सपथ ग्रहण आजै अपरान्ह ४ बजे हुने छ । मुख्यमन्त्री कार्यालयले नियुक्त हुने नयाँ मन्त्रीहरुको नाम सार्वजनिक गरिएकाे छैन । दिउँसो ४ बजेका सपथग्रहण गर्नका लागि प्रदेश प्रमुखको कार्यालयमा समय मिलाइएको प्रदेश प्रमुख कार्यालय स्राेतले जनाएकाे छ । साेही अनुसारकाे तयारीमा प्रदेश प्रमुख कार्यालय लागि परेकाे प्रदेश प्रमुख कार्यालयका एक कर्मचारीले जानकारी दिए ।
आज विस्तार हुन लागेको मन्त्री परिषदमा काभ्रेका चन्द्र लामा मन्त्री हुने चर्चामा छन् । त्यसैगरी, मकवानपुरकी जुनेली श्रेष्ठलाई पनि राज्यमन्त्रीको रुपममा मन्त्रीपरिषदमा समेट्ने तयारी बुझिएकाे छ । सिन्धुपाल्चोकका सरेश नेपाल, नुवाकोटका केशब पाण्डे र दोलखाकी सरस्वति बस्नेत पनि बिस्तार हुने मन्त्रीपरिषदमा पर्ने सम्भावना रहेकाे छ । डा रामकुमार अधिकारी धादिङ र प्रदीप कटुवाल सिन्धुली पनि राज्यमन्त्री हुने चर्चामा छन् । लामा, पाण्डे र नेपालले एक एक वटा मन्त्रालयको नेतृत्व गर्नेछन् भने अन्य राज्यमन्त्री हुनेछन् ।
धेरै समयअघि देखि मन्त्रीपरिषद् विस्तारको चर्चा भइरहे पनि मुख्यमन्त्री पौडेलले मन्त्री परिषद् विस्तार गर्न सकेका थिएनन् । आफ्नै पार्टीभित्रको चरम समस्यामा रुमलिएका पौडेलले आज मन्त्रीपरिषद् विस्तार गर्न लागेका हुन् । नेकपाभित्र दुई धार देखिए पछी चरम विवादका बीच केही मन्त्रीले राजिनामा दिएका थिए । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीबाट अरुण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीबाट सालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्रीबाट युवराज दुलालले राजीनामा दिएपछि यि मन्त्रालयहरु पनि मुख्यमन्त्रीले हेर्दै आएका थिए । राजीनामापछि मन्त्रीबिहीन बनेको मन्त्रालयले अपेक्षा अनुसारको काम गर्न सकिरहेका थिएनन् ।
प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप झेल्दै आएका मुख्यमन्त्री पौडेलले प्रदेशको पावरफूल र कामकाजी मन्त्रालयमा अहिलेसम्म नेतृत्व चयन गर्न सकेका थिएनन् । भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयबाट केशव स्थापितलाई बर्खास्त गरेदेखि नै सरकारको पर्फमेन्स देखिएको छैन ।
नेकपा एमालेको एकल सरकार रहेको बागमतीमा १० पुसमा तत्कालीन सत्तारुढ नेकपाको माओवादी केन्द्र र एमालेको नेपाल पक्षले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै सरकारबाट बाहिरिएको थियो ।

