मकवानपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । पाेखरेलकाे राजिनामा सँगै नयाँ मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको दावी गर्न आह्वान गरेका हुन् ।
बुधबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वासको प्रस्तावमा प्रदेश सभामा छलफल हुँने कार्यसूची थियो । स्पष्ट अल्पमतमा परिसकेका पोखरेलले अविश्वास प्रस्तावको सामना गर्नुपूर्व नै प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा बुझाएका थिए । पाेखरेलकाे राजिनामा प्रदेश प्रमुख शेरचनले स्वीकृत गरी अर्काे मुख्यमन्त्री चयन नभएसम्मकाे लागि पाेखरेललाई नै मुख्यान्त्रीकाे जिम्मेवारी दिएका छन् ।
विपक्षी दलहरूले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । पोखरेलको बहिगर्मनपछि यो प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रकै नेता कुलप्रसाद केसी बन्ने पक्का छ ।
प्रदेशका हालका प्रदेश प्रमुख पनि माओवादी केन्द्रकै हुन्। देउवा नेतृत्वको सरकारले दुईसाता अघिमात्रै शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो । त्यस्तै लुम्बिनी प्रदेशका सभामुख पनि नेकपा माओवादीकै पूर्णबहादुर घर्ती छन् ।
लुम्बिनी प्रदेशमा अब संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतको सरकार गठन हुनेछ । यसमा दुई वा दुईभन्दा धेरै दलको समर्थनमा सरकार बन्न सक्नेछ । नयाँ मुख्यमन्त्रीका लागि अहिलेको विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीले दावी गर्नेछन् । उनी माओवादी केन्द्र संसदीय दलका नेता हुन् । शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा केसीको नाम मुख्यमन्त्रीमा सिफारिस भएको थियाे ।
केसी पूर्वमन्त्री भइसकेका व्यक्ति हुन् । उनको पक्षमा अहिले ४१ सांसद देखिएका छन् । कांग्रेस, माओवादी, जनता समाजवादी र जनमोर्चाको साथ उनले पाएका छन् ।


मकवानपुर । सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले गण्डकी प्रदेशमा चितवनका पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेशमा चितवनकै अमिक शेरचनलाई नियुक्त गरेकी हुन् । मगलबार दिउँसाेकाे मन्त्रिपरिषद् बैठकले ती प्रदेशका प्रदेश प्रमुखहरु सिता कुमारी पाैडेल र धर्मनाथ यादवलाई पदमुक्त गर्दै गुरुङ र शेरचनलाई नियुक्त गर्न सिफारिस गरेकाे थियाे ।
मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखहरुको नियुक्त गरेको राष्ट्रपति कार्यालयले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
नेपालकाे संवीधान अनुसार प्रदेश प्रमुख प्रधानमन्त्रीकाे सिफारिसमा राष्ट्रपतिले गर्ने व्यवस्था रहेकाे छ ।

मकवानपुर । नेपाल अंग्रेजी भाषा शिक्षक सगठन (नेल्टा) बागमती प्रदेशद्वारा आयाेजना गरिएकाे अंग्रेजी शिक्षक तालिम/वेबिनार सम्पन्न भएकाे छ । नेल्टा बागमती प्रदेशद्वारा आयोजित दोस्रो शृंखलाको अंग्रेजी शिक्षक तालिम/वेबिनार साउन ९ गते सम्पन्न गरिएकाे हाे ।
नेल्टा बागमती प्रदेशको आयोजनामा नेल्टाका जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारीहरु, आजीवन सदस्यहरु तथा विभिन्न तहमा अध्यापन गर्ने अग्रेजी शिक्षकहरु सहभागी रहेको अनलाइन तालिमको शृंखला- २ आज साउन ९ गते सम्पन्न भएको छ । नेल्टा बागमती प्रदेशका अध्यक्ष गणेश हुमागाईको सभाध्यक्षता रहेको कार्यक्रममा नेल्टाका सल्लाहकार एवम् पूर्व अध्यक्ष प्रो. डा. जय राज अवस्थी प्रमुख वक्ता रहेका थिए ।
नेल्टाका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौं विस्वविद्यालयका प्रा. डा. लक्ष्मण ज्ञावालीले सहजीकरण गरेकाे कार्यक्रममा अमेरिकी दूतावास काठमाडौंका रेलो (RELO) कार्यक्रम विशेषज्ञ श्री विश्वराज गौतम, नेल्टा केन्द्रीय समिति तथा प्रदेश समितिका पधाधिकारी एवम् सदस्यहरु, नेल्टा सेन्टरका प्रोग्राम कोअर्डिनेटर, एक्सेस प्रोग्राम कोअर्डिनेटर लगायत विभिन्न जिल्लाका अध्यक्षहरुको आतिथ्यता रहेको थियाे ।

आगामी साउन १६ गते हुने तेश्रो शृंखलाको वेबिनार/तालिमको सहजीकरण नेल्टा केन्द्रीय समितिका पूर्व तालिम संयोजक श्री सरिता देवानले गर्ने भएका छन् । विषम परिस्थितिको समयलाई सदुपयोग गर्दै नेल्टा बागमती प्रदेशले आयोजना गरेको हरेक शनिवार बिहान ७:३० देखि ९ बजेसम्मको यो शृंखलावद्द कार्यक्रममा विभिन्न तहमा अध्यापन गर्ने अंग्रेजी शिक्षकहरुको उपस्थिती रहेको छ |
सम्बन्धित विषयमा उच्च दक्षता हासिल गरेका राष्ट्रीय एवं अन्तरराष्ट्रिय प्रशिक्षकहरुले प्रशिक्षण दिने कार्यक्रम अंग्रेजी अध्यापन गर्ने शिक्षकहरुका लागि धेरै नै उपयोगी हुने बिश्वास गरिएको छ | विषम परिस्थितिको समयलाई सदुपयोग गरी शिक्षकहरुका लागि अत्यन्तै उपयोगी अनलाइन तालिम शुरु गरी तालिममा भाग लिने अवसर प्रदान गरेकोमा सहभागीहरुले नेल्टा बागमती प्रदेशलाई धन्यबाद दिएका छन् ।
तालिमलाई अत्यन्त व्यवस्थित, मर्यादित र प्रभावकारी ढंगबाट संचालन गर्न प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरुलाई आयोजकले धन्यबाद समेत दिएको छ । कार्यक्रमको संचालन नेल्टा बागमतीका महासचिब किशोर पराजुली गरेका थिए ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुका बिच कार्यसम्पादन संझौता गरिएको छ । कार्य सम्पादन संझौता आउँदो असार मसान्त सम्ममा लागू हुने छ । बिगतका आर्थिक वर्षमा जस्तै चालु आर्थिक वर्षको सुरुमै मुख्यमन्त्री र मन्त्रीहरू बिच कार्यसम्पादन संझौता गरिएको हो ।
मुख्यमन्त्री पौडेलले शुक्रबार साउन ८ गते आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा र सामाजिक विकास मन्त्री शरस्वती बस्नेतसंग कार्यसम्पादन संझौता गरेका हुन् । अन्य मन्त्रीहरु भने कार्यक्रममा उपस्थित थिएनन् ।
शुक्रबार नै मुख्यमन्त्री पाैडेल र मुख्यमन्त्री कार्यालयका प्रमुख सचिब डाक्टर मुकुन्द पौडेलका बिच पनि कार्य सम्पादन संझौता भएको छ । यसै गरी मुख्यमन्त्रीसँग कार्य सम्झाैता गरेका मन्त्रीहरूले आ–आफ्नाे मन्त्रालयका सचिवसँग आर्थिक वर्ष २०७८/७९ काे कार्य सम्पादन सम्झाैता गर्नु पर्ने छ ।
आर्थिक वर्ष २०७८/७९ मा मन्त्रालयहरुले सम्पादन गर्ने कार्यहरुका बारेमा मुख्यमन्त्री पौडेल र मन्त्रीहरुबीच कार्यसम्पादन करार सम्झौता आदानप्रदान गरिएको हो ।
यसैगरी मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र मातहतका मन्त्रालय र कार्यालयहरुले कार्यान्वयन गर्ने योजना र खर्चका विषयमा तत्काल हेर्न सक्नेगरी तयार पारिएको सफ्टवयर बीपीपीएमआइएसको पनि मुख्यमन्त्री पौडेलले शुभारम्भ गरेका थिए ।
मकवानपुर / सवारी कर तिर्नको लागि कार्यालयसम्म धाउने समय नभएर तनावमा हुनुहुन्छ कि ? तपाई बागमती प्रदेश अन्तरगतमा हुनुहुन्छ भने अब त्यो तनाव छोड्नुस् ।
प्रदेश सरकारले स्मार्ट प्रदेश बनाउने घोषणा गरेको २ वर्षपछी शुक्रबारबाट सवारी कर तिर्नको लागि अनलाइन सेवा सुरु गरेको छ । प्रदेश सरकारले विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली, २०७८ जारी गरी यातायात व्यवस्था सूचना प्रणाली ट्रान्सपोर्टेसन म्यानेजमेन्ट इन्फरमेशन सिस्टम (टीएमआइएस) कार्यान्वयनमा ल्याएको हो । नेपालमा यो प्रणालीको सुरुवात गर्ने बागमती प्रदेश सरकार पहिलो हो ।
प्रदेशको भौतिक योजना मन्त्रालयले सवारी साधनहरुको अनलाइन प्रविधिबाट भुक्तानी गर्न तयार गरिएको यातायात व्यवस्थापन सूचना प्रणालीको शुक्रबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मुख्यमन्त्री पौडेलले हेटौंडाका सेवाग्राही चिन्तामणि फुयाँलको मोटरसाइकलको राजश्व उक्त प्रणालीमार्फत् तिरेका थिए ।

यातायात क्षेत्रलाई सर्वसुलभ, पहुँच योग्य, सुरक्षित, व्यवस्थित एवं विश्वसनीय बनाउन सवारीको विवरण डिजिटाइजेसन गर्ने तथा अनलाइन सेवा प्रदान गरी सेवा प्रवाहलाई सेवाग्रही मैत्री बनाउने सरकारको नीति अनुरुप स्थापना गरिएको मुख्यमन्त्री पौडेलले बताए । “दुई वर्ष अघि घोषणा गरेका थियौं लक्ष्य लिएपछी सफलतामा पुगिन्छ भन्ने यो गतिलो उदाहरण हो” मुख्यमन्त्री पौडेलले भने । “केही ढीलो भएपनि प्रतिबद्धता पूरा भएको छ” मुख्यमन्त्री पौडेलले भने ।
प्रदेश सरकारले दुई वर्ष अघि डिजिटल प्रदेश बनाउने घोषणा गरेअनुसार यसले गति लिन थालेको उनले दावि गरे । पौडेलले यस अभियान सफल भएपछी राजस्वमा बृद्धि हुनुका साथै सेवाग्रहीहरुको समय बचत एवं पारदर्शी पनि हुने दावी गरे । “वैज्ञानिक प्रविधिमा सबैलाई सहयोग गर्नु सबैको दायित्व हो” उनले भने, “हामीले गफमा सीमित नभई बोलेको प्रतिवद्धता पूरा गरेका छौं ।”
यस प्रणालीले कर निर्धारण गर्ने, इम्बोस्ड नम्बर प्रणाली, सवारी बिमा पहिचान लगायतका कार्य सहज बनाइ कर प्रणालीमा सहजता आउने जनाइएको छ ।
बागमती प्रदेशमा करिब ४७ प्रतिशत साधनहरु दर्ता भएका छन् । प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा १४ लाख २९ हजार १ सय ६९ सवारी दर्ता भएका छन् । २०७६/०७७ मा ९३ हजार ५ सय ७७ दर्ता भएका छन् भने २०७७/०७८ मा १ लाख २४ हजार ३ सय ५ सवारी साधनहरु दर्ता भएको यातायात कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को असार १५ सम्म सवारी साधनबाट प्रदेशमा ८ अर्ब ९३ करोड ९८ लाख ५० हजार ३ सय ९८ राजश्व संकलन भएको छ । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेका यातायात व्यवस्थापन तथा सेवा कार्यालय गरी ६ वटा कार्यालयबाट यस प्रणाली मार्फत् सेवा लिन सकिने छ । प्रदेशको सबैजसो सरकारी सेवाहरुलाई सकेसम्म डिजिटलाइजेशन प्रकृयामा लैजाने नीति प्रदेश सरकारले लिएको छ ।
तस्बिरहरू साैजन्यः प्रकाश दाहाल