मकवानपुर /नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको प्रदेश सभापतिको लागि भीमसेन दास प्रधान, इन्द्रबहादुर बानियाँ र जगदीश्वरनरसिंह केसीको उम्मेदवारी दर्ता भएको हो ।
बागमती प्रदेशको हेटौंडामा जारी अधिवेशनमा सभापतिको लागि दासले कृष्णप्रसाद सिटौला पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएको प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता केशव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार, उम्मेदवार भीमसेन दास प्रधानको प्रस्तावकमा शिवप्रसाद हुमागाई र सर्मथकमा कुन्दनराज काफ्ले रहेका छन् ।
यसैगरी नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि इन्द्रबहादुर बानियाँले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनले शेरबहादुर देउवा पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएका हुन् । बानियाँको प्रस्तावकमा तीर्थ लामा र सर्मथकमा दुर्लभ थापा रहेका छन् ।
यसैगरी बागमती प्रदेशको सभापतिकै लागि जगदीश्वरनरसिंह केसीले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनले रामचन्द्र पौडेल पक्षको तर्फबाट कांग्रेस बागमतीको सभापति पदमा उम्मेदवार दर्ता गराएका हुन् । कांग्रेस बागमती प्रदेशको प्रथम अधिवेशन बिहिबारबाट हेटौंडामा सुरु भएको छ । जारी अधिवेशन अन्तरगत आज दोस्रो दिन मनोनयन दर्ता गराउने समयतालिका अनुसार, सभापतिमा ३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक वरिष्ठ अधिवक्ता काफ्लेका अनुसार, भोलि १८ मंसिरको बिहान९ बजेदेखि मतदान हुनेछ ।
प्रदेश प्रतिनिधिको रुपमा चुनिएर आएका करिब २ हजार १ सय प्रतिनिधिले प्रदेश समिति निर्वाचनमा मतदान गर्नेछन् । उक्त अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सहमहामन्त्री ३ जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।
मकवानपुर / नेपाली काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँले उम्मेदवारी घोषणा गरेका छन् ।
बानियाँले पार्टी सभापति शेर बहादुर देउवा पक्षबाट आफ्नो प्यानल घोषणा गरेका हुन् । पत्रकार सम्मेलन गर्दै बानियाँले देउवा पक्षबाट आफ्नो नेतृत्वमा प्यानल घोषणा गरेका हुन् ।
उनको प्यानलमा उपसभापतिहरु मदन कृष्ण श्रेष्ठ र धर्मराज गौतम रहेका छन् । यसैगरी महामन्त्रीहरुमा राजु श्रेष्ठ र तिलक रुवाली,सह–महामन्त्रीहरुमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्का रहेका छन् ।
यसअघि, हिजो साँझ सस्थापन इतरको समूहबाट जगदिश्वर नरसिंह केसीले बागमती प्रदेश सभापतिको लागि आफ्नो प्यानल सार्वजनिक गरेका थिए ।
उनले आफ्नो प्यानलमा उपसभापतिहरुमा मोहनबहादुर बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीहरुमा कञ्चनबादे श्रेष्ठ र माईकल रामचन्द्र अर्याल छन् ।
मकवानपुर / नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन आज १६ मंसिरबाट हेटौँडामा सुरू भएको छ । प्रदेश सभापतिको लागी ३ जनाको उम्मेदवारी रहने पक्का भएको छ ।
पार्टीको केन्द्रिय अधिवेशन पुर्व हुँदै गरेको प्रदेश अधिवेशनलाई पनि उच्च महत्त्वका साथ हेरिएको छ । वर्तमान सभापति शेरबहादुर देउवा विरुद्ध सँस्थापन इतरका सबै प्रतिस्पर्धी एक भैरहेको सन्दर्भमा बागमती प्रदेशमा पनि सोहि तस्बिर देखिने भएको छ । आज सँस्थापन इतरको समूह अन्तरगतको रामचन्द्र पौडेल समूहले नुवाकोट कांग्रेसका पूर्व सभापति जगदिश्वर नरसिंह केसीलाई उम्मेद्वार बनाएको छ भने कृष्णप्रसाद सिटौला समूहले भिमसेनदास प्रधानलाई सभापतिमा अघि सारेको छ ।
यसैगरी शेरबहादुर देउवा प्यानलबाट कांग्रेस मकवानपुरका सभापति तथा पार्टीको बागमती प्रदेश संसदीय दलको नेता समेत रहेका इन्द्रबहादुर बानीयाँले उम्मेद्वारी घोषणा गरेका छन् ।
यो पटक हुने अधिवेशनमा देउवा इतरका समूह एकहुने देखिएको भएपनि तीनजनाको उम्मेद्वारी घोषणापछि भिडन्त भने त्रिपक्षीय देखिएको हो । तर अन्तिमसम्म सिटौला र पौडेल पक्षले एकजनामात्र उम्मेद्वार खडा गर्ने संभावना उच्च रहेको नेपाली कांग्रेसका एकजना नेताले बताए ।
हाल चर्चामा दुई जना देखिएता पनि अन्तसम्म दुई मध्ये एकको उम्मेदवारी हुने ती नेताले बताए । ‘मनोनयन दर्ता गर्दासम्मा त्यो एक मात्र हुने संभावना छ, नेताहरु आन्तरिक छलफलमै हुनुहुन्छ’ ती नेताले भने ।
यसैगरी प्रदेश महामन्त्रीका लागि माईकल रामचन्द्र अर्याल मैदानमा छन् । हेटौंडाको वन विज्ञान खेल मैदानमा अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ ।
अधिवेशन बागमती प्रदेश संयोजक तथा पुर्व उप-सभापति प्रकाशमान सिंहको सभाध्यक्षतामा भएको उदघाटनलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरे ।
उदघाटन कार्यक्रममा कांग्रेस सह-महामन्त्री प्रकाश शरण महत, पुर्व मन्त्री एवम कांग्रेस नेता राजन केसी, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना,कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। १८ मंसिरसम्म चल्ने अधिवेशनमा करिब १९ सय अधिवेशन प्रतिनिधि रहेका छन ।
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाद्वार बागमती प्रदेशका प्रदेश प्रमुख समक्ष बार्षिक प्रतिवेदन पेश गरेकाे छ।
कार्तिक २९ गते साेमबार अख्तियार आयोगको हेटौंडा कार्यालयका प्रमुख अर्जुन कुमार शर्माले प्रदेश प्रमुख शर्मा समक्ष २१ औं वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ उपधारा (३) अनुसार आर्थिक वर्ष २०७७/०७८ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पादन गरेका काम कारबाहीहरु समेटेर तयार गरिएको ३१ औं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरिएकाे हो।
आर्थिक वर्ष २०७७/०७८ को अन्त्यसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा ९ सय २९ उजुरीहरू विभिन्न माध्यमबाट प्राप्त भएकोमा ५ सय ११ वटा उजुरीहरू फच्यौट भएका छन् । जसमध्यमा २ सय ७३ वटा उजुरीहरु प्रारम्विक छानविनबाट तामेलीमा राखिएको अख्तियारको हेटौंडा कार्यालयकाे प्रतिवेदनमा उल्लेख छ ।
मकवानपुर । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ‘विद्युतीय सवारी खरिद र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती’ भएकाे बताएका छन् । कार्तिक २९ गते साेमबार प्रेस विज्ञप्ती जारी गर्दै पौडेलले प्रदेशमा नवगठित गठबन्धनको सरकारको उक्त निर्णय देशलाई गरिब बनाइराख्ने सोच र व्यबहारबाट निर्देशित भएको आरोप लगाएका छन् ।
‘सयौं किलोमिटरको दुरीलाई घटाएर इन्धन तथा मोटरपार्टस्मा खर्च हुने अरबौं रुपैयाँ बचाउँने, घण्टौंको यात्रा अवधि तथा दुर्घटनालाई समेत न्युनीकरण गरी देशको अर्थतन्त्रलाई मजबुत बनाउने प्रदेश सरकार स्थापनादेखिको सबैभन्दा महत्वको योजना भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माण तथा विद्युतीय उर्जामार्फत सञ्चालन हुने सवारी खरिद प्रक्रियामा नवगठित सरकारले रोक लगाएको भन्ने खबरले मर्माहित र आक्रान्त बनाएको’ पाैडेलले विज्ञप्तीमा उल्लेख गरेका छन् ।
‘पेट्रोलीयम पदार्थको मूल्य वृद्धि हुँदै जाने तथा देशमै उत्पादन भएको विद्युत उपभोग गर्न नपाएर खेर जाने वर्तमान अवस्थामा कमिसनको खेलमा परेर विदेशबाट ल्याइने इन्धनबाट सञ्चालन हुने सवारीलाई प्रोत्साहन हुने गरी विद्युतीय सवारी रोक लगाइनु आधुनिक नेपाली समाजप्रति भद्धा मजाक पनि हो । यस्ता विकास विरोधी निर्णयले देशलाई माया गर्ने तमाम नेपाली नागरिकलाई प्रहार गरेको छ” पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘सुरुङमार्ग निर्माण पश्चात नागरिकको स्यावासी एमाले सरकारले पाउँछ र देश एमालेमय बन्छ भन्ने त्रास तथा विदेशी व्यापारीबाट आउने कमिसनको आस मिसिएको यस्ता राष्ट्रविरोधी निर्णयको तिव्र र सशक्त विरोध जनाउन म आमनागरिकसँग हार्दिक अपिल गर्दछु ।
‘यो केवल राजनीतिक बेइमानी मात्र हैन राष्ट्रप्रतिको गद्धारी पनि हो । देशको राजधानी जोड्ने हरेक मार्गहरु घुमाउरु बनाउनुपर्ने सिधा र द्रुतमार्गहरु बनाउनै नहुने स्वार्थ बोकेका विदेशी ब्यापारीहरुको दास बनेर देशलाई गरिबनै बनाइराख्ने सोच र व्यबहारबाट निर्देशीत यस्ता राष्ट्रघाती निर्णय सच्याउन र दीर्घकालीन रुपमा देशलाई फाइदा हुने यस्ता कामहरु प्राथमिकतासहित सम्पन्न गर्न जोडदार माग गर्दछु’ पाैडेलले जारी गरेकाे उल्लेख छ ।
