मकवानपुर / नेपाली कांग्रेस बागमती प्रदेश अधिवेशन आज १६ मंसिरबाट हेटौँडामा सुरू भएको छ । प्रदेश सभापतिको लागी ३ जनाको उम्मेदवारी रहने पक्का भएको छ ।
पार्टीको केन्द्रिय अधिवेशन पुर्व हुँदै गरेको प्रदेश अधिवेशनलाई पनि उच्च महत्त्वका साथ हेरिएको छ । वर्तमान सभापति शेरबहादुर देउवा विरुद्ध सँस्थापन इतरका सबै प्रतिस्पर्धी एक भैरहेको सन्दर्भमा बागमती प्रदेशमा पनि सोहि तस्बिर देखिने भएको छ । आज सँस्थापन इतरको समूह अन्तरगतको रामचन्द्र पौडेल समूहले नुवाकोट कांग्रेसका पूर्व सभापति जगदिश्वर नरसिंह केसीलाई उम्मेद्वार बनाएको छ भने कृष्णप्रसाद सिटौला समूहले भिमसेनदास प्रधानलाई सभापतिमा अघि सारेको छ ।
यसैगरी शेरबहादुर देउवा प्यानलबाट कांग्रेस मकवानपुरका सभापति तथा पार्टीको बागमती प्रदेश संसदीय दलको नेता समेत रहेका इन्द्रबहादुर बानीयाँले उम्मेद्वारी घोषणा गरेका छन् ।
यो पटक हुने अधिवेशनमा देउवा इतरका समूह एकहुने देखिएको भएपनि तीनजनाको उम्मेद्वारी घोषणापछि भिडन्त भने त्रिपक्षीय देखिएको हो । तर अन्तिमसम्म सिटौला र पौडेल पक्षले एकजनामात्र उम्मेद्वार खडा गर्ने संभावना उच्च रहेको नेपाली कांग्रेसका एकजना नेताले बताए ।
हाल चर्चामा दुई जना देखिएता पनि अन्तसम्म दुई मध्ये एकको उम्मेदवारी हुने ती नेताले बताए । ‘मनोनयन दर्ता गर्दासम्मा त्यो एक मात्र हुने संभावना छ, नेताहरु आन्तरिक छलफलमै हुनुहुन्छ’ ती नेताले भने ।
यसैगरी प्रदेश महामन्त्रीका लागि माईकल रामचन्द्र अर्याल मैदानमा छन् । हेटौंडाको वन विज्ञान खेल मैदानमा अधिवेशनको उद्घाटन सत्र चलिरहेको छ ।
अधिवेशन बागमती प्रदेश संयोजक तथा पुर्व उप-सभापति प्रकाशमान सिंहको सभाध्यक्षतामा भएको उदघाटनलाई नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट उद्घाटन गरे ।
उदघाटन कार्यक्रममा कांग्रेस सह-महामन्त्री प्रकाश शरण महत, पुर्व मन्त्री एवम कांग्रेस नेता राजन केसी, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना,कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए। १८ मंसिरसम्म चल्ने अधिवेशनमा करिब १९ सय अधिवेशन प्रतिनिधि रहेका छन ।
In: प्रदेश, मुख्य खबर, राजनीति
Tags: No Comments

