मकवानपुर । बागमती प्रदेशमा शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका छन् ।
बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएको छ । प्रदेश प्रमुख कार्यालयबाट मुख्यमन्त्रीको दाबी पेश गर्ने कार्यतालिका अनुसार मुख्यमन्त्री नियुक्ती समर्थन सम्बन्धमा एकीकृत समाजवादी पनि सहभागी हुँदै सरकारमा सामेल भएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्ती गर्नका लागि दावि पेश गर्नुपर्ने व्यवस्था अनुसार बागमतीमा प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका दलको नेता शालिकराम जम्कट्टेलको लागि दाबी पेश गरिएको थियो ।
बागमती प्रदेश सभाका संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री पदमा नियुक्ती गर्न बागमती प्रदेश सभा प्रतिनिधित्व गर्ने राजनितिक दलहरुको संसदीय दलको बैठकको निर्णय बमोजिम ५ दलको समर्थनमा दाबी पेश गरिएको हो ।
जम्कट्टेललाई मुख्यमन्त्री नियुक्त गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन दाबी पेश गरिएको थियो ।
बागमतीमा एमालेबाट २७ जना, माओवादी केन्द्रबाट २१ जना, राप्रपाबाट १३, एकीकृत समाजवादीबाट ७ जना, हाम्रो नेपाली पार्टीबाट २ जना रहेका छन् ।
मुख्यमन्त्रीको सपथ भोलि वा पर्सि गर्ने, र मन्त्री मण्डल बिस्तार गर्नेबारे अहिले गोप्य बैठक चलिरहेको छ ।
को हुन जम्कट्टेल
२०३० साल भदौमा धादिङ जिल्ला साविक किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज छन । २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति सुरु गरेका थिए ।
२०४८ बाट उनी मजदुर संगठनमा आवद्ध भएका हुन । औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उनी २०५२ सालमा माओवादीले सुरु गरेर भन्ने गरेको जनयुद्धमा होमिएका हुन । माओवादीमा निरन्तर क्रियाशील जम्कट्टेल २०६० सालबाट एक दशकभन्दा बढी माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष पदमा रहेर काम गरे ।
बीए, बीएल सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिको थप उचाईमा पुगेका हुन । उनले २०६३ मा पुनःस्थापित अन्तरिम संसदमा प्रतिनिधित्व गरे । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नंम्बर– ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र प्रसाद पाण्डेलाई हराएका उनले २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा पाण्डेसँगै पराजय भोग्नु परेको थियो ।
संघीयता कार्यान्वयन संगै प्रदेश सभा २०७४ को निर्वाचनमा धादिङ क्षेत्र नंम्बर– १ को (२) बाट निर्वाचित भएका जम्कट्टेल ४ मंसिरमा भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन । यस अघी मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठन भएको नेकपाको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री तथा नेकपा एसका राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको गठन भएको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीको कार्यभार सम्हालीसकेका छन ।
मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रका नेता शालिकाराम जमकट्टेल बन्ने भएका छन् । उनी यस अघि पनि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री हुन् र हाल प्रदेशको आर्थिक मन्त्री हुन् ।
सत्ता साझेदार दलको भागवण्डा अनुसार आलोपालो हुने बागमती प्रदेशमा माओवादी केन्द्रले नेतृत्व लिने भएसंगै अबको मुख्यमन्त्री जमकट्टेल हुने लगभग पक्का भएको हो ।
माओवादीका नेता तथा धादिङबाट प्रदेशसभामा निर्वाचित भएका जम्कट्टेलले सोमबार एमाले र राप्रपाको सहयोगमा मुख्यमन्त्रीको दाबी पेश गर्ने भएका छन् ।
सरकारमा गठबन्धनका तीनवटै दलले दाबी गरेका थिए । गठबन्धनमा भएको सहमतिअनुसार बागमतीको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाएको छ । बागमतीमा यसअघि एमालेबाट डोरमणि पौडेल, अष्टलक्ष्मी शाक्य र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री थिए ।
१ सय १० सिट रहेको बागमती प्रदेशमा एमालेका २७, माओवादी केन्द्रको २१ तथा राप्रपाको १३ सिट रहेको छ बागमतीमा सरकार बनाउन ५६ सिट आवश्यक रहन्छ । तीन दल मिल्दा यहाँ ६१ सिट पुग्दछ ।
माओवादी केन्द्रबाट संसदीय दलको नेता रहेका उनले आफ्नो नेतृत्वमा प्रदेश सरकारले हालसम्म कै उत्कृष्ट काम गरेर देखाउने दाबी गर्दै आएका छन् ।
मकवानपुर । हरिवन नगरपालिका वडा नम्बर ७ सर्लाहीको पुनः मतगणना हुने भएको छ । वडाध्यक्षमा यसअघिको मतगणनालाई रद्द गरी पुनः मतगणनाको उच्च अदालत जनकपुरले आदेश दिएको हो ।
न्यायाधिशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त ईजलासले उक्त वडाको अध्यक्षका लागि पुनः मतगणना गर्न शुक्रबार आदेश दिएको उच्च अदालत जनकपुरले जनाएको छ ।
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय हरिवनले गरेको गणना अनुसार हरिवन–७ को वडाध्यक्षमा नेकपा एमालेका निरध्वज कार्की निर्वाचित भई कार्यभार सम्हालिरहेका छन् ।
निर्वाचन अधिकृतको कार्यालयको गणना अनुसार कार्की ३७९ मत सहित विजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका टिकाजंग थापा (अशोक) ले ३७८ मत पाएका छन् ।
कांग्रेसका थापाले आफू १ मतले मात्रै पराजित भएको भन्दै तत्कालै पुनः मतगणनाको अन्तरिम आदेश जारीको माग सहित रिट दायर गरेका थिए । तर अदालतले अन्तरिम आदेश जारी नगरी आज पुनः मतगणनाको आदेश दिएको छ । उच्च अदालतले मतपत्र अदालतमै झिकाएर पुनः गणना गरिने जनाएको छ ।
मकवानपुर । बागमती प्रदेशमा सरकार गठनको लागि आह्वान भएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते सोमबार दिउँसो ४ बजे भित्र दावी पेश गर्न प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट आव्हान भएको हो ।
शर्माले सरकार गठनको लागि आज यस्तो आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईंले जानकारी दिए ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत प्राप्त नभएको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने हुन्छ ।
यसै अनुसार आफ्नो दाबी पेश गर्न आह्वान गरिएको हो ।
प्रदेश प्रमुख यादबचन्द्र शर्मासमक्ष निर्वाचन आयोगबाट प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम निर्वाचन आयोगले मंसिर २९ को निर्णयानुसार मिति पुस २ गते पेश भएको थियो ।

मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धरा हुमगाईले आफ्नो कार्यकालमा भएको कामको समिक्षा गरेका छन् ।
२०७८ कात्तिक २८ गते मन्त्री नियुक्त हुनुभएका मन्त्री हुमगाईले आफ्नो कार्यकालको प्रगति विवरण पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन ।
बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्री बसुन्धरा हुमागाईंले आफ्नो कार्यकालमा प्रदेशको कृषि, पशुपन्क्षी तथा मत्स्य क्षेत्रको रुपान्तरणमा महत्वपूर्ण काम भएको दावी गरे । आफ्नो कार्यकालको १३ महिनाको अवधिमा कतिपय पुराना कार्यक्रमलाई निरन्तरता दिँदै सम्पन्न गर्नुका साथै धेरै नयाँ कार्यक्रम सुरुवात गरिएको मन्त्री हुमागाईको दाबी छ ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका कामहरुको प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा मन्त्रालयबाट बिदा हुने क्रममा रहेका मन्त्री हुमागाईंले आफूले मन्त्री भएर आएपछि ५५ बुँदे मार्गचित्र प्रस्तुत गर्दै सोहीअनुसार कामहरु गरिएको बताए ।
कृषि क्षेत्रमा प्रवाह भइरहेको अनुदान कार्यलाई व्यवस्थित बनाउन वीउपुँजी कोष सम्बन्धी कार्यको सुरुवात गराएका हुमागाईले सो कामलाई आफ्नो कार्यकालको महत्वपूर्ण कामको रुपमा चित्रण गरेका छन् । चालु आवमा प्रदेश सरकारले साना तथा ठूला किसानलाई गरी करिब ५५ करोड वीउपुँजी उपलब्ध गराउन लागेको उनले बता ।
अध्यादेशमार्फत कृषि विकास ऐन बनाएर मन्त्रालयले किसान परिचयपत्र वितरण, कृषि बाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने जस्ता कार्यलाई प्रक्रियामा लगेको र अघिल्लो सरकारले सुरुवात गरेको दुग्ध पाउडर प्लान्ट स्थापनाको कामले हुमागाईको कार्यकालमा निरन्तरता पाउँदै करिब ९५ प्रतिशत सम्पन्न भएको मन्त्री हुमागाईले बताए ।
कृषकलाई दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै प्रतिलिटर दूधमा दिइँदै आइएको अनुदान रकम बढाएर पाँच रुपैयाँ पुर्याइएको छ । विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरणको कार्य पनि सुरुवात गर्दै यसवर्षको कार्यक्रमलाई प्रक्रियामा लगिएको मन्त्रालयले जनाएको छ । प्रदेशका ३० स्थानमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाको लागि बोलपत्र आह्वान गरिएको मन्त्री हुमागाईले बताए । माटो परीक्षण कार्यलाई तिव्रता दिनुका साथै वीउमा आत्मनिर्भरता उन्मुख कार्यक्रममा पनि मन्त्रालयले ध्यान दिएको जनाइएको छ ।
फलफूल तथा तरकारी भण्डार क्षमताको शीत भण्डारहरु पनि निर्माणको अन्तिम चरणमा रहनुका साथै प्रदेशका ८ जिल्लाका विभिन्न १० स्थानमा निर्माणाधीन शीत भण्डार निर्माणको करिब ८० प्रतिशत काम सकिएको जनाइएको छ । चितवनमा आधुनिक भेटेरीनरी अस्पताल निर्माणको प्रक्रिया सुरु गरिएको बताउँदै भेटेरीनरी एम्बुलेन्स खरिदको प्रक्रियामा रहेको मन्त्री हुमागाईले बताए ।
अघिल्ला सरकारले ल्याएको राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिइएको भन्दै मन्त्री हुमागाईंले आगामी सरकारले पनि आफूहरुले ल्याएको कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कृषि ऐन अनुरुप काम गर्न सके किसानलाई टेवा पुग्नेमा उनको जोड रहेको छ । सुशासन मन्त्री र कर्मचारीबाटै हुनुनपर्ने बताउँदै मन्त्री हुमागाईले रैथाने बाली र वीउबारे कार्य विधिमा रहेकाले कार्यान्वयन गर्न सके यस्ता बालीहरुको वृद्धि विकास हुने बताएका थिए ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, योजना तथा अनुगमन महाशाखा प्रमुख एंव प्रवक्ता झलकनाथ कँडेल, कृषि विकास निर्देशनालयका निर्देशक भरत प्रसाद विडारी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका नि. निर्देशक बज्रकिशोर ठाकुर लगायतको उपस्थिति रहेको थियो ।