मकवानपुर । बागमती प्रदेशमा शालिकराम जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका छन् ।
बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी पनि सरकारमा सहभागी भएको छ । प्रदेश प्रमुख कार्यालयबाट मुख्यमन्त्रीको दाबी पेश गर्ने कार्यतालिका अनुसार मुख्यमन्त्री नियुक्ती समर्थन सम्बन्धमा एकीकृत समाजवादी पनि सहभागी हुँदै सरकारमा सामेल भएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्ती गर्नका लागि दावि पेश गर्नुपर्ने व्यवस्था अनुसार बागमतीमा प्रदेश सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका दलको नेता शालिकराम जम्कट्टेलको लागि दाबी पेश गरिएको थियो ।
बागमती प्रदेश सभाका संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई मुख्यमन्त्री पदमा नियुक्ती गर्न बागमती प्रदेश सभा प्रतिनिधित्व गर्ने राजनितिक दलहरुको संसदीय दलको बैठकको निर्णय बमोजिम ५ दलको समर्थनमा दाबी पेश गरिएको हो ।
जम्कट्टेललाई मुख्यमन्त्री नियुक्त गर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय प्रजातन्त्र पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन दाबी पेश गरिएको थियो ।
बागमतीमा एमालेबाट २७ जना, माओवादी केन्द्रबाट २१ जना, राप्रपाबाट १३, एकीकृत समाजवादीबाट ७ जना, हाम्रो नेपाली पार्टीबाट २ जना रहेका छन् ।
मुख्यमन्त्रीको सपथ भोलि वा पर्सि गर्ने, र मन्त्री मण्डल बिस्तार गर्नेबारे अहिले गोप्य बैठक चलिरहेको छ ।
को हुन जम्कट्टेल
२०३० साल भदौमा धादिङ जिल्ला साविक किराञ्चोक गाविस वडा नम्बर ९ मा जन्मिएका जम्कट्टेल हाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवम् धादिङ जिल्ला इन्चार्ज छन । २०४४ सालमा अखिल छैटौंमा आबद्ध भएर उनले विद्यार्थी राजनीति सुरु गरेका थिए ।
२०४८ बाट उनी मजदुर संगठनमा आवद्ध भएका हुन । औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष भएका उनी २०५२ सालमा माओवादीले सुरु गरेर भन्ने गरेको जनयुद्धमा होमिएका हुन । माओवादीमा निरन्तर क्रियाशील जम्कट्टेल २०६० सालबाट एक दशकभन्दा बढी माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष पदमा रहेर काम गरे ।
बीए, बीएल सम्मको अध्ययन गरेका जम्मकट्टेलले मजदुर संगठनको नेतृत्वमा आएपछि राजनीतिको थप उचाईमा पुगेका हुन । उनले २०६३ मा पुनःस्थापित अन्तरिम संसदमा प्रतिनिधित्व गरे । २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा धादिङ क्षेत्र नंम्बर– ३ बाट एमालेका प्रभावशाली नेता राजेन्द्र प्रसाद पाण्डेलाई हराएका उनले २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा पाण्डेसँगै पराजय भोग्नु परेको थियो ।
संघीयता कार्यान्वयन संगै प्रदेश सभा २०७४ को निर्वाचनमा धादिङ क्षेत्र नंम्बर– १ को (२) बाट निर्वाचित भएका जम्कट्टेल ४ मंसिरमा भएको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका हुन । यस अघी मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा गठन भएको नेकपाको बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री तथा नेकपा एसका राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको गठन भएको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्रीको कार्यभार सम्हालीसकेका छन ।

