मकवानपुर । चेपाङ बाहुल्य क्षेत्र समेटेर २ वटा गाउँपालिका बनाउन माग गरिएकाे छ । बागमती प्रदेशकाे चितवन र धादिङका हाल कायम पालिकाका चेपाङ बाहुल्य क्षेत्र समेटेर झारालाङ र रोराङ गाउँपालिका बनाउन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।
चेपाङ समुदायको पहिचान संरक्षण हुनेगरी धादिङ र चितवनका क्षेत्रहरुलाई समेटर २ स्थानीय तह पुनर्संरचना गर्नुपर्ने मागसहित नेपाल चेपाङ संघ केन्द्रीय कार्यकारिणी समितिले मुख्यमन्त्री बानियाँलाई बुधबार ध्यानाकर्षणपत्र बुझाएको हो । चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर–१ र २, कालिका नगरपालिकाका वडा नम्बर–१० र ११ तथा राप्ती नगरपालिकाका वडा नम्बर १०, ११, १२ र १३ लाई समेटेर झोरालाङ गाउँपालिका बनाउन माग गरिएको छ ।
त्यस्तै, प्रस्ताव गरिए अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका–१, २, ६, ८, ९ र १० तथा गजुरी गाउँपालिकाका वडा नम्बर ३ र ४ लाई समेटेर रोराङ गाउँपालिका बनाउन संघले आग्रह गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका अन्य गाउँपालिका वा नगरपालिकामा गाभिने अवस्था आएमा हालको चेपाङ भाषामा रहेको नाम राक्सिराङ नै यथावत राख्नुपर्ने माग पनि उनीहरुले गरेका छन् ।
यसका साथै नेपालको संविधान २०७२ को धारा ५६ को उपधारा (५) बमोजिम चेपाङ समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक संरक्षणका लागि चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लाका चेपाङ बाहुल्य क्षेत्रमा चेपाङ संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले चेपाङ समुदायको विशेष पर्वका अवसरमा सार्वजनिक बिदा दिँदै आएको स्मरण गराउँदै स्थानीय तहसँग समन्वय गरेर चेपाङ समुदायकाे हितमा प्रदेश सरकारले आवश्यक काम गर्ने बताए ।
२०७८ सालको जनगणनाअनुसार नेपालमा चेपाङ समुदायको कुल जनसंख्या ८४ हजार ३ सय ६४ रहेको छ । तीमध्ये पुरुष ४२ हजार ७ सय ५८ र महिला ४१ हजार ६०६ जना रहेको छ। चेपाङहरु झापादेखि कञ्चनपुरसम्मका ३१ जिल्लामा रहेपनि सबैभन्दा धेरै चितवन, मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङमा बस्छन्। यसमध्ये करिब ८० प्रतिशत बागमती प्रदेशमा बसोबास गर्छन् ।
वि.सं. २०३४ सालमा तत्कालीन राजा विरेन्द्रको निर्देशन दिएपछि उनीहरूको आफ्नो जातीय नाम चेपाङलाई प्रजा भन्न समेत थालिएकाे हाे भने प्रजा विकास कार्यक्रममा मार्फत समेत चेपाङ समुदायकाे लागि काम भएका छन् ।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा दामोदर खनाल नियुक्त भएका छन् ।
बिहीबारको मन्त्रिपरिषद्को वैठकले मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा मकवानपुर बकैयाका खनाललाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री प्रभात तामाङले जानकारी दिए ।
खनाल नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर–१ को सभापति हुन् भने बकैया गाउँपालिकाकाे २०७४ सालको निर्वाचनबाट निर्वाचित अध्यक्ष समेत हुन् । यसअघिका सल्लाहकार कांग्रेस मकवानपुर सभापति बुद्ध लामा गत २१ फागुन भएकाे प्रतिनिधिसभाका निर्वाचनमा उम्मेदवार भएपछि प्रमुख सल्लाहकार पद रिक्त रहेको थियो ।
सरकारका प्रवक्ता तामाङका अनुसार बैठकले बागमती प्रदेश विश्वविद्यालयको संरक्षक सदस्यमा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति डा.प्रेमनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । यसैगरी सूचना प्रतिवेदन समितिको अध्यक्षमा धादिङका कृष्णराज अधिकारी र सदस्यमा मकवानपुरका अशोक श्रेष्ठलाई मनोनयन गरेको उनले बताए ।
अन्य निर्णयहरुः
- सामाजिक विकास मन्त्रालयमा कार्यरत प्रदेश सचिव खुबीराम अधिकारीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत थप जिम्मेवारी हेर्ने गरी खटाउने
- यसअघि सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका बाबुराम पुरीलाई सो मन्त्रालयको जिम्मेवारीबाट हटाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मात्र जिम्मेवारी तोकियो ।
- नमोबुद्ध क्षेत्र विकास समितिको अध्यक्षमा शंखबुद्ध लामालाई नियुक्त गर्ने ।
- प्रदेशको ११औँ तहमा कार्यरत स्वास्थ्य सेवाका डा.अर्जुनप्रसाद सापकोटाको राजीनामा स्वीकृत गर्ने ।
- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका पदाधिकारी दामोदर केसीले स्वास्थ्यका कारण दिएको राजीनामा माघ ५ गतेदेखि लागू हुने गरी स्वीकृत ।
- जेनजी आन्दोलनको क्रममा जलेका कार्यसम्पादन मूल्याङ्कन व्यवस्थापनका लागि नयाँ नीति पारित ।
- गरिबी निवारण नीति २०८२ र शैक्षिक छात्रवृत्ति निर्देशिका २०८३ लाई स्वीकृति ।
- प्रदेश पर्यटन (पहिलो संशोधन) ऐन २०८२ को मस्यौदा र प्रदेश राष्ट्रिय वन ऐन (पहिलो संशोधन) २०८३ लाई प्रदेश सभामा पेस गर्न स्वीकृति ।
- त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति (पहिलो संशोधन) गठन आदेश २०८२ स्वीकृत ।
- आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि स्थानीय तहहरूलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम स्वीकृत ।
सिन्धुली । बागमती प्रदेश सिन्धुलीको घ्याङलेख गाउँपालिकामा साढे १६ किलोमिटर सडक कालोपत्रे र दुईवटा पक्की पुल निर्माण गरिएकाे छ । बागमती प्रदेश सरकारको करिब ४७ करोड रुपैयाँको लगानीमा १६ किलोमिटर सडक साढे ५ मिटर चौडा कालोपत्रे भएको हो ।
प्रदेश सरकारले मानव विकास सूचकाङ्कमा पछि परेको घ्याङलेखकाे पिपलभञ्ज्याङ–हायूटार–रामपुर सडक २५ किलोमिटर मध्ये साढे १६ किलोमिटर सडक कालोपत्रे गरेकाे हाे । यसैगरी प्रदेशले घ्याङलेखकाे २ नम्बर वडाको ठाडी खोला र ३ नम्बर वडाको तामाजोर खोलामा ४०/४० मिटरकाे दुईवटा पक्की पुल पनि निर्माण सम्पन्न गरेकाे छ ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. दिनेशचन्द्र देवकोटाले उक्त कालोपत्रे सडक र पुलको उद्घाटन गरेका छन् । उद्घाटनपछि मानव विकास सूचकाङ्कमा पछि परेका घ्याङलेखसहित धादिङको रुबी भ्याली र सिन्धुपाल्चोकको पाँचपोखरीमा मन्त्रालयले विशेष प्राथमिकता दिएर काम गरिरहेको बताए । घ्याङलेखको पूर्वाधार विकासका लागि थप ३५ करोड रुपैयाँ बजेटको प्रतिबद्धता जनाउँदै विकासमा दलीय स्वार्थभन्दा माथि उठ्न उनले आग्रह गरे ।
जनताको जीवनस्तरमा आमूल परिर्वतन ल्याउन अन्य मन्त्रालयसंग सहकार्यमा गरेर लक्षित कार्यक्रम घोषणा गरिने मन्त्री डा. देवकोटाले बताए । ‘जबसम्म विकासलाई जनताले आत्मसात् गर्दैनन्, तबसम्म त्यो वास्तविक विकास हुन सक्दैन’ उनले भने ‘हामीले बनाएका यी संरचनाले यहाँको भूगोल र जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनुपर्छ ।’
प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री तथा प्रदेश सांसद गंगानारायण श्रेष्ठले बागमती प्रदेशका ६६ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा पछि परेको यस क्षेत्रको पूर्वाधार विकासमा प्रदेश सरकारको विशेष ध्यान दिनु पर्ने बताए । प्रदेश सांसद मातृकाप्रसाद भट्टराईले प्रदेश संरचनाकै कारण घ्याङलेख जस्तो विकट ठाउँ राजधानीसँग जोडिन सम्भव भएको बताए । उनले भौतिक विकाससँगै मानवीय चेतनाको विकास हुनु पर्ने जानकारी दिए ।
पूर्वाधार विकास कार्यालय सिन्धुलीका अनुसार, २४ करोड ८८ लाखमा १०.२० कि.मि. र १० करोड ८० लाखमा ६.३० कि.मि. सडक निर्माण भएका हुन् । त्यसैगरी, ११ करोड २८ लाखको लागतमा दुईवटा पक्की पुल निर्माण सम्पन्न भएकाे कार्यालयले जनाएकाे छ । उक्त योजनाहरूको म्याद २०८३ सालसम्म भए तापनि तोकिएको समयअगावै काम सम्पन्न भएकोकाेले निर्माण व्यवसायीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो । पुल निर्माणतर्फ सृजना निर्माण सेवा, सिन्धुली तथा सडक कालोपत्रेतर्फ जयबाबा गोरख–सारस–बालकोट जे.भी. र सञ्जीव–सिन्धुली जे.भी.लाई सम्मान गरिएको थियो ।
सडककाे पूर्वाधार बनेपछि सिन्धुलीको ‘कर्णाली’ भनिने घ्याङलेख दुर्गम मात्र रहेन, यो सम्भावनाको केन्द्र बनेको मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाले बताए । प्रदेश सरकारको निर्णय प्रक्रिया छिटो भएकाले नै घ्याङलेखको सडक समयमै सम्पन्न हुन सकेको उनले जानकारी दिए । यातायात पूर्वाधार निर्देशनालयका प्रमुख नवीन सिंहले नयाँ सडक बनेपछि दुर्घटनाको जोखिम बढ्न सक्ने तर्फ सचेत गराउँदै घर तथा अन्य संरचना निर्माण गर्दा सडकको मापदण्डलाई ध्यान दिन नागरिक र स्थानीय तहलाई आग्रह गरे ।
उक्त प्रादेशिक सडकको करिब ९ किलोमिटर कालोपत्रे र दुईवटा पुल निर्माण गर्न अझै बाँकी रहेकाे छ । यी सबै काम सकिएपछि घ्याङलेख मदन भण्डारी राजमार्ग र बीपी राजमार्गसँग जोडिनेछ । त्यसपछि जिल्ला सदरमुकाम मात्र होइन, प्रदेश र संघीय राजधानीसम्मको पहुँच सहज बन्नेछ ।
पूर्वाधार विकास कार्यालय सिन्धुलीका प्रमुख लक्ष्मीप्रसाद सापकोटाका अनुसार, निर्माण हुन बाँकी दुई पुलमध्ये हाडी खोलाको २० मिटर लामो पुलको ठेक्का सम्झौता भइसकेको छ । ‘मरिण खोलामा पुल बनाउन र सडक कालोपत्रे गर्न बजेट स्वीकृत भएर आएपछि काम सुरु हुन्छ’ उनले भने ।
सिन्धुलीको सबैभन्दा विकट मानिने यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माण भएसँगै स्थानीयको जीवनस्तर सहज बनेको छ । उद्घाटन कार्यक्रम समारोहमा उपस्थित स्थानीय ७८ वर्षीय विन्द्रे स्याङ्तानले पुरानो दुःख सम्झदै भने ‘पहिला यही बाटोमा नुन–तेल बोकेर दिनभर हिँड्दा पनि सिन्धुली बजारसम्म पुगेर फर्किन मुस्किल थियो । आज गाडी कुदेको देख्दा सपनाजस्तै लागेको छ ।’ नातिनातिनालाई खोलाले बगाउला भन्ने डर समेत हटेकाे उनले बताए ।
विगतमा सडक सञ्जाल नहुँदा सामान्य नुन–तेल किन्न पनि सास्ती खेपेका स्थानीय शिक्षक श्रवणकुमार सुनुवार अब घ्याङलेखबासीहरुको भविष्यप्रति आशावादी छन् । ‘अब हाम्रा किसानले फलाएको तरकारीले बजार पाउनेछ । व्यावसायिक कृषि र माछापालनबाट गाउँको आर्थिक स्तर उकासिनेछ’ उनले भने ।
घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा जिल्ला समन्वय समितिका प्रमुख कार्साङ लामा, पालिका उपाध्यक्ष शंकरमान घलान, नेकपा एमालेका जिल्ला इन्चार्ज मनोजजंग थापा, सहरी विकास तथा भवन कार्यालय सिन्धुलीका प्रमुख किरण कार्की लगायत जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, शिक्षक, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारण उपस्थित थिए ।
मकवानपुर । बागमती प्रदेशका ५ जिल्लामा विभिन्न घटनामा ७ जनाकाे मृत्यु भएकाे छ । प्रदेशकाे मकवानपुरमा १ जना, चितवनमा २ जना, रामेछनपमा २ जना, नुवाकाेटमा १ जना र धादिङमा १ जनाकाे मृत्यु भएकाे हाे ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार मकवापुरकाे थाहा नगरपालिकामा खाेलामा डुबेर ७ वर्षीय बालिका मृत्यु भएकाे छ भने चितवनकाे राप्ती नगरपालिका १० मा ५६ वर्षीय राम बहादुर घलान रुखबाट लडी मृत्यु भएकाे छ । यस्तै गरी भरतपुर महानगरपालिका १४ मा १ वर्षीय बालिका बाल्टीकाे पानीमा डुबेर मृत्यु भएकाे छ ।
यसैगरी रामेछाप नगरपालिका ४ मा १० वर्षीय बालिकाकाे बारीमा बाख्रा चराउने क्रममा लडी मृत्यु भएकाे छ भने रामेछाप उमाकुण्ड गाउँपालिका ४ हुगाँमा एक बालिकाकाे चट्याङले लागेर मृत्यु भएकाे छ । धादिङ निलकण्ठ नगरपालिका साङकोष आपसरामा ५९ वर्षीय फुलमाया नेपालीकाे आँगनमा लडी मृत्यु भएकाे छ । यस्तै नुवाकोटकाे लिखु गाउँपालिका ३ भलादमी डाँडामा ५५ वर्षीय सुब्बा राई आँगनमा लडी मृत्यु भएकाे छ ।
बैशाख ६ गते थाहा नगरपालिका ६ बज्रबाराहीमा लिफ्टिङ सिंचाईको काम गरी बस्ने बिकाश लिम्बुको छोरी ७ वर्षीय युनिसा राई बाराहीखोलामा डुबेकी थिइन् । उनलाई उपचारको लागि पालुङ स्वास्थ्य केन्द्रमा ल्याएकोमा उपचारको क्रममा बेलुका डाक्टरले मृत घोषणा गरेकाे प्रहरीले जनाएकाे छ । बिकास लिम्बु ताप्लेजुङ फुङ्लिङ नगरपालिका ६ घर भई मकवानपुरकाे थाहा नगरपालिका ६ बज्रबाराहीमा लिफ्टिङ सिंचाईको काम गरी बस्दै आएकाे बताइएकाे छ ।
चितवनकाे राप्ती नगरपालिका १० थामटार बस्ने ५६ वर्षीय राम बहादुर घलानले सत्यदेवी सामुदायिक वनमा डुम्रीको रुखबाट घाँस काट्ने क्रममा लडी घाइते भएकाेमा उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याइएकाेमा डाक्टरले मृत घोषणा गरेको प्रदेश प्रहरीले जानकारी दिएकाे छ । पोष्ट मार्टम पश्चात शब मृतकको छोरा पर्वत घलानले बुझिलिएका बताइएकाे छ । यसैगरी भरतपुर महानगरपालिका १४ प्रगति टोल बस्ने शिव बहादुर वि.क. की छोरी १ वर्षीय समृद्धि वि.क. घरमा रहेको पानीको बाल्टिमा डुबेकाेमा आमाले देखि उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर ल्याएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।
रामेछाप उमाकुण्ड -४ हुगाँ बस्ने सोम बहादुर तामाङको छोरी ९ वर्षीय सुनमाया तामाङ करेसाबारीमा खेलीरहेको अवस्थामा पानीसँगै परेको चट्याङ लागि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । यस्तै रामेछाप नगरपालिका ४ का हिमगंगा बस्ने गणेश श्रेष्टको छोरी १० वर्षीय मनिषा श्रेष्ठ बारीमा बाख्रा चराउने क्रममा डिलबाट ७ मिटर तल खस्दा घाईते भई उपचारको लागि जिल्ला अस्पताल रामेछाप ल्याइएकाे थियाे । उनकाे उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
प्रदेश प्रहरीका अनुसार धादिङ निलकण्ठ १२ साङकोष आपसरा बस्ने जगत बहादुर नेपालीको श्रीमती ५९ वर्षीय फुलमाया नेपाली आँगनमा लडी घाइते भएकाेमा उपचारको लागि ट्रमा सेन्टर काठमाडौ हुँदै जिल्ला अस्पताल धादिङबेशी ल्याइएकाेमा उपचारकाे क्रममा मृत्यु भएको । यसैगरी नुवाकोट लिखु ३ भलादमी डाँडा बस्ने ५५ वर्षीय सुब्बा राईकाे आँगनबाट लडि मृत्यु भएकाे छ । मृतककाे मुचुल्का पश्चात त्रिशुली अस्पतालमा ल्याई राखिएको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र मदन भण्डारी प्रतिष्ठान मार्फत हालसम्म सम्पन्न कार्यहरुकाे समिक्षा गरिएकाे छ । मन्त्रालयकाे आयोजना तथा पत्रकार महासंघ मकवानपुरकाे समन्वयमा हेटौंडामा भएकाे कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय स्वास्थ्य क्षेत्रमा रफ्तारमा काम भइरहेकाे बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव सुमित्रा गौतमले मन्त्रालयकाे कामकाे समिक्षात्मक प्रस्तुतिकरण गरेकी थिइन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष निर्मला शर्मा, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, केन्द्रिय प्रतिनिधिहरु, बागमती प्रदेश समिति अध्यक्ष कृष्ण सारु मगरलगायत उपस्थित थिए ।
मन्त्रालयले प्रस्तुत गरेकाे कार्य समिक्षा बुदाँगत रुपमाः
१) निःशुल्क रक्तसञ्चार कार्यक्रम सञ्चालन कार्यविधि संसोधन गरी निःशुल्क रक्तसञ्चार सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिएको। नेपाल रेडक्रस सोसाइटीसँगको साझेदारीमा गरिब तथा विपन्न नागरिकहरूको लागि निःशुल्क रक्तसञ्चार सेवा प्रादेशिक अस्पतालहरुवाट उपलब्ध हुने व्यवस्था मिलाइएको।
२) मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सञ्चालन कार्यविधि २०७९ लाई संसोधन गरी प्रदेशका सबै वडाहरुमा नसर्ने रोगको स्क्रिनिङ गर्ने र नसर्ने रोगका संभावित बिरामीहरुलाई उपचारको व्यवस्था मिलाइएको।
३) प्रदेश स्वास्थ्य सहजकर्ता परिचालन कार्यविधि २०८२ तयार गरी सबै जिल्लाहरुमा निश्चित मापदण्ड अनुसार स्वास्थ्य सहजकर्ता परिचालनको व्यवस्था मिलाइएको।
४) स्वास्थ्य संस्था दर्ता, नविकरण तथा स्तरउन्नति सम्बन्धी निर्देशिका परिमार्जन गरी ऐन, नियमावली र मापदण्डबमोजिम स्वास्थ्य संस्थाको अनुमति, नवीकरण, स्तरोन्नति गरिएको।
५) प्रदेश जनसङ्ख्या नीतिको मस्यौदा स्वीकृतिको प्रक्रियामा रहेको।
६) प्रदेशभित्र रहेका हेटौडा उपमहानगरपालिका, चन्द्रागिरी नगरपालिका मेलाम्चि नगरपालिकालाई स्वास्थ्य सहरको अवधारणा कार्यान्ययनको प्रक्रिया अगाडि बढाइएको।
७) प्रदेशका हरेक जिल्लाका कम्तिमा एक वटा स्वास्थ्य संस्थालाई नमूना स्वास्थ्य संस्थाको रुपमा विकास र विस्तार गर्ने प्रक्रिया शुरुवात गरिएको।
८) भक्तपुर, सिन्धुली, बकुलहर र धादिंग अस्पतालमा नर्सिङ प्रमाणपत्र तह कार्यक्रम सञ्चालन गर्ने प्रक्रियाको लागि प्रारम्भिक क्रियाकलापहरु सञ्चालन गरिएको।
९) भक्तपुर अस्पतालमा डाइलाइसिस सेवाको सुरुवात गरिएको।
१०) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुरमा अन्तरङ्ग सेवा सञ्चालनको लागि तयारी गरिएको।
११) आयुर्वेद औषधी उत्पादन केन्द्रबाट अश्वगन्धा, सितोपलादि, आमलकि, अविपत्तिकर, त्रिफला, निम्वादि, विल्वादि, हिङ्गवाष्टक, महासुदर्शन, पुष्यानुग गरी १० प्रकारका चूर्ण आयुर्वेद औषधी उत्पादन र निःशुल्क वितरण भएकोमा चालु आ.व.बाट थप ११ प्रकारका औषधिहरु उत्पादनको प्रक्रिया अगाडि बढाइएको।
१२) सबै प्रादेशिक अस्पतालहरुमा EMR लागू गर्न आवश्यक आवश्यक पूर्वाधारको तयारी गरीएको। सिन्धुली, सिन्धुपाल्चोक र धादिङ्ग अस्पतालमा इलेक्ट्रोनिक मेडिकल रेकड्रिड प्रणाली कार्यान्वयन गरिएको।
१३) मन्त्रालय र मातहतका सबै कार्यालयहरुमा GIOMS लागू गरिएको।
१४) सबै प्रादेशिक अस्पतालहरुको सेवा अनुगमन गर्नको लागि मन्त्रालयमा डिजिटल Information Real Time Dashboard स्थापना र सञ्चालन गरिएको।
१५) स्थानीय तहसँग समन्वय गरी स्वास्थ्य तालिम केन्द्रबाट ग्रामीण क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट जिल्लाका अतिदुर्गम बटा गाउँपालिकामा पोर्टेबल अल्ट्रासाउण्ड मेसिन उपलब्ध गराइएको।
१६) मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MD/MS का ७ वटा कार्यक्रमहरू (Anesthesiology, MDGP, General Surgery, Internal Medicine, Obs and Gynae, Ortho, Pediatrics) मा ८ जनालाई भर्ना गरी अध्ययन अध्यापन भइरहेको यसपटक २७ जना र MBBS कार्यक्रम अन्तरगत ५० जना विद्यार्थिहरुलाई अध्यापन शुरु गरिएको। साथै अध्यापनको नयाँ भवन निर्माणको शिलन्यास गरिएको। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको ३ बटा उसक सहितको भवन उद्घाटन गरीएको। साथै भवन निर्माण, औजार उपकरण खरिद र अस्पताल सेवा सुदृढीकरणको लागि २२ करोड रुपैयाँको व्यवस्था मिलाइएको।
१७) सीमान्तकृत्त, लोपोन्मुख, आश्रममा आश्रित, अपाङ्गता ख वर्गका व्यक्ति, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र श्रमजीवि पत्रकारहरुको लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया अगाडी बढाइएको।
१८) बाढी पहिरोबाट प्रभावितहरुको निःशुल्क उपचारको व्यवस्था मिलाइएको।
१९) जेन-जी आन्दोलन पश्चात तुरुन्त मातहतका कार्यालयहरुसँग निरन्तर भर्चुअल बैठक गरी कर्मचारीहरुको मनोवल उच्चा राख्न निरन्तर निरन्तर रुपमा भर्चुअल बैठक तथा समन्वय गरिएको।
२०) जेन-जी आन्दोलनका १०५ जना घाइतेहरुको निःशुल्क उपचार गरिएको र सबै प्रादेशिक अस्पतालहरुमा जेन जि क्लिनिक सञ्चालन गरिएको।
२१) जेन-जी आन्दोलनका कारण मन्त्रालय सञ्चालनको भवन पूर्ण रुपमा क्षति भएकोले कार्यालय सञ्चालनको लागि भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा बनेको भवनमा कार्यालय सञ्चालनको व्यवस्थापन मिलाइएको।
२२) क्यान्सर रोग लागेका विपन्न नागरिकहरुलाई प्रदेश सरकारले उपलब्ध गराउने थप रु ५० हजार उपचार सहुलियतको लागिको १७ वटा अस्पतालहरुसँग संझौता गरिएको।
२३) हृदयघात रोग रोकथाम, नियन्त्रण, निदान र विरामीहरुलाई रु १ लाख १५ हजार सम्मको उपचारमा सहुलियत प्रदान गर्नको लागि गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, काठमाण्डौ, भरतपुर अस्पताल, मनमोहन कार्डियोथोरासिस तथा भास्कुत्तर सेन्टर, काठमाण्डौसँग सम्झौता गरिएको र १३ वटा प्रादेशिक अस्पतालहरुमा रगत पातलो गर्ने औषधि उपलब्ध गराइएको।
२४) आपूर्ति व्यवस्थापन केन्द्र मार्फत प्रदेशको लागि आवश्यक औजार उपकरण, निःशुल्क उपचारको लागि आवश्यक औषधि, कडा रोगको लागि आवश्यक औषधि आदिको विद्युतीय खरिद प्रक्रियाबाट खरिद गरिद गर्ने प्रक्रिया अगाडी बढाइएको।
२५) प्रदेशका विभिन्न कार्यालयहरुमा रहेका औजार उपकरणको Inventory Management को लागि Nick Simon सँग सम्झौता गरिएको।
२६) नीजि-सरकारी साझेदारीमा ल्यान्स क्लवसँग समन्वय गरी रामेछाप, धादिङ, नुवाकोट र बकुलहर रत्ननगर अस्पतालमा ४ लाख डलर बराबरको डायलाइसिस मेसिन हस्तान्तरण गरिएको।
२७) विश्व स्वास्थ्य संगठनको सहयोगमा बकुलहर रत्ननगर अस्पतालमा प्रयोगशात्ता सम्बन्धी सामाग्रीहरु हस्तान्तरण गरिएको।
२८) सबै जिल्लाहरुमा जनस्वास्थ्य कार्यालयहरुले आ.व. २०८०/८१ मा सम्पादन गरेका स्वास्थ्य कार्यक्रमहरुको समिक्षा र मातहतका सबै ४५ वटै कार्यालयहरुको वार्षिक एवं अर्धवार्षिक प्रगति समीक्षा तथा योजना तर्जुमा गोष्ठीको सम्पन्न गरिएको।
२९) प्रदेशका विभिन्न जिल्लाका दुग्रम स्थानहरुमा एकिकृत जनस्वास्थ्य अभियान सञ्चालन गरी विशेषज्ञ उपचार सेवा प्रदान गरिएको।
३०) सिन्धुली जिल्लामा सिन्धुली अस्पताल र फिक्कल आधारभूत अस्पताल तथा ललितपुर जिल्लाको कोन्जोसोम आधारभूत अस्पतालको भवन उद्घाटन गरी प्रभावकारी रुपमा स्वास्थ्य सेवा प्रदान गरीएको।
३१) अस्पताल सुधार योजना समिति गठन भइ कार्य अगाडि बढेको छ।
३२) मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसँग सामञ्जस्यता हुने गरी “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी एक घण्टा, मेरा लागि” कार्यक्रम समुदायस्तरमा सञ्चालन भइरहेको।
३३) मानसिक स्वास्थ्य समस्या भएका विरामीहरुलाई प्रदेशका १३ वटै अस्पतालमा निःशुल्क मानसिक चिकित्सकिय उपचार सेवा प्रदान गरिएको।
३४) मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौडा अस्पतालमा Antimicrobial Stewardship Committee गठन गरी Antibiotic को समुचित प्रयोग गर्न प्रवर्धन गरिएको।
३५) धादिङको खनियाबास गा.पा. अन्तर्गत खनियावास ग्रामिण अस्पतालमा जन्मिएको एक नवजात शिशुको गम्भीर स्वास्थ्य अवस्था देखिएपछि मिति २०८२/११/०६ गते निःशुल्क हवाइ उद्धार गरी कान्ती बाल अस्पताल, काठमाडौं पुर्याइएको र रामेछाप जिल्लाको मन्यलि नगरपालिका बडा नं. १ बाट एक जना सुत्केरी महिला र नवजात शिशुलाई निःशुल्क हवाइ उद्धार स्वी तथा प्रसुति अस्पताल, थापाथलि काठमाडौं पुन्याइएको।
३६) प्रादेशिक योग समिति गठन भई योग, ध्यान, प्रणायामलाई नियमन गरी व्यवस्थित बनाउने कार्य भइरहेको
३७) सामाजिक सेवा इकाइमार्फत विपन्न / असहाय/बेवारिसे, विपद्का घाइतेलगायतका लक्षित वर्ग निःशुल्क उपचारको व्यवस्थापन गरिएको।
३८) ड्रग एण्ड टक्सीकोलोजी केन्द्रको स्थापना तथा प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ/विशिष्टीकृत आँखा र रोबोटिक्स शल्यक्रिया सेवासहित अन्य सेवाहरूको विकास गर्ने कार्य प्रकृयामा रहेको।
३९) प्रदेश अस्पतालहरु मार्फत ६५ वर्ष माथिका जेष्ठ नागरीकहरुलाई निःशूल्क दन्त सहायता सामाग्री (CDD/RPD) सहयोग प्रदान गरिएको।
४०) जनस्वास्थ्य कार्यालय र स्वास्थ्य तालिम केन्द्रको सहकार्यमा स्थानीय तहहरुका स्वास्थ्यकर्मीहरुलाई प्रशामक सेवा (Palliative care) सम्बन्धी तालिम प्रदान गरिएको र स्थानीय तहहरुमा सो सेवा सूचारु भइरहेको।
४१) प्रादेशिक अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र स्थानीय स्वास्थ्य संस्थाहरुमा न्युनतम् सेवा मापदण्ड र क्लिनिकल अडिट गरी सेवाको गुणस्तर सुदृढ गरिएको ।
४२) प्रादेशिक स्वास्थ्य विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अद्याविधिक भइरहेको। ७ वटा जिल्लामा जिल्ला स्तरीय स्वास्थ्य विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार भएको। सर्भिलेन्स प्रणाली सुदृढीकरण तथा महामारी नियन्त्रणका लागि प्रादेशिक, जिल्ला स्तरीय एवं स्थानीय तहका द्रुत प्रतिकार्य समूह (RRT) परिचालन गरिएको। प्रदेशभित्र रहेका अस्पतालमा आपत्कालीन अवस्थाको व्यवस्थापनको पूर्वतयारी स्वरुप Drill अभ्यास गरिएको।