मकवानपुर । बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले १ सय ३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । हरेक वर्ष मे १ तारिखमा अन्तराष्ट्रिय श्रमिक दिवसका मनाउने गरिएकाे छ । आज मे १ मा मनाइने १ सय ३४ औं अन्तराष्ट्रिय श्रमिक दिवसका प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै देश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवि दाजु भाइ तथा दिदिबहिनीहरुलाई शुभकामना दिएका छन ।
प्रदेश प्रमुख शर्माले सन् १८८६ मा अमेरिकाको सिकागोमा‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनका साथै विभिन्न श्रमिक संघर्षमार्फत् मजदुहरुले अधिकार पाएको दिनका रुपमा आजलाई लिइने शुभकामना सन्देशमा उल्लेख गरेका छन ।
नेपालको विराटनगरमा २००७ सालमा मजदुर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको सन्दर्भ उल्लेख गर्दै प्रमुख शर्माले आफ्नो अधिकारका लागि लड्ने मजदुरहरुको विशेष दिनलाई स्मरण गरिरहँदा उनीहरुले देश निर्माणका लागि पुर्याएको योगदानको उच्च मूल्यांकन हुनुपर्ने सन्देशमा बताएका छन ।
‘हाम्रो देश नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा लैजानका लागि श्रमिकहरुको अमूल्य योगदान रहेको छ ।’ प्रदेश प्रमुखको शुभकामनामा भनिएको छ,‘ नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रम अभ्यासको अधिकारका साथै उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चितता प्रदान गरेको छ ।’
प्रमुख शर्माको शुभकामना सन्देशमा श्रमिकहरुका अधिकारका सवालमा सबै पक्ष जिम्मेवार बन्नुुपर्नेमा जोड दिएको छ । ‘आज यो दिवस मनाइरहँदा श्रमिकहरुका लागि अनुकूल श्रम वातावरण,उचित पारिश्रमिक, क्षमता बमोजिम रोजगारीको ग्यारेण्टी, सामाजिक सुरक्षा लगायतका अधिकार प्राप्त गरी अघि बढ्न सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नुपर्दछ ।’,सन्देशमा भनिएको छ ।
यो दिवसले संसारभरका सम्पूर्ण श्रमजिवीहरुलाई एउटै सूत्रमा बाँधी आफ्नो हक, अधिकार र स्वतन्त्रताका पक्षमा आवाज बुलन्द गर्न प्रेरित गरोस् भन्ने कामना प्रमुख शर्माले गरेका छन ।

मकवानपुर । बागमती प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशन अन्त्य गर्ने निर्णय गरेको हाे । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको बैठकले प्रदेश सभाको हिँउदे अधिबेशनको अन्त्य गरेको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गंगाराम श्रेष्ठले जानकारी दिए ।
बुधबारकाे बैठकले प्रदेश सभाको हिँउदे अधिबेशनको अन्त्य सहित ३ वटा निर्णय गरेको छ । बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी बिधेयकको मस्यौदा तयारिका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । त्यस्तै युवा बैज्ञानिक कोष सन्चालन बिधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको निर्णय गरेको मन्त्री श्रेष्ठले बताए ।
मकवानपुर । २ महिना पछि मंगलबार बसेकाे बागमती प्रदेश सभाबाट २ वटा विधेयक पारित भएको छ । चैत १२ गतेकाे बैठकबाट मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साबिकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ र प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो ।
आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विचार गरियोस् भनेर सदनमा पेस गरेका थिए । यसैगरी, मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७९ लाई विचार गरियोस् भनी प्रस्तुत गरेका थिए ।
आन्तरिक तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेशको चिठ्ठाको व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा छलफलमा उठेका प्रश्नको जवाफ दिँदै चिठ्ठाको व्यवस्थापन सम्बन्धमा व्यक्तिको सट्टा संस्थालाई चिठ्ठा सञ्चालन गर्न अनुमतिपत्र दिन उपयुक्त हुने सदस्यहरूको सुझावलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरे । उक्त बैठकमा चिठ्ठाको नियन्त्रण तथा व्यवस्थापन विधेयकमाथि प्रदेश सभा सदस्यहरु रामेश्वर श्रेष्ठ, केशव पौडेललगायतले सुझाव प्रस्तुत गरेका थिए ।
बैठकमा प्रदेशसभाका सदस्य रत्नप्रसाद ढकालले प्रदेशसभा नियमावलीको नियम ११० को उपनियम १ लाई प्रस्तुत विधेयकको सम्बन्धमा निलम्बन गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अर्काे बैठक सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छन् ।
मकवानपुर । बागमती प्रदेश सभा बैठक १ महिना पछि बस्ने भएको छ ।
२०७९ साल चैत्र १० गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपश्चात अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको बैठक बैशाख १२ गतेको लागि आह्वान गरिएको छ । १ महिना २ दिन पछि बैठक बस्ने गरि बैशाख १२ गते बुधबार अपराह्न २ बजेका लागि बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयकाले जनाएको छ ।
बुधबारको बैठकमा प्रदेशस्तरको शिक्षा व्यवस्थापन तथा नियन्त्रण सम्बन्धमा बनेको विधेयक २०८० र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान संग सम्बन्धित अध्यादेशको संसोधन विधेयक माथिको दफावार छलफल गर्ने कार्य सुची रहेको बताइएको छ ।
१ सय १० जना सदस्य रहेको प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमालेका,नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी नेपाल मजदुर किसान पार्टी (नेमकिपा), र हाम्रो नेपाली पार्टीको प्रतिनिधित्व रहेको छ ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले१७ औं लोकतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख शर्माले देश र जनतालाई सर्वोपरी ठानी लोकतन्त्रलाई दिगो र दरिलो बनाउँदै विकास, स्थिरता,सुशासन तथा समृद्दिको पथमा अघि बढ्न यो दिवसले सबैलाई प्रेरित गरोस् भन्ने कामना समेत व्यक्त गरे ।
शुभकामना सन्देशमा प्रमुख शर्माले लोकतन्त्र स्थापनाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति भावपूर्ण श्रद्दान्जली अर्पण गर्दै आफ्नो जीवनलाई लोकतान्त्रिक मुल्य, मान्यता, आदर्श र सिद्दान्तप्रति समर्पित सम्पूर्ण लोकतान्त्रिक योद्दाहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् ।
प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा २०६२/०६३ को वसन्तक्रान्ति पश्चात् मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गरेका छन् । यो पर्वलाई गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा मनाउँने गरेको प्रमुख शर्माको सन्देशमा भनिएको छ ।
