मकवानपुर । हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिता अन्तरगत एविसी भेट्रान्स पोखरा र नागस्वती भेट्रान्स हेटौंडा फाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा यी दुबै टिम फाइनल खेलका लागि प्रवेश गरेका हुन् ।
सेमीफाइनलमा एविसीले वानेश्वर भेट्रान्सलाई ४-० गोलअन्तरले हराउदैं फाइनल प्रवेश गरेको हो । एविसीको तर्फबाट खेलको ९ औं मिनेटमा महेन्द्र गुरुङले, १६ औं मिनेटमा सञ्जय गुरुङले एक/एक गोल गरेका थिए भने ३५ र ३८ औं मिनेटमा हरि खड्काले २ गोल थपेका थिए । खेलको म्यान अफ द म्याच हरि खड्का घोषित भएका छन् ।
त्यस्तै, दोस्रो भएको सेमिफाइनलमा नागस्वती भेट्रान्स हेटौंडा फाइनल प्रवेश गरेको छ । नागस्वतीले बगर भाइखलक ए लाई २-० गोलअन्तरले हराएको थियो । नागस्वतीको तर्फबाट खेलको ६ मिनेटमा निमा लामाले र ४४ औं मिनेटमा नरेल लिम्बुले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नरेन लिम्बु भएका थिए ।
नागस्वती भेट्रान्स र एविसी पोखराबीच शनिबार दिउँसो १ बजे फाइनलमा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खलाडी र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँसहित ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए ।
मकवानपुर । हेटाैडा भेट्रान्स कप फुटबलमा एबीसी भेट्रान्स पोखरा र जोरपाटी भेट्रान्स सेमिफाइनलमा प्रवेश गरेका छन् । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा जारी सातौं हेटौंडा भेट्रान्सकप फुटबल प्रतियोगिता अन्तर्गत विहीबार भएको क्वाटरफाइनल तर्फको खेलहरुमा जीत हात पार्दै दुबै टिमले सेमिफाइनलको यात्रा सुनिश्चित गरेका हुन् ।
हेटौंडा भेट्रान्स क्लबको आयोजना भएकाे ‘८ ए’ साइड राष्ट्रिय रनिङशिल्ड हेटौंडा भेट्रान्सकप फुटबल प्रतियोगितामा विहीबार भएको पहिलो खेलमा चितवन राष्ट्रिय भेट्रान्स क्लबलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै एबीसी भेट्रान्सले सानदार जीत हात पारेको छ । उक्त खेलको म्यान अफ दि म्याच २ गोल गर्न सफल एबीसी भेट्रान्सका विजय गुरुङ भए । यस्तै दोस्रो खेलमा बिहानी फरेष्ट्री भेट्रान्स हेटौंडालाई ३–१ गोलअन्तरले पराजित गर्दै जोरपाटी भेट्रान्स पनि सेमिफाइनलमा छिरेको छ । खेलका म्यान अफ दि म्याच जोरपाटीका गोलरक्षक सुनिल लामा घोषित भए ।
यसैगरी विहीबार भएको तेस्रो खेलमा नागस्वती भेट्रान्स हेटौंडा–७ ले बालिङ भेट्रान्स स्याङ्जाबिरुद्ध १–० को कठिन जीत हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । खेलका म्यान अफ दि म्याच नागस्वतीका मिलन राई भए । प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलतर्फ बाँकी रहेको १ खेल र सेमिफाइनलका २ खेल हुनेछन् । क्वाटरफाइनलतर्फ नागस्वतीले बगरभाई खलक ए पोखराको सामना गर्नेछ भने उक्त खेलको विजेताले सेमिफाइनलको दोस्रो खेलमा जोरपाटी भेट्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यस्तै पहिलो सेमिफाइनलमा एबीसी भेट्रान्स र बानेश्वर भेट्रान्सबिच खेल हुने आयोजकले जनाएको छ ।
नेपालका विभिन्न जिल्लाको १८ वटा क्लबको सहभागिता रहेको प्रतियोगिता पौष ३ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।
मकवानपुर । हेटौंडामा जारी हेटौंडा भेट्रान्स कप फुटबल प्रतियोगितामा बुधबारकाे खेलबाट ४ टिम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हेटौंडा-५ स्थित निर्माणाधीन पिप्ले क्याम्पा रंगशालामा बुधबारकाे खेलबाट वालिङ, एबीसी भेट्रान्स, बगर भाईखलक पोखरा र बानेश्वर भेट्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।
बुधबारको पहिलो खेलमा वालिङले बुटबल भेट्रान्सलाई २-० ले हराएकाे थियाे । वालिङको तर्फबाट कैलाश राईले १३ औं र शंकर केसीले २७ औं मिनेटमा गोल गरेका थिए । यस्तै दोस्रो खेलमा एबीसी पोखराले बगर भाईखलक पोखरा ‘बी’ लाई २-१ गोलले हराएको छ । एबीसीको तर्फबाट हरि खड्काले चौथो मिनेटमा र सञ्जय गुरुङले ३२ औं मिनेटमा गोल गरेका थिए । बगर भाईखलकको तर्फबाट राजकुमार घिसिङले ३० औं मिनेटमा गोल गरेका थिए ।
यसै गरी बुधबार भएको तेस्रो खेलमा आयोजक हेटौंडा भेट्रान्स रातो टिमलाई टाइब्रेकरमा निराश बनाउँदै बगर भाईखलक पोखरा ‘ए’ विजयी बन्यो । निर्धारित समयमा दुवै टिमको तर्फबाट दुई-दुई गोल भएपछि टाइब्रेकरमार्फत निर्णय लिइएको हो । खेलमा हेटौंडाको तर्फबाट बलबहादुर गुरुङले ३५ र ४० औं मिनेटमा गोल गरेका थिए भने बगर भाईखलकको तर्फबाट ३० र ४३ मिनेटमा बीरबहादुर गुरुङले गोल गरेका थिए ।
यस्तै बुधबार भएको अन्तिम खेलमा हेटौंडा भेट्रान्सलाई ३-१ गोलले हराउँदै बानेश्वर भेट्रान्स क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बानेश्वरको तर्फबाट सुमन शर्मा घिमिरेले ११ र २४ औं मिनेटमा गोल गरेका थिए भने उदय श्रेष्ठले २२ औं मिनेटमा गोल गरेका थिए । हेटौंडाको तर्फबाट सुरेश बानियाँले ४३ औं मिनेटमा एक गोल फर्काएका थिए ।
पौष ३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न जिल्लाको १८ वटा क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने छन् ।
मकवानपुर। सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता साेमबारबाट सुरु भएको छ । हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले हेटौंडा भेट्रान्स क्लबको आयोजनामा भएकाे प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
प्रतियाेगिताकाे उद्घाटन गर्दै महतले खेल तथा खेलाडीहरुलाई सहयोग गर्दै जाने बताए । हेटौंडाका वडा र टोल टोल सम्म खेलकुदका पूर्वाधार विकासको कामसंगै खेलाडीहरुको पनि प्रतियोगिताहरुलाई प्राथमिकता दिइएको उनले बताए ।
पौष ३ गते सम्म जारी रहने प्रतियोगितामा १८ वटा भेट्रान्स क्लबहरुले सहभागिता जनाएका छन् । प्रतियोगीतामा ४० वर्ष माथिका उमेर समुहका पूर्व राष्ट्रिय खेलाडीहरु सहितको सहभागिता रहेको कार्यक्रम संयोजक मणिराज गौतमले बताए ।
उद्घाटन खेल आयोजक हेटौंडा भेट्रान्स (बि) र सिमरा भेट्रान्सबीच भएको छ । खेलको निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि ट्राइब्रेकरमा हेटौंडा भेट्रान्स क्लब (बि) विजयी भएको छ । हेटौंडाले सिमरा भेट्रान्सलाई ट्राइब्रेकरमा ३–२ गोलअन्तरले विजयी भएको हो । खेलको म्यान अफ द म्याच हेटौंडा भेट्रान्सका सरोज राजथला भएका छन् । त्यस्तै सोमबार चितवन राष्ट्रिय भेट्रान्सले वाइ पाएको छ । हाम्रो वीरगञ्ज क्लब सहभागी नभएपछि चितवनले वाइ पाएको हो ।
सातौ प्रतियोगितामा प्रथम हुने समुहले नगद १ लाख ११ हजार १ सय ११ रुपैया तथा शिल्ड,दोस्रो हुने समुहले नगद ५५ हजार ५ सय ५५ रुपैया सहित शिल्ड प्राप्त गर्ने हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवाराज बज्रचार्यले बताए । खेलमा उत्कृष्ठ मिडफिल्डर,फरवार्ड, डिफेन्डर,गोलकिपर र समुह कोचलाई जनही ५ हजार नगदले पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक गौतमले जानकारी दिए ।
हेटौंडा ५ क्याम्पाचौरमा रहेको खेलमैदानमा भएको प्रतियोगितामा मंगलबार पाँच वटा खेल हुने जनाइएको छ । मंगलबार पहिलो खेल सानो गौचरण नाइट किंग र विहानी क्लब फरेष्ट्री हेटौंडाबीच हुनेछ । यस्तै अर्काे खेल एविसी पोखरा र कालभैरव क्लब हेटौंडाबीच हुने आयोजकले जनाएको छ । त्यस्तै नागस्वती भेट्रान्स हेटौंडा र वीरगञ्ज युथ क्लबबीच र बौद्ध भेट्रान्स काठमाडौं र बानेश्वर फुटबल क्लब काठमाडौंबीच खेल हुनेछ । यसैगरी अभिषेक चर्च नवलपरासी र जोरपाटी काठमाडौंबीच पनि मंगलबारनै खेल हुने जनाइएको छ ।
मकवानपुर । पहिलो संस्करणको अन्तरपालिका पुरुष फुटबलको उपाधि थाहा नगरपालिकाले जितेको छ । जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा भएको प्रतियाेगिता अन्तरगत शनिबार भएको फाइनल खेलमा हेटौँडा उपमहानगरपालिकालाई सडन डेथमा हराउँदै थाहा नगरले पहिलो संस्करणको उपाधि हात पारेकाे हो ।
हेटौँडा–४, स्थित हुप्राचौरमा शनिबार भएको उपाधि भिडन्तमा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाई ब्रेकरमा पनि बराबरी भएपछि सडन डेथमा थाहा विजयी भएको थियो । सडन डेथमा हेटौँडाका खेलाडीले प्रहार गरेको बल बाहिर गएपछि थाहा नगरपालिकाले २–१ उपाधि चुमेको हो ।
खेलको २७ औँ मिनेटमा हेटौँडाले अनिश महर्जनको गोलबाट अग्रता बनाएको थियो ।पहिलो हाफको अतिरिक्त समयमा विनोद घलानले गोल गर्दै २–० को अग्रता लिएको हेटौँडाले दोस्रो हाफमा सम्हालिएर खेल्न सकेन । खेलको ५६ औँ मिनेटमा थाहाका लागि राजन गोलेले गोल गर्दै थाहालाई खेलमा फर्काएका थिए । अन्तिम समय (७७ औँ मिनेट) मा हेटौँडाका आकाश कटुवालबाट आत्मघाती गोल भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो ।
विजेता बनेसँगै थाहा नगरपालिकाले उपाधिसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्यो भने, हेटौँडाले नगद एक लाख रुपैयाँ प्राप्त गरेकाेः छ । प्रतियोगितामा हेटौँडाका फत्तेमान घले सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । यस्तै विधागत रुपमा थाहा नगरपालिका राजन गोले उत्कृष्ट फरवार्ड, हेटौँडाका गगन सिलवाल उत्कृष्ट डिफेन्डर, थाहाका विशाल स्याङ्तान उत्कृष्ट मिडफिल्डर, हेटौँडाका सफल तिमल्सिना उत्कृष्ट गोलकिपर र थाहाका नरेन्द्र मोक्तान उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।
उनीहरूले जनही ३ हजार नगर, शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका विजेताहरूलाई बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, सदस्य देवराज रिमाल, हेटौँडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, हेटौँडा–१४ का वडाध्यक्ष दिपक खड्का, हेटौँडा–१० का वडाध्यक्ष किताबसिंह लामा, खेलकुद विकास समितिका अध्यक्ष सानु लामा लगायतले पुरस्कार प्रदान गरेका थिए ।