मकवानपुर । हेटौंडामा जारी सातौं भेट्रान्स कप प्रतियोगिता अन्तरगत एविसी भेट्रान्स पोखरा र नागस्वती भेट्रान्स हेटौंडा फाइनल प्रवेश गरेका छन् । शुक्रबार भएको सेमिफाइनल खेलमा यी दुबै टिम फाइनल खेलका लागि प्रवेश गरेका हुन् ।
सेमीफाइनलमा एविसीले वानेश्वर भेट्रान्सलाई ४-० गोलअन्तरले हराउदैं फाइनल प्रवेश गरेको हो । एविसीको तर्फबाट खेलको ९ औं मिनेटमा महेन्द्र गुरुङले, १६ औं मिनेटमा सञ्जय गुरुङले एक/एक गोल गरेका थिए भने ३५ र ३८ औं मिनेटमा हरि खड्काले २ गोल थपेका थिए । खेलको म्यान अफ द म्याच हरि खड्का घोषित भएका छन् ।
त्यस्तै, दोस्रो भएको सेमिफाइनलमा नागस्वती भेट्रान्स हेटौंडा फाइनल प्रवेश गरेको छ । नागस्वतीले बगर भाइखलक ए लाई २-० गोलअन्तरले हराएको थियो । नागस्वतीको तर्फबाट खेलको ६ मिनेटमा निमा लामाले र ४४ औं मिनेटमा नरेल लिम्बुले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच नरेन लिम्बु भएका थिए ।
नागस्वती भेट्रान्स र एविसी पोखराबीच शनिबार दिउँसो १ बजे फाइनलमा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै विधागत उत्कृष्ट खलाडी र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँसहित ट्रफीको व्यवस्था रहेको प्रतियोगिता संयोजक मणिराज गौतमले जानकारी दिए ।

