मकवानपुर । प्रथम बागमती खेलकुद प्रतियोगिता अन्तरगत पुरुषतर्फको क्रिकेट खेलकाे उपाधि मकवानपुरले हात पारेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा जारी खेलकुदमा क्रिकेट खेलकाे उपाधि मकवानपुरले जितेकाे हाे ।
सोमबार चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा धादिङ जिल्लालाई २४ रनले पराजित गर्दै मकवानपुरले उपाधि हात पारेको छ । मकवानपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । मकवानपुरका खेलाडी रिजन ढकालले ४२ रन बनाएका थिए भने बलिङतर्फ धादिङका उज्वल थापाले ३ विकेट लिएको थियाे ।
धादिङले २० ओभरमा सबै विकेट गुमाउदैं १ सय २४ रनमा समेटिएर लक्ष्य पुरा गर्न सकेन । मकवानपुरले २४ रनले जित्दै उपाधि जितेकाे खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । विजेता र उपविजेतालाई ट्रफी, पदक, प्रमाणपत्रसहित जनही ५ हजर नगद पुरस्कार प्राप्त गरेका छन् । समापन कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्यलाल भण्डारी, बागमती क्रिकेट संघका अध्यक्ष राजु बस्नेत, क्रिकेट संघ चितवनका कार्यबहाक अध्यक्ष सुदीप पियाँ लगायतकाको उपस्थिती रहेको थियो ।
तेक्वान्दो खेलका विजयीलाई सोमबार पुरस्कार वितरण
हेटौंडामा भएको तेक्वान्दो खेलका विजयीलाई सोमबार पुरस्कार वितरण गरिएको छ । विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडीका साथै तेक्वान्दोको पुन्से खेलमा पुरुष तथा महिला र समूहका विजयी खेलाडीलाई पुरस्कृत गरिएको खेल संयोजक माधब कोइरालाले बताए ।

प्रदेश सरकारका स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीको प्रमुख अतिथ्यतामा पुरस्कार वितरण गरिएको हाे । तेक्वान्दो खेलमा सबैभन्दा बढी पदक चितवनले जितेकाे छ । चितवनले ६ स्वर्ण, ८ रजत र ३ कास्य पदक प्राप्त गरेको छ । यस्तै नुवाकोटले ४ स्वर्ण, ६ रजत र ४ कास्य पदक हात पार्दा मकवानपुरले २ स्वर्ण, २ रजत तथा ८ कास्य प्राप्त गरेको छ । काठमाडौंले ३ स्वर्ण, २ रजत र ५ कास्य पदक प्राप्त गरेको खेल संयोजक कोइरालाले बताए ।
काठमाडौंको दशरथ रंगशालामा आइतबार जारी एथलेटिक्स अन्तरगतका विभिन्न खेलहरु सम्पन्न भएका छन् । सिन्धुपाल्चोकको चौतारा कभर्डहलमा कराँतेका खेलहरु भएका छन् । त्यस्तै, काभ्रेको धुलिखेल खेल मैदानमा महिला फुटबल खेल सुरु भएको खेल संयोजक कल्पना शर्माले बताइन् । ९ गतेदेखी काभ्रेमै बक्सिङ खेलका प्रतियोगिता सुरु हुनेछ । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
मकवानपुर । डिफेन्डीङ च्याम्पेन पिप्ले युवा क्लब हेटौडा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा डिफेन्डीङ च्याम्पेन पिप्लेले हिमालयन सेर्पा काठमाडौंलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको सुरुदेखिनै पिप्लेका खेलाडी हिमालयन सामु हाबी भएका थिए । सुन्दर फिनिसिङका साथ मैदानमा रहेका पिप्लेका खेलाडी आक्रामक अवस्थामा देखिए । पिप्लेले खेलको १५ औँ मिनेटमा रूपक लामाको गोलबाट अग्रता बनाएको थियो । ४० यार्ड टाडा पाएको फ्रिकिकलाई पिप्लेका रूपक लामाले कुनै गल्ती नगरी हिमालयनको जाली चुमाउन सफल भए ।
पहिलो हाफमा १–० को अवस्था बनाएको पिप्लेले दोस्रो हाफको ४ मिनेटमै दोस्रो गोल थप्यो । रूपक लामाको क्रसमा कुलदिप कार्कीले हेडमार्फत पिप्लेका लागि दोस्रो गोल गरे । दोस्रो हाफ पछि पनि पिप्लेका खेलाडी पुरा समय लयमै खेलिरहे ।
यस्तै खेलको अतिरिक्त समयमा पिप्लेका रितिक खड्काले पाएको वान टु वानको अवस्थालाई सहजै गोलमा परिणत गर्दै टिममलाई ३–० को अवस्थामा पुर्याए । पिप्लेले खेलमा दुई गोल गरेपछि हिमालयन केही दबाबमा देखिएको थियो । सुरुदेखिने निकै कमजोर फिनिसिङ खेलेका हिमालयन सेर्पाको खेलमा फर्कने लगातारको प्रयास असफल भयो । सुरुदेखिनै लयमा खेल्न नसकेको हिमालयन त्यस पछि पनि खेलमा फर्कन सकेन ।
खेलमा हिमालयनका खेलाडीले बनाएको केही राम्रा अवसरलाई समेत सदुपयोग गर्न सकेनन् । खेलको ७ औँ मिनेटमा हिमालयनका विकास मेरागिलले गरेको सशक्त प्रहार पिप्लेका गोल रक्षक अशोक बरालले असफल गरिदिए । पहिलो हाफको अतिरिक्त समयमा हिमालयनका दिवस ओरओले सुन्दर हेड गरे । तर, क्रसबारमा ठोकिएर फक्रियो ।
दोस्रो हाफको ३२ र ३३औं मिनेटमा हिमालयनका सत्य शर्माले पिप्लेको गोल पोस्टमा दुई वटा सशक्त प्रहार गरे । तर, सफल भएनन् । बल क्रमशः पहिलो बारमा र क्रसबारमा लागेर फर्कियो । त्यस पछि पनि हिमालयनका खेलाडीले केही राम्रो अवसरहरू तयार गरे । तर सदुपयोग गर्न सकेनन्, योसँगै हिमालयन सेर्पाले उपाधि होडबाट बाहिरिनु पर्यो ।
पिप्लेको लागि पहिलो गोल गरेका रूपक लामा म्यान आफ दि म्याच घोषित हुँदै नगद १० हजार पुरस्कार समेत प्राप्त गरे । उद्घाटन खेलमा धु्रवतारा सर्पोटिङ झापालाई पराजित गर्दै हिमालयनले पिप्लेसगँको भेट पक्का गरेको थियो । एक खेल बाइपाएको पिप्लेले सिधै क्वाटरफाइनल खेलेको हो । यस प्रतियोगिता अन्तरगत सोमवार दोस्रो क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस र सुदूर पश्चिम–११, धनगढी खेल्ने छन् ।
पुलिस नव जनजागृति युवा क्लब सिमरालाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । सुदूर पश्चिम–११, एक खेल बाई पाएर अन्तिम चारमा रहेको थियो । १२ टिम सहभागी प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुने आयोजक क्लबका अध्यक्ष किस्मत राज मैनालीले जानकारी दिए । प्रतियोगिताको विजेताले राजर्षि रनिङ सिल्ड नगद १० लाख १ हजार र उपविजेताले सिल्ड ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।
मकवानपुर । मकवानपुर जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा भेष खड्गी नियुक्त भएका छन् । खड्गीलाई बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले नियुक्ति दिएका हुन् ।
शुक्रबार पिप्ले क्याम्पा रंगशालामा भईरहेको प्रदेश स्तरीय खेलकुल प्रतियोगिता अन्तरगत फुटबलकाे मकवानपुर र दाेलखा विचकाे खेलका क्रममा हजारौं दर्शकको सामु भण्डारीले खड्गीलाई नियुक्ति पत्र हस्तान्तरण गरेका हुन् ।
नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य खड्गीले यसअघि जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन्। कानुनतः जिल्ला खेलकुद विकास समितिको अध्यक्षको पदावधि २ बर्षको हुनेछ।
मकवानपुर । हेटौंडाका साइकलयात्रीले रसुवागढी–ठोरी यात्रा पुरा गरेका छन् । हेटाैडाका १० जना साइकलयात्रीले विहीबार चीनसँगको सीमा क्षेत्र रसुवागढीदेखि भातरसँगको सीमा क्षेत्र ठोरी (उत्तर–दक्षिण) सम्मको साइकलयात्रा पुरा गरेका हुन् ।
हिमालयन राईडर्स सोसाईटीको संयोजनमा साइकलयात्रीले आइतबार रसुवागढी नाकाबाट साइकलयात्रा सुरु गरी पर्साको ठोरी नाकासम्मको करिब ४ सय ५० किलोमिटर यात्रा तय गरेका हुन् । सोसाइटी अध्यक्ष चेतनाथ आचार्यको संयोजकत्वमा १० जनाको टोली शनिबार केरुङतर्फ गएका थिए । टोलीमा सोसाइटीका उपाध्यक्ष एवम् नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष भानुभक्त आचार्य समेत सहभागी थिए ।
विश्वव्यापी रुपमा पृथ्वीको तापमान बढ्दै गएको, पेट्रोलियम पदार्थको मूल्यबृद्धि, नेपालको चुलिँदो व्यापारघाटा, दैनिक उपभोग्य बस्तुमा तीब्र मिसावटका कारण बिग्रँदो जनस्वास्थ्य आदि पक्षमा प्रत्यक्ष वा परोक्ष प्रभाव पार्ने साईकललाई दैनिकी बनाउने अभियानका साथ साइकलयात्रा गरिएको टोलीका सदस्य आचार्यले बताए ।

आइतबार रसुवाको केरुङ नाकाबाट सुरु गरिएको साइकलयात्रा नुवाकोट, धादिङको मलेखुबाट चेपाङमार्ग हुँदै चितवनको भण्डारा निस्किएको थियो । चितवन राष्ट्रिय निकुन्ज हुँदै माडी, ठोरीको यात्रा गरिएको बताइएकाे छ ।
साइकलयात्रीलाई ठोरीका स्थानीयले स्वागत गरेका थिए । बारा राईडर्स एसोसिएसनको आतिथ्यमा साइकलयात्री बुधबार ठोरीमा यात्राको गतिबिधि जानकारी दिने, त्रिदेशीय व्यापारिक नाकालाई सुधार गरी नेपालले कस्तो लाभ लिन सक्छ ? भन्ने विषयमा बहस गरिएको थियो । बारा राईडर्सका अध्यक्ष शेषराज अधिकारीलगायत ७ जनाको टोली साइकलयात्रीलाई स्वागत गर्न सिमराबाट ठोरी पुगेका थिए ।
हिमालयन राईडर्स सोसाइटीका महासचिव एवम् ईन्जिनियर सागर पन्थी, सचिव राजु रानामगर, कोषाध्यक्ष लक्ष्मीचरण श्रेष्ठ, सदस्यहरु बुद्धिबहादुर आले, बुद्धराम श्रेष्ठ सहभागी थिए । टोलीमा सिमरा राईडर्स एसोसिएयसनका ३ जना साइकलयात्री कोषाध्यक्ष रामेश्वर बास्कोटा, सदस्य हरेराम आचार्य र रामहरि सुबेदी सहभागी थिए ।
मकवानपुर । प्रथम खेलकुद प्रतियोगितामा बुधबार भएको खेल अन्तरगत पुरुष फुटबलमा मकवानपुर र धादिङ सेमीफाइनल प्रवेश गरेको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ काभ्रेलाई हराउँदै धादिङ र सिन्धुलीलाई हराउँदै मकवानपुर सेमीफाइनलमा प्रवेश गरेका छन् ।
हेटौंडाको क्याम्पा रंगशालामा जारी फुटबल खेल अन्तरगत पहिलो खेल धादिङ र काभ्रेबीच भएको थियो । जसमा १–० गोलअन्तरले धादिङ विजयी भएको हो । खेलको २४ औं मिनेटमा विपिन कंडेलले गरेको १ गोल नै निर्णायक गोल बन्न पुग्यो । विजयीसँगै धादिङ सेमीफाइनल प्रवेश गरेको हाे । त्यस्तै, घरेलु मैदानमा सिन्धुलीलाई हराउदैं मकवानपुर सेमीफाइनल प्रवेश गरेको छ । बुधबार नै भएको क्वाटरफाइनल खेलमा १८ मिनेटमा ललित चौलागाईले पहिलो गोल गरेका थिए । पहिला हाफमा ४७ मिनेटमा सुनिल घलानले मकवानपुरका लागि दोस्रो गोल थपेका थिए । मकवानपुरका लागि दोस्रो हाफको ७४ मिनेटमा समिरराज थोकरले एक गोल थप गर्दै ३–० गोल अन्तरले मकवानपुर विजयी भएको हो ।
प्रतियाेगिता अन्तरगत विहीबार फुटबलका २ क्वाटरफाइनल खेल हुने संयाेजक कल्पना शर्माले जानकारी दिइन् । पहिलो क्वाटरफाइनल खेल ललितपुर र रामेछापबीच हुनेछ भने दोस्रो खेल दोलखा र भक्तपुरबीच हुने खेल शर्माले बताइन् । खेल नकआउट चरणमा खेलाइएको छ ।
पुरुष तर्फको क्रिकेट खेल सुरु
प्रदेश खेलकुद अन्तरगत नै चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुरुष तर्फको क्रिकेट खेल बुधबारबाट सुरु भएको छ । प्रतियोगिताको पहिलो खेल रामेछाप र नुवाकोटबीच भएको हाे । टस जितेर ब्याटिङ रोजेको नुवाकोटले २ विकेट गुमाएर रामेछापलाई २ सय ५६ रनको लक्ष्य दिएको थियो । रामेछापले १५ ओभरमा सबै विकेट गराउदैं ६६ रनमै सिमित रहेको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएका विभिन्न प्रतियोगिताहरु मध्ये हाल सम्मकै नुवाकोटका राजेश रिमालले एकैखेलमा हाइ स्कोर १ सय ५९ रन बनाएका थिए ।
त्यस्तै, दोस्रो खेल रसुवा र धादिङ बीच खेलाइएकाे थियाे । रसुवाले टस जितेर ब्याटिङ रोज्दै १३ ओभरमा पुरै विकेट गुमाएर ५१ रन बनाएको थियो । धादिङले ५ ओभरमै १ विकेट गुमाएर लक्ष्य हासिल गर्दै अघिल्लो चरण प्रवेश गरेको खेल संयोजक प्रेम बहादुर क्षेत्रीले बताए । क्रिकेट अन्तरगत विहीबार २ खेल हुनेछ । पहिलो खेल ललितपुर र दोलखा तथा दोस्रो खेल सिन्धुपाल्चोक र काभ्रेबीच हुने क्षेत्रीले बताए । प्रतियोगितामा सिन्धुलीले सहभागिता जनाएको छैन् ।
महिला भलिबलमा चितवन र रामेछाप फाइनलमा
चितवनको माडी खेल मैदानमा भएको महिला भलिबलमा चितवन र रामेछाप फाइनल प्रवेश गरेको छ । रामेछापले सिन्धुलीलाई २५–१०, १५–२५, २५–१४, २५–२० ले हराउदैं रामेछाप फाइनल प्रवेश गरेको हो । त्यस्तै, चितवनले दोलखालाई साझै सेटमा हराएको छ । चितवनले दोलखालाई २५–१२, २५–९,२५–८ ले हराउदैं फाइनल यात्रा तय गरेको हो ।
पुरुष भलिबलक़मा चितवन र सिन्धुली फाइनलमा
यस्तै पुरुष भलिबल तर्फकाे खेलमा चितवन र सिन्धुली फाइनल प्रवेश गरेका छन् । सेमीफाइनलमा सिन्धुलीले सिन्धुपाल्चोकलाई तथा चितवनले दोलखालाई हराउदैं फाइनल प्रवेश गरेको खेल संयोजक अशोक काजी थापाले बताए ।
प्रतियाेगिता अन्तर्गत मकवानपुरमा चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने सदस्य परिषदका सचिव सुर्यलाल भण्डारीले बताए ।
प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।