मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगे लगत्तै प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ ।
उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको हो ।
यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।
सन्दीपले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलत्कारको जाहेरी दिएकी थिइन् ।
सन्दीपको क्रिकेट यात्रा
२२ वर्षीय सन्दीपले छोटो समयमै सफलता प्राप्त गरे । विश्वभरीकै फ्रेन्चाइज्ड लिग खेल्ने अवसर पाउनु, करोडौ आम्दानी अनि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान जस्तो जिम्मेवारी, यो सबै सन्दीपले निकै छोटो समयमै पाएको सफलता हो ।
तर सफलता प्राप्तिसँगै उनी पछिल्लो समय विवादित समेत बन्दै आएका थिए । अझ बलात्कारको आरोप लागेपछि सन्दीपले विदेशी फ्रेन्चाइज्ड लिगमात्र गुमाएका छैनन्, नेपाल क्रिकेट संघ (क्यान) ले उनको जिम्मेवारी खोस्नुका साथै उनलाई निलम्बन समेत गरेको छ ।
सन्दीपको स्थायी घर स्याङ्जा हो । उनले सन् २०१६ मा १६ वर्षकै उमेरमा नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाए । बंगलादेशमा भएको आईसीसी यू-१९ क्रिकेट विश्वकपका क्रममा आयरल्यान्डविरुद्ध ह्याट्रिक लिएपछि उनको चर्चा चुलियो ।
त्यसपछि उनले सन् २०१६ को हङकङ टी-ट्वान्टी ब्लिज खेल्दा गरेको प्रदर्शनका कारण अष्ट्रेलियन क्रिकेटर माइकल कलार्कले अष्ट्रेलियामा क्रिकेट खेल्ने अवसर जुराइदिए ।
सन् २०१८ मा सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका लागि आवद्ध भए । आईपीएल खेल्ने उनी पहिलो खेलाडी बने । उनी सन् २०२० सम्म दिल्लीमा आवद्ध भए ।
२०१८ मै उनले क्यारेवियन प्रिमियर लिग, ग्लोबल टी-ट्वान्टी क्यानाडा, बीग बास लिग तथा बंगलादेश प्रिमियर लिग खेल्ने अवसर पाए । सन् २०१९ मा पाकिस्तान सुपर लिगका लागि छनोट भए । विदेशी लिगहरुको यात्रा अझैसम्म जारी थियो । तर बलात्कारको आरोप लागेपछि उनलाई भर्खरै क्यारेवियन प्रिमियर लिग क्लबले टिमबाट निकाल्यो ।
त्यतिमात्र नभएर क्यानले गत डिसेम्बरमा सन्दीपलाई नेपाली राष्ट्रिय टिमको कमान्ड दिएको थियो । सन्दीपकै कप्तानीमा नेपालले ओमानमा आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप छनोट खेल्यो भने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ पनि खेलिरहेको थियो ।
सन्दीपले ३० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६९ विकेट लिएका छन् । उनले एकदिवसीयको एकै इनिङ्समा ११ रन खर्चेर सर्वाधिक ६ विकेट हात पारेका छन् । ४४ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ८५ विकेट हात पारेका सन्दीपले एकै इनिङ्समा ९ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका छन् ।
अब उनको क्रीकेट यात्रा लागेको आरोप छिटो प्रामाणित नभए मात्र अघाडी बढने देखिन्छ ।
मकवानपुर । हेटौंडामा जारी मकवानपुर जिल्लास्तरीय महिला भलिबलको उपाधिमा मकवानपुरगढी गाउँपालिकाले जित हात पारेको छ ।
बुधबार हेटौंडाको हुप्रचौरमा भएको फाइनल खेलमा बकैया गाउँपालिकालाई पराजित गर्दै उपाधी जितेको हो । मकवानपुरगढीले बकैयालाई २५–१५, २५–१९ र २५–१३ को सोझो सेटमा पराजित गरेको हो । उपाधिसँगै मकवानपुरगढीले नगद ५० हजार सहित शिल्ड, मेडल हात पार्दा उपविजेता बकैयाले ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल हातपार्न सफल बन्यो ।
प्रतियोगितामा मकवानपुरगढीकी सुस्मिता योञ्जन उत्कृष्ट खेलाडी घोषित भईन् । मकवानपुरगढीकै सञ्चमाया स्याङ्तान उत्कृष्ट स्पाइकर, रञ्जन अमात्य उत्कृष्ट प्रशिक्षक घोषित भए । प्रतियोगिताको उत्कृष्ट सेटर बकैयाकी कुसुम भोम्जन, उदीयमान खेलाडी मकवानपुरगढीकी श्रृषा लोप्चन, थाहा नगरपालिकाकी रोजिना स्याङ्तान र बकैया गाउँपालिकाकी दिपिका कार्की भए ।
प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना लामाले पुरस्कार प्रदान गरेकी थिईन् ।
यसअघि सोमबार सम्पन्न उपेमयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको विजेता तथा उपविजेतालाई पनि बुधबार नै सिल्ड, मेडल तथा प्रमाणपत्र र नगद पुरस्कार हस्तान्तरण गरिएको छ । उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको दुबै उपाधि हेटौंडा–१७ ले जितेको थियो । पुरुषतर्फ हेटौंडा–१९ उपविजेता बनेको हो । महिलातर्फ हेटौंडा–५ उपविजेता बनेको थियोे ।
मकवानपुर । हेटौंडामा जारी जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजनामा सोमबारदेखि सुरु प्रतियोगितामा समूह चरणको खेल मंगलबार सकिएसँगै सेमीफाइनल समीकरण पूरा भएको हो ।
समूह ‘क’ को विजेता बन्दै बकैया गाउँपालिका समेफाइनलमा प्रवेश गरेकाे छ । बकैयाले सेमीफाइनलमा समूह ‘ख’ को उपविजेता हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाको टिमसँग खेल्ने छ । यस्तै समूह ‘ख’ को विजेता बन्दै सेमीफाइनल प्रवेश गरेकाे मकवानपुरगढी गाउँपालिका समूह ‘क’ को उपविजेता थाहा नगरपालिकासँग सेमीफाइनलमा भेट पक्का गरेको छ। सेमीफाइनल चरणको खेल बुधबार बिहान हुनेछ भने फाइनल खेल बुधबार दिउँसो हुने आयाेजक प्रतिष्ठानका महासचिव वसन्त कुमार सिटौलाले बताए ।
सोमबारदेखि सुरु जिल्लास्तरीय महिला भलिबल प्रतियोगितामा ७ वटा टिमको सहभागिता रहेको थियो । हुप्रचौरमा जारी प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि उपविजेताले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने सिटौलाले जानकारी दिए ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भएको उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फको उपाधि १७ नम्बर वडाले जितेको छ ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा सोमबार हुप्रचौरमा भएकाे खेलमा १९ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको हो ।
पहिलो सेट २५–२१ ले अग्रता लिँदै १७ नम्बर वडाले दोस्रो सेटमा १६–२५ ले पछि परेको थियो । पछिल्लो दुई सेट २५–२१ र २८–२६ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । उपाधिसँगै १७ नम्बर वडाले ५० हजार रुपैयाँ हात पारेकाे छ । उपविजेता १९ नम्बर वडाले २५ हजार रुपैयाँ जितेकाे छ ।
उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत महिला तर्फको हिजो आइतबार भएको फाइनल प्रतियोगितामा पनि १७ नम्बर वडा विजयी भएको थियो । ५ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको थियाे ।
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भएको उपमेयर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि १७ नम्बर वडाले जितेको छ ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा आइतबार भएको खेलमा हुप्रचौरमा ५ नम्बर वडालाई ३–१ को सेटमा पराजित गर्दै १७ नम्बर वडाले उपाधि जितेको हो ।
पहिलो सेट २४–२६ ले गुमाएको १७ नम्बर वडाले पछिल्लो तीन सेट २५–१३, २५–९ र २५–१५ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । उपाधिसँगै १७ नम्बर वडाले ५० हजार रुपैयाँ जितेको छ भने ५ नम्बर वडाले २५ हजार रुपैयाँ पाउने भएको छ । पुरुषतर्फको फाइनल खेल भने अनिर्णित बनेको छ ।
१७ नम्बर वडा र १९ नम्बर वडाबीच भएको फाइनल खेलमा अँध्यारो भएपछि अनिर्णित बनेको हो । ४ सेटको खेल सकिँदा २–२ को बराबरी भएपछि फाइनल खेल अनिर्णित बनेको हो ।
पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको १९ नम्बर वडाले दोस्रो र तेस्रो सेट १९–२५ र १७–२५ ले गुमाएको थियो । चौथो सेट १९ नम्बर वडाले २५–२१ ले आफ्नो पक्षमा परेपछि खेल बराबरीमा सकिएको हो ।
पुरुषतर्फको फाइनल खेल सोमबार बिहान ८ बजेबाट खेलाइने उपमेयर कप भलिबल प्रतियोगिताका संयोजक राजु घलेले जानकारी दिए । उपमेयर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ १२ टिम र महिलातर्फ १० टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।