मकवानपुर । मकवानपुरको हेटौंडामा तेस्रो मिस्टर मकवानपुर हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले तेस्रो मिस्टर मकवानपुर-२०८० प्रतियोगिता आयोजन गर्ने भएको हो ।
महासंघले हेटौंडामा पत्रकार सम्मेलन मार्फत मिस्टर मकवानपुर- २०८० प्रतियोगिताको जानकारी गराएको हो । ‘लामो समयको अन्तराल पछि तेस्रो मिस्टर मकवानपुर आगामी असोज १३ गते गर्ने तयारी गर्दैछौं’ महासंघका अध्यक्ष राजेश भेटवालले भने ‘हामीले ५५,६०,६५,७०,७५ केजी तौल समूहमा प्रतिस्पर्धीलाई सहभागि गराउने छौ ।’ तौल समूह अनुरुपका राष्ट्रिय निर्णायकहरुबाट प्रतियोगिताको निर्णय गरिने भेटवालले बताए ।
मिस्टर मकवानपुर २०८० को विजेतालाई १ लाख, दोस्रो स्थान हासिल गर्नेलाई ५० हजार र तेस्रो स्थानमा हुनेलाई ३० हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक सुनील लोप्चनले बताए ।
यसैगरी प्रतियोगितामा प्रत्येक तौल समूहको विजेतालाई १० हजार प्रदान गरिने बताइएको छ । प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद २५ हजारले सम्मान गरिने लोप्चनले बताए ।
खेलप्रति महिलाको आकर्षण बढाउनको लागि महिला खेलाडीद्वारा एकै तौल समूहमा महिलाहरुको पनि प्रतिस्पर्धा समेत रहनेछ । जिल्लाभित्र रहेका करिब ६ वटा फिट्नेस क्लबले खेलाडीहरु प्रस्तुत गर्ने अध्यक्ष भेटवालले बताए । साथै पुराना खेलाडी र खेलको प्रवर्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका एक/एक जना व्यक्तित्वलाई सम्मान गरिने महासंघले जानकारी दिएको छ ।
हेटौंडा-२ स्थित पल्पसा हलमा हुने प्रतियोगिता १२ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । प्रतियोगितामा करिब ५० जनाले सहभागिता जनाउने अनुमान गरिएको छ ।
महासंघको आयोजनामा प्रथम मिस्टर मकवानपुर २०६६ सालमा भएको थियो । उक्त प्रतियोगिताको उपाधि सुनील महर्जनले जितेका थिए । दोस्रो मिस्टर मकवानपुर २०७५ को उपाधि बिजेता अतित श्रेष्ठ थिए ।
मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमतीले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्ने भएकाे छ । बागमती प्रदेश सामाजिक विकास मन्त्री तथा परिषद्का अध्यक्ष कुमारी मोक्तानको अध्यक्षतामा बसेको बोर्ड बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेकाे हाे ।
आगामी फागुन २४ देखि ३० गतेसम्म अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको निर्णय भएकाे परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । ‘प्रतियोगिता आयोजना स्थल भने पछि स्थान छनौट गरि जानकारी दिइने छ‘ भण्डारीले भने ‘प्रतियोगितामा ७ वटै प्रदेशको सहभागिता गराइने छ ।’
अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने भएको छ । दोस्रो बागमती प्रदेश खेलकुदमा समावेश १३ खेललाई नै समावेश गरिने भण्डारीले बताए । दोस्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो ।
बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तसम्म गर्ने निर्णय पनि गरेको छ । त्यस्तै स्थानीय तह र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः मङ्सिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको छ ।
मकवानपुर । महिला विश्वकप २०२३ अन्तरगत तेस्राे स्थानकाे लागि भएकाे प्रतिस्पर्धामा स्वीडेनले अस्ट्रेलियालाई हराएकाे छ । सह-आयोजक अस्ट्रेलियालाई पराजित गर्दै स्विडेन चौँथोपटक फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको हाे ।
अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा शनिबार भएको तेस्रो स्थानको खेलमा स्विडेनले अस्ट्रेलियालाई २-० ले पराजित गरेको थियाे ।स्विडेन यसअघि सन् २००३ मा उपविजेता बन्दा १९९१, २०११ र २०१९ मा तेस्रो भएको थियो । अस्ट्रेलियाले भने पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको थियो ।
मकवानपुर । महिला विश्वकप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । अन्तिम प्रि–क्वाटरफाइनल खेलमा मोरक्को फ्रान्ससँग ४–० ले पराजित भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हाे ।
पहिलो हाफमै ३ गोल खाएको मोरक्कोले फ्रान्सका खेलाडीलाई रोक्न सकेन । पराजित मोरक्कोले पनि गोल गर्ने अवसर प्रशस्त पाए पनि अवसरकाे सदुपयोग गर्न सकेन । महिला विश्वकपकाे दुई क्वाटरफाइनल खेल न्यूजिल्यान्डमा हुनेछ । यस्तै दुईवटा क्वाटरफाइनल खेल अस्ट्रेलियामा हुने कार्यतालिका छ ।
क्वाटरफाइनलमा स्पेन र नेदरल्यान्ड वालिङटनमा भिड्दा अकल्यान्डमा जापान र स्वीडेनले शुक्रबार खेल्ने भएका छन् । फ्रान्सले शनिबार आयोजक अस्ट्रेलियासँग ब्रिसवनमा क्वाटरफाइनल खेल्दा सिड्नीमा इग्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटाैडामा दाेस्राे विजय युथ गाेल्डकप हुने भएकाे छ । शनिबार विजय युथ क्लबले पत्रकार सम्मेलन गरी प्रतियाेगिता असार ५ गतेबाट १५ गतेसम्म हुने जानकारी दिएकाे हाे ।
खेलाडीहरुको बीचमा भातृत्व सम्बन्ध स्थापना गर्दै फुटबलको विकासका निम्ति क्लवले दोस्रो विजय यूथ गोल्डकपको आयोजना गर्न लागेको क्लब अध्यक्ष सुदिप राजवाहकले जानकारी दिए । हेटौंडा ५ पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियाेगितामा १६ टिमकाे सहभागिता रहने छ ।
प्रतियाेगितामा हेटौंडा फुटबल एकेडेमी, विजय यूथ क्लव, हटिया भेट्रान्स क्लव, ढल्केजोवान एफसी, रिगल हेटौंडा रिसोर्ट मकवानपुर, नागस्वती एफसी, पदमपोखरी युनाइटेड, हर्नामाडी यूथ क्लव, एफसी विजय यूथ, अग्रसर यूथ क्लव, समाजकल्याण एफसी, बागमती प्रदेश प्रहरी गण, चाइना पब्लिक यूथ क्लव, चौकीटोल यूथ क्लव, पशुपति युवा क्लव, हेटौंडा फुटबल एकेडेमी ए काे सहभागिता रहने राजवाहकले बताए ।
गाेल्डकपकाे विजेताले २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५ लाख बराबरको बीमा, नगद १० हजार रुपैया प्रदान गरिने राजवाहकले बताए । प्रतियोगिताकाे विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी / प्रत्येक खेलको म्यान अफ द म्याचलाई पुरस्कारकाे व्यवस्था रहेकाे उनले जानकारी दिए ।
असार ५ गते बेलुका ४ बजे हुने उद्घाटन खेल एफसी विजय युथ र अग्रसर यूथ क्लव बीच हुने तालिका छ । प्रतियाेगितामा अनुमानित १३ लाख खर्च आयाेजकले जनाएकाे छ ।
यसअघि प्रतियोगिताको पहिलो संस्करण माघ २०७७ मा भएकोमा उपाधि आयोजक टिम एफसी विजय युथ क्लबले हात पारेको थियो । आयोजकले सेन्ट्रल कलेज विएसी भरतपुरलाई २-१ गोल अन्तरले पराजित गर्दै पहिलो सस्करणको उपाधि जितेको थियो ।