मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमतीले प्रदेशस्तरीय खेलकुद प्रतियोगिता गर्ने भएकाे छ । बागमती प्रदेश सामाजिक विकास मन्त्री तथा परिषद्का अध्यक्ष कुमारी मोक्तानको अध्यक्षतामा बसेको बोर्ड बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेकाे हाे ।
आगामी फागुन २४ देखि ३० गतेसम्म अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता हुने भएको निर्णय भएकाे परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिए । ‘प्रतियोगिता आयोजना स्थल भने पछि स्थान छनौट गरि जानकारी दिइने छ‘ भण्डारीले भने ‘प्रतियोगितामा ७ वटै प्रदेशको सहभागिता गराइने छ ।’
अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने भएको छ । दोस्रो बागमती प्रदेश खेलकुदमा समावेश १३ खेललाई नै समावेश गरिने भण्डारीले बताए । दोस्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो ।
बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तसम्म गर्ने निर्णय पनि गरेको छ । त्यस्तै स्थानीय तह र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः मङ्सिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको छ ।

