मकवानपुर । मकवानपुर जिल्ला लिग फुटबलको मिति सरेको छ । ७ भदौबाट हुने भनिएको प्रतियोगिता एकहप्ता पछि सारिएकाे हाे ।
आयोजक मकवानपुर जिल्ला फुटबल संघको बुधबार बसेकाे कार्यसमितिको आकस्मिक बैठकले प्रतियोगिता एक हप्ता पर सारिएकाे जानकारी दिएकाे छ । बैठकले झरी वर्षाका कारण मौसम अनुकुल नरहेकोले १४ भदौबाट लिग प्रतियाेगिता संचालन हुने गरी मिति सारिएकाे आयोजकले जनाएकाे छ ।
प्रतियोगिताकाे लागि ९ भदौसम्म टिम दर्ता, १० भदौमा खेल तालिका सार्वजनिक हुने गरी कार्यतालिका समेत सारिएकाे हाे ।
मकवानपुर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जितेका बागमती प्रदेशका खेलाडीहरूले २ वर्षसम्म पुरस्कार प्राप्त गर्न सकेका छैनन् ।
उक्त प्रतियोगितामा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कांस्य सहित १४५ पदक जितेको थियो । बागमती प्रदेश सरकारले राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको थियो।
प्रतियाेगिता सम्पन्न भएकाे २ वर्षसम्म पनि प्रदेश सरकारले पदक विजेता खेलाडीलाई दिने निर्णय गरेकाे पुरस्कार नदिएपछि प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनकाे ध्यानाकर्षण गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि पुरस्कार वितरणका लागि मन्त्री महर्जनको ध्यानाकर्षण गराएको छ।
बिहीबार हेटौंडा–६ स्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलाडी संघका केन्द्रीय सदस्य अजित गुरुङको समूहले मन्त्री महर्जनलाई ध्यानाकर्षण गराएको हो । गत असोज २८, २०७९ देखि ३ कात्तिकसम्म भएकाे नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा भएको गुरुङले बताए । खेलकुद प्रतियोगिता सम्पन्न भएको २ वर्षसम्म पनि पुरस्कार प्राप्त हुन नसकेकाले सो विषयमा तत्काल पहल गर्न मन्त्री महर्जनलाई ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।
ध्यानाकर्षण पछि मन्त्री मीनकृष्ण महर्जनले प्रदेश सरकारले निर्णय गरेकाे पुरस्कार दिने गरी तयारी गरिएकाे जानकारी दिए । ‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै खेलाडीहरूलाई पुरस्कार दिन्छौ’ उनले भने ‘अर्थ मन्त्रालयबाट खेलाडीकाे लागि दिने भनिएकाे पुरस्कारकाे लागि सहमति नआउँदा वितरण हुन सकेन।’
प्रतियोगिता सम्पन्न भएको लामो अवधिसम्म प्रदेश सरकारबाट पूर्वघोषित पुरस्कार प्राप्त नहुँदा खेलाडीहरूको गुनासो बढिरहेको र पदक प्राप्त खेलाडीमा निराशा छाएको गुरुङले बताए । उनका अनुसार निकट भविष्यमा नै हुने १० औ राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै पूर्वघोषित नगद पुरस्कार खेलाडीहरूलाई उपलब्ध गराउन माग गरिएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा आगामी २४ भदौदेखि ३१ भदौसम्म प्रतियोगिता हुने भएको हो ।
आयोजक रोटरी क्लब अफ मकवानपुरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताकाे जानकारी दिएकाे हाे । जलन प्राथमिक उपचार केन्द्र निर्माण अभियानलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको संयोजक माेहन ढकालले जानकारी दिए ।
१६ वटा टिमले सहभागिता जनाउने प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २ हजार २ सय २२ रुपैंया प्राप्त गर्ने छन् । यसैगरी द्वितीय हुनेले १ लाख १ हजार १ सय १ रुपैंया प्राप्त गर्ने ढकालले बताए । यसैगरी सर्वोत्कृष्ट प्रशिक्षकले १० हजार रुपैँया, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, सर्वोत्कृष्ट डिफेन्स सर्वोत्कृष्ट मिडफिल्डर तथा सर्वोत्कृष्ट फरवार्डले जनही ५/५ हजार रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ ।
स्वास्थ्यको लागी खेलकुद भन्ने नाराको साथ रोटरी क्लव अफ मकवानपुरको आयोजनामा सर्व प्रथम २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरेकाे थियाे । हेटौडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।
आठ वर्षपछि सामाजिक एवम् मानवीय सहयोगको साथसाथै खेलकुदमा पनि रोटरी भन्ने रोटरी इन्टरनेशनलको नारालाई आत्मसाथ गर्दै रोटरी क्लव अफ मकवानपुरको जलन प्राथमिक उपचार केन्द्र आगोले पोलेकोहरुको तत्काल स्वास्थ्य उपचार गर्ने निर्माण अभियानलाई पनि सहयोगकाे लागि तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगीता आयोजना गर्न लागिएकाे रोटरी क्लव अफ मकवानपुर अध्यक्ष वर्ष २०२४-२५ अनिल अग्रवालले जानकारी दिए ।
रोटरी क्लव अफ मकवानपुर आयोजक, पिप्ले युवा क्लब सहआयोजक र रोट्र्याक क्लब अफ मकवानपुरको सहकार्य हुने प्रतियाेगिताकाे मुख्य प्रायोजक हेटौडा उपमहानगरपालिका र सह प्रायोजक हेटौडा स्कूल अफ म्यानेजमेन्ट रहेकाे छ । मकवानपुरका ९ वटा स्थानीय तहकाे सहयोग रहने प्रतियाेगितामा चितवन, बारा तथा मकवानपुरमा संचालनमा रहेका उद्योग तथा अन्य संघ संस्थाकाे समेत सहकार्य रहने बताइएकाे छ । प्रतियोगीतामा १६ लाख १८ हजार खर्च हुने अनुमान गरिएकाे आयोजक संस्थाका संयोजक ढकालले जानकारी दिए ।
भदौ ७ गतेबाट जिल्ला लिग फुटबल हुने
Tags: No Comments
मकवानपुर । मकवानपुरको हेटौंडामा आगामी ७ भदौबाट जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा हुने प्रतियाेगितामा २८ वटा ए डिभिजन क्लबले सहभागिता जनाउने छन् ।
जिल्ला लिगको लागि जिल्ला फुटबल संघ ए डिभिजन लिग, २०८१ नियमावली सार्वजनिक गरेको छ । प्रतियोगिताको विजेता, उपविजेता टिमले नगद १ लाख र ५० हजारसहित प्राप्त गर्ने संघले जानकारी दिएकाे छ । विजेता टिमले प्रदेश लिग २०८१ को लागि छनौट हुनेछन् । प्रतियोगितामा सहभागी हुन सम्बन्धित क्लवले आर्थिक वर्ष २०७९/८० को करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने संघले जनाएकाे छ ।
यसवर्षबाट जिल्ला लिगमा क्लवहरुको वरियताक्रम छुट्याइने संघले जनाएको छ । जसको लागि लिगमा सहभागी हुने २८ वटै क्लवलाई ४ समूहमा विभाजित गरिनेछ । हरेक समूहको शिर्ष ३ स्थानमा रहने क्लवहरु सिधै जिल्लाको ए डिभिजन क्लवमा छनौट हुनेछन् । हरेक समूहका चौथो र पाचौँ हुने ८ वटा क्लवहरु बी डिभिजन र छैठौ र सातौँ हुने ८ वटा क्लवहरु सी डिभिजन क्लवको सूचिमा पर्नेछन् ।
जिल्ला खुल्ला क्वालिफाइबाट आयका २ वटा क्लवहरुसहित १० वटा क्लवले आगामी जिल्ला लिग सी डिभिजन खेल्नेछन् । प्रतियोगिताको लागि ४ भदौसम्म टिम दर्ता गर्नु पर्ने संघले जनाएको छ । संघकाे आयोजनामा २०८० मा भएकाे जिल्ला लिग क्वालिफाईमा सहभागी खेलाडीले जिल्ला लिग प्रतियाेगितामा सहभागिता जनाउन पाउने छैनन् । यसैगरी २०८०/०८१ मा अन्य जिल्लामा लिग खेलेका मकवानपुरका खेलाडी तथा २०८० मा एन्फा ए,बी,सी लिग खेलेका खेलाडीले समेत प्रतियाेगितामा सहभागी हुन नपाउने नियम रहेकाे छ ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। कोरोना संक्रमणको कारण २०७६ सालपछी जिल्ला लिग हुन सकेको थिएन ।

मकवानपुर । काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । बुधबारकाे फाइनलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै भारतले उपाधि हात पारेकाे हाे ।
काठमाडौ त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो । दोस्रो सेट भारतले २५–१४ ले जित्दा तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्याे भने चौथो सेट भारतले २५–२१ ले जित्यो ।
पाँचौ सेटमा भारतले नेपाललाई १५–५ ले जितेको हो । सेमिफाइनलमा नेपालले इरानलाई र भारतले श्रीलंकालाई हराउदै फाइनलमा स्थान बनाएका हुन् ।
काभा महिला नेसन्स लिगकाे तस्राे स्थानकाे लागि बुधबार नै भएकाे खेलमा इरानले श्रीलङ्कालाई पराजित गरेकाे छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको खेलमा इरानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । इरानले श्रीलङ्कामाथि २५–२२, २८–२६, र २५–१७ ले पाखा लगाउँदै जित हासिल गरेको हो ।