मकवानपुर । मकवानपुरकाे हेटौंडामा तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा–५ स्थित क्याम्पा रंगशालामा आगामी २४ भदौदेखि ३१ भदौसम्म प्रतियोगिता हुने भएको हो ।
आयोजक रोटरी क्लब अफ मकवानपुरले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताकाे जानकारी दिएकाे हाे । जलन प्राथमिक उपचार केन्द्र निर्माण अभियानलाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको संयोजक माेहन ढकालले जानकारी दिए ।
१६ वटा टिमले सहभागिता जनाउने प्रतियोगितामा प्रथम हुने टिमले २ लाख २ हजार २ सय २२ रुपैंया प्राप्त गर्ने छन् । यसैगरी द्वितीय हुनेले १ लाख १ हजार १ सय १ रुपैंया प्राप्त गर्ने ढकालले बताए । यसैगरी सर्वोत्कृष्ट प्रशिक्षकले १० हजार रुपैँया, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट किपर, सर्वोत्कृष्ट डिफेन्स सर्वोत्कृष्ट मिडफिल्डर तथा सर्वोत्कृष्ट फरवार्डले जनही ५/५ हजार रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ ।
स्वास्थ्यको लागी खेलकुद भन्ने नाराको साथ रोटरी क्लव अफ मकवानपुरको आयोजनामा सर्व प्रथम २०७२ सालमा पहिलो पटक राष्ट्रिय र २०७३ सालमा दोस्रो पटक अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरेकाे थियाे । हेटौडामा नै पहिलो पटक आयोजना गरिएकाे ८ ए साईड भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करण चितवन भेट्रान्स क्लबले हात पारेकाे थियाे ।
आठ वर्षपछि सामाजिक एवम् मानवीय सहयोगको साथसाथै खेलकुदमा पनि रोटरी भन्ने रोटरी इन्टरनेशनलको नारालाई आत्मसाथ गर्दै रोटरी क्लव अफ मकवानपुरको जलन प्राथमिक उपचार केन्द्र आगोले पोलेकोहरुको तत्काल स्वास्थ्य उपचार गर्ने निर्माण अभियानलाई पनि सहयोगकाे लागि तेस्रो रोटरी मकवानपुर पिप्ले क्याम्पा राष्ट्रिय भेट्रान्स फुटवल प्रतियोगीता आयोजना गर्न लागिएकाे रोटरी क्लव अफ मकवानपुर अध्यक्ष वर्ष २०२४-२५ अनिल अग्रवालले जानकारी दिए ।
रोटरी क्लव अफ मकवानपुर आयोजक, पिप्ले युवा क्लब सहआयोजक र रोट्र्याक क्लब अफ मकवानपुरको सहकार्य हुने प्रतियाेगिताकाे मुख्य प्रायोजक हेटौडा उपमहानगरपालिका र सह प्रायोजक हेटौडा स्कूल अफ म्यानेजमेन्ट रहेकाे छ । मकवानपुरका ९ वटा स्थानीय तहकाे सहयोग रहने प्रतियाेगितामा चितवन, बारा तथा मकवानपुरमा संचालनमा रहेका उद्योग तथा अन्य संघ संस्थाकाे समेत सहकार्य रहने बताइएकाे छ । प्रतियोगीतामा १६ लाख १८ हजार खर्च हुने अनुमान गरिएकाे आयोजक संस्थाका संयोजक ढकालले जानकारी दिए ।

