मकवानपुर । मकवानपुरको हेटौंडामा आगामी ७ भदौबाट जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघकाे आयोजनामा हुने प्रतियाेगितामा २८ वटा ए डिभिजन क्लबले सहभागिता जनाउने छन् ।
जिल्ला लिगको लागि जिल्ला फुटबल संघ ए डिभिजन लिग, २०८१ नियमावली सार्वजनिक गरेको छ । प्रतियोगिताको विजेता, उपविजेता टिमले नगद १ लाख र ५० हजारसहित प्राप्त गर्ने संघले जानकारी दिएकाे छ । विजेता टिमले प्रदेश लिग २०८१ को लागि छनौट हुनेछन् । प्रतियोगितामा सहभागी हुन सम्बन्धित क्लवले आर्थिक वर्ष २०७९/८० को करचुक्ता प्रमाणपत्र पेश गर्नुपर्ने संघले जनाएकाे छ ।
यसवर्षबाट जिल्ला लिगमा क्लवहरुको वरियताक्रम छुट्याइने संघले जनाएको छ । जसको लागि लिगमा सहभागी हुने २८ वटै क्लवलाई ४ समूहमा विभाजित गरिनेछ । हरेक समूहको शिर्ष ३ स्थानमा रहने क्लवहरु सिधै जिल्लाको ए डिभिजन क्लवमा छनौट हुनेछन् । हरेक समूहका चौथो र पाचौँ हुने ८ वटा क्लवहरु बी डिभिजन र छैठौ र सातौँ हुने ८ वटा क्लवहरु सी डिभिजन क्लवको सूचिमा पर्नेछन् ।
जिल्ला खुल्ला क्वालिफाइबाट आयका २ वटा क्लवहरुसहित १० वटा क्लवले आगामी जिल्ला लिग सी डिभिजन खेल्नेछन् । प्रतियोगिताको लागि ४ भदौसम्म टिम दर्ता गर्नु पर्ने संघले जनाएको छ । संघकाे आयोजनामा २०८० मा भएकाे जिल्ला लिग क्वालिफाईमा सहभागी खेलाडीले जिल्ला लिग प्रतियाेगितामा सहभागिता जनाउन पाउने छैनन् । यसैगरी २०८०/०८१ मा अन्य जिल्लामा लिग खेलेका मकवानपुरका खेलाडी तथा २०८० मा एन्फा ए,बी,सी लिग खेलेका खेलाडीले समेत प्रतियाेगितामा सहभागी हुन नपाउने नियम रहेकाे छ ।
यसअघि भएको जिल्ला लिगको उपाधि न्यु डाँफे युथ क्लबले जितको थियो भने हटिया स्र्पोटर्स एकेडेमी उपविजेता बनेको थियो। कोरोना संक्रमणको कारण २०७६ सालपछी जिल्ला लिग हुन सकेको थिएन ।


