मकवानपुर । चैनपुर जेसीज मनहरीको आयोजनामा सुरु भएको जेसीज कप खुला फुटबल प्रतियोगितामा मनहरी ४ ले विजयी सुरुवात गरेको छ ।
शनिबार भएको उद्घाटन खेलमा लामिटार एफसी मनहरी ३ लाई २-० ले हराउँदै मनहरी ४ नम्बर वडाले विजय सुरुवात गरेको हो । मनहरी ४ को जितमा दर्शन अधिकारीले २ गोल गरे । खेलको म्यान अफ द म्याच अधिकारी नै घोषित भए ।
प्रतियोगिता अन्तरगत आइतबार (आज) खरंगा एफसी र मनहरी ५ नम्बर वडा बीच खेल हुनेछ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव दीपक लामाले गरेका हुन् । उनले खेल क्षेत्रको विकासमा सबै क्षेत्रसँग सहकार्य एवम् हातेमालो गर्न तयार रहेको बताए ।
प्रतियोगिता संयोजक नवराज रिजालको संयोजकत्व एवम् चैनपुर जेसीज मनहरीका अध्यक्ष सुरेश गौतमको अध्यक्षता भएको कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, मनहरी ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, सानाकिसान कृषि सहकारीका अध्यक्ष गीता प्रजा लगायतले जेसीजसँगको सहकार्यले खुसी लागेको बताए । उनीहरुले आगामी दिनमा पनि सहकार्यलाई जारी राख्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
प्रतियोगितामा चितवन जिल्लाको एक र मकवानपुरका ११ गरी १२ क्लवको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख १ हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशिल युवाहरुको संस्था चैनपुर जेसीजले स्थापनाकालदेखी नै जेसीज कप खुला फुटबलको आयोजना गर्दै आएको छ ।
फिफा विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भएको छ । आइतबार विहान भएको दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनल समिकरण पुरा भएकाे हाे । खेल्ने चारै टोलीको टुङ्गो लागेको हो ।
आइतबार विहान भएको खेल जित्दै इंग्ल्यान्ड र अर्जेन्टिनाले सेमिफाइनलमा स्थान बनाएका हुन् । यही दुई टोली सेमिफाइनलमा भिड्नेछन् इंग्ल्यान्डले एक गोलले पछि परेपनि त्यसलाई उल्टाउँदै अतिरिक्त समयमा नर्वेलाई २-१ ले पराजित गरेको हो । यस्तै साविक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
नर्वे र स्विटरल्यान्ड सेमिफाइनलमा पराजित भएपछि विश्वकपमा नयाँ टिम विजेता नबन्ने पक्का भएको हो । त्यसअघि नै दुई युरोपियन राष्ट्र फ्रान्स र स्पेनले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । फ्रान्सले मोरक्कोलाई २-० ले पराजित गर्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलम स्थान बनाएको हो । स्पेनले बेल्जियमलाई २-१ ले हराउदै सेमिफाइनल प्रवेश गरेको हो । स्पेन सन् २०१० पछि विश्वकपको सेमिफाइनलमा पुगेकाे हाे ।
सेमिफाइनल पुग्ने चारै टिम पूर्व विजेता हुन् । साविक विजेता अर्जेन्टिना ३ पटकको विजेता हो भने फ्रान्सले २ तथा इंग्ल्यान्ड र स्पेनले समान १ पटक उपाधि जितेका छन् ।
अब पहिलो सेमिफाइनलमा फ्रान्स र स्पेन असार ३१ गते भिड्ने छन् । यस्तै इंग्ल्यान्ड र अर्जेन्टिना बीचको दोस्रो सेमिफाइनल असार ३२ गते बिहीबार हुनेछ । दुबै खेल नेपाली समय अनुसार विहान पौने १ बजे सुरु हुनेछ । सेमिफाइनलका विजेता टिमले साउन ४ गते अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा फाइनल खेल्नेछन् ।
फिफा विश्वकप फुटबल अन्तरगत उत्तर अमेरिकामा भइरहेको खेलमा क्वाटरफाइनल समिकरण पूरा भएको छ । प्रिक्वाटरफाइनलका खेलहरु सकिएसँगै अन्तिम ८ (क्वार्टरफाइनल) को समीकरण पूरा भएको छ।
क्वाटरफाइनलमा युरोपबाट ६ टिम पुग्दा दक्षिण अमेरिका र अफ्रिकाबाट १/१ टिम प्रवेश गरेका छन् । उपाधि दौडमा रहेका ८ टोलीबीच सेमिफाइनल प्रवेशका लागि भिडन्त हुने भएको छ।
क्वार्टरफाइनलमा फ्रान्स, मोरक्को, स्पेन, बेल्जियम, नर्वे, इङ्गल्याण्ड, अर्जेन्टिना र स्विजरल्याण्ड प्रवेश गरेका हुन् । पहिलो क्वार्टरफाइनल खेल फ्रान्स र मोरक्कोबीच हुनेछ। यो खेल जुलाई १०, शुक्रबार राति १:४५ बजे (नेपाली समय अनुसार) सुरु हुनेछ।
यसैगरी दोस्रो खेलमा दुई युरोपेली देश स्पेन र बेल्जियम आमने-सामने हुनेछन्। यो खेल जुलाई ११, शनिबार राति १२:४५ बजे हुने तय भएको छ।तेस्रो क्वार्टरफाइनलमा नर्वेले इङ्गल्याण्डको सामना गर्नेछ। यो खेल जुलाई १२, आइतबार बिहान २:४५ बजे सुरु हुनेछ। यसैगरी अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विजरल्याण्डबिच भिडन्त हुनेछ। यो खेल जुलाई १२, आइतबार बिहान ६:४५ बजे हुनेछ।
कीर्तिमानी पाँच पटकको विजेता ब्राजिलसँगै तीनवटै आयोजक राष्ट्रहरु अमेरिका, मेक्सिको र क्यानडा भने अन्तिम १६ बाटै बाहिरिए । यस्तै क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि अन्तिम १६ बाटै बाहिरियो ।
प्रिक्वाटरफाइनलको पहिलो खेलमा अफ्रिकन पावर हाउस मोरक्कोले सहआयोजक क्यानडालाई ३-० ले हराएर लगातार दोस्रो पटक क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्रको कीर्तिमान बनायो । चार वर्षअघि मोरक्कोले सेमिफाइनल पुग्दै इतिहास रचेको थियो ।
घरेलु मैदानमा इतिहास रच्दै नकआउट चरण पुगेको क्यानडाको यात्रा अन्तिम १६ मै समाप्त भयो । अर्को खेलमा साविक उपविजेता फ्रान्सले किलियन एमबाप्पेको पेनाल्टी गोलमा जायन्ट किलर पाराग्वेलाई १-० ले हरायो । यस्तै वर्तमान विश्व फुटबलका घातक स्ट्राइकर हालान्डले अन्तिम समयमा दुई गोल गरेपछि ब्राजिललाई २-१ ले हराएर नर्वेले पहिलो पटक क्वाटरफाइनलमा स्थान बनायो । ब्राजिल भने ३६ वर्षपछि विश्वकपमा क्वाटरफाइनल पुग्न असफल रह्यो ।
इंग्ल्यान्डले रोमाञ्चक खेलमा दश खेलाडीमा रहेर पनि सहआयोजक मेक्सिकोलाई ३-२ ले हराउँदै क्वाटरफाइनमला स्थान बनायो । अर्को प्रिक्वाटरफाइनलमा मिकेल मेरिनोले इन्जुरी टाइममा गोल गरेपछि स्पेनले छिमेकी पोर्चुगललाई १-० को झिनो अन्तरले हराएर अन्तिम आठमा स्थान बनायो । आयोजक राष्ट्रहरु बाहिरिने क्रमले निरन्तरता पाउँदा अमेरिका बेल्जियमसँग घरेलु मैदानमै ४-१ ले पराजित भयो ।
साविक विजेता अर्जेन्टिनाको लागि भने नकआउट चरणका खेलहरु चुनौतीपूर्ण बनेकाे छ । अन्तिम ३२ को खेलमा नवप्रवेशी केप भर्डेलाई अतिरिक्त समयमा ३-२ ले पराजित गरेको अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा अर्को अफ्रिकी राष्ट्र इजिप्ट विरुद्ध दुई गोलले पछि परेको स्थिती उल्टाउँदै ३-२ को पुनरागमन जित हात पारेको हो ।
यस्तै अन्तिम प्रिक्वाटरफाइनलमा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टीसुटबउटमा ४-३ ले हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टीसुटआउटबाट नतिजाको टुङ्गो लागेको हो ।
मकवानपुर । ज्ञानदीप शिक्षा (जी. एस.) निकेतन माध्यमिक विद्यालयद्वारा फिफा विश्वकप-२०२६ का अवसरमा आयाेजित फ्यान फुटबल प्रतिस्पर्धाकाे उपाधि ब्राजिल र पाेर्चुगलले जितेका छन् ।
हेटाैँडा-५ स्थित पिप्ले-क्याप्पा रङ्गशालामा सम्पन्न सिनियर टिमकाे फाइनल खेलमा ब्राजिलले पाेर्चुगललाई १०-० ले पराजित गर्दै उपाधि जितेकाे हाे भने जुनियर टिमअन्तर्गत पाेर्चुगलले ब्राजिललाई ४-० ले पराजित गर्दै उपाधि जितेकाे हाे ।
प्रतियोगितामा विजेता र उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएकाे छ । साथै हरेक खेलका म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्डर तथा उत्कृष्ट गाेल स्काेररलाई समेत ट्रफीसहित सम्मानित गरिएकाे थियाे ।
असार १४ गतेदेखि सञ्चालित प्रतियोगिताकाे समापन समाराेह विद्यालय व्यवस्थापन समिति अध्यक्ष डा. निमेष निखिलकाे अध्यक्षता तथा हेटाैँडा उपमहानगरपालिका ५ न. वडाअध्यक्ष सुशील घिमिरेकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ऋषिराम उपाध्याय पाेखरेल, उपाध्यक्ष राजेश घिमिरे, काेषाध्यक्ष माेहनप्रसाद न्याैपाने, पूर्वअध्यक्ष पिताम्बर बास्ताेला, विद्यालयका प्रिन्सिपल ईश्वरप्रसाद लामिछाने, सहायक प्रधानाध्यापक दीपक गाैतमलगायतकाे उपस्थिति थियाे ।
विश्वभर महाउत्सवका रूपमा मनाइने विश्वकप फुटबलकाे उत्सवलाई अझ विशेष बनाउन र खेल क्षेत्रप्रति नयाँ पुस्तालाई आकर्षित गर्न फ्यान फुटबल प्रतियोगिता आयाेजना गरिएकाे विद्यालयका सहायक प्रअ तथा अतिरिक्त क्रियाकलाप संयाेजक दीपक गाैतमले जानकारी गराउनुभयो ।
मकवानपुर । ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयले फिफा विश्वकप-२०२६ काे अवसरमा ‘फ्यान फुटबल प्रतियोगिता’ आयाेजना गरेकाे छ ।
हेटाैँडा-५ स्थित पिप्ले-क्याम्पा रङ्गशालामा सञ्चालित खेल असार १४ गतेदेखि सुरु भएकाे हाे । खेलकाे उद्घाटनका सत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. निमेष निखिलकाे अध्यक्षता एवम् हेटाैँडा उपमहानगरपालिका वडा न. ५ का अध्यक्ष सुशील घिमिरेकाे प्रमुख आतिथ्य रहेकाे थियाे ।
कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष ऋषिराम पाेखरेल, शिक्षक-अभिभावक सङ्घका अध्यक्ष प्रकाश बानियाँ, विद्यालयका प्रधानाध्यापक ईश्वरप्रसाद लामिछाने, सहायक प्रधानाध्यापक दीपक गाैतमलगायत दर्जनबढी शिक्षक-कर्मचारीकाे उपस्थिति रहेकाे थियाे ।
फुटबल प्रतियोगिताअन्तर्गत कक्षा ८-१० काे सिनियर टिममा पाेर्चुगल ‘ए/बी, अर्जेन्टिना ‘ए/बी’ र ब्राजिल गरी ५ वटा टिमकाे सहभागिता रहेकाे छ । त्यस्तै कक्षा ६-७ काे जुनियर टिमअन्तर्गत ‘पाेर्चुगल ‘ए/बी’, अर्जेन्टिना ‘ए/बी’ र ब्राजिल ‘ए’ गरी ५ टिमकाे सहभागिता रहेकाे छ ।
नकआउट नियमानुसार खेलाइएकाे खेलमा जुनियरतर्फ पाेर्चुगल ‘ए’ ले अर्जेन्टिना र ब्राजिलले पाेर्चुगल ‘बी’ लाई पराजित गर्दै पाेर्चुगल ‘ए’ र ब्राजिलले फाइनल खेल्ने भएका छन् भने सिनियर टिमअन्तर्गत अर्जेन्टिना ‘ए’ ले पाेर्चुगल ‘ए’ लाई र पाेर्चुगल ‘बी’ ले अर्जेन्टिना ‘बी’ लाई पराजित गर्दै सेमिफाइनल चरणमा प्रवेश गरेकाे थियाे भने ब्राजिलले अर्जेन्टिना ‘ए’ लाई पराजित गर्दै फाइनल प्रवेश गरेकाे छ ।
फाइनल खेल पाेर्चुगल ‘बी’ र ब्राजिलबिच हुने भएकाे छ । फाइनल खेल असार २१ गते बिहान पिप्ले-क्याम्पा खेल मैदानमा हुने जानकारी विद्यालयका सहायक प्रधानाध्यापक तथा अतिरिक्त क्रियाकलाप संयाेजक दीपक गाैतमले गराउनुभयाे ।