मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर रानाले राजतन्त्रको समयमा जनतालाई रैती बनाएको भन्दै जनतालाई रैती बनाउने सामन्ती इतिहास अब मुलुकमा फेरि फर्कन सम्भव नभएको बताएका छन् ।
लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका लागि एमाले मकवानपुरले हेटौंडामा जागरणसभामा उनले यस्तो बताएका हुन् । जनताकाे बलिदानकाे रगतसँग साटेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको रानाले बताए । नेपाललाई समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानमा संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रको जगेर्नाको निम्ति एकजुट भएर अगाडि बढ्नका निम्ति उनले सबैलाई आग्रह समेत गरे।
‘लोकतन्त्रले हाम्रो सार्वभौमिक हक अधिकारलाई सुरक्षित गरेको छ। हामीले सामन्ती पुस्ताको अन्त्य गरेर जनताको सार्वभौम अधिकार जनताको पक्षमा ल्याएका छौं’ उनले भने, ‘आज जनता सार्वभौम भईरहेको अवस्थामा फेरि पनि नागरिकमाथि षड्यन्त्र गरिरहेको छ। त्यसैले म सबैलाई खबरदारीका निम्ति एकजुट भएर अगाडि बढ्न आग्रह गर्दछु।’
यसैगरी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले ४६ सालको आन्दोलनदेखि ६२/६३ को आन्दोलनमा पुग्दा विपक्षीहरुलाई परास्त गरेको बताए। उनले मसानमा पुर्याईसकेको लास उठेर टाउको ठड्याउँदै गरेको भन्दै खबरदारी गरे। हजारौँ जनताको योगदान र शहीदहरुको बलिदानबाट प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्र समाप्त गरेर फेरि निरकुंश राजतन्त्र ल्याउने सपना नदेख्न उनले चेतावनी दिए। पौडेलले संविधानले राजा नचिन्ने भन्दै राजा यो मुलुकमा नभएको बताउँदै तत्कालीन राजा ज्ञानेन्द्र अब राजा नरहेको बताए।
‘लोकतान्त्रिक गणतन्त्रमा नेपालमा सामाजिक र आर्थिक परिवर्तन भएको छ, गणतन्त्रकाे विकल्प राजतन्त्र कुनै हालतमा हुदैन्’ उनले भने । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको शरणमा परेर दुई हात खुट्टा टेक्दै चार पाउ टेकेर सूर्य चिह्नबाट निर्वाचनमा उठ्दा समेत पराजित भएको भोलिपल्टै कमल थापाले राजतन्त्रको वकालत गर्न थालेको आरोप उनले लगाए।
नेकपा एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेलले गणतन्त्रको संरक्षण र सम्वर्द्धन तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको बताए। जागरणसभा प्रतिगामी षड्यन्त्रकाविरुद्ध, पुनरुत्थानवादी र अराजक तत्वहरुलाई सन्देशको रुपमा रहने उनले बताए। पोखरेलले देशबाट घुँडा टेकाएको राजतन्त्र अब आवश्यक नभएको भन्दै अराजक गतिविधि गरे एमाले जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको बताए।
एमालेले सोमवार जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ता हेटौंडामा उतार्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनका लागि हेटौंडामा जागरण सभा गरेको हो। हेटौंडाका मुख्य सडकहरु सानो पोखरा चोक, फरेष्ट्री चोक, राप्ती रोड र चौकीटोलको चारवटा नाकाहरुबाट जम्मा भएको नेता तथा कार्यकर्ताकोहरुको र्याली सीमाचोकमा पुगेर सभामा परिणत भएको थियो।
सभामा नेकपा एमालेका केन्द्रीय सदस्य भारती पाठक, प्रदेश कमिटी सदस्य एवं प्रदेशसभा सदस्य एकलाल श्रेष्ठलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।
मकवानपुर । बागमती प्रदेश सरकारले २०८२ सालमा थप ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । सोमबारकाे प्रदेश मन्त्रिपरिषद् बैठकले थप ४ दिन बिदा दिने निर्णय गरेकाे हाे ।
विगतमा प्रदेश सरकारले दिँदै आएको सार्वजनिक बिदालाई क्यालेण्डरमा नै जनाउने गरी ४ दिनको बिदा थप गर्ने निर्णय गरिएको छ’प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री सुरज लामिछानेले भने ‘उक्त निर्णयसँगै विगतमा पर्व र दिवस विशेषमा बिदा दिन मन्त्रिपरिषद बैठक बस्नुपर्ने अवस्था रहने छैन।’
नेपाल सरकारले निर्णय गरेका बाहेक प्रदेश सरकारले प्रदेश कामकाजी भाषा ऐन कार्यान्वयन भएको दिन बैशाख २४ गते, गाइजात्राको दिन साउन २५ गते, चेपाङ समुदायको न्वागी भदौ २२ गते र माझी समुदायको लदी पर्व फागुन १९ गतेका दिन बिदा दिने निर्णय गरेकाे उनले जानकारी दिए । सरकारले मन्त्रिपरिषदले गरेको उक्त निर्णय प्रदेश राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ ।
यसैगरी सोमबारकाे मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारले संघीय सरकारबिरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेकाे छ । संविधानकाे प्रदत्त एकल अधिकारको यातायातसम्बन्धी व्यवस्थाका विषयमा संघीय सरकारविरुद्ध संविधानको धारा २३७ को उपधारा २ (क) बमोजिम संवैधानिक इजलाशमा मुद्दा दायर गर्ने निर्णय गरेको सरकारका प्रवक्ता लामिछानेले जानकारी दिए ।
प्रदेशको एकल अधिकारको सूचिका रहेको ट्याक्सी व्यवस्थापन तथा मापदण्डबारे सम्बन्धी मुद्दामा अदालतले मापदण्ड बनाउने आदेश भएकाेमा संघीय सरकारले तयारी गरेकाले सो विरुद्धमा सर्वोच्चको संवैधानिक इजलाशमा मुद्दा दायर गर्ने निर्णय गरिएकाे उनले बताए ।
यसअघी संघीय सरकारविरुद्ध प्रदेश सरकार शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन, २०७९ को विरुद्धमा सर्वोच्च अदालत पुगेको थियो । उक्त मुद्दा सर्वोच्चको संवैधानिक इजलाशमा विचाराधीन छ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले इस्लाम धर्मावलम्बी समुदायले मनाउने महत्वपूर्ण पर्व ईदको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।
आज सोमबार शुभकामना सन्देश प्रकाशन गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधतामा एकता, सामाजिक, सांस्कृतिक सद्भावपूर्ण राष्ट्र भएको उल्लेख गर्नुभएको छ।
“नेपालको भौगोलिक विविधता अनुसार कला संस्कृति र परम्पराहरुमा पनि बहुआयामिकता छ” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ “नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम छ, नेपालीहरुको आफ्नै चाडपर्वहरु मध्येको ईद पनि एक हो ।”
“ईद-उल-फित्रको सुखद् अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण इस्लाम धर्मका अनुयायी दाजुभाइ दिदीबहिनीहरुमा सुख, शान्ति एवम् सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै ईद मुवारक भन्न चाहन्छु” उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।
धार्मिक आस्था र परम्पराहरूले एकता, भातृत्व र मेलमिलापको भावनालाई सुदृढ बनाइ सभ्य र समृद्ध समाज निर्माणमा टेवा पुर्याउँने उहाँले बताउनु भएको छ । “हामीले हाम्रो धार्मिक सहिष्णुता र धार्मिक सम्पन्नतालाई कायम राख्नुपर्दछ । समृद्ध समाज निर्माणमा यस पर्वले थप उर्जा दिने विश्वासका साथ पुनः एकपटक सबैमा इदको शुभकामना व्यक्त गर्दछु” सन्देशमा भनिएको छ ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडादेखि चितवनकाे सौराहासम्म साइकल यात्रा हुने भएकाे छ । बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय तथा आर्थिक मामिला तथा योजना मन्त्रालयकाे सहयोगमा साईकल सिटी हेटौंडाकाे आयोजनामा साइकल यात्रा हुने भएकाे हाे ।
१२ बैशाख,२०८२ मा आयोजना हुने साइकल यात्रामा ४३ जिल्लाका करिब ५ सय जनाकाे सहभागिता रहने आयोजकले जनाएकाे छ । मकवानपुरकाे हेटौंडाबाट सौराहासम्म ७५ किमिकाे यात्रा रहने छ । ११ बैशाखमा बाहिरी जिल्लाबाट आउनेलाई हेटौंडामा स्वागत गरिने तथा १२ गते बिहान भुटनदेवी मन्दिर दर्शन सँगै यात्रा सुरु हुने छ ।
‘साइकल यात्राकाे मुख्य उदेश्य आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यावरणीय सन्तुलन, स्वास्थ्य जागरूकता तथा सांस्कृतिक आदानप्रदान हाे’ साइक्लिङ सिटी हेटौंडाका आध्यक्ष लेखनाथ ढकालले भने । यात्रीहरु हेटौंडाकाे थानाभर्याङ, नवलपुर, लेवट, बस्तिपुर, विगडाँडा, मनहरी गाउँपालिकाकाे रजैया अग्निहोत्र आश्रम, चितवनकाे भण्डारा वजार, पर्सा खैरहनी बजार, रत्ननगर नगपालिकाहुँदै सौराहा प्रवेश गर्नेछन् । ती स्थानहरुमा स्थानीय युवा क्लब, वडा कार्यालय, गाउँपालिका तथा नगरपालिकाले स्वागत र सम्मान गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ ।
साइकल यात्री चितवनकाे सौराहा प्रवेशसँगै सौराहा रेष्टुरेन्ट व्यवसायी तथा होटल व्यवसायी संघले स्वागत गर्ने कार्यक्रम तालिका रहेकाे आयोजकले जनाएकाे छ । यात्रीहरुलाई सौराहाकाे होटल सेभेन स्टारमा विविध साँस्कृतिक कार्यक्रम समेत देखाइने भएकाे छ । १३ बैशाखमा जंगल सफारी गरेसँगै कार्यक्रम समपन हुने छ ।