मकवानपुर । हेटौंडा अटोमोबाइल्स एसोसिएसनले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो वितरण कार्यक्रम गरेको छ।
कार्यक्रममा अटोमोबाइल क्षेत्रका विभिन्न समस्या र समाधानका उपायहरूमा छलफल गरिएको थियो।एसोसिएसनका अध्यक्ष ऋषि कुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नोडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल काठमाडौंका सह कोषाध्यक्ष पंकज अग्रवालले नेपालको राजस्वमा करिब ५ प्रतिशत योगदान गर्ने अटोमोबाइल क्षेत्रले चाहेजति सेवा प्रवाह गर्न नसकेको बताए।
प्रत्यक्ष रूपमा १ लाख नागरिकले रोजगारी पाएको र अटोमोबाइलको निर्जीवन बिमामा ५० प्रतिशत हिस्सा रहेको जानकारी दिए। उनले सरकारले बिजक मूल्यलाई मान्यता नदिनु कमजोरी भएको र व्यवसायीहरूले सामान खरिद गर्दा ध्यान दिनुपर्ने बताए। अनधिकृत कार्यबाट बच्न र अटो भिलेजको अवधारणालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए। अटो भिलेज बनाउन सरकारको नीति स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा अध्यक्ष ढकालले नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै कानुनले तोकेको र राज्यले दिएको दायरामा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारले लागू गरेको एमआरपी नियम संगत पालना गर्न र एमआरपी नलागेका सामान बिक्री वितरण नगर्न व्यवसायीहरूलाई अनुरोध गरे।
कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाईं, महासचिव प्रतिमा श्रेष्ठलगायतको उपस्थिति थियो।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा एकै मञ्चमा ३ जना स्रष्ट्राका ३ मुक्तक संग्रह विमोचन गरिएकाे छ । मुक्तक मञ्च मकवानपुरकाे २४ औँ नियमित मुक्तक वाचन श्रृङ्खलाकाे अवसरमा ३ जना स्रष्ट्राका मुक्तक संग्रह विमोचन गरिएकाे हाे ।
शनिबार मकवानपुरे मुक्तककारहरु किशन पौडेल, राजबाबु पहाडी र दिनेश शर्माका मुक्तक संग्रहहरु विमाेचन गरिएकाे हाे । पौडेलकाे अन्तर्ध्वनी, पहाडीकाे गल्छेडाका धुनहरु र शर्माकाे बन्द ढोकाकाे चित्कार मुक्तक संग्रह विमाेचन गरिएकाे थियाे । मञ्च अध्यक्ष सागर तिमल्सिना, मुक्तककार हरिकृष्ण काफ्ले, अग्रज साहित्यकार तुलसी घिमिरे, कवि शान्ति प्रियवन्दना, साहित्य संगम मकवानपुर अध्यक्ष डीबी बर्तौला, साहित्यकार दिपक गौतम र मुक्तककारत्रयबाट विमोचन गरिएकाे थियाे ।
विमोचन भएका मुक्तक संग्रह अन्तर्ध्वनीमाथि डीबी बर्तौला, गल्छेडाका धुनमाथि शान्ति प्रीयवन्दना र बन्द काेठाकाे चित्कारमाथि दिपक गौतमले समिक्षात्मक टिप्पणी समेत गरेका थिए । समिक्षात्मक टिप्पणी गर्दै वक्ताहरुले मुक्तक सक्षिप्तमा लेखिने गहन कविता भएकाेले मुक्तक संग्रह भित्र थोरै सृगारिङ, मातृभाव, बिकृत राजनिती, बिसङती, नयाँ पुस्ताको लागि सन्देश, मन भित्रको पीडा,अन्तर ह्रदयको आवाज, आध्यात्मिक चिन्तन, प्रकृति प्रेम, देश भित्रकाे युवा आवाज, प्रगतिशीलता, वैदेशिक रोजगारको पीडा, बा आमाको चिन्ता, परिस्थितिको चिन्तन रहेकाे बताए ।
मुक्तककारहरु समयाबोधी भएकाे बताउँदै वक्तात्रयले मुक्तक संग्रहहरुमा केही मुक्तकहरु मुक्तककाे संरचनामा नभएकाे, तुक नमिलेकाे साथै सम्पादन र शुद्धाशुद्धीमा ध्यान नदिएकाे लगाएका प्रतिक्रिया दिएका थिए । विमोचन भएका संग्रहबाट केही मुक्तक समेत वाचन गरिएका थिए ।
मञ्च अध्यक्ष सागर तिमल्सिनाकाे सभाध्यक्षता, मुक्तककार हरिकृष्ण काफ्लेकाे प्रमुख आतिथ्यता तथा तुलसी घिमिरेकाे विशिष्ठ आतिथ्यतामा भएकाे कार्यक्रममा मकवानपुरका साहित्यकारहरुकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सहजिकरण मञ्च सचिव सुबास सजलले गरेका थिए ।
मकवानपुर । नेकपा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले लोकतान्त्रिक गतिविधि बलियो बनाउंदै अघिबढ्नु पर्ने बताएका छन् । एमाले हेटौंडा उपमहानगर कमिटीको आयोजनामा शनिबार भएको नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पार्टीको दिशानिर्देश भैरहेको अवस्थामा गलत बाटो समाउँदै, गलत प्रचार गर्दै संविधान विरुद्ध कदम उठाउने काममा नलाग्न उनले निर्देशित गरेका छन् । एकतामा बल हुने उल्लेख गर्दै उनले पार्टी एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिए । उनले भने, “एकता भयो भने कसैले कमजोर बनाउन सक्दैन, सामुहिकतामा सोच्नुपर्छ, आफू केन्द्रित भएर हैन, आफैलाई मुल्यांकन गर्दै लोकतान्त्रिक गतिविधि बलियो बनाउंदै अघिबढ्नु पर्छ।”
उनले पार्टी कर्मचारीतन्त्रको आधारमा नचल्ने भन्दै सामुहिकतामा जोड दिए। साथै, पार्टीको जरा अभियानको समिक्षा पनि संगसंगै गर्दै अघि बढाउनु पर्ने उनले बताए। कार्यक्रममा पार्टीका नेताहरू डोरमणी पौडेल, केदार न्यौपाने, एकालाल श्रेष्ठ, जुनेली श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। नगर अध्यक्ष बोल बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जनवादी गितहरूको सांगीतिक प्रस्तुति समेत रहेको थियो।
मकवानपुर । मुक्तक मञ्च मकवानपुरले २ जना स्रष्टालाई सम्मानित गरेकाे छ । मञ्चले २४ औँ नियमित मुक्तक वाचन श्रृङ्खलाकाे अवसरमा शनिबार २ जनालाई मुक्तक सम्मानबाट सम्मानित गरेकाे हाे ।
मञ्चले तारा स्मृति मुक्तक सम्मानबाट चितवनका मुक्तककार बिमला अधिकारी देवकाेटा तथा हरिकृष्ण काफ्ले मुक्तक सम्मानबाट रुपन्देहीका मुक्तककार रमेश समर्थनलाई सम्मानित गरेकाे छ । देवकाेटालाई ७ हजार ५०० रुपैंया राशीकाे तारा स्मृति मुक्तक सम्मानबाट सम्मानित गरिएकाे हाे । मकवानपुरका साहित्यकार तथा मुक्तक मञ्चका मकवानपुरका संस्थापक उपाध्यक्ष किसन पौडेलद्वारा पिता तारा प्रसाद पौडेलको सम्झनामा उक्त सम्मान स्थापना गरेका हुन् ।
सम्मानको राशि स्थापनाको समयमा ५ हजार ५५५ रहेकाेमा २०८० देखि बढाएर ७ हजार ५०० बनाइएको हाे। बिमलाकाे मनकाे किनारा मुक्तक संग्रह २०७५ सालमा प्रकाशित छ । उक्त सम्मानबाट २०७९ सालमा देवराज खरेल मकवानपुर तथा २०८० सालमा हरिकृष्ण काफ्ले रौतहट सम्मानित भइसकेका छन् ।
यसैगरी समर्थनलाई १० हजार रुपैंया राशीकाे हरिकृष्ण काफ्ले मुक्तक सम्मानबाट सम्मानित गरिएकाे हाे । मकवानपुरका हास्यव्यङ्ग्यकार आरसी रिजाले अग्रज मुक्तककार हरिकृष्ण काफ्लेकाे सम्मान गर्दै उक्त सम्मान स्थापना गरेका हुन् । मुक्तक विधामा प्रदान गरिने यो सम्मान मञ्चले पहिलो पटक प्रदान गरेकाे हाे । समर्थनकाे ब्रम्हलुट मुक्तक संग्रह २०५३ सालमा प्रकाशित छ ।
नेपाली साहित्य क्षेत्रको मुक्तक विधामा दिइएको योगदानकाे कदर गर्दै मञ्चले देवकाेटा र समर्थनलाई सम्मानित गरिएकाे अध्यक्ष सागर तिमल्सिनाले जनाकारी दिए । मञ्च अध्यक्ष तिमल्सिनाकाे सभाध्यक्षता, मुक्तककार हरिकृष्ण काफ्लेकाे प्रमुख आतिथ्यता तथा तुलसी घिमिरेकाे विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएकाे हाे ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर २ ख का प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले सामन्ती राजा प्रजातान्त्रिक हुन नसक्के बताएका छन् । मकवानपुरकाे मनहरी गाउँपालिकामा शनिबार भएकाे अन्तरसंवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कांग्रेस मकवानपुर प्रतिनिधिसभा २ को ख का पार्टी प्रतिनिधि र जनप्रतिनिधिबीच अन्तरसंवाद कार्यक्रम नेता बानियाँले राप्रपाले बोकेर हिडेको सामन्ती सोचको राजा प्रजातान्त्रिक हुन नसक्ने र नेपाली जनताले नपत्याउने बताए । गणतन्त्रमा नागरिक भैसकेको राजालाई केही अराजक झुण्डले बोकेर मालिक बनाउन लागिपरेकाे उनले आरोप समेत लगाए ।
स्थानीय सरकारले अबको बजेटमा शिक्षा, स्वास्थ्य र विकास निर्माणमा विशेष ध्यान दिनुपर्ने उनले बताए । नेता बानियाँले जनताको आवश्यकता पूरा गर्न सके मात्रै पार्टी संगठन बलियो हुने भएकाले अब बन्न लागेको बजेटमा शिक्षा, स्वास्थ्य र विकास निर्माणमा जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताए । गाउँगाउँमा रहेका आम कार्यकर्ता तथा जनतालाई कांग्रेसको धारणा बारे जानकारी दिदैं संगठन सुदृढिकरण र विस्तारमा लाग्न अगुवा कार्यकर्तालाई उनले निर्देशन दिए ।
‘सरकारमा पुगेर मात्र पार्टी बलियो बन्दैन् । जनताका आवश्यकता स्वास्थ्य, शिक्षा र रोजगारीमा जोड दिए पार्टीलाई नयाँ गतिमा लान सकिन्छ’ उनले भने ‘जनताको पीरमर्का बुझ्दै विकास निर्माणमा लाग्नु पर्छ ।’ कार्यक्रममा पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध, स्थानीय समस्या, विकास निर्माण र कांग्रेसको भावी रणनीति बारे पश्चिमी क्षेत्रमा रहेका पार्टीका वडा सभापति, पदाधिकारीहरु, अगुवा कार्यकर्ता र जनप्रतिनिधिबीच संवाद भएको थियोे ।
कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, बागमती प्रदेश सदस्य सन्त चेपाङ, संघीय सभापति एवं कैलाश गाउँपालिका अध्यक्ष लोक मोक्तान, महासमिति सदस्यहरु प्रभातकुमार दाहाल, राजेश भेटवाल, टेकनाथ शिवाकोटी, राक्सीराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी राक्सिराङ र कैलाशका गाउँपालिका सभापतिहरु प्रकाश वर्तौला, बीरेन्द्र जिम्वा, र राजेन्द्र घिसिङ, मनहरी ७ का वडाअध्यक्ष ठाकुरराम तितुङ लगायतले कार्यकर्ताले गरेका प्रश्नको जवाफ दिएका थिए ।
कांग्रेस मकवानपुर प्रदेश २ ख का सभापति रञ्जन कालाखेतीको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश सभापति बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्र–२(ख) अन्तरगत कांग्रेसका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पालिका अध्यक्ष, उपाध्यक्ष, जिल्ला सदस्य, संघीय पदाधिकारीहरु, पालिका सभापति, क्षेत्रीय कार्यसमिति सदस्यहरु, पालिका पदाधिकारी, नेपाली कांग्रेसबाट निर्वाचित तथा प्रत्यासी वडा अध्यक्ष, सदस्य र भ्रातृ संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।