मकवानपुर । हेटौंडा अटोमोबाइल्स एसोसिएसनले नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो वितरण कार्यक्रम गरेको छ।
कार्यक्रममा अटोमोबाइल क्षेत्रका विभिन्न समस्या र समाधानका उपायहरूमा छलफल गरिएको थियो।एसोसिएसनका अध्यक्ष ऋषि कुमार ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नोडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल काठमाडौंका सह कोषाध्यक्ष पंकज अग्रवालले नेपालको राजस्वमा करिब ५ प्रतिशत योगदान गर्ने अटोमोबाइल क्षेत्रले चाहेजति सेवा प्रवाह गर्न नसकेको बताए।
प्रत्यक्ष रूपमा १ लाख नागरिकले रोजगारी पाएको र अटोमोबाइलको निर्जीवन बिमामा ५० प्रतिशत हिस्सा रहेको जानकारी दिए। उनले सरकारले बिजक मूल्यलाई मान्यता नदिनु कमजोरी भएको र व्यवसायीहरूले सामान खरिद गर्दा ध्यान दिनुपर्ने बताए। अनधिकृत कार्यबाट बच्न र अटो भिलेजको अवधारणालाई अघि बढाउनुपर्नेमा उनले जोड दिए। अटो भिलेज बनाउन सरकारको नीति स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।
कार्यक्रममा अध्यक्ष ढकालले नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै कानुनले तोकेको र राज्यले दिएको दायरामा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सरकारले लागू गरेको एमआरपी नियम संगत पालना गर्न र एमआरपी नलागेका सामान बिक्री वितरण नगर्न व्यवसायीहरूलाई अनुरोध गरे।
कार्यक्रममा उद्योग वाणिज्य संघका उपाध्यक्ष उज्ज्वल चौलागाईं, महासचिव प्रतिमा श्रेष्ठलगायतको उपस्थिति थियो।

