मकवानपुर । बागमती प्रदेश मन्त्री परिषद् विस्तार भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट रमा आलेमगर कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनु भएको छ ।
आलेमगर मन्त्री नियुक्ति भएसँगै ८ वटा मन्त्रालय कायम रहेको बागमती सरकारले पूर्णता पाएको छ । शुक्रबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री किरण थापाको उपस्थितिमा मन्त्री आलेमगरलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
यसअघि मुख्यमन्त्री थापाले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय आफैं मातहतमा राखेका थिए। बागमतीमा नेकपा एमालेको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपाको संयुक्त सरकार छ।
मकवानपुर । आज भाद्र कृष्ण औंसी अर्थात कुशे औंशी । बुबाकाे मुख हेर्ने दिन बुबाको सम्मान गरिने परम्परा छ । पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज शुक्रबार बुबाको मुख हेर्ने दिन मनाइँदै छ ।
आजकाे दिन अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ । महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ ।
पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ । औंसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ । पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाहित महिलाले माइतमा गएर बुबाबाट आर्शिवाद लिने चलन छ । औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ । गोर्कणमा श्राद्ध गर्नु भारत कासीको गयामा श्राद्ध गर्नुसरह फल मिल्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन् ।
चन्द्रमती, सूर्यमती र बागमतीको संगम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्डदान गरी भगवान् गोकर्णेश्वर महादेव र हनुमान दर्शन गर्नाले पितृमुक्त हुन्छन् । पुराणमा उल्लेख भएअनुसार पिताको स्मरणमा मानसम्मान र मृतात्माको मंगल कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन, गोकर्णजस्तो पितृको उद्धार गर्ने पुत्रको कामना गरिएको छ । औंसीका दिन बाबु नहुनेले ब्राह्मणलाई सिदा दान पनि गर्दै छन् । हिन्दू धर्म परम्परामा जल दान र अन्नदानको विशेष महत्व हुन्छ । पितृ औंसी तथा गोकर्ण औंसीका नामले समेत चिनिने यसदिन आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे राम्रो फल मिल्ने विश्वास छ ।
आज कुशे औंशी
वैदिक सनातन हिन्दू संस्कारमा कुश सांस्कृतिक र धार्मीक महत्व भएकाे पवित्र वनस्पतीकाे रुपमा लिइन्छ । आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ ।
कुशकाे वैज्ञानीक महत्व पनि प्रमाणीत भइको छ । वैज्ञानीक भाषामा Eragrostis cynosuroides भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्यनरत शिष्यशिष्याहरुको परीक्षा लिने क्रममा कुशको धारीलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो, यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्छ उसलाई अव्बल मानिन्थ्यो ।
कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती हो । एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइएकाे बताइन्छ । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठीहरु र अन्य सांस्कृतिक प्रयोगमा पीढि दर पीढि हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ ।
दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पार्छन् ।
मोतीराम जयन्ती मनाइदैं
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ६१ औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र २५ गते कृष्ण कुशे औँसीका दिन पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवीको कोखबाट काठमाडौको भोसिको टोलमा जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पुर्याएका थिए ।
कहाँसम्म्को आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले कती मर्न लागे कती डर्न लागे
आजको दिन नेपाली साहित्य नक्षत्रका यूगकवी मोतीराम भट्ट को जन्मजयन्ती पनि हो । माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्यौं । दरबार हाइस्कूलमा गनिएका राणा खान्दानकाबिच शिक्षा लिने अवसर प्राप्त थोरै नेपालीमध्ये मोतिराम ६ बर्षकै कलिलो उमेरमा स-परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्यन गरेको पाइन्छ जसको फलस्वरूप् केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए । नेपाली साहित्यिक कौशलतालाई मलजल गर्न र यसको विकासकालागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतूलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवी भानुभक्तसंगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो ।
साहित्यिक अग्रतामात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छः आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकअर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केहि फुटकर कविताहरु सुनेको मोतीरामले त्यस्पश्चात भानुभत्तका कृतीहरुलाई जनमानसमा उजागरगर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृतीका बारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए शायद आज भानुभक्तका सबै कृतीहरु हामीमाझ हुने थिएनन् ।
भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् । नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारतजीवनुलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ । नेपाली साहित्यिक भिडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतीहरु मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायतका आज पनि उपयोगी र महत्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानकासाथ गरिरहन्छन् ।
मित्र देवशमशेर जंग बहादुर राणाको अनुरोधमा शारदाको नाट्य निर्देशन गरी प्रधानमन्त्री वीरशमशेरको दरवारमा मञ्चन समेत गरीएको थियो । त्यसपश्चात कहिंकतै शारदालाई मञ्चन गरिएको बारे त्यति चर्चा पाइदैन । जाँदा जाँदै हाम्रा अग्रज श्रद्धेय मोतीराम भट्टको यो साहित्यिक भाव केवल यहाँहरुकालागि हाम्रो पात्रोमाः नेपाली भाषामा गजलको प्रारम्भ यीनै महान मोतीरामले गरेका हुन् ।
उनका गजलमा प्रेम पाइन्छ, नारी संगत र सामिप्यता पाइन्छ । श्रृंगाररसले भरिएका उनका गजलहरू अत्यन्तै लोभलाग्दा छन्ः
यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।
वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कैपनि उनका श्रृंगाररसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिनै रहन्छन् । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् ।
दुई आखी भौ त तयार छन् तरबार पाे किन चाहियाे ।
तिमी आफैं मालिक भैगयौ सरकार पाे किन चाहियाे ।
गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको घुइँचो लाग्छ ।
यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि आजकै दिन पिता दिवङ्गत भएकाहरू तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्दथे भने मेला समेत मेला लाग्ने गर्दथ्यो । तर यस वर्ष रसुवाकाे भोटेकोशी बाढीका कारण बेत्रावती क्षेत्र नै तहु नहस भएकाे छ । यसै कारण बेत्रावतीमा उक्त कार्य हुने छैन ।
मकवानपुर । मकवानपुरको हेटौंडामा ६ वर्षपछी तौलपुल (धर्मकाँटा) पुनः सञ्चालनमा ल्याइएको छ ।
जिल्ला प्रशासन कार्यालयको सहमतिमा नारायणी यातायात व्यवसायी संघले सोमबारबाट तौलपुल पुन: सञ्चालनमा ल्याएको हो। सडकको दीर्घकालीन सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि हेटौंडा -११ थानाभर्याङमा २०७७ सालबाट बन्द रहेको तौलपुल सञ्चालनमा ल्याइएको बताइएको छ ।
बाढी पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा भएको सवारी साधनको चापलाई मध्यनजर तौलपुल पुन: सञ्चालनमा ल्याएको हो । नारायणी यातायात व्यवसायी संघका अध्यक्ष सरोज खनालले त्रिभुवन राजमार्ग अहिले काठमाडौं जोड्ने महत्त्वपूर्ण मार्ग रहेको भन्दै राजमार्गमा ओभरलोड बोकेर गुड्ने मालवाहक सवारीलाई नियन्त्रण गर्ने उद्देश्यले पुन: सञ्चालनमा ल्याइएको बताए ।
तौलपुल सञ्चालनबाट सवारीसाधनको वास्तविक भार परीक्षण हुने र तोकिएको क्षमताभन्दा बढी भार बोक्ने सवारीलाई नियन्त्रण गर्न सजिलो हुनेछ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव बद्रीप्रसाद चौलागाईँले विपद्को समयमा सडकमा ओभरलोड रोक्न र यातायात सञ्चालन सहज बनाउन तौलपुल पुन: सञ्चालन गरिएको बताए। तौलपुल नेपाल सरकारद्वारा जारी गरिएको ‘धर्मकाँटा नियमावली २०७४’ अनुसार सञ्चालनमा ल्याइएको हो।
पुन: सञ्चालनमा ल्याइएको तौलपुलमा सवारी साधनको भार सिमा समेत तोकिएको छ । १२ चक्के र १० चक्के ठूला गाडीले अधिकतम १५ टनसम्म मात्र बोक्न पाउने छन्। यस्तै ६ चक्के र ४ चक्के मझौला/साना गाडीले आफ्नो बिलबुकमा तोकिएको क्षमता अनुसार मात्र सामान ओसारपसार गर्नुपर्नेछ ।
मकवानपुर । रसुवाको भोटेकोशी नदीमा आएकाे विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति मकवानपुर जिल्लास्थित विभिन्न राजनीतिक दलहरूले दुःख व्यक्त गरेका छन् ।
राजनीतिक दलहरुकाे प्रतिनिधिसहित शुक्रवार हेटौंडामा बसेको बैठकमा गत भदौ १० गते आएकोबाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा जनधनको क्षति भएको भन्दै मकवानपुरका दलहरूले दुःख व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर सभापति संजिव पाठक, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, नेकपा एमाले मकवानपुर सचिव सिता विष्ट, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुर संयोजक ध्रुव भुजेल, श्रम संस्कृति पार्टीका युनेस लामा सिंतान, राष्ट्रिय प्रजातन्त्र पार्टीका गुरु प्रसाद सापकोटा तथा उज्यालो नेपाल पार्टीका मिनराज तितुङको हस्ताक्षर रहेको छ ।
राजनीतिक दलहरूकाे बैठकले बाढीमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकहरूको सम्झनामा भदौ २२ गते सामूहिक श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेका छन् । श्रद्धाञ्जली कार्यक्रम भदौ २२ गते बिहान ८ बजे हेटौंडाको बुद्धचोकमा गरिने भएकाे छ । श्रद्धाञ्जलीमा जिल्लाका संघसंस्था, सरकारी निकाय, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार तथा उद्योग–व्यवसायीहरूलाई उपस्थितिका लागि आह्वान समेत गरिएको छ ।
पार्टीहरुले जारी गरेकाे विज्ञप्तिमा बाढी प्रभावित नागरिकहरूको जीवनरक्षा, खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापना कार्यलाई प्रभावकारी, समन्वयात्मक र तीव्र बनाउन राज्यका सबै संयन्त्र तथा राजनीतिक दलहरूबीच आवश्यक सहकार्य र एकताको खाँचो औँल्याइएको छ । साथै, बेपत्ता व्यक्तिहरूको सकुशल उद्धार तथा खोजीको काम सफल होस् भन्ने कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
- प्रकाश चापागाईं
“उपसभामुखले जितिन्, लोकतन्त्रले हार्यो” भन्ने शीर्षक आफैंमा अत्यन्त एक पक्षीय देखिन्छ। नेपालकाे संविधानकाे धारा १६८ काे उपधारा ( ४ ) तथा प्रदेश सभा नियमावली, २०७४ काे नियम १४३ बमाेजिमकाे प्रक्रिया अगाडि बढाउनु प्रदेश उपसभामुखकाे संवैधानिक कर्तव्य हाे ।
लाेकतन्त्रमा सहमति /असहमति हुनु स्वभाविक मानिन्छ । मुख्यत : संवैधानिक व्यवस्था र कर्तव्यकाे पालना तथा विधिकाे अवलम्वन नै प्रधान विषय हाे । सहमति, सहकार्य र समन्वयका लागि माननीय उपसभामुखले पटक पटक असल नियतले गरेकाे प्रयत्नलाई अनदेखा गरी अनावश्यक र तथ्यहीन आराेपका आधारमा गरिएकाे एक पक्षीय विश्लेषणका आधारमा एकपक्षीय रूपमा माननीय उपसभामुखमाथि थोपरिएका दाेषाराेपणहरू वस्तुगत तथा न्यायाेचित देेखिँँदैन ।
माननीय उपसभामुखले बैठक सञ्चालनपूर्व र त्यसक्रममा पटक-पटक सहमति र संवादका लागि प्रयास गर्नुभएको तथ्यलाई पनि स्मरण गर्दै मूल्याङ्कनमा समेटिनुपदर्छ। पटक-पटक सहमतिको प्रयास गर्नु र अन्ततः संविधान तथा नियमावली बमोजिम सदनको कामकारबाही अघि बढाउनु लोकतन्त्र विरोधी अभ्यास होइन।
अर्कोतर्फ, अदालतमा पुगेको रा प्र पा संसदीय दलकाे लेटरहेड प्रयाेग नगरेकाे अति सामान्य अराजनीति विवादमा परेकाे रिट निवेदनमा ( यद्धपि दुवै लेटरहेडमा दावी पेश भएकाे) बैठक रोक्ने गरी कुनै सम्मानित उच्च अदालत पाटन, हेटाैंडा इजलासबाट कुनै पनि अल्पकालीन वा अन्तरिम आदेश जारी भएको अवस्था नरहेकोमा केवल मुद्दा विचाराधीन छ भन्ने आधारमा संसदीय प्रक्रिया स्वतः अवरुद्ध हुन्छ भन्ने निष्कर्ष कुनै पनि हालतमा उचित हुँदैन।
सम्मानित अदालतकाे आदेश र संवैधानिक संसदीय प्रक्रियाबीचको भिन्नता स्पष्ट बुझ्नुपर्छ। प्रदेश सभाकाे नियमावली बमाेजिम भएकाे कामकारवाहीकाे प्रक्रियामा कुुनै पनि अदालतमा प्रश्न उठाउन नपाईने संवैधानिक व्यवस्था रहेकाे छ जुन न्यायिक निरूपणकाे विषय समेत हाेइन ।
प्रतिपक्षले सदनकाे बैठकमा उपस्थित नहुन आफ्ना सदस्यलाई ह्वीप जारी गरेकाे विषय एक राजनीतिक निर्णय हो। लोकतन्त्रमा सदन बहस, प्रतिवाद र मतभेद व्यक्त गर्ने ठाउँ हो, सदनमै ह्वीप मार्फत अनुपस्थित भएकाे तथ्यलाई बिर्सिएर वा अनदेखा गरेर सम्पूर्ण परिणाम बारे उपसभामुखलाई जिम्मेवार बनाउनु सन्तुलित दृष्टिकोण हुन सक्दैन।
बागमती प्रदेश सभा सचिवालय तथा माननीय उपसभामुख यस विषयलाई राजनीतिक जित–हारका रूपमा नलिई नेपालकाे संविधान, प्रचलित कानून, प्नदेश सभा नियमावली, २०७४ र संसदीय परम्पराअनुसार सदन सञ्चालन गरिएकाे स्वभाविक विषयकाे रूपमा ग्रहण गर्दछ। त्यसैले व्यक्तिलाई केन्द्रमा राखेर ‘लोकतन्त्र हार्यो’ भन्ने निष्कर्ष निकाल्नुभन्दा घटनाका सबै पक्ष, भएका सहमतिको प्रयास, अदालतले समेत प्रक्रिया राेक्न नगरेकाे, केवल कारण देखाउ आदेश मात्र भएको अवस्था र प्रतिपक्षको सदन बहिष्कारसमेतलाई वस्तुनिष्ठ रूपमा हेर्नु आवश्यक देखिन्छ ।
लोकतन्त्र कुनै एक व्यक्तिले जित्ने वा हार्ने विषय होइन, लोकतन्त्र भनेको असहमतिका बीच पनि विधि, संवाद र संस्थागत प्रक्रियालाई जीवित राख्ने निरन्तरकाे अभ्यास हो । माननीय उपसभामुख अपसरा चापागाईंज्यूबाट हरबखत निरन्तर रूपमा सक्षम र सबल तवरले अभिभावकीय भूमिका निर्वाह भएकाे तथ्य स्मरण गराउँदै आगामी दिनहरूमा समेत यस सिद्धान्तमा अडिग हुने विषयमा प्रदेश सभा सचिवालय विश्वस्त हुँदै प्रतिवद्दता प्रकट गर्दछ । धन्यावाद!
कानुन उपसचिव चापागाई,बागमती प्रदेश सभाका प्रवक्ता हुन् ।