मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले लोकतन्त्र दिवस–२०८२ को अवसरमा देशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
बैशाख ११ गते लोकत्रन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुदै प्रदेश प्रमुख देवकोटा लोकतन्त्र स्थापनामा आफ्नो प्राणको आहुति दिने महान सहिदहरूप्रति उच्च सम्मान भावका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
“निरंकुशताबिरुद्द नेपालको इतिहासमा बि.स. २०६२/२०६३ मा भएको आम नेपालीको सहभागिताको जनआन्दोलन भाग- २ को परिणामस्वरूप आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रको उत्कृष्ट अभ्यासमा छौँ ” उहाँले सन्देशमा भन्नुभएको छ।
नेपाली जनताले लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त गरेको लोकतान्त्रिक मूल्य र मान्यता गौरवको धरोहर भएको उहाँले उल्लेख गर्नुभएको छ।
लोकतन्त्र सार्वभौम नागरिक र नागरिकको स्वतन्त्रताको सर्वोच्चता स्थापित गर्ने दर्शनबाट अभिप्रेरित व्यवस्था हो ।
लोकतन्त्रमा शासन प्रणालीलाई पारदर्शी तथा जवाफदेही बनाउने, बेथिति अन्त्य गर्ने, शुसासन कायम गर्ने, जनतामा सेवा प्रवाह अभिवृद्धि गर्ने र जनताको भरोसा जागृत गराउन सबैको प्रतिबद्धता आवश्यक भएको उहाँको भनाइ छ ।
“सबैले लोकतान्त्रिक प्रणालीको संस्थागत विकास, मौलिक र मानव अधिकारको संरक्षण, सुशासन, प्रवर्द्धन र न्यायमूलक समावेशी समाज निर्माणका लागि अझ दृढ प्रतिबद्धता जनाउनु आवश्यक छ” उहाँले सन्देशमा भन्नुभएको छ।
लोकतन्त्र शासन व्यवस्था मात्र नभई जनताको सहभागिता, समानता, पारदर्शिता र उत्तरदायित्वमा आधारित सभ्य र सहिष्णु समाजको आधारशिला भएको उहाँले बताउनु भएको छ। यसलाई मजबुत बनाउन हामी सबै क्रियाशील रहनुपर्दछ । हामी आफ्ना कर्तब्यप्रति निष्ठावान र अधिकारप्रति सचेत भै लोकतन्त्रलाई संस्थागत गर्दै समृद्ध देश निर्माणमा अघि बढ्नुपर्ने उहाँको सन्देश छ ।
“आजको दिनले आफ्ना सैद्धान्तिक बिचार र राजनैतिक दर्शनभन्दा एक कदम माथि उठेर राष्ट्रहित र आम जनताको भलाईमा लाग्न सम्पूर्ण राजनैतिक दल र नागरीक समाजलाई प्रेरणा दिने बिश्वास लिएको छु” उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ ।यो महान दिनले हामी सबैमा एकता, मेलमिलाप, सहिष्णुता र जिम्मेवार नागरिकको भावना जागृत गराउनेछ भन्ने कामना उहाँले गर्नुभएको छ ।
मकवानपुर। मकवानपुरकाे हेटौंडामा रहेकाे गौरीटार रंगशालाकाे फुटबल मैदान तयार भएकाे छ । रंगशाला निर्माणकाे शिलान्यास भएकाे १७ वर्ष पछि रंगशालाकाे फुटबल मैदानकाे बुधबार बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले फुटबल मैदानकाे उद्घाटन गरे ।
फुटबल मैदानको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको विकास र व्यवस्थापनलाई प्रदेश सरकारले प्राथमिकता दिदै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । सरकारले खेलकुद क्षेत्रबाट पनि राजस्व सङ्कलन गर्ने गरी संरचनाहरूको व्यवस्थापनमा अघि बढेको उनले बताए ।
उनका अनुसार खेलाडीहरूको प्रोत्साहन र विकासमा सरकारले नयाँ ढङ्गका कार्यक्रम अघि बढाउने तयारी गरेको छ । सरकारको बजेटलाई आय आर्जनमा जोड्न र रोजगारी तथा उत्पादन योग्य क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए । उनले उत्पादनमा केन्द्रित गरेर बजेट कार्यक्रम तयार गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेशका युवा तथा खेलकुद विकास मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रलाई पर्यटनमा जोडेर अघि बढाउनु पर्ने बताए । खेल पर्यटनको माध्यमबाट अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा समेट्ने सक्ने भएकाले प्रदेश सरकार त्यसतर्फ अग्रसर हुनुपर्ने उनले बताए । ‘साहसिक खेलहरूको सम्भाव्यता अध्ययन गरेर पूर्वाधार निर्माणमा जोड दिनसके पर्यटकहरूको आगमन र बसाइको दर बढाउन सकिन्छ’, उनले भने ।
२०७४ बाट प्रदेश सरकार अन्तर्गतकाे योजनाकाे रुपमा उक्त रङ्गशाला निर्माण हुँदै आएकाे थियाे । निर्माणका काम व्यवस्थित गरी उद्घाटन गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले बताए । अघिल्लो कार्यकालमा मैदान तयार भए पनि पूर्वाधार निर्माणको काममा भएका केही कमजोरी सुधार गरिएकाे उनले जानकारी दिए ।
हाल रङ्गशालाको रनिङ ट्र्याक, मैदान, फ्याराफिटमा कुर्सी जडान तथा पर्खाल निर्माण गर्नको लागी २० करोड ४६ लाख ७४ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्कामार्फत काम गरिएको उनले बताए । साबिकको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङबाट गौरीटारको फुटबल मैदानको उक्त योजना कार्यान्वयनका लागि २०७८ वैशाख १४ गते १३ करोड ३८ लाख ६५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनले बताए ।
निर्माण कम्पनीले २०८१ पुस २९ मा काम सम्पन्न गर्नुपर्ने गरी काम अघि बढाइ रङ्गशालाको प्याराफिटमा २ हजार ४०० थान कुर्सी जडान गरिएको छ भने रनिङ ट्राकमा वेस कोर्स र १०५.६८ मिटरको खेल मैदानमा पानी निकासको स्वचालित सिस्टम जडान गरिएको उनको भनाई छ ।
२८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रङ्गशालाको शिलान्यास गरेका थिए । केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने गरी तत्कालीन समयमा खेलकुद परिषद्ले खेलकुदका संरचना निर्माणको थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म यो रङ्गशाला निर्माणको कार्यले गति लिन सकेको थिएन ।
हाल गौरीटार रङ्गशालामा पौडी पोखरी र क्रिकेट रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । सदस्य सचिव लामाका अनुसार प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रङ्गशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणको लागि ९ करोड रुपैयाँ विनियोजन गरेर निर्माण थालेको थियो ।
रङ्गशालामा पहिलो चरणमा ६०० भन्दा बढी दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएशनको ग्राउण्ड भीभीआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङ लगायतका संरचना निर्माण हुने परिषद्ले जनाएको छ ।
केन्द्रीय खेलकुद प्रतिष्ठानको रुपमा झण्डै १५ वर्षअघि शिलान्यास गरिएको हेटौंडाको गौरीटार रंगशालामा १६ माघ २०८१ मा शहीद स्मृति गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन भएकाे थियाे । २०३८ सालमा हेटौंडाकाे गौरीटार रंगशालामा प्रथम अन्तरनगर खेलकुद प्रतियोगिता भएकाे थियाे । साेही समय गौरीटारमा अत्याधुनिक सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने घोषणा समेत गरिएको बताइन्छ ।
प्रथम अन्तरनगर खेलकुद भएकाे ४३ वर्ष पछि बुधबार रंगशालाकाे फुटबल मैदानको उद्घाटन भएकाे छ । चार दशकदेखि अलपत्र रहेको रंगशाला निर्माण कार्य अन्तिम चरणमा पुगेको बताइएकाे छ । बागमती प्रदेश सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाइरहेको गौरीटार रंगशाला काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालापछि दोस्रो ठूलो फूटबल मैदान हुने बागमती प्रदेश खेलकूद परिषद्ले जनाएकाे छ ।
२३ बिघा क्षेत्रफलमा रहेको रंगशाला निर्माणमा करीब पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान छ। विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण रंगशालाकाे भौतिक पूर्वाधार निर्माणको काम प्रभावित भएको थियाे । साेही कारण समेत निर्माणमा ढिलाई भएकाे बताइएकाे छ ।
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा नवनिर्मित महिला व्यारेक भवन उद्घाटन गरिएको छ । बुधबार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले भवन उद्घाटन गरेका हुन् ।
महिला व्यारेक भवन एक करोड ९५ लाख ७३ हजार रुपैयाँमा निर्माण भएको हो । व्यारेक भवन निमार्णका लागि २०८० साल असोज ८ गते रौतहट जिल्लाको गौरीगणेश कन्स्ट्रक्सन र जिल्ला प्रहरी कार्यालय मकवानपुर बीच निर्माण सम्झौता भएकाे थियाे । केहि डिजाइनहरु थपघट भएकोले परिमार्जित सम्झौता रकम वृद्धि भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानएको छ । मूल्य अभिवृद्धिकरसहित एक करोड ९१ लाख ९ हजार रुपैयाँ लागतमा निर्माण सम्झौता भएकाे थियाे ।
५०४ वर्गमिटर क्षेत्रफलको तीन तल्ले नवनिर्मित व्यारेकमा ५० जना महिला प्रहरी कर्मचारीकाे आवासीय सुविधा सहितकाे सेवा रहने बताइएको छ । प्रमुख अतिथि लामिछानेले नवनिर्मित महिला भवन निर्माण कार्यमा योगदान पुर्याएको भन्दै निर्माण कम्पनी गौरीगणेश कन्स्ट्रक्सनका संचालक पवन कुमार मिश्रलाई प्रशंसापत्र प्रदान गरेका थिए । यसैगरी प्रहरी वरिष्ठ हवल्दार ज्ञान बहादुर राई र प्रहरी हवल्दार असर्फीलाल साहलाई प्रशंसापत्र र नगदसहित सम्मान गरिएको छ ।
मकवानपुर । नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर रानाले एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भइरहेको बताएका छन् । कम्युनिष्ट पार्टी स्थापना दिवस तथा नेकपा एमालेले सञ्चालन गरेको वडा केन्द्रित ३ महिने जरा अभियानको हेटौँडामा भएको समापन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालहरुमार्फत एमालेलाई घेराबन्दी पार्ने काम भैरहेकोले असफल पार्न एमालेका सबै पंक्ति एकजुट भएर लाग्नुको विकल्प नरहेको उनले बताए । ‘अभिमन्यूलाई झैं घेराबन्दीमा पारेर एमालेलाई गलाउने प्रयास भइरहेको छ’ रानाले भने ‘आधुनिक अभिमन्यूहरुले त्यस्ता भ्रमहरुलाई तोडेर बाहिर निस्कने सक्ने ल्याकत राख्छन् ।’ ‘सामाजिक सञ्जाल होस् वा एआइ टुल्स नै किन नहोस हामी सदुपयोग गरेर भ्रमजालबाट देशलाई मुक्त बनाउन लाग्नेछौं’ रानाले भने।
एमाले केन्द्रीय सदस्य केदार न्यौपानले नेपाल कम्युनिष्ट पार्टी स्थापनाको पृष्ठभूमि बताउदै भने ‘तत्कालीन राणाशासनको अन्त्य र नागरिक अधिकार प्राप्तिको एजेण्डा लिएर नेपालमा कम्युनिष्ट पार्टीको जन्म भएको हो ।’ ‘कम्युनिष्ट आचरणमा रहेर श्रमिक बर्गको एजेण्डा उठाउने पार्टी आजको आवश्यकता बनेको छ’ उनले भने । ‘जब हामीले श्रमिकका मुद्दा, गरिव र बिपन्नको मुद्दा बोक्दैनौं भने पुँजीवाद हाबी हुन्छ र व्यवस्थामाथि खतरा बढछ्’, न्यौपानेले भने ‘अहिले प्राप्त गणतन्त्रको नेतृत्व पनि कम्युनिष्ट पार्टीले गर्न सकेन भने नाम मात्रको गणतन्त्र हुनेछ ।’
एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य महेश बर्ताैलाले संसदीय कामका बाबजुत आफू निरन्तर पार्टीको अभियानमा जोडिएर अघि बढिरहेको बताए । ‘पार्टी कामका अलावा संसदीय काम र विकास निर्माणका काममा जनतासामु जोडिएर अघि बढिरहेको छु’ बर्तौलाले भने । शिक्षक आन्दोलनमा राजनीति हाबी हुँदै जाँदा आन्दोलनले अर्कै रुप लिन पुगेको उनले बताए । नेपाली ‘काँग्रेस निकट शिक्षक महासंघको नेतृत्वले अहिले एमालेको नेतृत्वमा रहेको सरकारलाई बदनाम पार्ने प्रयत्न भइरहेको छ’ उनले भने ।
एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेलले तीन महिने वडा केन्द्रित अभियान अन्तर्गत मकवानपुरका १० वटै स्थानीय तहका १०२ वटै वडामा पार्टीका वडा कमिटीहरु चुस्त पारिएको र ४७६ वटा टोल कमिटी गठन भएको प्रतिवेदन पेस गरेका थिए ।
करिब ६० बर्ष अगाडिकाे GMC गाडी अहिले यो अबस्थामा भिमफेदी गाउँपालिका वडा नम्बर ९ लामिडाँडामा बेवारिसे अवस्थामा । स्थानीयकाे भनाई अनुसार तत्कालिन चलचल्तीको नाम ज्याम्सी रहेकाे गाडीकाे संरक्षण गर्न सके विगतकाे नेपालकाे यातायातकाे इतिहास बुझ्न सजिलो हुने थियाे । उक्त गाडी तत्कालिन समयकाे चुरे सुरुङ्ग हुँदै गुड्ने गरेकाे भनाई छ ।
तस्विरः बसन्त कुमार सिटौला