मकवानपुर । बागमती प्रदेश सभाकाे बैठक आज बस्दैछ । आज बिहान ११ बजेकाे लागि बाेलाइकाे बैठकमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथि छलफल हुने भएकाे छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम १४ जेठ बुधबार सार्वजनिक गरेका थिए । प्रदेश सभा सचिवालयका अनुसार आज (१९ जेठ) बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रमका लागि पूर्ण छलफल प्रारम्भ हुने जनाइएको छ ।
उक्त नीति तथा कार्यक्रममाथि छलफलका लागि ३ दिनकाे समय ताेकिएकाे सचिवालयले जानकारी दिएकाे छ । छलफल १९, २० र २१ गते हुनेछ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा ‘एक तिहाई महिला सहभागिता अधिकार, उपलब्धि र चुनाौति माथि बहस भएकाे छ । छैठौं राष्ट्रिय महिला अधिकार दिवस २०८२ को अवसरमा उक्त विषयमा बहस कार्यक्रम भएको हाे ।
कार्यक्रममा बागमती प्रदेश सरकारकी उद्योग, वाणिज्य, भूमी तथा प्रशासन मन्त्री शुक माया तामाङले महिला आन्दोलनकै कारण महिलाहरूले अधिकार हासिल गर्न सफल भएको बताइन् । ‘महिलाले प्राप्त अधिकारलाई व्यवहारमा रूपान्तरण गर्न धेरै काम गर्न बाँकी रहेको छ’ उनले भनिन् ‘आर्थिक सशक्तिकरणको नारा उठे पनि व्यवहारमा प्रभावकारी कार्यान्वयन नहुँदा चुनौती कायम रहेको छ ।’
मन्त्री तामाङले आफू मन्त्री बनेपछि महिलाको उद्यमशीलता प्रोत्साहनका लागि उद्योग दर्तामा ५० प्रतिशत छुट र शुल्क ७ हजारबाट घटाएर ३५ सयमा ल्याएकाे जानकारी दिइन् । महिला तथा युवालक्षित कोष स्थापना गर्ने तयारी भइरहेकाे उनले बताइन् । नेकपा एमाले मकवानपुरका ईन्चार्ज रामेश्वर रानाले एमाले सधैं महिलाको हक–अधिकारका पक्षमा खटिएको दाबी गर्दै महिला अधिकार सुनिश्चिततामा पार्टीको भूमिका महत्वपूर्ण रहेकाे बताए ।
बहस कार्यक्रममा गैर नेकपा एमालेका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, प्रदेश कमिटी सदस्य रघुनाथ खलाल, इन्द्रमान तामाङ, एमाले मकवानपुरकी सचिव सिता विष्ट, उप–सचिव आरती पाठक, गैरसरकारी संस्था मकवानपुरी अध्यक्ष रमिला सापकोटालगायत विभिन्न संघ–संस्थाका महिला प्रतिनिधिहरूले महिला सहभागिता, अधिकार कार्यान्वयनका चुनौती र आगामी दिनमा लैङ्गिक समानताको दिशामा आवश्यक रणनीति तथा नीति निर्माणका विषयमा छलफल भएको थियो ।
महिला अधिकारका सवालमा राजनीतिक दल, सरकारी निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेकाे कार्यक्रम अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला कमिटी अध्यक्ष सुमित्रा काफ्लेको सभाध्यक्षतामा भएको थियाे ।
मकवानपुर। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा रहेको युसेस वचत तथा ऋण सहकारी संस्थाले शुक्रबारबाट सहकारीहरुको अवलोकन भ्रमण सुरु गरेको छ ।
आर्थिक बर्ष २०८१। ०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सहकारीले मधेस प्रदेशका विभिन्न जिल्लाका सहकारीहरुको ३ दिने अवलोकन भ्रमणको आयोजना गरेको हाे । शुक्रबारबाट सुरु भएको अवलोकन भ्रमण अन्तर्गत पहिलो दिन सर्लाहीको हरिवन नगरपालिका – ११ मा रहेको सगुन वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अवलोकन गरेको छ ।
उक्त अवसरमा युसेस सहकारीका अध्यक्ष उत्तम शर्मा ढकाल र सगुनका अध्यक्ष केशव प्रसाद ढकाल तथा सहकारीका व्यबस्थापक एवं सहकारीमा आवद्ध सदस्यहरुले आआफ्नो अनुभव आदानप्रदान गरेका थिए । सगुन सहकारीका प्रवन्धक रबिन्द्र रानाले सहकारीले संचालन गरिरहेका आर्थिक तथा सामाजिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।
विभिन्न सहकारी संस्थाहरुले गरेका कार्यहरु र देशका विभिन्न स्थानहरुमा रहेका ऐतिहासिक धार्मिक स्थलहरुको अवलोकन गर्ने उद्धेश्यले भ्रमणको आयोजना गरिएको युसेस सहकारीका उपाध्यक्ष एवं अवलोकन भ्रमणका संयोजक हयग्रीव आचार्यले जानकारी दिए । भ्रमण टोलिमा ३७ जना सहभागिता रहेका छन् ।
हाल सहकारीमा ९ सय जना शेयर सदस्य रहेका छन् भने संस्थाको वार्षीक कारोबार साढे ८ करोड रहेको ब्यवस्थापक गिता भट्टराई पोखरेलले जानकारी दिइन् ।
मकवानपुर । गणतन्त्र दिवस–२०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनुभएको छ ।
” यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु” उहाँले सन्देशमा भन्नुभएको छ।
आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुती दिने ज्ञात अज्ञात शहीदहरूप्रती प्रदेश प्रमुख देवकोटाल्र हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
“संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि हो” उहाँले सन्देशमा भन्नू भएको छ “जुन नेपाली जनताको लामो संघर्ष, बलिदान र अथक प्रयासको देन हो।”
ऐतिहासिक जनआन्दोलन २०६२/०६३ को सफलतासँगै मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौमसम्पन्न बनाउँदै सबैलाई राष्ट्रनिर्माणको मूल प्रवाहमा समाहित गरेको छ ।
देशमा सबैखाले निरंकुशताविरुद्ध सम्पूर्ण राजनैतिक दल र आम नागरिक समाज एकजुट भएर इतिहास बदलेजस्तै गणतन्त्र, राष्ट्रियता र जनजिविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रबाह गर्न जरुरी रहेको उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।
“संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन सकिने हुँदा यसलाई संस्थागत गरि समृद्ध देश निर्माणका दिशामा सबै लाग्नु पर्दछ । अभ्यासमा कहिँ कतै कमजोरी भए होलान् तर विकल्प व्यवस्था परिवर्तन नभई अवस्था परिवर्तन हुनुपर्दछ । हाम्रो एक पुस्ता व्यवस्था परिवर्तनमा उर्जाशील समय खर्चिन बाध्य भयो तर आजको युवपुस्तालाई आन्दोलन होइन विकास र समृद्धिको पथमा प्रोत्साहित गर्नुपर्दछ” उहाँले सन्देशमा भन्नुभएको छ ।
हामीले गणतन्त्रको मूल मर्म– जनताको सर्वोच्चता, समावेशिता, समानता, विधिको शासन, सामाजिक न्याय र उत्तरदायिपूर्ण शासन प्रणालीको स्मरण गर्नु आवश्यक रहेको उहाँको ठहर छ। “समग्र राष्ट्रको प्रगति र समृद्धिका लागि हामी सबैले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ” उहाँको सन्देशमा भनेको छ।
नयाँ पुस्तामा निराशाको बादल छाउनु अप्रिय कुरा भएको हुँदा कतै केही कमी कमजोरी भए सच्याएर द्रुत विकासको लय पक्रनुपर्नेमा उहाँले सुझाव दिनुभएको छ।
“परिणाममुखी कार्यहरूमा जोड दिएर युवापुस्ता र आम नागरिकको विश्वास जित्नुपर्दछ, हामी यो र त्यो भनेर घटना परिघटनामा विल्कुल अलमलिनु हुँदैन, इतिहासका विभिन्न कालखण्डका जनआन्दोलनका सहिदहरूको सहादत, घाइतेहरूको आहत अनि आश्रितहरू र आफन्तको पीडालाई उपेक्षा गर्नु अक्षम्य भूल हुनेछ” सन्देशमा उल्लेख छ ।
बिशेष दिन सबैखाले अस्थिरता र पश्चगमनका विरुद्ध एकजुट हुने दिशामा कोशेढुंगा साबित हुने विश्वास लिएको उहाँको सन्देशमा उल्लेख छ।
- अशोक सुजन श्रेष्ठ
मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुई दिने दोस्रो प्रादेशिक भेला १३ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सकिएको छ । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रियासँगै नेपाल पत्रकार महासंघ बागमती प्रदेशको जेठ १३ गतेबाट शुरु भएको प्रादेशिक भेलामा वृहत छलफल गरी उठान गरेका विषयहरुलाई समेटेर घोषणपत्र जारी गर्दै सकिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेको भेलाले पारित गरेको घोषणापत्रमा पत्रकारको सुरक्षा, क्षमता विकास, सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था, सञ्चारमाध्यमलाई उद्योगका रुपमा मान्यता दिई अनुदान र सहुलियत ऋण र लोककल्याणकारी सुविधालगायतमा तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र प्रदेश विज्ञापन नीति निर्माणको विषयलाई प्रमुखताका साथ उठाईएको छ ।
उद्घाटन कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्य रहेको थियो ।
यस्तो छ पत्रकार महासंघ बागमती प्रदेशको हेटौंडा घोषणापत्र
संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्दै दिगो विकास, पूर्ण प्रेस स्वतन्त्रता, मानवअधिकार, सामाजिक न्याय, समावेशी सिद्धान्त, समानता र लोकतन्त्रको पक्षमा क्रियाशिल रहने भेलाले प्रतिवद्ध जनाएको छ । ‘पत्रकारको जीवन रक्षा, स्वतन्त्र रुपले काम गर्ने वातावरण निर्माण र आर्थिक सुरक्षाको ग्यारेण्टी तथा सञ्चारमाध्यमहरुको सुरक्षाका लागि सरोकारवालासँग यो भेला जोडदार माग गर्दछ,’ घोषणापत्रमा उल्लेख छ ।
तीनवटै तहका सरकारलाई सञ्चार क्षेत्रको दिगो विकास र प्रवद्र्धन गर्न सञ्चारमैत्री नीति निर्माण गरी सञ्चार क्षेत्रको विकास, सम्वद्र्धन र प्रवर्धन गर्न जोडदार माग गर्दै श्रमजीवि पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषमा समेट्न, स्वास्थ्य विमा र दुर्घटना बिमामा समेट्ने लगायतका सामाजिक सुरक्षाका कार्यक्रममा समेट्न भेला सम्वद्ध पक्षसँग जोडदार माग गरेको छ । ‘स्वरोजगारमूलक मिडियालाई संरक्षण गर्न सम्बन्धित सरकारले आफ्नो कार्य क्षेत्रमा दर्ता र सञ्चालनमा रहेका सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापन अनिवार्य रुपमा उपलब्ध गराउन र समानुपातिक रुपमा वितरण गर्ने व्यवस्था मिलाउन यो भेला जोडदार माग गर्दछ,’ हेटौंडा घोषणापत्रमा माग गरिएको छ ।
बागमती प्रदेशका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सिफारिसमा प्रदेश मातहतका सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्थापन गर्न माग गर्दै सञ्चारकर्मी र सञ्चारमाध्यमको क्षमता विकास, भौतिक पूर्वाधार विकास लगायतका क्षेत्रमा सरकारको तर्फबाट नीति, कार्यक्रम र बजेटमा व्यवस्थापन गर्न अनुरोध गरिएको छ । साथै, प्रदेशस्तरमा प्रशिक्षण केन्द्र र जिल्लास्तरमा सूचना केन्द्र, पुस्तकालय स्थापना गरि सञ्चार क्षेत्रको प्रवद्र्धनमा काम गर्न माग गरिएको छ ।
सञ्चारमाध्यमहरुलाई उद्योगका रुपमा मान्यता दिन, अनुदान र सहुलियत ऋण उपलब्ध गराउन, सबै संचारमाध्यमलाई वर्गिकरण गरी लोककल्याणकारी सुविधा उपलब्ध गराउन, पत्रकार र सञ्चारमाध्यमका उपकरण खरिदमा अनुदानको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दै प्रदेश संचार रजिष्टार कार्यालयमा दर्ता नभए पनि नेपाल सरकारका अन्य निकायमा बागमती प्रदेशभित्र कार्यक्षेत्र हुने गरी दर्ता गरिएका संचारमाध्यमलाई सूचिकरण गरी सेवा सुविधा उपलब्ध गराउन घोषणापत्रमा माग गरिएको छ ।
‘महिला र अपांगता भएका व्यक्तिहरुले संचालन गरेका स्वरोजगारमूलक संचार माध्यमहरुलाई तथा महिला र अपांगता भएका संचारकर्मीहरुलाई सुरक्षा, संरक्षण सहितको विशेष सुविधा र अनुदानको व्यवस्था गर्न यो भेला माग गर्दछ,’ घोषणपत्रमा भनिएको छ, ‘विपद र द्वन्दको समयमा जोखिमपूर्ण क्षेत्रमा पत्रकारीता गर्ने पत्रकारहरुलाई सुरक्षासहितको प्रोत्साहनको व्यवस्था गर्न, खोजमुलक पत्रकारीता गर्ने पत्रकारहरुलाई लेखनवृत्तिको व्यवस्था गर्न यो भेला सरकारसँग माग गर्दछ ।’ घोषणापत्रको अन्तिममा मकवानपुरका ऐतिहासिक पर्यटकीय क्षेत्र मकवानपुरगढी, पर्यटकीय क्षेत्र सहिद स्मारक लगायत प्रदेश भित्रका धार्मिक, ऐतिहासिक, साँस्कृतिक पर्यटकीय गन्तव्यका क्षेत्रहरुको संरक्षण र प्रवद्र्धन गर्न भेलाले माग गरेको छ ।