मकवानपुर । सरस्वती पौडेलको गजलसङ्ग्रह ‘प्रत्यूष’ प्रकाशित हुने भएकाे छ । चितवनमा रहेर साहित्य सिर्जनामा क्रियाशील गजलकार पौडेलकाे पहिलो गजल संग्रह प्रत्युस सार्वजनिक हुने भएको हाे ।
‘प्रत्युष’ शब्दको अर्थ ‘सुर्योदय’ हुन्छ। ‘सुर्योदय’ भनेको ‘बिहानको घाम् लाग्दाको समय हाे । जसले सुरुवातलाई जनाउनेछ । गजल मञ्च चितवनको हालकाे कार्यसमितिमा रहेका पौडेलकाे गजल सङ्ग्रहकाे प्रकाशक गजल मञ्च रहने छ भने सम्पूर्ण किताब नारायणगढले वितरणकाे जिम्मेवारी उठाएकाे छ । बजारमा आउन लागेको उक्त कृतिले समकालीन नेपाली गजल साहित्यमा आयाम थप्ने गजल मञ्च चितवनका अध्यक्ष रामकृष्ण अनायास बताउँछन् ।
सङ्ग्रहको सम्पादन गजलकार/समालोचक रमेश प्रभातले गरेका छन् । गजल मञ्च चितवनले यस पुस्तकलाई प्रकाशन गर्न लागेर महिला स्रष्टाको सिर्जनात्मक यात्रामा थप ऊर्जा प्रदान गरेको प्रभातले बताए । गजल मञ्च चितवनका सल्लाहकार एवं निवर्तमान अध्यक्ष लेखराम सापकोटाले कृतिले महिला स्वरको मजबुत उपस्थिति नेपाली गजलआकाशमा स्थापित गर्ने विश्वास व्यक्त गरे । त्यस्तै भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले गजलसङ्ग्रह समकालीन गजल साहित्यमा स्तरीय र पठनीय कृति हुने बताए ।
पुस्तकको आवरणमा प्रयोग गरिएको चित्रले एउटा महिला आकृति र त्यसको वरिपरि फैलिएको प्रकाश–अन्धकारको समिश्रणमार्फत गहिरो अर्थ संकेत गर्छ । आवरणमा रहेको प्रतीकात्मकता स्वयं पुस्तकका विषयवस्तुसँग मेल खाने खालको छ, जसले भावनात्मक तथा सौन्दर्यात्मक पक्षलाई समेत उजागर गर्दछ ।
उक्त गजल संङ्ग्रहमा समावेश गरिएका गजलले महिलाको संवेदना तथा पीडा, दृष्टिकोण र अनुभूति सहित प्रेम, विछोड, समाज, आत्मसङ्घर्ष र अस्तित्वको गहिरो चित्रण गर्ने प्रयास गरिएकाे गजलकार पौडेल बताउँछिन् । गजलकार सरस्वती पौडेल नेपाली गजल साहित्यमा लामो समयदेखि सक्रिय रहेकी छन् । ‘प्रत्यूष´ मार्फत उनले नेपाली गजल विधामा आफ्नो छुट्टै पहिचान स्थापित गर्ने चितवनका साहित्यकारहरुले अपेक्षा गरेका छन् ।
पुस्तकको मूल्य २५१ रुपैंया तोकिएको छ भने केही दिन भित्रै सार्वजनिक गर्नेगरी तयारी अन्तिम चरणमा पुगेको गजलकार पौडेलले सामाजिक संजालमा लेखेकिछन् ।
‘जीवनका कयौं उकाली ओरालीसँग पौँठा जोरि खेल्दै आज समयले समाजमा प्रत्यूष खोजेको महसुस गरेकी छु। त्यसैले पहिलो पटक साहित्यको खुल्ला आकाशमा प्रत्यूष लिएर आउने जमर्को गरेकी हुँ । अबका केही दिनमा प्रत्यूष तपाईंको हातमा पर्ने छ। आशा गरेकी छु तपाईंको मायाले प्रत्यूषले सामाजिक स्पर्श गर्ने छ’ पौडेलले भनेकिछिन् ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले विश्व वातावरण दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ । विश्व वातावरण दिवस अर्थात ५ जुन २०२५ को अवसरमा बागमती प्रदेश प्रमुख देवकोटाले शुभकामना जारी गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहनु भएको नेपालीहरुलाई वातावरणीय सचेतनायुक्त शुभकामना सन्देश दिनु भएको हो ।
संयुक्त राष्ट्रसंघको महासभाले घोषणा गरेको तथा संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन संसारभर विश्व वातावरण दिवस मनाउने गरिएको छ । नेपालले यसै दिन अर्थात जुन ५ लाई विश्व वातावरण दिवसको रुपमा मनाउने गरेको छ । यो वर्षको विश्व वातावरण दिवसको नारा “प्लाष्टिक प्रदुषण न्युनीकरणःहाम्रो दायित्व” भन्ने रहेको छ । प्लाष्टिकको बढ्दो प्रयोगले वातावरणीय प्रदुषण र वातावरणीय असन्तुलनको डरलाग्दो परिणाम निम्त्याएको छ । यसले पृथ्वीको पारिस्थितिक प्रणालीमा नकारात्मक प्रभाव पारेको छ । पानी, वायु र जमिनको प्रदुषण बढाएर प्लाष्टिकले पृथ्वीलाई कुरुप, असुरक्षित र डरलाग्दो अवस्थातिर धकेलिरहेको छ सन्देशमा भनिएकाे छ ।
प्रदेश प्रमुख देवकोटाले जैविक विविधतामा संकट निम्त्याएको प्रति गम्भिर हुँदै प्लाष्टिकलगायतको प्रदुषणबाट गम्भीर वातावरणीय परिणाम कम गर्नतर्फ सचेत रहनु पर्ने सन्देश दिनुभएको छ । ‘पृथ्वी हाम्रो साझा घर’ उहाँले सन्देशमा भन्नुभएको छ ‘कुनैपनि देश वा क्षेत्रको वातावरणमा आएको विनाशले अर्को देश र क्षेत्रलाई पनि असर पार्दछ, जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा वृद्धि, पानीका स्रोत र माटोमा प्लाष्टिकको जालो, वनविनासजस्ता क्रियाकलापले पृथ्वीका अरु प्राणीलगायत मानव अस्तित्व नै संकटमा पर्ने खतरा छ,हामी सचेत हुनुपर्छ ।’
वातावरण विनासको मुख्य कारक मानव समुदाय रहेको उल्लेख गर्नुहुदै देवकोटाले भन्नुभएको छ, पृथ्वीको कोमलताप्रति खेलवाड गरेर आफ्नो खुट्टामा आफै बन्चरो प्रहार गरिरहेका छौ ।’ मानव-प्रकृतिसंगको सम्बन्धलाई केवल उपयोगको हैसियतमा होइन, सह-अस्तित्वको भावनाबाट हेर्नु पर्ने उहाँले सन्देशमा उल्लख गर्नु भएको छ । प्लाष्टिकजन्य सामग्रीको विकल्प खोज्न उहाँले आग्रह गर्नु भएको छ । वातावरणीय सचेतनाका लागि कालापत्थरमा मन्त्री परिषद बैठक, हालै सम्पन्न “सगरमाथा संवाद” जस्ता वातावरण संरक्षणमा संसारको ध्यान आकर्षित गर्ने कार्यक्रमहरु सञ्चालन गरेर नेपाल सरकारले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि पहलहरु गरेको उहाँले उल्लेख गर्नु भएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे पाचौं संस्करणकाे मेयरकप फुटबल प्रतियाेगिता विजेता ७ नम्बर वडाकाे टोली सम्मानित भएकाे छ । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका ७ नम्बर वडा कमिटिले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेकाे हाे ।
नेकपा एमाले ७ नम्बर वडा कमिटीले मेयरकपमा सहभागी भइ उपाधी विजेता टोलीका सदस्यलाई सम्मान गरिएकाे पार्टी वडा उपाध्यक्ष किरण लामिछानेले जानकारी दिए । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा गत १५ जेठमा भएकाे फाइनलमा हेटौंडा–७ ले हेटौंडा–३ लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियाे ।
७ नम्बर कमिटीका अध्यक्ष कृष्णप्रसाद दाहालको सभाध्यक्षता तथा नेकपा एमालेका नेता तथा निबर्तमान वडाध्यक्ष राजन थापाकाे प्रमुख आतिथ्यतामा भएकाे सम्मान कार्यक्रममा जिल्ला कमिटी सदस्य नवराज खतिवडा, आकाश अधिकारी, नगर सचिब,नगर सदस्य, जनसंगठनका नेता पूर्व जिल्ला कमिटी सदस्य लगायतको उपस्थिती रहेकाे थियाे ।
मकवानपुर । प्रदेश राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जाने छोटो दुरीको कान्ति लोकपथ आजबाट ४ दिन बन्द हुने भएकाे छ ।
कान्तिलोकपथ अन्तर्गत पर्ने मकवानपुर र ललितपुरकाे सिमानामा पर्ने बगुबा–बागमती खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण कार्यका आज बुधबारबाट ४ दिन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
२१ जेठ २०८२ देखि २४ गतेसम्म सडकखण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। पुल निर्माणको क्रममा यात्रु तथा सवारीको सुरक्षालाई मध्यनजर गर्दै सो निर्णय लिइएको बताइएको छ।
उक्त अवधिमा हेटौंडा–काठमाडौं आउजाउ गर्ने यात्रु तथा सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत आग्रह गरिएको छ।
मकवानपुर । दरबारभित्र घटेको हत्याकाण्डको सम्झनामा सोमबार हेटौंडामा दीप प्रज्वलन गरिएको छ। १९ जेठ २०५८ मा राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको हत्या भएको थियो।
दरबार हत्याकाण्डकाे २४ वर्ष भएकाे छ । २४ औं स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा सहभागीहरूले बत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए । हातमा दीप बोकेर मौन प्रार्थना समेत गरिएकाे थियो ।
दिप प्रज्वलन कार्यक्रममा राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले दरबार हत्याकाण्ड सम्बन्धी सरकारी प्रतिवेदनले जनताको जिज्ञासा नमेटाएको बताए । ‘दरबार हत्याकाण्डकाे सत्यतथ्य बाहिर आउनु पर्छ’ उनले भने । राष्ट्रिय प्रजातान्त्रिक युवा मोर्चाका अध्यक्ष विवेक विक्रम शाहीले राजा वीरेन्द्र राष्ट्रप्रेमी राजा भएकाे बताउँदै राजपरिवारलाई हामीले बिर्सन नहुने बताए ।
दिप प्रज्वलनमा सहभागीहरुले दरबार हत्याकाण्ड अझै रहस्यमय रहेको भन्दै घटनाको निष्पक्ष छानबिनको माग समेत गरेका छन्। कार्यक्रममा बागमती प्रदेश सभा सदस्य कुमारी स्याङतान, नुरल बज्राचार्य, गिरिबहादुर तामाङ, डम्बर तामाङ राप्रपा केन्द्रीय सदस्य राम थोक्कर, रामहरी न्यौपाने, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन मकवानपुर जिल्ला अध्यक्ष किशोर केसी लगायतकाे उपस्थिति रहेको थियो।