मकवानपुर । मकवानपुरकाे हेटौंडामा सवारी दुर्घटना न्यूनीकरणकाे सचेतना अभिबृद्धी छलफल कार्यक्रम भएकाे छ । मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा सरोकारवाला पक्षहरुसँग सचेतना अभिबृद्धी कार्यक्रमसँगै प्रतिबद्धता समेत गरिएकाे छ ।
कार्यक्रममा सहभागी यातायात व्यावसायी, प्रहरी, यातायात चालक, नागरिक समाजका प्रतिनिधिहरुले दुर्घटना न्यूनीकरणमा सहयोग गर्ने हस्ताक्षरसहित प्रतिबद्धता जनाए । कार्यक्रममा झल्लर, प्रेशर हर्न, फोकस लाइट सम्वन्धी छलफल र अन्तरक्रिया पनि भएको छ । प्रतिबद्धतासँगै मकवानपुरसहित बागमती प्रदेशमा संचालन हुने यातायातका साधनले झल्लर हटाउनु पर्ने छ । यसैगरी प्रेसर हर्न र फोकस लाइट प्रयोग गर्न नपाइने भएकाे छ ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले उद्घाटन् गरेकाे कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक प्रभु प्रसाद ढकाल, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, विश्वराज खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, समाजसेवी सिद्धीलाल श्रेष्ठ, नारायणी यातायात व्यावसायी संघ महासचिब सरोज खनाल, नारायणी यातायात व्यावसायी कम्पनी निर्देशक माधव अधिकारी लगायतका उपस्थित थिए ।
मकवानपुर । नेकपा एमाले मकवानपुर सल्लाहकार कमिटीका अध्यक्ष बलराम हुमागाईंको निधन भएको छ । मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्वमध्येका एक मकवानपुरगढीका हुमागाईंको सोमबार साँझ निधन भएको हो ।
रोगले थलिएका उनलाई भारतमा उपचार पश्चात केही समय अघि मात्रै मकवानपुर ल्याइएको एमाले मकवानपुरका सचिवालय सदस्य तथा मकवानपुरगढी इञ्चार्ज बिदुर हुमागाईंले जानकारी दिए । पञ्चायतकालीन समयमा कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा रहेका हुमागाईंलाई जिल्लामा सम्मानित कम्युनिष्ट नेताका रुपमा लिइने गरिन्थ्यो ।
उनी एमाले मकवानपुरको दोस्रो कार्यकालका लागि पनि सल्लाहकार कमिटी अध्यक्ष भएका थिए । हुमागाईंले मकवानपुरगढी गाउँपालिका (तत्कालीन मकवानपुरगढी गाविस)मा नेकपा एमालेको जग बसालेका थिए । पार्टीले मकवानपुरगढीमा पहिलो पटक सम्पर्क गरेको नेता पनि हुमागाईं थिए । उनकै नेतृत्वमा गढीमा एमाले विस्तार भएको थियो ।
हुमागाईंको परिचय कम्युनिष्ट आदर्श नेताको रुपमा मात्र सीमित छैन । उनले जीवनको उर्जाशील समय दुग्ध उत्पादक कृषकहरुको हकहितमा बिताए । हुमागाईंले लामो समय जिल्लाकै उत्कृष्ट र ठूलो मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापकीय जिम्मेवारी सम्हालेर बिदा लिएका थिए । मनकामनालाई जिल्लामै नमूना दुग्ध उत्पादक सहकारी बनाउन हुमागाईंको नेतृत्वदायी भूमिका थियो ।
शैक्षिक व्यक्तित्व वंशगोपाल माविका पूर्व प्रअ रमेश प्रसाद लामिछानेले हुमागाईंकाे निधनमा समवेदनाका साथ सामाजिक संजालमा लेखेका छन् ‘मकवानपुर गढीको मात्र हैन, मकवानपुर जिल्ला र मुलुककै उदाहरणीय ब्यक्तित्व तत्कालीन मालेदेखि बर्तमान एमालेसम्म चार दशक भन्दा बढी पार्टीको दरिलो खम्बा बनेर पद र सुबिधा कहिल्यै नमाग्ने, कामबाट कहिल्यै नथाक्ने, अरुलाई सहयोग गर्दा खुशी देखिने र आफ्नो पीडा कहिल्यै व्यक्त नगर्ने बलराम हुमागाईलाई प्राणघातक क्यान्सरले तीन महिनाको संघर्ष पश्चात् भौतिक शरीरलाई समाप्त गरेपनि वहाँको राजनीतिक र सामाजिक योगदान मकवानपुरले स्मरण गरिरहने छ ।’
मकवानपुर । मकवानपुरकाे हेटौंडालाई काठमाडौं उपत्यका जोड्ने कान्ति लोकपथ आइतबारबाट सञ्चालनमा आएकाे छ ।
मकवानपुर र ललितपुर जोड्ने बागमती नदीको बगुवामा बेलिब्रिज निर्माणपछि कान्ति लोकपथ सडक खण्ड आइतबारबाट सञ्चालनमा आएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर र ललितपुरलाई जोड्ने स्थानमा शनिबार बेलिब्रिज जडान गरिएकाे थियो । बेलिब्रिज निर्माणसँगै पुलबाट सवारी साधन चल्न थालेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ । गत वर्ष असोजमा आएको बाढीले बगुवास्थित बागमती पुलको मकवानपुर तर्फ बगाएको थियो ।
पुलको पहुँच मार्ग बगाएसँगै खोलाको बगरबाट डाइभर्सन निर्माण गरी सवारी साधन आवतजावत हुँदै आएको थियो । बर्षायाम सुरु भएसँगै बागमती खोलाको बाढीले डाइभर्सन बगाउने तथा सवारी साधनमा क्षति पुग्न थालेपछि पटक पटक सडक अवरुद्ध हुने गरेको थियो । कान्ति लोकपथ ४ दिन बन्द गरेर गत जेठ १९ गतेबाट बेलिब्रिज राख्ने कार्य थालिएको थियो ।
मकवानपुर । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका व्यवस्थापक अरुण श्रेष्ठले अपाङ्गता भएका आफ्नै सन्तानलाई समेत अभिभावकले भेदभाव गर्ने गरेकाे बताएका छन् ।
अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयाेग्य सूचना सामाग्री तथा भाैतिक संरचना निर्माण सम्बन्धी अभिमुखिकरणमा उनले यस्तो बताएका हनु् । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशकाे आयाेजना तथा सामाजिक विकास मन्त्रालयकाे सहकार्यमा भएकाे उक्त कार्यक्रममा व्यवस्थापक श्रेष्ठले संयुक्त राष्ट्र संघकाे अपाङ्गता भएका व्यक्तिहरुकाे अधिकार सम्बन्धी महासन्धि २००६, अपाङ्गता भएका व्यक्तिहरुकाे अधिकार सम्बन्धी ऐन २०७४ मा भएकाे भेदभाव विरुद्दकाे हक लगायतकाे बारेमा प्रशिक्षण दिएका थिए ।
उनले राज्यले नै अपाङ्गता भएका व्यक्तिलाई सेवा सुविधा दिएकाे भए परिवार र समाजबाट अपहेलित हुनु नपर्ने बताए । अपाङ्गता भएका व्यक्तिहरुका् लागि पहुचयुक्त भाैतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ लागू भएकाे भएपनि भाैतिक संरचनाहरु अपाङ्ग मैत्री हुन नसकेकाे उनले जानकारी दिए । त्यस्तै श्रेष्ठले डिजिटल पहुँचयुक्त तथा पहुँच परीक्षण सम्बन्धी जानकारी दिदै सूचनाकाे पहुँच पुर्याउन प्रयाेगात्मक परीक्षण गराएका थिए ।
बागमती प्रदेशका मन्त्रालयहरु, नगरपालिका तथा गाउँपालिका एवं सरकारी निकायमा कार्यरत आइटी शाखाका प्रमुख एवं इन्जिनियरहरुकाे सहभागिता रहेकाे अभिमुखीकरण कार्यक्रममा सरकारी निकाय तथा सार्वजनिक संस्थानहरुले आफ्नाे भाैतिक संरचना बनाउन नीति तथा कार्यक्रममा व्यवस्था भए पनि सराेकारवाला निकायहरुकाे वेबसाइट, सूचना तथा जानकारीहरु पहुँचयाेग्य नहुने गरेकाे उनले बताए । ‘कार्यालयहरुमा अनलाइन फर्म भर्नका लागि सहज र सरल हुँदैन’ उनले भने ‘सरल भाषा, संकेत भाषा प्रयाेग गर्नुपर्ने लगायतका कुरामा ध्यान दिन सकेको देखिदैन ।’ वेवसाइट तथा डिजिटल प्रविधि अपाङ्ग मैत्री बनाउन हालसम्म नीति तथा कार्यक्रममा समावेश नै नभएकाे उनले जानकारी दिए ।
महासंघ नेपालका बागमती प्रदेश अध्यक्ष उपेन्द्र श्रेष्ठकाे सभाध्यक्षता, सामाजिक विकास मन्त्रालयका प्रशासकीय प्रमुख गाेपाल प्रसाद कडेंलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका व्यवस्थापक अरुण श्रेष्ठ, बागमती प्रदेश व्यवस्थापक सीता मल्ल ठकुरी लगायतकाे उपस्थिति रहेकाे थियाे ।
मकवानपुरकाे उत्तरी क्षेत्र तथा चन्द्रागिरीकाे दक्षिण फेदीमा रहेकाे ऐतिहासिक सातधारा । सप्तऋषिहरूले नुहाउने सातधारा । चित्लाङको प्राचीन नाम चित्रापुर र थानकोटको शोणितपुर रहेकाेमा त्यहाँका राजा बाणासुरको पुत्री उषामैयाको सहेली ‘चित्रा’ ले प्राकृतिक सुन्दरतालाई मन पराएर दैनिक आउने गरेकीले यो ठाउँको नाम चित्रापुर रहन गएकाे भनिन्छ । उनै चित्राले समेत सातधारामा आइ नुहाउने गरेकाे इतिहासविद् बताउँछन् । सातधाराबाट आएको पानीलाई आकर्षक गोलपोखरी निर्माण गरेर चित्लाङकाे कृषिमा प्रयोग गरिदै आएकाे छ ।