मकवानपुर । नेकपा एमाले मकवानपुर सल्लाहकार कमिटीका अध्यक्ष बलराम हुमागाईंको निधन भएको छ । मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्वमध्येका एक मकवानपुरगढीका हुमागाईंको सोमबार साँझ निधन भएको हो ।
रोगले थलिएका उनलाई भारतमा उपचार पश्चात केही समय अघि मात्रै मकवानपुर ल्याइएको एमाले मकवानपुरका सचिवालय सदस्य तथा मकवानपुरगढी इञ्चार्ज बिदुर हुमागाईंले जानकारी दिए । पञ्चायतकालीन समयमा कम्युनिष्ट आन्दोलनको अग्रमोर्चामा रहेका हुमागाईंलाई जिल्लामा सम्मानित कम्युनिष्ट नेताका रुपमा लिइने गरिन्थ्यो ।
उनी एमाले मकवानपुरको दोस्रो कार्यकालका लागि पनि सल्लाहकार कमिटी अध्यक्ष भएका थिए । हुमागाईंले मकवानपुरगढी गाउँपालिका (तत्कालीन मकवानपुरगढी गाविस)मा नेकपा एमालेको जग बसालेका थिए । पार्टीले मकवानपुरगढीमा पहिलो पटक सम्पर्क गरेको नेता पनि हुमागाईं थिए । उनकै नेतृत्वमा गढीमा एमाले विस्तार भएको थियो ।
हुमागाईंको परिचय कम्युनिष्ट आदर्श नेताको रुपमा मात्र सीमित छैन । उनले जीवनको उर्जाशील समय दुग्ध उत्पादक कृषकहरुको हकहितमा बिताए । हुमागाईंले लामो समय जिल्लाकै उत्कृष्ट र ठूलो मनकामना दुग्ध उत्पादक सहकारी संस्थाको व्यवस्थापकीय जिम्मेवारी सम्हालेर बिदा लिएका थिए । मनकामनालाई जिल्लामै नमूना दुग्ध उत्पादक सहकारी बनाउन हुमागाईंको नेतृत्वदायी भूमिका थियो ।
शैक्षिक व्यक्तित्व वंशगोपाल माविका पूर्व प्रअ रमेश प्रसाद लामिछानेले हुमागाईंकाे निधनमा समवेदनाका साथ सामाजिक संजालमा लेखेका छन् ‘मकवानपुर गढीको मात्र हैन, मकवानपुर जिल्ला र मुलुककै उदाहरणीय ब्यक्तित्व तत्कालीन मालेदेखि बर्तमान एमालेसम्म चार दशक भन्दा बढी पार्टीको दरिलो खम्बा बनेर पद र सुबिधा कहिल्यै नमाग्ने, कामबाट कहिल्यै नथाक्ने, अरुलाई सहयोग गर्दा खुशी देखिने र आफ्नो पीडा कहिल्यै व्यक्त नगर्ने बलराम हुमागाईलाई प्राणघातक क्यान्सरले तीन महिनाको संघर्ष पश्चात् भौतिक शरीरलाई समाप्त गरेपनि वहाँको राजनीतिक र सामाजिक योगदान मकवानपुरले स्मरण गरिरहने छ ।’

