मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–६ मा गाडीकाे ठक्करबाट १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार थाहा नगरपालिका–१, कुन्छालमा गाडीको ठक्करबाट सिताराम महर्जनको घाइते भएका थिए ।
कुन्छाल स्थित चित्लाङ-चन्द्रागिरी सडकखण्डमा सडक छेउमा हिडिरहेका स्थानीय ७० वर्षीया महर्जनलाई नम्बर नखुलेकाे गाडीले ठक्कर दिंदा घाइते भएका थिए । उनलाई प्राथमिक स्वास्थ्य केन्द्र बज्रबाराहीमा सामान्य उपचार पश्चात थप उपचारकाे लागि काठमाडौंस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
सशस्त्र प्रहरी बलको अस्पताल पुर्याउँदा महर्जनको मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार महर्जनलाई ठक्कर दिने गाडीको भने पहिचान हुन सकेको छैन भने गाडीको खोजी गरिरहेको छ ।
मकवानपुर । नेकपा एमाले मकवानपुरले विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएको छ । एमाले मकवानपुरले विपद्को समयमा नागरिकको सुरक्षाका लागि खटिन ६५ जनाकाे विपद् प्रतिकार्य द्रुत टोली निर्माण गर्ने भएकाे हाे ।
एमाले मकवानपुरको जिल्ला विपद् व्यवस्थापन तथा स्वयंमसेवक विभाग, वन तथा वातावरण विभाग, स्वास्थ्य विभाग तथा जनसंगठन समन्वय संयन्त्रको बिहीबारकाे संयुक्त बैठकले जिल्लास्तरीय विपद् प्रतिकार्य द्रुत टोली (स्वंमसेवक दस्ता) बनाउने निर्णय गरेको हो । बैठकले ६५ जनाको जिल्लास्तरको द्रुत टोली बनाउने निर्णय गरेको छ ।
बैठकमा जिल्लाका १० वटै स्थानीय तहमा पालिकास्तरको विपद् प्रतिकार्य टोली बनाउने योजना समेत पारित भएकाे छ । जिल्ला विपद् विभाग प्रमुख शिवहरिका अनुसार जिल्लास्तरको र गाउँगाउँमा निर्माण गरिने प्रतिकार्य टोलीले विपद्को पूर्वानुमान, पूर्वतयारी वा विपद्ले समस्या बनाएको स्थानमा पुगेर नागरिकको जीवन रक्षा र भौतिक संरचनाको सुरक्षाको दृष्टिकोणले सरकारी निकायसँग समन्वय गरि काम गर्नेछ । विपद् प्रतिकार्य टोली निर्माणका लागि विभागले विपद् प्रतिकार्य सम्बन्धी तालिम दिने भएकाे छ ।
‘जिल्लाको टोली भन्दा गाउँको टोली प्रभावित क्षेत्रमा तत्काल पुग्ने भएकाले हरेक पालिकामा विपद् प्रतिकार्यको लागि समूह तयार बनाउन लागिएको हो’ विभाग प्रमुख दाहालले भने ‘एमाले मकवानपुर नागरिकको सुरक्षामा संवेदनशील भएर अघि बढेको छ ।’ बैठकमा एमाले केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले विपद् व्यवस्थापन, जोखिम न्यूनीकरण, उद्धार तथा राहत वितरण कार्यमा पार्टी पङ्क्तिलाई परिचालित गर्न आवश्यक योजना निर्माण गरिएको बताए । सरदर भन्दा यस वर्ष बढी वर्षा हुने अनुमान गरिएको सन्दर्भलाई दृष्टिगत गरी आवश्यक कार्ययोजनासहित सम्भावित विपद् व्यवस्थापनमा पार्टीले टोली परिचालन गर्न लागेको जानकारी दिए ।
बैठकमा जिल्ला बिपद् ब्यबस्थापन विभागका सचिव सुरेश बेरोजगार, बन तथा वातावरण विभाग सचिव कृष्ण बिडारी, स्वास्थ्य विभाग सचिव उमेश अधिकारी, जनसंगठन समन्वय संयन्त्र उपप्रमुख मिलन पाठक तथा नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य आकाश अधिकारीले आफ्नो धारणा राखेका थिए ।
जिल्ला विपद् विभागका प्रमुख शिवहरि दाहालको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर पार्टी इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा भएकाे बैठकमा एमाले बागमती प्रदेश कमिटी सदस्य सुमित्रा काफ्ले, पार्टी जिल्ला सचिव सिता विष्ट, उपसचिव आरती पाठक, जनसंगठन समन्वय संयन्त्र प्रमुख सन्तोष पौडेल, उपप्रमुख मिलन पाठक, पार्टी जिल्ला सदस्यहरु पन्चमाया स्याङ्गतान लगायतको आतिथ्यता रहेकाे थियाे ।
मकवानपुर । देशको राजधानी काठमाडौ जोड्ने देशकै जेठो मार्ग त्रिभुवन राजपथ शुक्रबार र शनिबार दिनको ४ घण्टा बन्द रहने भएको छ।
राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी-९ लामीडाँडादेखि थाहानगरको सिमभञ्ज्याङसम्मको सडकखण्डमा १३ र १४ असार दुई दिन दिउँसो १२ बजेदेखी ४ बजेसम्म सवारी आवागमन बन्द हुने भएको हो।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै सडक मर्मत तथा खतरनाक भूस्खलन क्षेत्रको सुधार कार्यकालागि सो सडकखण्डमा अस्थायी रूपमा सवारीसाधन आवागमन संचालनमा रोक लगाइएको जनाइएको छ।
सडकखण्डको राँगी भञ्ज्याङ मोडमा अविरल वर्षाले सडक भत्किएको र ह्युमपाइप विछ्याउने कार्यका लागि दुई दिन दिनको ४ घण्टा बन्द गरिने प्रशासन कार्यालयबाट प्रकाशित सूचनामा उल्लेख छ।

चितवन । सामन्यतः हामी जन्मदिन मनाउँदा चकलेट बाढ्छौं वा साथीभाइ इष्टमित्र जमघट गराएर केक काट्ने गर्छौं वा अन्य केही रमाइलाे गर्न मन मराउँछन् । तर चितवनका एक जना शिक्षकले जन्मदिन आफू कार्यरत विद्यालयका सबै विद्यार्थीलाई ‘मुना’ उपहार दिएर मनाएकी छिन् ।
चितवनकाे भरपुरतस्थित भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयमा प्राथमिक तहमा अध्यापनरत शिक्षक सरस्वती पौडेलले जन्मदिनको अवसरमा आफ्नो विद्यालयका सबै विद्यार्थीलाई ‘मुना’ बालपत्रिका उपहार दिएकी हुन् । विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै ३५० विद्यार्थीलाई ‘मुना’ शिक्षक पौडेलले उपहार दिइन् ।
विद्यार्थीलाई मुना उपलब्ध गराएर उनीहरूलाई सिर्जनात्मक यात्रामा डोहोर्याउन पहल गरिएको उनले बताइन् । प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले शिक्षिका पौडेलले विद्यार्थीलाई मुना उपलब्ध गराएर पढ्न संस्कृतिलाई अगाडी बढाउन मद्दत गरेकाे बताए । ‘पौडेलकाे उक्त कार्य अनुकरणीय छ’ उनले भने । मुनालगायतका पुस्तक तथा पत्रिका पढ्ने बानीकाे विकासले विद्यार्थीलाई अतिरिक्त सिकाइ हुने भएकाेले अगाडि बढ्न सजिलो हुने उनले जानकारी दिए ।
साहित्यमा एक दशकदेखि क्रियाशील पौडेल गजल मञ्च चितवनकी कोषाध्यक्ष हुन् । उनकाे पहिलो साहित्यिक कृति ‘प्रत्यूष’ गजल संग्रह हालै प्रकाशित भएकाे छ । उक्त कृतिकाे लोकार्पण असार १४ गते चितवनमा हुने बताइएकाे छ । मुना उपहार दिने कार्यक्रम चितवनका स्रस्टा उदय अधिकारी र लेखराम सापकोटा समेत उपस्थित थिए ।
चितवन । चितवनको रत्ननगरनगरपालिका स्थित भद्रकाली माध्यमिक विद्यालयमा राष्ट्रिय सेवादल (एनसिसी) तालिम सुरु भएको छ । नेपाली सेनाले सञ्चालन गर्ने उक्त तालिम सोमबारबाट सुरु भएकाे हाे ।
रत्ननगर नगरपालिका वडा नं. १६ हात्तिगाडेमा रहेको उक्त विद्यालयमा सुरु भएको तालिमको नयाँ सबुज गण भरतपुरका सेनानी जित बहादुर थापा र वडाध्यक्ष हेमराज थापाले उद्घाटन गरे। उद्घाटन कार्यक्रममा वडाध्यक्ष थापाले अनुशासित विद्यार्थीले देशको भविष्य सुन्दर बनाउन सक्ने भन्दै अनुशासनलाई प्राथमिकतामा राखेर तालिम पुरा गर्न सहभागीहरुलाई आग्रह गरे ।
सेनानी जित बहादुर थापाले युवामा अनुशासित, बफादारिता तथा इमान्दारिताका साथै राष्ट्रिय एकताको भावना विकास गर्न सेनाले तालिम सञ्चालन गर्दै आएको जानकारी दिए । यसैगरी उपसेनानी विशाल जीसीले तालिमको महत्व र उद्देश्य बारे प्रकाश पारेका थिए। युवामा व्यक्तित्व विकास तथा क्षमता अभिवृद्धि गरी असल नागरिक बनाएर राष्ट्र विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले तालिम संचालन गरिएको उनले बताए ।
सय कार्य दिनकाे उक्त तालिम ७९ दिनसम्म विद्यालयमा सञ्चालन हुनेछ भने २१ दिन राष्ट्रिय सेवा दलको मध्य तालिम शिक्षालयमा नवलपरासी हात्तीखोरमा सञ्चालन हुनेछ । तालिममा ३० जना विद्यार्थी सहभागी छन् ।