चितवन । सामन्यतः हामी जन्मदिन मनाउँदा चकलेट बाढ्छौं वा साथीभाइ इष्टमित्र जमघट गराएर केक काट्ने गर्छौं वा अन्य केही रमाइलाे गर्न मन मराउँछन् । तर चितवनका एक जना शिक्षकले जन्मदिन आफू कार्यरत विद्यालयका सबै विद्यार्थीलाई ‘मुना’ उपहार दिएर मनाएकी छिन् ।
चितवनकाे भरपुरतस्थित भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालयमा प्राथमिक तहमा अध्यापनरत शिक्षक सरस्वती पौडेलले जन्मदिनको अवसरमा आफ्नो विद्यालयका सबै विद्यार्थीलाई ‘मुना’ बालपत्रिका उपहार दिएकी हुन् । विद्यालयमा कक्षा १ देखि ८ सम्म अध्ययनरत सबै ३५० विद्यार्थीलाई ‘मुना’ शिक्षक पौडेलले उपहार दिइन् ।
विद्यार्थीलाई मुना उपलब्ध गराएर उनीहरूलाई सिर्जनात्मक यात्रामा डोहोर्याउन पहल गरिएको उनले बताइन् । प्रधानाध्यापक राजेन्द्रप्रसाद चालिसेले शिक्षिका पौडेलले विद्यार्थीलाई मुना उपलब्ध गराएर पढ्न संस्कृतिलाई अगाडी बढाउन मद्दत गरेकाे बताए । ‘पौडेलकाे उक्त कार्य अनुकरणीय छ’ उनले भने । मुनालगायतका पुस्तक तथा पत्रिका पढ्ने बानीकाे विकासले विद्यार्थीलाई अतिरिक्त सिकाइ हुने भएकाेले अगाडि बढ्न सजिलो हुने उनले जानकारी दिए ।
साहित्यमा एक दशकदेखि क्रियाशील पौडेल गजल मञ्च चितवनकी कोषाध्यक्ष हुन् । उनकाे पहिलो साहित्यिक कृति ‘प्रत्यूष’ गजल संग्रह हालै प्रकाशित भएकाे छ । उक्त कृतिकाे लोकार्पण असार १४ गते चितवनमा हुने बताइएकाे छ । मुना उपहार दिने कार्यक्रम चितवनका स्रस्टा उदय अधिकारी र लेखराम सापकोटा समेत उपस्थित थिए ।

