मकवानपुर । अखिल नेपाल महिला संघ (अनेमसंघ), मकवानपुरले महिलामैत्री कानुन निर्माणको माग गरेको छ ।
बुधबार अनेमसंघ मकवानपुरले सरकारले निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी छुट दिने गरी कानुनको मस्यौदा तयार गरेको प्रति विरोध जनाएका हुन् । नीतिगत सुधारको पक्षमा दबाबमुलक कार्यक्रमदेखि, महिला सशक्तिकरणका लागि लड्दै आइरहेको संघले उक्त कार्य गैरजिम्मेवारपूर्ण तथा आपत्तिजनक रहेको ठहर गर्दै प्रस्ताव तत्काल रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।
पितृसत्तात्मक सोच र संरचनाको अन्त्य गर्न प्रभावकारी कानुन निर्माणको माग गर्दै अनेमसंघले एक ज्ञापनपत्र सरकारसमक्ष पेस गरेको छ । संघले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत सरकारलाइ ज्ञापनपत्र बुझाउँदै महिलाहरूले पितृसत्तात्मक भूमिकाको अन्त्यका लागि लामो समयदेखि संघर्ष गर्दै आए पनि व्यावहारिक रूपमा अझैसम्म अपेक्षित सुधार नआएकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ ।
“महिला संघले २०७५ भदौ १ गतेदेखि पूर्णतया निषेध गरिएकोे मुलुकी अपराध संहिता २०७४ लाइ संशोधन गरी निश्चित परिस्थितिमा बहुविवाह गर्न पाउने कानुन ल्याउन लागेको विषयले सम्पूर्ण नेपालीको ध्यानाकर्षण गरिएको छ ।” ज्ञापनपत्रमा उल्लेख छ ।
ज्ञापनपत्रमा हालको सरकारले यस अघि लागू गरेका कानुनलसमेत पितृसत्तात्मक सोचलाई प्रश्रय दिएको र महिलामाथिको हिंसा तथा विभेदलाई कानुनी संरक्षण मिलिरहेको उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउँदै संघकी अध्यक्ष सुमित्रा काफ्लेले महिलामाथिको विभेद अन्त्य गर्न बनेका कानुनहरू व्यवहारमा लागु नभएको र महिलाको अधिकार सुनिश्चित गर्न संशोधित कानुन तुरुन्त कार्यान्वयनमा ल्याउनुपर्ने बताइन् ।
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार दिउँसो मुख्यमन्त्रीमा नियुक्त बानियाँलाई अपराह्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका बानियाँ कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनी बागमती प्रदेशकाे छैटौं मुख्यमन्त्री हुन् । मुख्यमन्त्री बानियाँकाे सिफारिसमा आजै प्रदेश सरकारमा ८ जनालाई मन्त्री पदमा नियुक्ती भएका छन् । बानियाँको सिफारिस नियुक्त ८ मन्त्रीलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सपथ ग्रहण गराएका हुन् ।
कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री बाँनियाले एमालेका मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री, डाक्टर दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरणमन्त्री, किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गरेका थिए । एमालेबाट मन्त्री भएकाहरुमा थापा यसअघीकाे सरकारमा समेत सहभागी थिए भने अन्य ५ जना नयाँ अनुहार हुन्
कांग्रेसबाट भने खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् । प्रदेशका १४ वटा मन्त्रालय मध्ये मुख्यमन्त्री बाहेक कांग्रेसको भागमा परेको ७ मन्त्रालयमा दुई जना मन्त्री नियुक्त गरी बाँकी ५ वटा मन्त्रालयकाे जिम्मेवारी भने मुख्यमन्त्री बानियाँले आफैं मातहत राखेका छन् ।

मकवानपुर । बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलकाे नेता इन्द्र बहादुर बाँनियाले दावी पेश गरेका छन् ।
काँग्रेस बागमती सभापति समेत रहेकाे बाँनियाले सोमबार सत्ता गठबन्धन दल नेकपा एमाले र कांग्रेसको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । मुख्यमन्त्री बहादुर सिंह लामाले पदबाट राजिनामा दिए पछि बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकाेटाले मंगलबार दिउँसो २ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका थिए ।
आइतबार मुख्यमन्त्री बहादुर सिं लामाले पदबाट राजिनामा दिएकाेमा उक्त राजिनामा पत्र सोमबार प्रदेश प्रमुख समक्ष पेश भएको थियो । यो सँगै प्रदेश प्रमुखबाट नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीको लागि दावी पेश गर्न आव्हान गरेका थिए ।
बानियाँले नेपाली काँग्रेस संसदीय दलका ३७ जना र नेकपा (एमाले) संसदीय दलका २७ जना सदस्यसहित ६४ जना बहुमत सदस्यकाे समर्थन सहित नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख समक्ष दावी पेश गरेका हुन् । बागमती प्रदेश सभामा ११० जना सदस्य छन् ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वकीय सचिव मार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका छन् ।
सोमबार बहादुरको तर्फबाट स्वकीय सचिव छत्र बहादुर लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका हुन् ।
लामाले आइतबार पत्रकार सम्मेलन नै गरेर पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
यसैगरी प्रदेश प्रमुख देवकोटा अस्पतालबाट स्वास्थ्य लाभ गरी सोमबार नै कार्यालयमा उपस्थित भएका थिए । आइतबार अस्पतालबाट डिस्चार्ज भएका उनी सोमबार सिमरा हुँदै हेटौँडास्थित कार्यालय आएका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते काठमाडौँको धापासीस्थति ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए ।
लामाले राजीनामा पत्र बुझाएसँगै अब नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु हुनेछ । बागमतीकाे छेटौं मुख्यमन्त्रीमा काँग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाले सत्तारुट दल नेकपा एमालेकाे समर्थनमा दावी पेश गर्नेछन् ।
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका-५ बुङदलमा मानबहादुर शिवभक्तीले घाँटी थिचेर श्रीमतीकाे हत्या गरेका हुन् ।
माइतीमै बस्दै आएकी ४० वर्षीय दुर्गालक्ष्मी शिवभक्तीलाई शनिबार बिहान ४५ वर्षीय मानबहादुरले हत्या गरेकाे मकवानपुर प्रहरीले जनाएकाे छ । दुर्गालक्ष्मी उच्च रक्तचापका कारण प्यारालाइसिस भइ बोल्न समेत नसक्ने अवस्थामा रहेकाे बताइएकाे छ । दुर्गालक्ष्मीको हत्या गरी मानबहादुरले आत्महत्या प्रयास समेत गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मानबहादुरले आत्महत्या गर्न प्रयोग गरेको डोरी चुँडिएपछि प्रहरी समक्ष आत्मसमर्पण गरेकाे मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । प्रहरीले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएकाे छ ।