मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित २ जनलाई पक्राउ गरेको छ । विहीबार मनहरी गाउँपालिका वडा नम्वर ९ स्थित पूर्व–पश्चिम राजमार्ग सडकखण्डबाट लागूऔषध गाँजा ४५ किलोसहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले राक्सिराङ गाउँपालिका वडा नम्वर २ बस्ने ४२ वर्षीय भक्तबहादुर थापा मगर र मनहरी गाउँपालिका वडा नम्वर ५ बस्ने ४१ वर्षीय हिरालाल गुरुङ्गलाई गाँजा सहित पक्राउ गरेकाे हाे ।
दिउँसो शंकास्पद रुपमा पिढ्युमा भारी बोकी हिडिरहेका उनीहरुलाई रोकी चेकजाँच गर्दा उक्त परिणामको गाँजा बरामद भएपछि निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा २ जना मृत्यु भएको छ ।
बुधबार दिउँसो ३ः३० बजेको समयमा कान्तिलोकपथ अन्तर्गत बकैया गाउँपालिका–११ स्थित सिमात घुम्तीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरिक्षक राजकुमार सापकोटाले जानकारी दिए । बुधबार ठिंगनबाट हेटौंडा तर्फ आईरहेको ना ४ त ६०७५ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर खस्दा दुर्घटना भएकाे सापकाेटाले बताए ।
मृतकमध्ये १ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि हेटौंडा ल्याउँदै गर्ने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरिक्षक सापकोटाले जानकारी दिए । मृतक १ जनाको प्राप्त लाईसेन्सबाट कैलालीका मिन बहादुर बुढामगर रहेको परिचय खुलेको प्रहरीले जनाएकाे छ । अर्का १ जनाको परिचय खुलेको छैन । दुर्घटनाकाे सम्मन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले विद्यार्थीले सार्वजनिक बसमा पाउनु पर्ने ४५ प्रतिशत भाडा छुटको माग गरेको छ ।
बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको बताए । उनले भनेः सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको धेरै गुनासो आए संगै हामीले विद्यार्थीले पाउनुपर्ने अधिकारको लागि सम्बन्धित निकायहरुलाई ध्यानार्षण गराउने र अटेर गरे आन्दोलनमा उत्रने निचोड निकालेका छौ ।
उनले काठमाण्डौ उपत्यकामा भाडा छुट संस्थागत भएको बताउँदै मकवानपुरमा पनि संस्थागत गर्न आन्दोलनको तयारी गरेको बताए । उनले यसअघि पनि सार्वजनिक बसहरुले भाडा छुट नदिएको र अनेरास्वियु मकवानपुरले आवाज उठाएपछि माग सम्बोधन भएको बताउँदै पछिल्लो समयमा यातायात व्यवसायीहरुले विभिन्न बहानामा भाडा छुट दिन नमानेको बताए । उनले भाडाछुटलाई संस्थागत गर्न पुनः आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनले राज्यबाट विद्यार्थीलाई प्राप्त उक्त अधिकारको प्रत्याभुत गराउन यातायात व्यवसायीहरुलाई अनुरोध गरे ।
यसैगरी,पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु केन्द्रीय सचिवाल सदस्य एवं मकवानपुर ईन्चार्ज किशन घिसिङले भाडा छुट काठमाण्डौ उपत्यकामा मात्रै संस्थागत हुन सकेको बताउँदै देशभर संस्थागत गर्न विभिन्न रचनाआत्मक आन्दोलनको कार्यक्रम गर्न केन्द्रीय कमिटीलाई ध्यानाकर्षण गर्ने बताए । उनले मकवानपुरको हकमा मनहरी,भीमफेदी,मकवानपुरगढी र हेटौंडा उपमहानगरपालिका भित्रका विद्यार्थीहरुले भाडा छुट नपाउँदा बढी मर्कामा पर्ने गरेको बताए । उनले जिल्लाका १० वटै स्थानीय तहलाई विद्यार्थीको भाडा छुटको अधिकारलाई सुनिश्चित गर्न अनेरास्ववियुले ध्यानाकर्षण गर्ने बताए । उनले भाडा छुटलाई यातायात व्यवसायीले वेवास्ता गरे अनेरास्ववियु मकवानप’रले कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु मकवानपुरका उपाध्यक्ष द्वय अमृत बर्तौला,भुवन मैनाली,सचिव पुष्कर तिमल्सिना,सहसचिव प्रमोद फुयाँल,सचिवालय सदस्यहरु आशिष रौनियार,मनिस श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसै बीच, साझा लगाएत विभिन्न यातायात ब्यवसायीहरुले विद्यार्थी आन्दोलनबाट प्राप्त महत्वपूर्ण उपलब्धी ४५% विद्यार्थी छुट कार्यान्वयन नगरेको, परिचय पत्र देखाउँदा समेत कतिपय सन्दर्भ छुट कार्यान्वयन गर्न आनाकानी गर्ने गरेको प्रती अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटीले उपमहानगरपालिकाका मेयर हरिबोल महतलाई ध्यानाकर्षण पत्र पेश गरेको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत ध्यानाकर्षण पत्र पेश गरिएको र दोस्रो चरणमा सशक्त्त आन्दोलनको कार्यक्रम सार्वजनिक गरिनेछ अनेरास्ववियु मकवानपुरले जनाएकाे छ ।
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुली र बुध्द लामाले सचिवालय स्थापना गरेका छन् । आगामी पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुली र लामाले आ–आफ्नाे सचिवालय स्थापना गरेका हुन् ।
जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरिएको पराजुलीले बताए । विगत ३ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय भूमिकामा रहेका पराजुली यस पटकको जिल्ला अधिवेशनमा सभापतिका रुपमा उम्मेदवारी दिने भएका हुन् ।
५ पटक महाधिवेशन प्रतिनिधि, हेटौंडा उपमहानगर सभापति र जिल्ला सचिवसमेत भइसकेका पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा मेयर पदमा थारै मत अन्तरले पराजित भएका थिए । पराजुलीले केहि दिनमै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन् । उनले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि मतदातालाई आफ्नो सचिवालयमा आउन समेत अनुरोध गरेका छन् ।

यस्तै नेपाली काग्रेस मकवानपुरकाे जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका लामाले हेटौंडाको बुद्धचोकस्थित भीमसेन मार्केटमा सचिवालय स्थापना गरेका हुन् ।
जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको लामाले बताए । ‘आसन्न निर्वाचनमा म सभापति पदको उम्मेदवारी दिने तयारीमा छु । निर्वाचनसम्बन्धी गतिविधि संचालन गर्नको लागि सहज होस् भन्ने उदेश्यका साथ सचिवालयको स्थापना गरेको हुँ’ लामाले भने ।
उनले केही दिनभित्रै आफ्नो प्यानल घोषणा गर्ने बताए । सम्पूर्ण क्षत्रीय प्रतिनिधि मतदातालाई आफ्नो सचिवालयमा आएर आफ्नो चुनावी एजेण्डा बारे जानकारी लिन र आवश्यक सुझाव दिन अनुरोधसमेत गरेका छन् ।
२०४६ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय रहेका लामा २०५५ मा जिल्ला सदस्य, २०५६ मा जिल्ला सह–सचिव, २०६३ मा जिल्ला कोषाध्यक्ष हुँदै २०७२ मा जिल्ला सचिव निर्वाचित भएर काम गरिसकेका छन् ।
मकवानपुर । गीतकार सुरेश वैद्यकाे मैले तिमीलाई हेरी दिए गीतकाे लिरिकल भिडियाे सार्वजनिक भएकाे छ । पुष २० गते मंगलबार गीतका कम्पाेजर हरि शरण सायमीकाे युटुब च्यानलबाट भिडियाे सार्वजनिक भएकाे हाे ।
दिपेश किशाेर भट्टराईकाे स्वर रहेकाे गीतकाे लिरिकल भिडियाेमा एरेन्जर दिपेश सिहले गरेका छन् । स्टिङ रेकर्डिङ स्टुडियाेमा २०६१ सालमा रेकर्ड भएकाे गीतकाे मगलबार सार्वजनिक लिरिकल भिडियाेकाे इडिटिङ राकेश मानन्धरले गरेका छन् ।
बैद्यकाे २०६१ सालमा दिलको पानामा गीति एल्बम सार्वजनिक भएकाे थियाे । उक्त एल्बममा समाबेश रहेकाे गीत मलाई बाेलाउनु पर्दैन पधेरेमाकाे म्युजिक भिडियाे समेत सार्वजनिक भइ सकेकाे छ । त्यसैगरी एल्बममा नै समाबेश एउटा गीत नेपाली चलचित्रमा समेत समावेश भएकाे गीतकार वैद्य बताउँछन् ।