मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुली र बुध्द लामाले सचिवालय स्थापना गरेका छन् । आगामी पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुली र लामाले आ–आफ्नाे सचिवालय स्थापना गरेका हुन् ।
जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरिएको पराजुलीले बताए । विगत ३ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय भूमिकामा रहेका पराजुली यस पटकको जिल्ला अधिवेशनमा सभापतिका रुपमा उम्मेदवारी दिने भएका हुन् ।
५ पटक महाधिवेशन प्रतिनिधि, हेटौंडा उपमहानगर सभापति र जिल्ला सचिवसमेत भइसकेका पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा मेयर पदमा थारै मत अन्तरले पराजित भएका थिए । पराजुलीले केहि दिनमै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन् । उनले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि मतदातालाई आफ्नो सचिवालयमा आउन समेत अनुरोध गरेका छन् ।

यस्तै नेपाली काग्रेस मकवानपुरकाे जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका लामाले हेटौंडाको बुद्धचोकस्थित भीमसेन मार्केटमा सचिवालय स्थापना गरेका हुन् ।
जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको लामाले बताए । ‘आसन्न निर्वाचनमा म सभापति पदको उम्मेदवारी दिने तयारीमा छु । निर्वाचनसम्बन्धी गतिविधि संचालन गर्नको लागि सहज होस् भन्ने उदेश्यका साथ सचिवालयको स्थापना गरेको हुँ’ लामाले भने ।
उनले केही दिनभित्रै आफ्नो प्यानल घोषणा गर्ने बताए । सम्पूर्ण क्षत्रीय प्रतिनिधि मतदातालाई आफ्नो सचिवालयमा आएर आफ्नो चुनावी एजेण्डा बारे जानकारी लिन र आवश्यक सुझाव दिन अनुरोधसमेत गरेका छन् ।
२०४६ सालबाट कांग्रेसको राजनीतिमा सक्रिय रहेका लामा २०५५ मा जिल्ला सदस्य, २०५६ मा जिल्ला सह–सचिव, २०६३ मा जिल्ला कोषाध्यक्ष हुँदै २०७२ मा जिल्ला सचिव निर्वाचित भएर काम गरिसकेका छन् ।

