मकवानपुर । नेकपा एमाले निकट विद्यार्थी संगठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले विद्यार्थीले सार्वजनिक बसमा पाउनु पर्ने ४५ प्रतिशत भाडा छुटको माग गरेको छ ।
बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको बताए । उनले भनेः सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको धेरै गुनासो आए संगै हामीले विद्यार्थीले पाउनुपर्ने अधिकारको लागि सम्बन्धित निकायहरुलाई ध्यानार्षण गराउने र अटेर गरे आन्दोलनमा उत्रने निचोड निकालेका छौ ।
उनले काठमाण्डौ उपत्यकामा भाडा छुट संस्थागत भएको बताउँदै मकवानपुरमा पनि संस्थागत गर्न आन्दोलनको तयारी गरेको बताए । उनले यसअघि पनि सार्वजनिक बसहरुले भाडा छुट नदिएको र अनेरास्वियु मकवानपुरले आवाज उठाएपछि माग सम्बोधन भएको बताउँदै पछिल्लो समयमा यातायात व्यवसायीहरुले विभिन्न बहानामा भाडा छुट दिन नमानेको बताए । उनले भाडाछुटलाई संस्थागत गर्न पुनः आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । उनले राज्यबाट विद्यार्थीलाई प्राप्त उक्त अधिकारको प्रत्याभुत गराउन यातायात व्यवसायीहरुलाई अनुरोध गरे ।
यसैगरी,पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियु केन्द्रीय सचिवाल सदस्य एवं मकवानपुर ईन्चार्ज किशन घिसिङले भाडा छुट काठमाण्डौ उपत्यकामा मात्रै संस्थागत हुन सकेको बताउँदै देशभर संस्थागत गर्न विभिन्न रचनाआत्मक आन्दोलनको कार्यक्रम गर्न केन्द्रीय कमिटीलाई ध्यानाकर्षण गर्ने बताए । उनले मकवानपुरको हकमा मनहरी,भीमफेदी,मकवानपुरगढी र हेटौंडा उपमहानगरपालिका भित्रका विद्यार्थीहरुले भाडा छुट नपाउँदा बढी मर्कामा पर्ने गरेको बताए । उनले जिल्लाका १० वटै स्थानीय तहलाई विद्यार्थीको भाडा छुटको अधिकारलाई सुनिश्चित गर्न अनेरास्ववियुले ध्यानाकर्षण गर्ने बताए । उनले भाडा छुटलाई यातायात व्यवसायीले वेवास्ता गरे अनेरास्ववियु मकवानप’रले कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
पत्रकार सम्मेलनमा अनेरास्ववियु मकवानपुरका उपाध्यक्ष द्वय अमृत बर्तौला,भुवन मैनाली,सचिव पुष्कर तिमल्सिना,सहसचिव प्रमोद फुयाँल,सचिवालय सदस्यहरु आशिष रौनियार,मनिस श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसै बीच, साझा लगाएत विभिन्न यातायात ब्यवसायीहरुले विद्यार्थी आन्दोलनबाट प्राप्त महत्वपूर्ण उपलब्धी ४५% विद्यार्थी छुट कार्यान्वयन नगरेको, परिचय पत्र देखाउँदा समेत कतिपय सन्दर्भ छुट कार्यान्वयन गर्न आनाकानी गर्ने गरेको प्रती अनेरास्ववियु हेटौंडा उपमहानगरपालिका कमिटीले उपमहानगरपालिकाका मेयर हरिबोल महतलाई ध्यानाकर्षण पत्र पेश गरेको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत ध्यानाकर्षण पत्र पेश गरिएको र दोस्रो चरणमा सशक्त्त आन्दोलनको कार्यक्रम सार्वजनिक गरिनेछ अनेरास्ववियु मकवानपुरले जनाएकाे छ ।

