लक्ष्मी सुवाल
आज तिम्रो नयनबाट मोती थोपा झरे पनि ।
सक्दिन म आफ्नो भन्न बिखै पिइ मरे पनि ।
पहिले केही भए पनि आज नाता छैन हाम्रो
नजिक अब हुँदै हुन्न जति माया गरे पनि ।
एक हस्ताक्षरले हाम्रो नाता सबै टुटाइ सक्यौ
गिडगिडाइ तिम्रो सामु मायाको बीउ छरे पनि ।
याद आउँछ जब तिम्रो, मुटु चिरा हुन थाल्छ
तिम्रो कहिलै मन दुखेन मेरा आँसु झरे पनि ।
रोएको त छैन म तर हास्न पनि सकिन
तिम्लाई अब सताउँदिन जति दुख परे पनि ।
चागुनारायण भक्तपुर
दिब्या शृङ्खला राई
१.
शहरका ठूला ठूला महल देखेर छक्क पर्छु
घरभित्रै सारा सुख सयल देखेर छक्क पर्छु
सुनसान अँध्यारो गाउँमा बस्ने बानी यहाँ त
चारैतिर बत्तीको झलमल देखेर छक्क पर्छु।
२.
फेर्न सकिन उहीँ पुरानो कोटमा छ जिन्दगी
थपिरहन्छ अनेक ब्यथा चोटमा छ जिन्दगी।
दबेका रहरहरु म भित्र छरपस्ट छन
कसले देख्छर,अझै मेरो खोटमा छ जिन्दगी।
३.
मिठा मिठा कुरा गर्दै दिलको गरामा उभायो
घाम चर्किदा शितल प्रेमको टहरामा उभायो।
मक्ख हुँदै गए उस्को लागि जे पनि गर्दै गए
तब म झस्किए एकदिन कठघरामा उभायो।
४.
हेर्दा मात्र राम्रो झलमल शहर मन परेन
चारैतिर सधैं कोलाहल शहर मन परेन।
सुन्दर शान्तछ मेरै गाउँ बस्ती भिर पाखा
सुख सम्पन्न यो समथल शहर मन परेन।
५.
भेट हुनै छोड्यो सम्बन्धको पुल भत्केपछी
जोड्न खोज्दा जाने बाटै मुल भत्केपछी
खै कस्तो हुरि चल्यो वार पार बनाइदियो
सुमधुर प्रेमको रङ्गिन तुल भत्केपछी।
बेलका न. पा. उदयपुर
मकवानपुर । मकवानपुरकाे मनहरीमा भएकाे सवारी दुर्घटनामा १ जना घाइते भएका छन् । हेटौंडा–नारायणगढ सडकखण्डअन्तर्गत मनहरीकाे रजैयामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकल चालक कैलाश गाउँपालिका–८ का ३२ वर्षीय सुरेश मोक्तान गम्भीर घाइते भएका हुन् ।
सोेमबार राती ९ बजेर ४५ मिनेटको समयमा मनहरीबाट हेटौंडातर्फ आउँदै बा प्र ०२–०३१ प ५९०० नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट जाँदै गरेको युपी ५२ बीबी ९९०० नम्बरको भारतीय कारले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका मोक्तानलाई उपचारको क्रममा चुरेहिल ल्याइएको थियो ।
घाइतेको अवस्था जटिल भएपछि सीएमसी अस्पताल रिफर गरिएकाेमा मोक्तानको सीएमसीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने कार र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । बकैया गाउँपालिकाका ६० जना नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेमा गाउँपालिकाकाे अध्यक्ष पदकाे प्रत्यासी लक्ष्मी जिम्बासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ६० जना गरेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संघको केन्द्रीय सदस्यसमेत रहेकी जिम्बासहित नवप्रवेशीहरुलाई कांग्रेस केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन् ।
नवप्रवेशीहरुमा राप्रपाका जिल्ला सदस्य अर्जुनप्रसाद तिमल्सिना, राप्रपा बकैयाका सचिव गोवर्धन गौतम, सहसचिव सुदजराज ढकुरी, कोषाध्यक्ष बलराम लामिछाने, गाउँ समिति सदस्यहरु सुवास राई, सोमबहादुर राई, डक्बर बहादुर भोम्जन, रामप्रसाद दाहाल, लक्ष्मण राई, स्यामकुमार राई, कृष्णबहादुर शाही लगायत राप्रपाको महिला, युवा तथा अन्य भातृ संगठनका सदस्यहरु रहेका छन् ।
पार्टी प्रवेश कार्यक्रम सम्बाेधनकाे क्रममा नवप्रवेशीहरुलाई बधाई दिँदै कांग्रेस केन्द्रीय सदस्य डीनाले आसन्न स्थानीय तहको निर्वाचनका लागि तयारीमा जुट्न लागिपर्नुपर्ने बताइन् । उनले भनिन् जनताको बीचमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने वातावरण बनाउन सबैको भूमिका महत्वपूर्ण हुनेछ ।
त्यस्तै बागमती प्रदेश सभापति बानियाँले नवप्रवेशीहरुलाई पनि विभेद नगरी समान अवसरको वितरण गरिने बताए । उनले जनताको हितमा काम गर्न इच्छा र लगनशीलता देखाउनेलाई कांग्रेसले समान अवसर दिँदै उनीहरुलाई पार्टी तथा देश र जनताप्रति थप जिम्मेवार बनाइने प्रतिवद्धता व्यक्त गरे । बानियाँले राप्रपाका पूर्व केन्द्रीय अध्यक्ष कलम थापाको राजनीतिक भविष्य समाप्त भइसकेको समेत बताएका छन् । उनले भने,‘आफू केन्द्रीत राजनीति गर्ने, म भए हुने नभए नहुने भन्ने स्वार्थबाट ग्रसित मानसिकताले राजनीति चल्दैन ।’
कांग्रेस प्रवेश गरेसँगै नेतृ जिम्बाले आफू जनताको सेवा गर्नका लागि राजनीतिमा लागेको र सोही अनुसारको जिम्मेवारी दिन आग्रह गरिन् । कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णु लामिछाने, प्रवक्ता प्रदीप कोइराला, संघीय सभापति दामोदर खनाल, क्षेत्रीय सभापति सुशान्त श्रेष्ठ, सचिव भूमिनन्द गौतमलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । हेटाैडामा भएकाे सवारी दुर्घटनामा १ जनाकाे मृत्यु भएकाे छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा ९ पशुपतिनगरमा सवारी दुर्घटना हुँदा हेटाैडा १ चाइनाक्वाटरका अर्जुनप्रसाद घिमिरेकाे मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासका अनुसार सोमबार दिउँसो वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ६१७० नम्वरको बसले विपरित दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ९३६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियाे ।
दुर्घटनामा परी गम्भीर घाइते भएका घिमिरेकाे हेटौंँडा अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ । ठक्कर दिने बसको चालक फरार रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।