मकवानपुर । हेटाैंडाका २ विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरिएकाे छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा कार्यालयले आफ्नाे वडामा रहेका २ विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेको हाे ।
वडा कार्यालयले ज्ञानदा माध्यमिक विद्यालय र संस्कृत वेद विद्यालयका विद्यार्थीलाई मंगलबार सहयोग स्वरुप पोशाक र शैक्षिक सामग्री वितरण गरेकाे छ । करिव २ लाख २६ हजार रुपैयाँको स्वेटर, पोशाक, जुत्ता र १ लाख रुपैयाँको शैक्षिक सामग्री विद्यालयलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष कितापसिं लामाले जानकारी दिए । यसैगरी शैक्षिक सत्र २०७७ अन्तर्गत ज्ञानदा माविले नेपाल सरकारबाट प्राप्त गरेको ४४ हजार रुपैयाँको छात्रवृत्ति वितरण गरेको छ । ईसिडिदेखि कक्षा १० सम्मका कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको छ ।
वडा अध्यक्ष लामाको सभाध्यक्षता तथा विद्यालयका पूर्व अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्रप्रसाद नेपाल, वडा सदस्य धर्म बस्नेत, साधना श्रेष्ठ, उमा सुनुवार र प्रधानाध्यापक रमेश सुवेदी लगायत शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेकाे छ । लागुऔषध ओमरेक्स २० बोतलसहित २ जना र लागुऔषध २ किलो ८ सय ग्राम गाँजासहित १ जना गरी ३ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेका हाे ।
ओमरेक्स २० बोतलसहित हेटौंडा–२ का ४० वर्षीय नमोरत्न मानन्धर र हेटौंडा–८ कमानेका १८ वर्षीय अभिषेक मोक्तानलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । त्यसैगरी गाँजा २ किलाे ८ सय ग्राम सहित हेटौंडा–३ बसामाडीका ३३ वर्षीय अशोक विश्वकर्मालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
सोमबार बेलुका पाँच बजेको समयमा विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ स्थित एक खाजाघरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको लागुऔषध ओमरेक्स र २० ग्राम गाँजासहित मानन्धर र मोक्तानलाई पक्राउ गरिएकाे हाे । पक्राउ परेका दुवैजनालाई मंगलबार जिल्ला अदालत मकवानपुरबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
सोमबार दिउँसो १ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले विश्वकर्माकाे घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी उनलाई पक्राउ गरको प्रहरीले जनाइएको छ । उनलाई गाँजासहित नियन्त्रणमा लिइ मंगलबार जिल्ला अदालत मकवानपुरबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता रिमालले बताए ।
मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा सामुदायिक आँखा केन्द्र उद्घाटन गरिएकाे छ । मनहरी गाउँपालिकाको आर्थिक र हेटौडा सामुदायिक आंखा अस्पतालको प्राविधिक सहयोगमा आँखा केन्द्र स्थापना भइ उद्घाटन गरिएकाे हाे । गाउँपालिका अध्यक्ष एकराज उप्रेती र नेपाल आँखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले केन्द्रको उद्घाटन गरेका हुन् ।
नेपाल रेडक्रश सोसाईटी मनहरी उपशाखा र सामुदायिक आंखा अस्पतालको समन्वयमा यस अघी साप्तााहिक रुपमा संचालित आँखा केन्द्रलाई गाउँपालिकाको समन्वयमा दैनिक रुपमा संचालन गर्ने गरी केन्द्र स्थापना गरिएकाे हाे । गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले आँखा स्वास्थ्य सेवाको विकास गर्न मनहरी गाउँपालिका सहयोग गर्न तत्पर रहेको बताए ।
नेपला आंखा कार्यक्रमका कार्यकारीणी सदस्य सिद्धिलाल श्रेष्ठले तिलगंगा सदैव अन्धोपन निवारणकोलागि लागि परिरहेको र मकवानपुरमा पहिलो पटक आँखा स्वास्थ्यको सेवा मनहरीबाट शुरु गरेको बताए । केन्द्र उद्घाटनकाे अवसरमा श्रेष्ठले आफ्नो बुबाको स्मृतिमा स्थापित संस्था पञ्चसिद्धि फाउण्डेशन मार्फत २५ जना विपन्न बिरामीहरुलाई निशुल्क मोतिविन्दुको शल्यक्रिया गर्न सहयोग गर्ने बताए ।
गाउँपालिकाले २ जना कर्मचारी र भवनको भौतिक सुधार गर्ने भएकाे छ । आँखा केन्द्रका लागि होण्डाई मोटर फाउन्डेसन र योङसाई विश्वविद्यालय दक्षिण कोरियाले २० लाख रुपैयाँ बराबरको उपकरण उपलब्ध गराएको छ । योग्सी युनिभर्सिटी र चुगंमुगं कोग कोरीयाबाट उपकरणहरुको सहायोगमा सामुदायिक आंखा केन्द्र सचालित छ ।
मनहरी गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको २ महिनापछि आँखा केन्द्र नियमित रुपमा सञ्चालनमा आएको हो । अस्पताल प्रमुख डा. सुनिल थकाली र गाउँपालिकाका अध्यक्ष उप्रेतीले २ महिनाअघि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
आँखा केन्द्र उद्घाटन कार्यक्रममा तिलगंगा आंखा कार्यक्रममा प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारी, बाह्य कार्यक्रम प्रबन्धक डा. मोहनकृष्ण श्रेष्ठ, मनहरी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष ठाकुर तितुङ लगायतकाे उपस्थिति रहेकाे थियाे । यसअघि हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरको बागमती गाउँपालिकामा पनि आँखा केन्द्र सञ्चालनमा ल्याएको छ ।
उत्सव चौलागाईं
तिमीले मलाई गरेको माया देखेर
आजकाल त
परेवाको जोडी पनि डाहा गर्न थाल्छन् ।
जब गरुङ्गो मन लिएर
गन्तव्यहीन यात्रा गर्दै थिएँ
बाटोमा फुल्दै गरेको
फूलले मुसुक्क मुस्कुराए जस्तै
जब पहिलो भेटमा
तिम्रो मुस्कान मेरो मुस्कानमा
मिसिएको आभास हुन्थ्यो ।
सुस्तरी- सुस्तरी मुस्कुराउँदै
तिमीलाई हेर्दै
पवनसरि एउटै वेगमा बहेका
ती प्रेमिल पलहरू
अहिले पनि
सम्झिरहेछु म ।
अहिले त
तिमी र म
म र तिमी
जबसँगै हुने छौंँ
त्यतिखेर
मायाको हिउँ पग्लिएर
बग्ने छ नदी
अनि हामीले अनन्त
सागर भेट्ने छौँ
जहाँ भावनाका करोडौँ मोतीहरू
हाम्रो स्वागतार्थ उभिएका हुन्छन् ।
तिमी जहिले पनि
मनको खुशी पस्केर
बिहान-बेलुका गाँस कुर्छौ
आफ्नो आँखाभरि
गुलाफ फुलाउँदै
बाटोभरि छर्छौ र
मेरो बाटो हेरिरहन्छौ ।
मेरो मन उड्छ
सिमलको भुवा जस्तै
जब मेरो मनको राजा
तनमा आइपुग्छ
प्रेमको कैलाशमा बसेर
ध्यान जब गर्छौ
त्यतिखेर
जीवनको मिठो सङ्गीत
मन भित्र पस्छ ।
हेटाैडा, मकवानपुर
मकवानपुर । हेटौंडामा आइतबार अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरिएको छ । नेकपा एकीकृत समाजवादीमा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा हेटौंडामा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरिएको हाे ।
पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर एमसीसी सम्झौता विरोधका कार्यक्रम भएका छन् । राष्टिय कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । हेटौंडाको शितलमहलचोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सिमाचोकमा पुगेर सभामा परिणत भएको थियाे । सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी सम्झौता कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अघिल्लाे सरकारले संसदबाट पास गर्नुपर्ने गरी एमसीसी सम्झौता गरेर राष्ट्रघाती काम गरेकाले यो परियोजना कुनै हालतमा कार्यान्वयन गर्न नहुने बताए उनले बताए।
यस्तै, अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताए । विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पाख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो ।
विरोध प्रदर्शनमा सहभागीहरुले ‘देश बेच्न पाइँदैन, एमसीसी चाहिँदैन’, ‘सहयोगको नाममा दासत्व स्वीकार्य छैन’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।