मकवानपुर । प्रथम प्रदेश खेलकुद प्रतियोगिताको हेटाैंडामा उद्घाटन गरिएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रथम खेलकुद प्रतियोगिताको शनिबार हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा एक समारोहबीच उद्घाटन गरेका हुन् ।
प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना हुने प्रथम खेलकुद प्रतियोगिताको मुख्यमन्त्री पाण्डेलेओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका हुन् । शनिवार उद्घाटन गरिए पनि प्रतियाेगिता अन्तरगतका खेलहरु फागुन २९ गते आइतबारबाट सुरु हुने भएकाे छ । उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न तामाङ, नेवाः, थारु समुदायले आफ्नो झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रम भव्य प्रस्तुत तथा प्रदर्शनी गरिएकाे थियो ।
कार्यक्रममा पिप्ले क्याम्पा रंगशाला निर्माणमा योगदान गरेका पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए ।

प्रतियोगिता मकवानपुरसहित चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक गरी ५ जिल्लामा विभिन्न खेलको आयाेजना हुनेछ । मकवानपुरकाे हेटाैडामा फागुन २९ गते आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल सुरु हुने छन् । प्रतियाेगिता अन्तरगत सिन्धुपाल्चोकमा चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखि एथलेटिक्सका खेल हुने छ । त्यस्तै, काभ्रेमा चैत्र ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने बताइएकाे छ ।
८ करोड ४ लाख खर्च हुने अनुमान गरिएकाे प्रतियाेगितामा बिभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउने छन् । १ हजार २ सय पुरुष खेलाडी र ९ सय महिलाले खेलाडीले प्रतियाेगितामा भाग लिने आयाेजकले जानकारी दिएकाे छ । खेलको समापन कार्यक्रम चैत्र १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।
मकवानपुर । नेवार समुदायको साझा संस्था नेवा देय् दबुको बागमती प्रदेश अध्यक्षमा विष्णुगोपाल महर्जन निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न प्रथम अधिवेशनबाट मकवानपुरका महर्जनको अध्यक्षतामा २७ सदस्यीय समिति सर्वसम्मत निर्वाचित भएको हो ।
यसैगरी दबुको वरिष्ठ उपाध्यक्ष चन्द्रलाल मानन्धर (रामेछाप), उपाध्यक्ष उपेन्द्र प्रधान (दाेलखा) र सुशीला श्रेष्ठ (सिन्धुली), प्रमुख सचिव बद्रिमान श्रेष्ठ (चितवन), सचिव दिलकुमारी श्रेष्ठ (चितवन) र गणेश कुमार श्रेष्ठ ( मकवानपुर), कोषाध्यक्ष विजयराज बज्राचार्य (मकवानपुर) चयन भएका छन् ।
यस्तै सदस्य बाबुराज श्रेष्ठ, सुशीला श्रेष्ठ, सिर्जना श्रेष्ठ (दोलखा), हर्षबहादुर श्रेष्ठ र कालिदास श्रेष्ठ (सिन्धुली), विष्णुनारायण श्रेष्ठ, बाबुकृष्ण श्रेष्ठ, भरतकुमार श्रेष्ठ र सन्जु श्रेष्ठ (धादिङ) सर्वसम्मत चयन भएका छन् । यसैगरी तिलमाया श्रेष्ठ, दल बहादुर श्रेष्ठ (रामेछाप), निराजन गोपाली (मकवानपुर), राजेन्द्र महाजु (काभ्रे), सरिता श्रेष्ठ, गोविन्दकृष्ण श्रेष्ठ (चितवन), ज्ञानेन्द्र श्रेष्ठ, शुक्रकुमार श्रेष्ठ, रामकृष्ण श्रेष्ठ र दिलिप कुमार श्रेष्ठ (सिन्धुपाल्चोक) प्रदेश समितिको सदस्य चयन भएका छन् ।
शनिबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन गर्दै श्रेष्ठले भाषाकाे संरक्षण र प्रयोग गर्न समुदाय सचेत हुनुपर्ने बताए । संयुक्त राष्ट्रसंघको सदस्यता लिने क्रममा नेपालले मौलिक भाषाको रुपमा नेवारी भाषा र मौलिक लिपीको रुपमा रञ्जना लिपीलाई स्वीकार गरिसकेकोले नेवारी भाषा र लिपीको संरक्षण गर्नु अझ महत्वपूर्ण भएको उनले बताए ।

नेवा देय दवु बागमती प्रदेश समितिका अध्यक्ष उमेश स्थापितको अध्यक्षतामा भएकाे अधिवेशनमा बागमती प्रदेशका १० जिल्लाका प्रतिनिधिको सहभागिता रहेकाे थियाे । अधिवेशनको अवसर मै शनिबार बिहान नेवारी बाजा, लाखे नाचसहित प्रभातफेरी गरिएको थियो । हेटौंडा–२ स्थित मन्त्र रेष्टुरेन्टबाट निस्किएको प्रभातफेरी संगमचोक, हरिकुञ्जरोड, कान्तिराजपथ, पारिजातपथ, स्कूलरोड, टिसिएनरोड, बसपार्क, राप्तीरोड, बुद्धचोक, मेनरोड, पिपलबोट चोकहुँदै पुनः अधिवेशन आयोजनास्थल मन्त्र रेष्टुरेन्टमा पुगेर समापन गरिएको थियो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा लगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरगढी गाउँपालिकाकाे सुकाैरामा पार्टीकाे वडा कार्यालय स्थापना भएकाे छ । नेकपा एमाले गढी गाउँपालिका वडा नं ७ सुकौराको पार्टी कार्यालय उद्घाटन गरिएको छ ।
नेकपा एमाले जिल्ला कमिटीका सचिव नवीन सिग्देलले शुक्रवार सुकौराको दमारमा पार्टी कार्यालय उद्घाटन गरेका हुन् । पार्टी कार्यालय उद्घाटन पछी बाेल्दै सिग्देलले नेकपा एमालेको विकल्प अरू कुनै पार्टी हुन नसक्ने बताए । उनले जनताको दुख र पीडामा सधै एमाले उभिएको बताए । पार्टीको सम्पूर्ण कार्यकर्ता र कमिटीले बैशाख ३० गते हुने निर्वाचनलाई केन्द्रविन्दु बनाउने भन्दै जनताको अध्याधिक मतले एमाले अनुमोदन हुने सचिव सिग्देलले दावी गरे ।
कार्यक्रममा नेकपा एमाले जिल्ला सचिवालय सदस्य मेम्बर लो, जिल्ला सदस्य कुमार केसी, पूर्व जिल्ला सदस्य वीरबहादुर रूम्बा, अनेकिमहासंघका जिल्ला अध्यक्ष विष्णु दंगाललगायतले मन्तव्य राखेका थिए । त्यस्तै गाउँपालिकाका सदस्यहरू एकाबहादुर गोले, नानीमैया थिङ्ग, सिंघबहादुर मुक्तान, पूर्णबहादुर रूम्बाको उपस्थिति रहेको वडा सचिव रामबहादुर स्यनङ्तानले बताए । कार्यक्रम वडा कमिटीका अध्यक्ष मानबहादुर घलानको अध्यक्षतामा भएको हो ।
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा दम्पतीले मृत्युपछि शरीर दान गर्ने घोषणा गरेका छन् । प्रमुख शर्मा र उनकी श्रीमती उर्मिला शर्मा चौलागाईंले मृत्यु पछि शरीर दान गर्ने मन्जुरीपत्रमा हस्ताक्षर गरेका हुन् । ललितपुरको ग्वार्को बसोबास गर्दै आएका ६६ वर्षिय शर्मा दम्पतीले ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजलाई मृत्युपछि आफ्नो शरीर दान गर्ने निर्णय गरेका हुन् ।
चिकित्सा विज्ञान अध्ययन गर्ने विद्यार्थीको पढाईका लागि उपयोगी होस् भनेर आफूहरुले मृत्युपछि शरीर दान गर्ने निर्णय गरेको प्रदेश प्रमुख शर्माले बताए । विगत ८ वर्षदेखि आफ्नो मुटुमा पेसमेकर राखिएकाले सो बारेमा विद्यार्थीहरुलाई अध्ययनका लागि उपयोगी होस् भन्ने अपेक्षाले मृत्युपछि शरीर दान गर्ने निर्णय लिइएको प्रमुख शर्माको भनाई छ ।
मृत्युपछिको शरीर दान गर्नका लागि आवश्यक प्रकृया केही समयअघि देखि थालेपनि हिजो शुक्रबार आवश्यक कानूनी प्रकृया पूरा भएको प्रमुख शर्माले बताए । मृत्युपछि दान गरिएका शव चिकित्सा विज्ञानमा परीक्षणका लागि उपयोगी हुने भएकाले इच्छुक व्यक्तिले शरीर दान गर्नसक्ने किस्ट मेडिकल कलेज प्रशासन शाखाकी सरिता हाडाले जानकारी दिइन् ।
चिकित्सा विज्ञान पढ्ने विद्यार्थीको प्रयोगात्मक पढाईका लागि वेवारिसे शवमा भर पर्नु पर्ने अवस्थामा मृत्युपछि शरीर दान गर्न इच्छा राख्नेबाट विद्यार्थीलाई अध्ययनका लागि सहजता हुने मेडिकल कलेजका प्राध्यापकहरुको भनाई छ । नेपालमा मृत्युपछि शरीर दान गर्ने प्रावधान २०७५ साल भदौ १ गतेबाट सुभारम्भ भएपछि अहिले विभिन्न क्षेत्रका व्यक्तित्वले मृत्युपछि शरीर दान गर्न इच्छा राखेको आफूहरुकोमा निवेदन दिएको हाडाले बताइन् ।
मकवानपुर । बकैया गाउँपालिकाकाे हात्तीसुडेमा सार्वजनिक पुस्तकालय स्थापना हुने भएकाे छ । पुस्तकालय अभियान समूह मकवानपुरको समन्वयमा बकैया ३, हात्तीसुँडेमा हात्तीसुँडे सार्वजनिक पुस्तकालय स्थापना गरिने भएको हाे ।
बकैया कला–साहित्य महोत्सव–२०७८ उद्घाटन समारोहमा पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनाका लागि शुक्रबार ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गरेको छ । पुस्तकालय अभियान समूहका सदस्य प्रताप विष्टले बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल र ३ नम्बर वडा अध्यक्ष दिलबहादुर भोम्जनलाई पुस्तक हस्तान्तरण गरेका छन् । पुस्तक ग्रहण पछी वडा अध्यक्ष भोम्जनले वडा कार्यालयमै अथवा उपयुक्त स्थानमा पुस्तकालय स्थापना गरिने बताए ।
कार्यक्रममा पुस्तकालय अभियान समूहको विषयमा पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले जानकारी गराएका थिए । पुस्तकालय स्थापनाका लागि झरना साहित्यिक परिवारले पनि आवश्यक सहजीकरण गर्ने भएकाे छ । महोत्सवकै अवसरमा पुस्तकालय स्थापनाका लागि पहल गरेको साहित्यिक परिवारले पुस्तक संकलनको कार्य समेत गरेको छ । पुस्तकालय अभियान समूह र गाउँपालिकासँग समेत समन्वय गरी पालिकाका सवै वडामा पुस्तकालय स्थापना गर्ने लक्ष्य लिइएको झरनाका अध्यक्ष दीपक गौतमले जानकारी दिए ।
पुस्तकालय अभियान समूहले यस अघी १३ वटा पुस्तकालय स्थापना गरिसकेको श्रेष्ठले बताए । यसअघि बकैया गाउँपालिकाको ४ र ७ नम्बर वडामा पनि अभियान समूहले पुस्तकालय स्थापना गरिसकेको छ । हात्तीसुँडे सार्वजनिक पुस्तकालयका लागि पुस्तक खरिद गर्न हेटौंडा–४ स्थित हेटौंडा क्याम्पसले आर्थिक सहयोग गरेको हो ।