मकवानपुर । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले प्रदेश सरकारलाई सफल बनाउन कर्मचारी लगनशील भएर काम गर्नु बताएका छन् । उनले सबै कर्मचारीहरुलाई नतिजा देखिने गरि काम गर्न निर्देशन दिएका छन् । कर्मचारीहरू काममा सफल हुँदा आफू पनि सफल हुने बताउँदै उनले यस्तो निर्देशन दिएका हुन् । कर्मचारी लगनशील हुंदा किसानले पनि राहत पाउने उनले बताए ।
आफू मन्त्री बनेर आएपछी ५ मिनेट पनि कुनै पनि फाइल नरोकेको बताउदै उनले अहिलेसम्म रहेका बेरुजु रकमहरु फछर्यौट गर्नका लागि आग्रह गरे । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको दोस्रो चौमासिक समिक्षामा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा कृषि विकास राज्यमन्त्री इन्द्रमायाँ गुरुङले कृषिका क्षेत्रमा योजना बनाउँदै भएकाेले यस प्रदेशबाट अन्यत्र सिक्नेगरी योजना बनाउनका लागि आग्रह गरे । सफलताबाट अरूले पाठ सिकुन भन्ने ध्येय राखेर काम गर्न उनले आग्रह गरे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले मन्त्रालयमा रहेर आफूले राम्रा काम आएमा स्वीकृत गर्ने भनेपनि राम्रा कामको माग नै नआएको बताए ।
“खाली गाडी मर्मत, इन्धनको रकम अपुग भयो भन्ने गुनासाहरु आउछन, राम्रो कामको माग नै छैन” उनले भने । बागमती प्रदेश भरका कृषि र पशु कार्यालयका प्रमुखहरुले दोस्रो चौमासिकसम्ममा गरेका कामको विवरण प्रस्तुत गर्ने मात्र नभइ आफूले आफूलाई समिक्षा गर्नका लागि पनि सचिब पाण्डेले निर्देशन दिए । के के काम भएका छन् अब के गर्छौं भन्ने कुराको योजना बनाउन पाण्डेले निर्देशन दिए । कार्यक्रममा कृषि विकास निर्देशनालय हेटौंडाका निर्देशक रविन्द्र बहादुर प्रधानले दोस्रो चौमासिकसम्म गरिएका कामको प्रस्तुतीकरण गरेका थिए ।
मकवानपुर । साहित्य सङ्गम मकवानपुरले ३ सय १७ औं साहित्य सन्ध्या पर्यटकीय तथा धार्मिक स्थल पुण्यक्षेत्र र स्मारकमा मनाएको छ । मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य सङ्गमले साहित्य सन्ध्यालाई फरक तरिकाबाट मनाउने क्रममा हेटौंडा–११ मा रहेको पुण्यक्षेत्रको जंगलमा स्थलगत रचना लेखन र वाचन गरेर मनाएको हो ।
स्मारक विकास समितिको सहयोग र समन्वयमा आयोजना गरिएको कार्यक्रममा साहित्यकारहरुले त्यहिको प्रकृतिलाई नियाल्दै लेखेका साहित्यका बिभिन्न रचना वाचन गरेका साहित्य सङ्गम अध्यक्ष अनिता न्यौपानेले बताइन् ।
कार्यक्रममा प्रसिद्धिका लम्साल, रजनी अधिकारी, इलिसा पराजुली, सम्प्रस पौडेल, गंगा सापकोटा, यमनदेव उत्प्रेरक, अनिल कोइराला, ऋत्विक केबी, कुबेर पराजुली, महेन्द्र ओझा, सावित्री ढुंगाना, स्वस्तिका दाहाललगायतले गीत, कविता, गजल र हाईकु रचना गरेर वाचन गरेका थिए । कार्यक्रमको सहजीकरण सङ्गमका कोषाध्यक्ष मनोज पोखरेलले गरेका थिए भने स्वगत मन्तव्य सङ्गमका उपाध्यक्ष सानु खनालले राखेका थिए ।
तुल्सी थापाको प्रमुख आतिथ्यतामा भएको साहित्य सन्ध्याको स्थलगत रचना लेखन कार्यक्रममा सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, गजल मञ्चका अध्यक्ष देवराज तिवारी, नेपाल लेखक संघका पूर्व अध्यक्ष विष्णु गौतम, साहित्यसेवी मुक्तीगोविन्द वैद्य, साहित्यकार जर्नादन खनाललगायतको आतिथ्यता रहेको थियो ।
साहित्य सन्ध्यामा स्मारक विकास समितिका अध्यक्ष रामचन्द्र न्याैपाने, बालजागृति बाेडिङ्ग स्कुलका प्रमुख विनाेद सुवेदी, एनएस टेलिभिजनका महेन्द्र ओझा, साहित्य सङ्गम मकवानपुरका कार्यसमिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्यादी प्रहरीका लागि मकवानपुरमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरकाको अनुसार १ हजार ३ सय २२ जना म्यादी प्रहरीका लागि आह्वान गरिएको भर्ना आवेदनमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका हुन् ।
आवेदन दिनेहरुमा २ हजार ५ सय ९६ जना पुरुष र १ हजार १ सय ४१ महिला रहेका छन् । गएको चैत ६ गते आईतबार देखि ११ गते शुक्रबार साँझ सम्म आवेदन दिने समय रहेकोमा ३ हजार ७ सय ३७ जनाले आवेदन दिएका मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
रिमालका अनुसार आवेदकहरुको चैत १५ गतेबाट २२ गतेसम्म छनोट प्रक्रिया हुने र चैत २८ गतेबाट प्रशिक्षण सुरु हुनेछ। निर्वाचन अघि र पछि केहि समयको लागि समेत गरि ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । म्यादी प्रहरीले प्रहरी जवानसरह सुविधा पाउनेछन् ।
म्यादी प्रहरीले दिनको ७ सय ५६ रुपैयाँका दरले तलब पाउँनेछन् । ४० दिनको ७ हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र १ हजार रुपैयाँ यातायात खर्च गरेर ४४ हजार रुपैयाँ प्राप्त गर्ने कार्यबिधि रहेको छ ।
डीएम अमर महतरा
झुपडी नहुने लाई हेर महलको रहर छ ।
के सोध्नुहुन्छ मित्र मेरो पुरानै खबर छ ।
मलाई भेट्न आउनेले, खवर लिएर आउनु,
तपाई आउने बाटोमा मेरी प्रियाको घर छ ।
छोडेर जानेलाई किन चिन्ता कहाँ जान्छौ भनी,
भो आँखामा आँशु नलेउ मेरो आफ्नै सफर छ ।
सुख छ सयल छ यश आरम त्यसै भैहाल्छ,
नसुन मेरो कहानी पानी बिनाको बगर छ ।
मन हुनेले हो बारम्बार सम्झने भनेको प्रिया,
त्यो मन होईन तिम्रो मुटुमा बसेको पत्थर छ ।
सुर्खेत
मकवानपुर । हेटौंडा मेयर कप रेपिड बुद्धिचाल प्रतियोगिता–२०७८ को उपाधी हेटौंडाका क्षितिज भण्डारीले जितेका छन् । नेपाल खेलकुद महासंघ र बागमती प्रदेश बुद्धिचाल संघको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा काठमाडौंका मनिष हमाललाई हराउँदै भण्डारीले प्रतियोगिताको उपाधि हात पारेका हुन् ।
प्रथम भएका भण्डारीले ६ अंक प्राप्त गरी उपाधी जितेका हुन् । यस्तै, हेटौंडाका कृृष्ण थापा ५.५ अंकका साथ द्वितीय भए । यस्तै, झापाका प्रकाश चन्द्र नेपालले पनि ५.५ अंकका साथ तृतीय भए । भण्डारीले उपाधी विजेता बन्दै नगद ५० हजार रुपैयाँ हात पारेका छन् । द्वितीय स्थानमा रहेका थापाले नगद २५ हजार रुपैयाँ हात पारे । तृतीय भएका चन्द्रले नगद १५ हजार रुपैयाँ हात पार्न सफल भए ।
यस्तै, चौँथो भएका सुमन श्रेष्ठ र पाँचौ भएका मनिष हमालले समान ५–५ अंक प्राप्त गरे । दुबै जनाले नगद १०–१० हजार रुपैयाँ हात पारे । यस्तै रुपेश जैसवालले ५, राजन सुवेदीले ५, श्रीकृष्ण श्रेष्ठले ५, सुस्रुत दाहालले ४.५ र आषिश फुयाँलले ४.५ अंक प्राप्त गरे । सबैले समान ७–७ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा देशभरबाट ५४ जना खेलाडी सहभागी भएका थिए ।
नेपाल खेलकुद महासंघ मकवानपुरका अध्यक्ष सविन मोक्तानको अध्यक्षता तथा बागमती प्रदेश सरकारका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल बुद्धिचाल संघका केन्द्रीय अध्यक्ष एकलाल श्रेष्ठ, केन्द्रीय महासचिव धरम लामा लगायतको आतिथ्य रहेको थियो ।