मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपहानगरपालिका कमिटिले स्थानीय तह निर्वाचन अभियान थालनी गर्ने भएकाे छ ।
नगर कमिटिको मंगलबार बसेको चौथो पूर्ण बैठकले निर्वाचन केन्द्रित कार्ययोजना पारित गरेकाे छ । कार्ययाेजना पारित गरेसँगै नेकपा एसले चुनाव केन्द्रित अभियानकाे थालनी गर्ने भएकाे हाे । बैठकले हेटौंडा उपमहानगरपालिकाको हरेक वडामा यही चैत १९, २०,२१ र २२ गतेभित्र भेला, घरदैलो, सदस्यता वितरण, चुनावका लागि स्वयंसेवक समूह गठन गर्ने लगायतका कार्ययोजना पारित गरेको हो ।
बैठकमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं राष्ट्रियसभा सदस्य गोमा तिमल्सिनाले कार्ययोजना सफलताकाे शुभकामना दिदैं एकीकृत समाजवादी पार्टी कम्युनिष्ट जोगाउने आन्दोलनमा रहेकाे बताइन् । यस्तै, एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पाख्रेलले एकीकृत समाजवादीमा लाग्नेहरु पद र पैसाका लागि नलागेकाे बताए । कम्युनिष्ट आन्दोलन जोगाउँनैका लागि पार्टी निर्वाचनमा होमिएको पाख्रेल बताए ।
बैठकले पार्टीको हेटौंडा उपमहानगरपालिका कमिटीको प्रचार प्रसार संयोजकमा भुपेन्द्र पराजुलीलाई जिम्मेवारी प्रदान गरेको छ । बैठक पार्टी हेटौंडा उपमहानगरपालिका कमिटीका अध्यक्ष ध्रुव बहादुर भुजेलको अध्यक्षतामा तथा जिल्ला कमिटीका उपाध्यक्ष एवं हेटौंडा उपमहानगरपालिकाका उप प्रमुख मीनाकुमारी लामाको विशीष्ट आतिथ्यता भएकाे थियाे ।
मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरले आगमी स्थानीय तह निर्वाचनकाे लागि चैत्र २५ गतेसम्म उम्मेद्वारकाे टुंगो लगाउने भएको छ ।
एमाले मकवानपुरको सचिवालय बैठकले स्थानीय तह निर्वाचन कार्यतालिका निर्माण गरी वडा समितिलाई उम्मेदवार सिफारिस गर्न सर्कुलर समेत जारी गरेकाे छ । पार्टी वडा कमिटीले निर्णय गरी वडा अध्यक्ष सहित सदस्यको उम्मेद्वार जिल्ला कमिटिलाई सिफारिस गर्ने छ भने पालिकाले निर्णय गरी जिल्ला कमिटीलाई प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्षको उम्मेद्वारकाे सिफारिस गर्ने एमाले मकवानपुर सचिव नविन सिग्देलले बताए ।
पार्टीकाे निर्वाचन कार्यतालिका अनुसार गाउँपालिका वडा कमिटिको बैठक आगामी चैत्र २३ र २४ गते तथा पालिका बैठक २५ गते तय भएको छ । त्यसैगरी जिल्ला कमिटी बैठक चैत्र २९ गते बस्ने तय गरेकाे सचिव सिग्देलले जानकारी दिए । जिल्ला कमिटिले प्रदेश कमिटिलाई उक्त नाम अनुमोदनको लागि सिफारिस गर्ने भएकाे छ ।
बैठकमा पार्टीलाई स्थानीय तहमा विजयी बनाउनको लागि सबै जनसंगठनहरुलाई निर्वाचन केन्द्रीत कार्यक्रमहरुमा परिचालन गर्ने, मतदाता नामवलीको अध्ययन गर्ने, मतदाता शिक्षा कार्यक्रमलाई प्रत्येक वडामा लागु गर्ने लगाएको निर्णय भएकाे सचिव सिग्देलले बताए ।
मकवानपुर । मकवानपुर प्रहरीले २ क्विन्टल ६५ केजी गाँजा सहित ५ जना पक्राउ गरेको छ ।
आईतबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले चौकिटोलमा सवारी साधान चेकजाँच गर्ने क्रममा भैसेबाट हेटौंडा तर्फ आउदै गरेको प्र ३-०१-०२३ च ५६४० नंंबरको पिकअप गाडिमा लुकाई छिपाई ल्याएको लागू औषध गाँजा १ सय ६५ किलो ८ सय ग्राम सहित १ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा मकवानपुर हेटौंडा १३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यसैगरि,सोमबार ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्तीको क्रममा मनहरी ६ स्थित लोथर खोला हुदै खयरघारी तर्फ शंकास्पद रुपमा पिढ्युमा बोकेको बोरा सहित ४ जनालाई १ सय किलो गाँजा सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला धादिङ रोराङ्ग गाउँपालिका वडा नंबर २ बस्ने ३० वर्षीय मान बहादुर चेपाङ्ग,सोहि ठाउँका ३९ वर्षीय सन्त बहादुर चेपाङ्ग,मकवानपुर मनहरी गाउँपालिका वडा नंबर ३ बस्ने ५३ वर्षीय बुद्धी बहादुर थिङ्ग र जिल्ला चितवन राप्ती नगरपालिका वडा नंबर ११ बस्ने वर्ष ५५ को सञ्च बहादुर थिङ्ग रहेका छन् ।
पक्राउ परेकाहरु माथि आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । निर्वाचन आयोगले मकवानपुरसहित देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी ७७ जना मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ जना निर्वाचन अधिकृत तोकेको हो । आयोगले मकवानपुर जिल्लामा १ मुख्य निर्वाचन अधिकृत र ९ निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले जिल्ला सदरमुकाम रहेका स्थानीय तहमा सम्बन्धित जिल्ला अदालतको जेष्ठतम न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्ला सदरमुकाम रहेका हेटौंडा उपमहानगरपालिकामा जिल्ला अदालत मकवानपुरका न्यायाधिश डिल्लीरत्न श्रेष्ठलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।
यसैगरी बाँकी ९ स्थानीय तहमा जिल्ला न्यायाधीश, न्याय सेवाका उपसचिवहरु र निजामती सेवाका उपसचिवहरु रहने गरी निर्वाचन अधिकृत तोकेको हो । ताेकिएका निर्वाचन अधिकृतमा थाहानगरपालिमा जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तिर्थराज भट्टराई, मकवानपुरगढी गाउँपालिकामा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका उपसचिव नारनप्रसाद पोखरेल, बकैया गाउँपालिकामा जिल्ला समन्वय समिति मकवानपुरका समन्वय अधिकारी आनन्दराज पोखरेल रहेका छन् ।
त्यस्तै, इन्द्रसरोवर गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मुरारी वस्ती, कैलाश गाउँपालिकामा सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता मुकुन्दहरी पौडेल, बागमती गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाका हरिप्रसाद उपाध्याय, भीमफेदी गाउँपालिकामा सामाजिक विकास मन्त्रालयका अधिकृत दशाैं तहका रुद्रहरी भण्डारी, मनहरी गाउँपालिकामा शिक्षा विकास निर्देशनालय हेटाैडाका निमित्त निर्देशक पूर्णबहादुर दर्जी र राक्सिराङ गाउँपालिकामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका उपसचिव सागर मिश्रलाई तोकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आगामी चैत मसान्तदेखि बैशाख २ गतेभित्र यी सबै निर्वाचन अधिकृतलाई अभिमुखीकरण तालिम पनि दिने भएको छ । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।
यसैबीच विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेकाे खबर आजकाे राजधानी दैनिकमा प्रकाशित छ । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबै स्थानीय तह र जिल्लामा प्रमुख निर्वाचन अधिकृत र अधिकृत निर्धारण गरी सूचनासमेत जारी गरिसकेको छ ।
७७ जिल्लामा प्रमुख निर्वाचन अधिकृतको रूपमा न्यायाधीशलाई जिम्मेवारी दिइएको छ भने ६ सय ७६ जनालाई विभिन्न स्थानीय तहमा निर्वाचन अधिकृतको रूपमा जिम्मेवारी दिइएको छ । तर, त्यसरी जिम्मेवारी दिइएका र हाल कमाउ अड्काका रूपमा रहेका वैदेशिक रोजगार विभाग, मालपोत कार्यालय, वैदेशिक रोजगार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयमा रहेका उपसचिवस्तरका कर्मचारी भने निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेकाले समस्या आएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मकवानपुर । बागमती प्रदेशका ५ जना किसान पुरस्कृत भएका छन् । हेटौंडामा भएको कृषि विकास निर्देशनालय तथा पशुपन्छी विकास निर्देशनालयको चौमासिक प्रगति समिक्षा गोष्ठीमा राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट बागमती प्रदेशका ५ जना किसानलाई नगद सहित पुरस्कृत गरिएको छ ।
राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत प्रथम हुने चेतना कृषि तथा पशुपन्छी फर्म धादिङका युद्धप्रसाद न्यौपानेलाई नगद ५० हजार रुपैँया सहित पुरस्कृत गरिएको हो । द्वितीय हुने दिदी बहिनी कृषि फर्म भक्तपुरकी गिता रिजाललाई नगद ४५ हजार, तृतीय हुने थाहा पौरखी कृषि प्रा.लिकी बरी बललाई नगद ४० हजार सहित पुरस्कृत गरिएको थियो । यस्तै चौथो हुने कामना फलफुल बहुउदेश्यिय नर्सरी फर्म रामेछापलाई नगद ३५ हजार र पाचौं हुने न्यू महाङ्काल कृषि फर्म काभ्रेलाई नगद ३० हजार सहित पुरस्कृत गरिएको थियो ।
प्रदेशका सबै जिल्लाका कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्र मार्फत प्रत्येक जिल्लाबाट ३ जनाको दरले ३७ जना कृषकहरुको प्रस्ताव कृषि विकास निर्देशनालयले सङ्कलन गरेको थियो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरणकुमार पाण्डेको नेतृत्वको प्रदेशिक समितिले उत्कृष्ट ५ जना कृषकहरुलाई पुरस्कृत गर्न छनोट गरेको थियो ।