मकवानपुर । साविक विजेता विभागीय टाेली त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनी क्लब एभेनिर एफसी डोउलालाई सडन डेथमा पराजित गर्दै आर्मी क्लब फाइनलमा प्रवेश गरेको हाे ।
खेलको ४९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । तर, आर्मी अन्तिम समयमा सम्हालिन नसक्दा गोल खान पुगेको थियो । जिकाले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दा खेलकाे निर्धारित समय बराबरीमा सकिएकाे थियाे । रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको हो ।
टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, सिमन्त थापा मगर र दिनेश हेन्जनले गोल गर्न सफल भए । कमल बहादुर थापाको प्रहार पोलमा लाग्दै बाहिरिदा सन्तोष केसीले गोल गर्न सकेनन् । टाइब्रेकरमा ३–३ गोलको बराबरीपछि खेल सडनडेथमा लम्विएको थियो । सडन डेथमा आर्मीले एभेनिरलाई ११–१० ले पराजित गर्दै फाइनलमा स्थानीय टोली विजय युथ क्लबसँगको भेट पक्का गरेको हो ।
सडन डेथसम्ममा ११–११ जनाले पेनाल्टी प्रहार गर्दा ८–८ गोलको बराबरी भएको थियो । त्यसपछि आर्मीले तीनै पेनाल्टीमा गोल गर्दा एभेनिरको अन्तिम पेनाल्टी सदुपयोग हुन नसक्दा आर्मी विजेता बन्दै फाइनलमा पुग्न सफल भयो । सडन डेथमा युद्ध शाही, विकेश कुथु, सुरज बस्नेत, विमल पाण्डेय र भरत खवासले गोल गर्दा जितेन्द्र कार्कीले गोल गन सकेनन् । त्यसपछिको टाइब्रेकरमा दीपक गुरुङ, दिनेश हेन्जन र सिमन्त थापाले गोल गर्न सफल भए ।
अब जेठ ३० गते साेमबार हुने फाइनलमा विजय युथ र आर्मी उपाधिकाे लागि भिड्ने छन् । विजय युथले शुक्रबार विभागीय टाेली नेपाल पुलिसलाई १–० ले पराजित गर्दै फाइनल प्रवेश गरेकाे थियाे ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ । दोस्रो हुनेले १० लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल हात पार्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही २५ हजार ट्रफी प्राप्त गर्नेछ ।
मकवानपुर । सहकारी सदस्यलाई वित्तीय शिक्षा आवश्यक रहेकाे एक कार्यक्रममा बताइएकाे छ । शिक्षकहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड मकवानपुरले स्थापना दिवसकाे अवसरमा आयाेजित कार्यक्रममा उक्त कुरा बताइएकाे हाे ।
सहकारीले शनिबार १३ औँ स्थापना दिवस शुभकामना आदानप्रदान तथा सहकारी शिक्षा कार्यक्रम आयोजना गरी मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् प्रशिक्षक बद्रीप्रसाद लम्सालले सहकारीका सवै सदस्यलाई सामुदायिक वित्तीय शिक्षाको आवश्यकता रहेको बताएका हुन् । वित्तीय नियमको अज्ञानताका कारण कतिपय सहकारीका सदस्यहरुको लगानी जोखिममा परेको उनले बताए ।
‘शिक्षकहित बचत तथा ऋण सहकारी अब बहुद्देश्यीय संस्थाको रुपमा अघि बढ्नुपर्छ’ लम्सालले भने ‘सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ । सहकारीका लगानी अनुत्पादक क्षेत्रमा भइरहेकोले यसले वित्तीय जटिलता निम्तिने सम्भावना रहेकाे छ ।’
सहकारीका साधारण सदस्यहरु नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रिय समितिमा निर्वाचित लक्ष्मी गजुरेल र स्थानीय तह निर्वाचनमा बागमती गाउँपालिका वडा नं. ५ को सदस्य पदमा निर्वाचित खड्ग पुलामीलाई सम्मानसमेत गरेको छ । सहकारी अध्यक्ष सीताराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ मकवानपुरका पूर्व अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा, राष्ट्रिय परिषद् सदस्य रमेशप्रसाद लामिछाने, मकवानपुर जिल्ला अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक महासङ्घ मकवानपुरका अध्यक्ष जीधराज ढकालको उपस्थिति रहेको थियो ।
ज्योति घिमिरे
१.
कस्तो हुन्छ भविश्य समयले बताउँछ
आनिबानी सबै आचरणले जताउँछ
जिन्दगी सधैं एकनास हुन्न रहेछ हजुर,
कहिले पानीले त घामले पो सताउँछ ।
२.
मनमा छन् अनगिन्ती पिरको के कुरा
बेदनाले जकडिने जन्जिरको के कुरा
जलाउँछन् आफ्नैले चित्तामा एकदिन्,
तेरो मेरो भन्ने नश्वर शरिरको के कुरा ।
३.
दिनरात लोभमोहमा परिरहेछौँ
आशाहरु मनमा सदा भरिरहेछौँ
यो संसार रङ्गमन्च रहेछ हजुर,
आ-आफ्नो अभिनय गरिरहेछौँ।
४.
नयनबाट साउने भेल झार्नु परेको हो
उसैलाइ जिताउन आज हार्नु परेको हो
थाहै नदिइ बैगुनी मुटुभित्र पस्न थालेपछि,
काँडे तारले मनको बाटो बार्नु परेको हो।
गोदार धनुषा
मकवानपुर । तोकिएको समयमा मर्मत गरेर सरकारी स्तरबाट पुस्कार लिने दाबीका साथ थालिएको काम समय सिमाभित्र नसक्दा ३ महिना म्याद थप गरिएको छ ।
निरन्तर काम गर्दा गर्दै पनि नसकिएको भन्दै ३ महिनाको लागि म्याद थप गर्न माग गरेपछि बागमती प्रदेश सरकारले सुरुङ मार्गको मर्मत गर्ने समय सिमा थापेको हो । बाग्मती प्रदेशको राजधानी हेटौडा र मधेश प्रदेशलाई जोड्न १९७४ सालमा नेपालमा सुरुङ मार्गलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाले पूर्णता पाएको छैन ।
राजा त्रिभुवन तथा राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा नेपाली सेनाका इञ्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधि प्रयोग गरेर यो सुरुङ मार्ग खनिएको थियो । लामो समयसम्म प्रयोग र मर्मतसम्भार नभएपछि जीर्ण भएको सुरुङलाई सम्पदाका रूपमा संरक्षण गर्न बागमती प्रदेशको तत्कालीन सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अग्रसरता दिंदै बजेट छुट्याएका थिए ।
मर्मत तथा संरक्षणका लागि २०७८ साल साउनबाट पुनः निर्माण गर्न थालिएको सुरुङ मर्मतको काम अहिले अन्तिम चरणमा छ । पुनर्निर्माणका लागि माउण्टेन इन्फ्रा कम्पनीले काम गरिरहेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले ३ करोड ३६ लाख १३ हजार रुपैयाँको लागतमा पुनर्निर्माण सम्झौता गरेको थियो । करिब ५०० मिटर रहेको यो सुरुङको एकापट्टिको भाग पुरिएपछि मार्गको करिब २ सय ८० मिटर मात्र बाँकी रहेको छ ।
सुरुङ पुनर्निर्माणको काम २०७९ वैशाख १९ गते सक्ने गरी सम्झौता गरिएको थियो । तर मर्मत कार्य अन्तरगत सुरुङमार्ग अझै दोस्रो मुखमा छिचोल्न बाँकी छ । सहज रूपले आवत जावत गर्न मिल्ने गरी पुनर्निर्माण गरिएपछि सुरुङमार्गको दूरी घटेर २१५ मिटर मात्र बाँकी रहनेछ । प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा। सहदेव भण्डारीका अनुसार तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि यसको समय सीमा आगामी साउन महिनासम्म थपिएको छ ।
सुरुङ पुनर्निर्माणको काम हालसम्म ७० प्रतिशत सकिएको डा। भण्डारीले जानकारी दिए । सुरुङको चौडाइ २ मिटर ७० सेन्टिमिटर तथा उचाइ ३ मिटर ३० सेन्टिमिटर रहेको छ । सकेसम्म पुरानै स्वरूपमा मर्मत गर्न लागिएको भण्डारीले बताए ।
सन् १९७४ मा बाराको अमलेखगञ्जलाई मकवानपुरको पुरानो सदरमुकाम भीमफेदी जोड्ने सडक बनाउने बेलामा तराईबाट काठमाडौं सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको थियो । पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङमार्गको दुवैतर्फका भित्तामा हार मिलाएर ढुंगाहरू राखिएका छन्, खोपाहरू कुँदिएका छन् । सुरुङमार्ग पुनर्निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने छ ।
उक्त मार्गबाट २०२० सालसम्म सवारी आउजाउ हुने गरेको पूर्व मुख्यमन्त्री पौडेलको भनाइ छ ।
“प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूला ठूला सवारी साधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । त्यसक्रममा सुरुङमार्गको छेउमा विष्फोट गराएर भत्काइयो र त्यहीं सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो ” पौडेलले भने ।
हेटौंडाको चुरीयामाई सुरुङ मार्गले इतिहास बचाउने मात्र होइन पर्यटनको पनि प्रवद्र्धन गर्न आशा गरिएको छ । मर्मत कार्य पुरा भएपछि सुरुङमार्गका अध्ययन प्रयोजनका लागि खुल्ला गरिने छ । “यो स्थान इञ्जिनियरीङ्गको विद्यार्थीको लागि महत्वपूर्ण सावित हुनसक्छ” पौडेलले भने ।
हेटौंडा उपमहानगरको १५ नम्बर वडामा पर्ने यो स्थानमा उपमहानगरले सुरुङका डिजाइन गर्ने इञ्जिनियर डिल्लीजङ्ग थापाको अर्धकदको शालिक समेत स्थापना गरिसकेको छ ।
श्रीबहादुर केसी शैलुङ्गे
हामी हिड्ने दाेबाटाेहरुमा
हामीले चालेका खुट्किलाे हरुमा
छर्लङ्गै देखिरहेछन्
तानाशाहका पैतालाका डाेबहरु
अनि उडिरहेछन तिनैले टेकेका
पाइतालाकाे डाेबबाट बुङबुङ्ती धुलाे
त्यहीँ निस्सासिदाे धुलाेमा
खाेज्दैछाै छिचाेल्न हामी
बढ्न खाेज्दैछाै अघि
जीवनमार्ग अनि जीवनका
स- साना गाेरेटाहरु
अन्याैलमै रुमल्लिरहेछाै यत्रतत्र
कठिन अति कठिन..
हिलाम्मे त्याे बाटाे पार गर्न
समयले नेटाे काट्दा सम्म
घाम अाेरालाे लागि अस्ताउने बेलासम्म
पुग्न सकेका छैनाै गन्तव्यमा
हामिले फेर्ने स्वासमा पनि
अवाक लाग्दाे छ
तिनै तानाशाहले फेरेकाे दुषित हावा
आइरहेछ हवा्रहर्ति
अङ्ग अङ्ग हुँदै
हाम्राे शरिरभित्र प्रवेश गरिरहेछ
अपत्यारिलो गरि
नमिठाे खार अाइरहेछ
विशक्त शरीर लिएर हामी
खाेजिरहेछाै धर्तीभरि
थाहा छैन किन हाेला?
तानशाह अझैसम्म
सलाेट खादैन सगरमाथाकाे
कुम्भकर्ण र धाैलागिरी देखि लिएर
थुप्रै थुप्रै चुरे पहाड र नागवेलि डाँडाहरु
हाम्रै अघि आइ छेक्दैछन हाम्राे मार्ग
अल्मल्याउन बुनिरहेछन तानावानाहरु ।
भक्तपुर