मकवानपुर । मकवानपुर जिल्लामा पहिलो पटक रग्बीकाे मैत्रीपूर्ण खेल हुने भएको छ । मकवानपुर रग्बी संघ र चितवन रग्बी संघबीच २ मैत्रीपूर्ण खेल हुने भएको हो ।
आगामी भदौैं १० र ११ गते दुबै जिल्लाका रग्बी संघ बीच मैत्रीपुर्ण खेल खेल्ने तय भएको मकवानपुर जिल्ला रग्बी संघले जनाएकाे छ । हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने खेलमा महिला रग्बी टिम र पुरुष रग्बी दुबै टिमले मैत्रीपुर्ण खेल खेल्नेछन् । यस अघि मकवानपुरका रग्बी टिम खेलाडी चितवन र काठमाडौंमा खेल्दैै आएका थिए ।
मकवानपुरमा रग्बी खेल खेलाउन नसकेको अवस्थामा पहिलो पटक मकवानपुरमा मैत्रीपुर्ण खेल हुन लागेको जिल्ला रग्बी संघका अध्यक्ष लिला कुमार घलानले बताए । अहिले मकवानपुर रग्बी टिमले नियमित प्रशिक्षण गर्दै आएको उनले जानकारी दिए । २ जिल्लाका खेलाडीहरुबीच सुमधुर सम्बन्धकाे लागि खेल हुन लागेको घलानले बताए ।
मकवानपुर । हेटौडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेकाे एक सहकारीले आफ्नाे स्थापना दिवसकाे अवसरमा सरसफाई र रक्तदान कार्यक्रम गरेकाे छ । हेटौंडा–२ मनकामना चाेकमा कार्यालय रहेकाे प्रतिफल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले स्थापनाकाे १० औं बर्षकाे दिवसमा सरसफाई र रक्तदान कार्यक्रम गरेकाे हाे ।
सोमबार संस्थाको स्थापना दिवसको अवसरमा हेटौंडा–२ स्थित मनकामना चोक हुँदै मनकामना मन्दिर जाने बाटो हेटौंडा–५ सिँचाइ टोलसम्म सरसफाइ गरिएको छ । यस्तै, हेटौंडा–२ मकवानपुर बहुमुखी क्याम्पस अगाडी, वनस्खण्डी गेट, मनकामना चोकलगायतका क्षेत्रमा संस्थाले सौजन्य गरेको करिब ६० हजार रुपैयाँ बराबरको फोहोर फाल्ने २० वटा डस्टविन राखिएको संस्था व्यवस्थापक विनोद पौडेलले जानकारी दिए ।

यसैगरी सहकारी स्थापना दिवसको अवसरमा रक्तदान समेत गरिएको छ । रक्त सञ्चार केन्द्र हेटौंडाको समन्वयमा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेकाे सहकारी अध्यक्ष दिलिश गाेविन्द जाेशीले जानकारी दिए ।
यस्तै संस्थाको अहिले सेयर सदस्य १ हजार २ सयभन्दा बढी रहेको जाेशीले जानकारी दिए । यस्तै १ करोड ३ लाख रुपैयाँ सेयर पुँजी, ४ करोड ८० लाख रुपैयाँ ऋण लगानी र ३ करोड १० लाख रुपैयाँ निक्षेप बचत रहेको व्वस्थापनक पाैडेलले बताए ।
संस्थाका अध्यक्ष जोशीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा–२ का वडाध्यक्ष विष्णु गोपाल महर्जन र ५ नम्बर वडाको वडाध्यक्ष सुशील घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।
जगन्नाथ सुवेदी
तिमीलाई जन्माउँदा
रगत बगाएकी थिइन् तिम्री आमाले
तिमीलाई विदाइ गर्दा
आँसु बागाएकी छिन् तिम्री आमाले
आमाहरु चुपचाप बगाइरहन्छन्
रगत, आँसु र ममताहरु
आमाहरु पग्लिरहन्छन्
तर
देखिन्न् हृदयमा दन्कने रापहरु
सगरमाथा भेट्न सोलुखुम्बु जानु पर्दैन
आफ्नै आमालाइ फर्की हेर
धैर्यताको सर्वोच्च उचाइ उनको
नाप्न सकिन्न कोशिष नै नगर
तिमिले त सम्झिदिएपनि पुग्छ आमालाई
उनी मुस्कुराएरै बाँचिरहन्छिन्
तिमीले त बिर्षेपनि उस्तै उनीलाई
झारेर आँसु
आशिष तिमीलाई दिइरहन्छिन्
मुक्त हुन्छन् आमाका आशिष
मैलाउँ मै खाउँको दुर्गन्धबाट
युक्त हुन्छन् आमाका आशिष
चरित्र निर्माणको सुगन्धबाट
आमाले त गर्नसम्म गरिन्
र
अझै पनि गर्छिन्
आइपरे तिम्रा निम्ती
हाँस्दै हाँस्दै प्राण दिन्छिन्
तिमी सँगको बिछोडमा
रुदै रुदै प्राण त्याग्छिन्
तिमिले भनें गर्छौ त के ?
अल्लारे नै छौ
संघर्षको मैदानमा पसिना बगाउनेछौ
दाम कमाउनेछौ नाम कमाउनेछौ
सन्सारको फन्का घरि घरि लगाउनेछौ
तिमी गर, गर्नसम्म गर
समय अमुल्य छ उमेरमै गर
पसिना झारेर दाम र नाम कमाउ
समृद्ध जीवनको उचाइ भर
तिमी पन्छी बनेर सात डाँडा पार गर
तर
फर्कि आउने गुड नभुल
उचाइ भर्न सम्म भर
तर
आफ्नो धरातल नभुल
गुँडको रक्षा गर्नु तिम्रो दायित्व
त्यहाँ चारित्रिक भ्रुणको निर्माण गर्नु
तिम्रो कर्तब्य
आमाको दुध जस्तै
आफ्नो धरातलको षड्रस पिएर
यति सम्म बनेको तिमी
त्यो धरातल उर्वर बनाउने
तिम्रै अव जिम्मेवारी
जब लागि पर्नेछौ पूरा गर्न
दाइत्व कर्तब्य र जिम्मेवारी निम्ती
तिम्राे नसाका रगत
बन्नु पर्नेछ अझै तातो
देखिनु पर्नेछ अझै रातो
अनि
फक्रने छन् आमाका आशिषहरु
बन पाखाका लाली गुराँस सरि
तराइमा धानका बाला खेतभरी झुलेसरी
आमा उनी शिक्षक त यसै थिइन्
सिद्ध गुरु पनि बन्नेछिन्
जसले दिइन तिमीलाई
जीबिकाको निम्ती मात्र नभइ
जीवनको निम्ति योग्य शिक्षा
दिनु रहेछ तिम्री आमाले
अझै अग्नि परीक्षा
तिमि जन्मिदा स्पर्षित
यो धर्तीको माटो
टीका थाप्न तिम्रो निधार
लालायित हुन्छन यदि भने
यहीँ कुवाका पानी पिउन
तिमीभित्र तिर्खा लाग्छ यदि भने
आमा तिम्री गोदावरी फुल झैँ
फुलेसी कहिले नओइलाउने
आमा तिम्री सारङ्गी धून झैँ
लेक र बेंसीमा जीवनी गाउने
तर कतै
धागो छिनेको चङ्गा तिमी बन्न पुगे
पराइ दुनियाँमा मात्र दङ्ग तिमी बन्न पुगे
गुमनाम त तिमी हुने छउ
तर
बदनाम हुनेछन्
आमाका पर्वरिस र सपनाहरु
अपमानमा पर्नेछन्
तिम्रा निम्ति
छाती चर्की बगेका दशधारा दुधहरु
आमा सङ्ग बसेर बिचार निर्माण गर
शिक्षालाइ चेतनाले दिक्षामा रुपान्तरण गर
आमा र देश उस्तै उस्तै होइनन्
एकै हुन
आमालाइ सोधेर काम गर देश खुसी हुन्छ
देशलाइ सोचेर काम गर आमा खुसी हुन्छिन् ।
हेटौडा
मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सराेकारवाला सवैकाे सहयाेगमा काेराेना विरुद्धको अभियानमा बागमती प्रदेशलेसफलता हासिल गरेकाे बताएका छन् । संघीय र प्रदेश सरकारको समन्वय तथा स्वास्थ्यकर्मीको अथक प्रयासमा नागरिकको सहयोगका कारण काराेना भाइरस विरुद्धको अभियानमा प्रदेशले सफलता हासिल गरेको उनले बताए ।
प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यालयहरुको बार्षिक समिक्षा बैठक एवं मन्त्रालयको प्रदेशस्तरीय समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री लामाले सबैको प्रयासमा काेराेना (कोभिड–१९) विरुद्धको अभियानमा सफलता हासिल गरेको बताएका हुन् ।
खोप अभियानलाई सार्थक बनाउन र नागरिकलाई कोभिड–१९ को जोखिमबाट बचाउन बागमती प्रदेश सरकारले कोभिड–१९ विरुद्धको खोप अभियानमा सतप्रतिशत सफलता हासिल गरेकोमा लामाले सबैलाई आभार व्यक्त गरे । प्रधानमन्त्री शेरबहादुर देउवाको सतप्रतिशत खोप अभियानलाई सार्थक बनाउन बागमती प्रदेश सफल रहेकाे बताए ।
‘कोभिड महामारी, नीतिगत समस्या र प्रशासनिक समस्याका कारण लक्ष्य अनुसारको प्रगतिमा समस्या रहेको छ’ मन्त्री लामाले भने– ‘चालु आर्थिक बर्ष ०७९/०८० मा मन्त्रालय अन्तर्गतका सबै निकायले लक्ष्य अनुसारको प्रगति गर्ने गरी काम गर्नु पर्छ ।’ जनतालाई स्वास्थ्य सेवा पुर्याउने स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह ‘स्मार्ट’ हुनुपर्ने भन्दै उनले यसतर्फ लाग्न सबै निकाय कार्ययोजन अनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य प्रल्हाद लामिछानेले प्रदेशका सबै मन्त्रालयहरुको समस्या एकै किसिमको रहेकाले यसलाई समाधान गर्न सबैको सामुदायिक प्रयास आवश्यक रहेको बताए । उनले कार्यालयहरुको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन, सुशासन र पारदर्शिता जस्ता विषयमा विशेष ध्यान दिएर अघि बढ्न सुझाव दिए । प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकार अन्तर्गतका निकायहरुको काम कारवाहीबारे अनुगमन गरेको र आवश्यक सुझाव समेत दिएकाले सोही अनुसार सुधारको अपेक्षा गरिएको लामिछानेले बताए ।
स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काको अध्यक्षतामा बसेको समिक्षा बैठकमा मन्त्रालय, मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुले गत आर्थक वर्ष २०७८/०७९ को कार्यप्रगति, समस्या र समाधान प्रस्तुत गरेका थिए ।
मकवानपुर । चलचित्र प्रकाशको टोली हेटौंडा आइपुगेको छ । आगामी भदौ १० गतेबाट प्रर्दशनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘प्रकाश’को टोली प्रचारप्रसारको लागि हेटौंडामा आएको हो ।
चलचित्र प्रचारप्रसारमा देशका विभिन्न शहरमा दौडाहामा व्यस्त रहेको टोली आइतबार हेटौंडा आइपुगको हो । हेटौंडामा सञ्चारकर्मीसँग भेटघाट गर्दै चलचित्रका लेखक विकास सुवेदीले चलचित्र प्रकाशको कथा बस्तु र चलचित्रको बारेमा जानकारी गराएका थिए । करिब २ करोड ५० लाख रुपैयाँ खर्चेर चलचित्र निर्माण गरिएको सुवेदीले बताए ।
चलचित्र प्रसाद, पर्व, क्लासिकमा सहायक निर्देशन गरिसकेका सुवेदी प्रकाशका लेखक समेत हुन । सुवेदीले चलचित्र जुम्लाको परिबेश अनुशारको कथामा निर्माण भएकोले आफुले जुम्लाको महिलाको कथा बुझ्न लामो समय जुम्लामा बसेर कथा लेखन कार्य गरेको बताए ।
चलचित्रमा आमाको भूमिका निर्वाह गरेकी नायिका दिया मास्केले समाजमा पहिचान खोजी गर्ने क्रममा एकल महिलाले गर्नुपर्ने संघर्षको विषयमा उठान गरिएको बताइन् । उनले आफु नायक प्रदीप खड्काको आमाको भूमिकामा रहेको बताउदै जुम्लाका महिलाहरुले भोग्नुपरेको कथावस्तुलाई चलचित्रमा उठान गरिएको बताइन् ।
निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्रमा दिया मास्के, प्रदीप खड्का, प्रकाश घिमिरे, राजन खतिवडा, रेणु योगी लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन ।