मकवानपुर । मकवानपुरको हेटौंडामा जुवा खेल्ने ३३ जना पक्राउ परेका छन् । साेमबारराति हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा जुवा खेलिरहेकाे अवस्थामा उनीहरुलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
हेटौडा ११ नवलपुर स्थित बैकुण्ठ बलामीको घरमा रहेको ग्यारेजमा जुवा खेलिरहेको ३३ जना पक्राउ परेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । कार्कीका अनुसार जुवा खेलिरहेको अवस्थामा ७३ हजार रुपैयाँसहित ३३ जनालाई पक्राउ गरिएको हो । यसैगरी, प्रहरीलाई अभद्र व्यवहार गर्ने १ जना महिला समेत पक्राउ परेकाे बताइएकाे छ ।
जुवा खेलिरहेको स्थानबाट नगदसहित कौडा १३ थान र तास १३ बुक बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरे साहित्यकारअरूण खतिवडा नाट्यकृति ‘ज्वाला’ विमोचन गरिएको छ । श्याम प्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित समारोहमा आइतबार खतिवडाको ज्वाला विमोचन भएको हो ।
साहित्य सङ्गम मकवानपुरमा कृतिको लोकार्पण प्रगतिवादी समालोचक तथा कार्यक्रमका प्रमुख अतिथि डि.आर. पोखरेलले गरेका हुन ।
विमोचन भएको कृतिबारे समीक्षक घनश्याम घिमिरे र कवि शान्ति प्रियवन्दनाले टिप्पणी गरेका थिए। घिमिरेले तीसको दशकको नेपाली समाजको यथार्थलाई नाट्यकृतिले पक्रिन सफल भएको बताए । पुस्तकले तत्कालीन सामन्तवादी समाजमा विद्रोही चेत सिर्जना गर्न सफल भएको घिमिरेको भनाइ थियो ।
साहित्यकार खतिवडा लामो समय शिक्षण पेशामा आवद्ध भएर हाल निवृत्त छन । पेशा निवृत्त खतिवडा हाल कानून व्यावसायी छन ।
मकवानपुरको हर्नामाडी रहेर साहित्य क्षेत्रमा योगदान पुर्याउनु भएका खतिवडाले युग दर्पण साहित्य समाज गठन गरि संस्थापक अध्यक्ष रहेर कार्य गरेका छन ।
प्रतिष्ठान उपाध्यक्ष इन्द्र नेपालको सभाध्यक्ष्यतामा भएको कार्यक्रम प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गरेका थिए । कार्यक्रममा नाटकमा अभिनय गरेका पदम विकल, राधेश्याम विजया फाउन्डेसनका सदस्य बरुण खतिवडा, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिललगायतले खतिवडाको ब्याक्तित्व र कृति माथि भनाई राखेका थिए ।
विमोचन कार्यक्रममा बुढ्यौली साहित्य समाजका अध्यक्ष आर.सी. रिजाल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, झरना बकैया वाङ्मय प्रतिष्ठान तदर्थ समिति संयोजक दीपक गौतम, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, साहित्यसेवी नुर प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको हेटौंडाबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन । मकवानपुर प्रहरीले उनिहरुलाई छुट्टाछुट्टै दुई स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका १४ कालापानी बस्ने सुरज पाख्रिन र पर्सा वीरगञ्ज महानगरपालिका–२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पाख्रिनको साथबाट डाईजोपम ७ पिस, नोरफिन–७ पिस र फेनरगन ७ पिस गरि कुल २१ पिस लागुऔषध बरामद भएको छ ।
यस्तै मनहरीबाट हेटौडातर्फ आउदै गरेको ना १ ज २६२७ नम्बरको म्याजिकमा सवार पटेललाई ११ किलो ३९० ग्राम लागुऔषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पक्राउ परेका पाख्रिन र पटेललाई लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । रिफर सेन्टर भएको भनेर निकै आलोचना खेप्दै आएको मकवानपुरको हेटौंडा अस्पतालमा पहिलो पटक टाउकोको शल्यक्रिया सफल भएको छ ।
मकवानपुरको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको हेटौँडा अस्पतालमा पहिलो पटक जटिल किसिमको टाउकको शल्यक्रिया सफल भएको बताउँदै अस्पताल प्रशासनले अहिले सेवा चुस्त पार्दै ल्याएको दाबि गरेको छ ।
टाउकोको दाहिने भागमा रगत जमेको र बेहोस अबस्थाका बिरामी हेटौँडा १५ का ५० वर्षीय पूर्णबहादुर थिङको अप्रेसन सफल भएको हो । हेटौँडा अस्पतालका न्युरो सर्जन डाक्टर विक्रमादित्यप्रसाद साह, एनेस्थेटिस्ट डाक्टर इश्वर सिलवाल, स्टाफ नर्स श्रीषा ढकाल सहितको टिमले थिङको शल्यक्रियालाई सफल बनाएको हो । श्रोतको अभावबिच पनि डाक्टर साहको टोलीले थिङको सफल उपचार गरेको बताईएको छ ।
गोल्ड मेडलिस्ट समेत रहेका डाक्टर साहको विशेष पहलमा हेटौँडा अस्पतालमा पहिलो पटक जटिल शल्यक्रिया सफल बनेको हो । थिङ बेहोसी अवस्थामा हेटौँडा अस्पताल पुगेका थिए । टाउकोमा रगत जमेको कारण हेटौंडा अस्पतालमा उपचार संवभ नहुने ठानेर अन्य स्थानमा उपचारको लागि पठाईएको थियो । बिरामीको उपचार गर्ने अन्यत्र लैजाने प्रयास भएपनि कमजोर आर्थिक अवस्थाको कारण उपचार गर्न नसकेपछि आफन्तले खुसी प्रकट गरे ।

डाक्टर साहको अनुसार ‘हेटौँडा अस्पतालमा अप्रेसनको लागि आवश्यक सामग्रीको अभाव र प्राईभेट तथा काठमाण्डौँका सरकारी अस्पतालमा समेत लग्न नसक्ने अवस्थाबिच आफुहरुले हेर्टौँडा अस्पतालको टिमसँग छलफल गरेर आवश्यक उपकरण ल्याउने काम गर्न सफल बन्यौ, मैले पनि आफुसँग भएका सामग्रीहरुको प्रयोग गर्ने र विरामीलाई पुनः हेटौँडा अस्पताल बोलाएर अप्रेसन गर्ने सोच बनाए । फलस्वरुप हामी सबैको प्रयासमा उहाँको अप्रेसन गर्न सफल बनेका छौँ । ’
टाउकोको शल्यक्रिया निकै जटिल विषय रहेको कारण हामीले निकै मेहनत गरेर काम गर्दा एकजना निकै कमजोर आर्थिक अवस्था भएको बिरामीको ज्यान जोगिएको उनको भनाई छ । हाल विरामीको अवस्था नर्मल रहेको भन्दै उनले आज भोलीमा डिस्चार्जको तयारी गरेको बताए ।
उपचारको क्रममा हुने छिटपुट सानोतिनो घटनामा समूदाय नै लागेर स्वास्थकर्मीमाथी दुर्ववहार हुने गरेपछि हेटौंडा अस्पतालले जटिल प्रकृतिको सेवामा आंट गर्न नसकेको डाक्टरहरूको भनाई छ ।
मकवानपुर । विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ मकवानपुर बहुमुखी क्याम्पसमा हुने भएको छ।
मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी ओम प्रकास खतिवडा (सुसान्त ) ‘हल्ट प्राइज’ क्याम्पस निर्देशक छनोट भएसँगै विद्यार्थीहरुको नोबेल पुरस्कार ‘हल्ट प्राइज’ क्याम्पसमा पहिलो पटक हुन लागेको हो । यो संगै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको लागि विश्वभरीका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने ढोका खुलेको छ ।
बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछ । विद्यार्थीहरुलाई कुनै एउटा सामजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने विद्यार्थीको समूहले दश लाख अमेरिकी डलर जित्न सक्ने छ ।
खाद्य सुरक्षा, पानी, उर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन्ले भिन्न शीर्षक छान्ने गर्दछन् । मकवानपुर बहुमुखी क्याम्पसमा प्रथम भएको विद्यार्थीको समूह क्षेत्रीय हुँदै अन्तिम चरणसम्म पुग्न सक्नेछन् । मकवानपुर बहुमुखी क्याम्पसमा हुने यस कार्यक्रममा क्याम्पसमा व्यवस्थापन, मानविकी तथा समाजशास्त्र र शिक्षा संकायमा स्नातक वा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने छन् ।
विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् । धेरै विद्यार्थीको सहभागिताको लागि हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु गर्ने योजनामा रहेको क्याम्पस निर्देशक खतिवडाले बताए ।