मकवानपुर । रिफर सेन्टर भएको भनेर निकै आलोचना खेप्दै आएको मकवानपुरको हेटौंडा अस्पतालमा पहिलो पटक टाउकोको शल्यक्रिया सफल भएको छ ।
मकवानपुरको एकमात्र सरकारी अस्पतालको रुपमा रहेको हेटौँडा अस्पतालमा पहिलो पटक जटिल किसिमको टाउकको शल्यक्रिया सफल भएको बताउँदै अस्पताल प्रशासनले अहिले सेवा चुस्त पार्दै ल्याएको दाबि गरेको छ ।
टाउकोको दाहिने भागमा रगत जमेको र बेहोस अबस्थाका बिरामी हेटौँडा १५ का ५० वर्षीय पूर्णबहादुर थिङको अप्रेसन सफल भएको हो । हेटौँडा अस्पतालका न्युरो सर्जन डाक्टर विक्रमादित्यप्रसाद साह, एनेस्थेटिस्ट डाक्टर इश्वर सिलवाल, स्टाफ नर्स श्रीषा ढकाल सहितको टिमले थिङको शल्यक्रियालाई सफल बनाएको हो । श्रोतको अभावबिच पनि डाक्टर साहको टोलीले थिङको सफल उपचार गरेको बताईएको छ ।
गोल्ड मेडलिस्ट समेत रहेका डाक्टर साहको विशेष पहलमा हेटौँडा अस्पतालमा पहिलो पटक जटिल शल्यक्रिया सफल बनेको हो । थिङ बेहोसी अवस्थामा हेटौँडा अस्पताल पुगेका थिए । टाउकोमा रगत जमेको कारण हेटौंडा अस्पतालमा उपचार संवभ नहुने ठानेर अन्य स्थानमा उपचारको लागि पठाईएको थियो । बिरामीको उपचार गर्ने अन्यत्र लैजाने प्रयास भएपनि कमजोर आर्थिक अवस्थाको कारण उपचार गर्न नसकेपछि आफन्तले खुसी प्रकट गरे ।

डाक्टर साहको अनुसार ‘हेटौँडा अस्पतालमा अप्रेसनको लागि आवश्यक सामग्रीको अभाव र प्राईभेट तथा काठमाण्डौँका सरकारी अस्पतालमा समेत लग्न नसक्ने अवस्थाबिच आफुहरुले हेर्टौँडा अस्पतालको टिमसँग छलफल गरेर आवश्यक उपकरण ल्याउने काम गर्न सफल बन्यौ, मैले पनि आफुसँग भएका सामग्रीहरुको प्रयोग गर्ने र विरामीलाई पुनः हेटौँडा अस्पताल बोलाएर अप्रेसन गर्ने सोच बनाए । फलस्वरुप हामी सबैको प्रयासमा उहाँको अप्रेसन गर्न सफल बनेका छौँ । ’
टाउकोको शल्यक्रिया निकै जटिल विषय रहेको कारण हामीले निकै मेहनत गरेर काम गर्दा एकजना निकै कमजोर आर्थिक अवस्था भएको बिरामीको ज्यान जोगिएको उनको भनाई छ । हाल विरामीको अवस्था नर्मल रहेको भन्दै उनले आज भोलीमा डिस्चार्जको तयारी गरेको बताए ।
उपचारको क्रममा हुने छिटपुट सानोतिनो घटनामा समूदाय नै लागेर स्वास्थकर्मीमाथी दुर्ववहार हुने गरेपछि हेटौंडा अस्पतालले जटिल प्रकृतिको सेवामा आंट गर्न नसकेको डाक्टरहरूको भनाई छ ।

