मकवानपुर । विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ मकवानपुर बहुमुखी क्याम्पसमा हुने भएको छ।
मकवानपुर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी ओम प्रकास खतिवडा (सुसान्त ) ‘हल्ट प्राइज’ क्याम्पस निर्देशक छनोट भएसँगै विद्यार्थीहरुको नोबेल पुरस्कार ‘हल्ट प्राइज’ क्याम्पसमा पहिलो पटक हुन लागेको हो । यो संगै मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुको लागि विश्वभरीका विद्यार्थीहरुसँग प्रतिस्पर्धा गर्ने ढोका खुलेको छ ।
बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछ । विद्यार्थीहरुलाई कुनै एउटा सामजिक विषयको शीर्षक दिएर सो शीर्षकमा आधारित भई उत्कृष्ट सामाजिक व्यवसायको योजना बनाउने विद्यार्थीको समूहले दश लाख अमेरिकी डलर जित्न सक्ने छ ।
खाद्य सुरक्षा, पानी, उर्जा, शिक्षाजस्ता विषयमा आधारित रहेर हरेक वर्ष अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन्ले भिन्न शीर्षक छान्ने गर्दछन् । मकवानपुर बहुमुखी क्याम्पसमा प्रथम भएको विद्यार्थीको समूह क्षेत्रीय हुँदै अन्तिम चरणसम्म पुग्न सक्नेछन् । मकवानपुर बहुमुखी क्याम्पसमा हुने यस कार्यक्रममा क्याम्पसमा व्यवस्थापन, मानविकी तथा समाजशास्त्र र शिक्षा संकायमा स्नातक वा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु सहभागी हुन पाउने छन् ।
विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन सक्नेछन् । धेरै विद्यार्थीको सहभागिताको लागि हल्ट प्राइजको बारे जानकारीमूलक कार्यक्रमहरु गर्ने योजनामा रहेको क्याम्पस निर्देशक खतिवडाले बताए ।

