मकवानपुर । मकवानपुरे साहित्यकारअरूण खतिवडा नाट्यकृति ‘ज्वाला’ विमोचन गरिएको छ । श्याम प्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालद्वारा आयोजित समारोहमा आइतबार खतिवडाको ज्वाला विमोचन भएको हो ।
साहित्य सङ्गम मकवानपुरमा कृतिको लोकार्पण प्रगतिवादी समालोचक तथा कार्यक्रमका प्रमुख अतिथि डि.आर. पोखरेलले गरेका हुन ।
विमोचन भएको कृतिबारे समीक्षक घनश्याम घिमिरे र कवि शान्ति प्रियवन्दनाले टिप्पणी गरेका थिए। घिमिरेले तीसको दशकको नेपाली समाजको यथार्थलाई नाट्यकृतिले पक्रिन सफल भएको बताए । पुस्तकले तत्कालीन सामन्तवादी समाजमा विद्रोही चेत सिर्जना गर्न सफल भएको घिमिरेको भनाइ थियो ।
साहित्यकार खतिवडा लामो समय शिक्षण पेशामा आवद्ध भएर हाल निवृत्त छन । पेशा निवृत्त खतिवडा हाल कानून व्यावसायी छन ।
मकवानपुरको हर्नामाडी रहेर साहित्य क्षेत्रमा योगदान पुर्याउनु भएका खतिवडाले युग दर्पण साहित्य समाज गठन गरि संस्थापक अध्यक्ष रहेर कार्य गरेका छन ।
प्रतिष्ठान उपाध्यक्ष इन्द्र नेपालको सभाध्यक्ष्यतामा भएको कार्यक्रम प्रतिष्ठानका सचिव सुवास खनालले सहजीकरण गरेका थिए । कार्यक्रममा नाटकमा अभिनय गरेका पदम विकल, राधेश्याम विजया फाउन्डेसनका सदस्य बरुण खतिवडा, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिललगायतले खतिवडाको ब्याक्तित्व र कृति माथि भनाई राखेका थिए ।
विमोचन कार्यक्रममा बुढ्यौली साहित्य समाजका अध्यक्ष आर.सी. रिजाल, सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, झरना बकैया वाङ्मय प्रतिष्ठान तदर्थ समिति संयोजक दीपक गौतम, आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटा, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपाने, साहित्यसेवी नुर प्रसाद गौतम लगायतको उपस्थिति रहेको थियो ।

